कुमुदिनी विद्याश्रमको गरिमा- साहित्य उत्प्रेरक केन्द्र

कालेबुङ बजारमा तत्कालीन केही विद्याप्रेमी सचेत व्यक्तिहरूको तत्परता कालिम्पोङ टाउन स्कुल सन् १९३४ मा स्थापना भएको थियो । शुरूमा मिडल स्कुल भनेर छैटौं कक्षासम्म थियो। पछि आठौं श्रेणी पुर्‌याइएको थियो । यस स्कुलका संस्थापक प्रधानाध्यापक बाबुराम छेत्री दाहाल थिए । उनले सन् १३४ देखि १५ मार्च १९४७ सम्म स्कुल चलाउऩुभएको थियो । उनकै तत्परतामा १५ नोभेम्बर १९४६ मा बसेको सभाले उक्त टाउन स्कुलको मेट्रिकसम्म सन् १९४७ मा बढोत्तरी गर्नुपर्ने तर उक्त स्कुल भवन साँघुरो र सानो भएकाले त्यहाँ सम्भव नभएपछि अन्यत्र उपयुक्त स्थानमा स्कुलको निम्ति खालि जमीन खोज्ने निर्णय लिएको थियो। त्यसपछि केही समय गजेन्द्र भण्डारी प्रधानाध्यपक भए। उनको नेतृत्वमा स्कुलको निम्ति जमिन खोज्ने काम भएको थियो। त्यतिबेलाको इभिनिङ साइटको मालिकले बिक्री गर्ने कुरा चलेको थियो। यसका मालिक भारत पाकिस्तानका बिच विभाजनको समयमा ढाकाका हुनाले यता कालिम्पोङको जमिन बेच्नुपर्ने वा टुङ्गो लाउनुपर्ने अवस्था सिर्जना भयो। त्यति बेलाका व्यवस्थापन समिति अध्यत्र डम्बरसिंह गुरूङको मालिक रनदिब्ये शाहसित व्यक्तिगत सम्पर्क र व्यक्तित्वका कारण इभिनिङ साइटको जम्मै जमिन आफ्नी आमाका नाममा स्कुल खोलिने सर्तमा जमिन दान दिएका थिए। सन् १९४७ मा स्कुलको जिम्मावारी एस. यु. एम. आइ. का शिक्षक टिकाराम शर्माको काँधमा आयो । किनभने मेट्रिक तहसम्मका निम्ति प्रधानाध्यापक थोरैमा बीए पढेको हुनुपर्नाले गजेन्द्र भण्डारीले कुर्सी छोडिदिनु परेको थियो ।

(नवीन पौड्याल)

टिकाराम शर्माले दिन रात एक गरेर इभिनिङ साइटमा स्कुल भवन निर्माण गरेका थिए। उनले  चन्दा उठाएर पाइ पाइ बचाइ स्कुल भवन तयारी गरेर सन्१९५२ मा कुमुदिनी विद्याश्रम र अँग्रजीमा कुमिनी होम्स नाम गरेर यसको स्थापना गरेका हुन। उऩी सन् १९६७ सम्म यस स्कुलका कुशल प्रशासक रही यसको सर्वाङ्गीन प्रगति गरेका थिए। स्कुलमा कडा अनुशासन थियो। उनको समयमा एउटा काँच फुटेको, डेक्समा नाम आदि लेखेर कोरेको हुँदैन थियो। साँच्चै स्कुल कल्पित रामराज्य थियो। उनी त्यस समयमा बंगालका एकजना उत्कृष्ट प्रधानाध्यपकको स्थान सिल गरेर लण्डनमा एउटा तालिम लिन सरकारले सिफारिस गरेको थियो भनिन्छ। उनी छमहिना जि लण्डन बसेका थिए भन्ने सुनेको छु। उनले आफ्ना स्कुलका प्रत्येक विद्यार्थी चिन्दथे र उनीहरूको अभावक र घर पनि चिनद्थे। जस्तै बदमास विद्यार्थीलाई पनि तह लाउँथे। पढाइका साथै खेलकुदमा पनि स्कुल अब्बल थियो। स्कुलले सुब्रतो कप पनि जित्ने गरेको थियो। टिकाराम शर्माको नेतृत्वमा गएको टोलीले काठमाडौंमा सफलतापूर्वक गीतिनाटकका रूपमा मुनामदनको मञ्चन गरेको थियो। शिक्षकहरू सबै अब्बल, अनुशासन र समयनिष्ठता पालन गर्ने थिए। विद्यार्थीको सर्वाङ्गीन उन्नतिका निम्ति विद्यार्थीले विभिन्न प्रतिस्पर्धामूलक कार्यक्रम आयोजना गर्दथ्यो। कुमदिनी स्कुलले पहिलेदेखि नै म्याराथन दौडमा पनि जित्ने गर्थ्यो। सन्त अगस्टिन स्कुललो आयोजनामा रहेको क्रस कन्ट्री भन्ने म्याराथन दौडमा कुमुदिनी स्कुल बर्सेनी प्रथम हुनेगर्थ्यो। म कुमुदिनी स्कुलको विद्यार्थी हुँ भन्ने कुरामा गर्व गर्थे ।

स्कुलमा साहित्यिक परिवेश पनि थियो। टिकाराम आफैं पनि एक कुशल नाटककार निबन्धकार र अनुवादक थिए। स्कुलको वार्षिक पत्रिकामा विभिन्न तहका विद्यार्थीहरूको धेरै कविता कथा, नाटक निबन्ध प्रकाशित हुन्थे। स्कुलको नाट्य टोली थियो। उक्त नाट्य टोलीले मुनामदन कामाडौंसम्म गएर मञ्चन गरेको थियो। प्रत्येक वर्षको स्कुल स्थापना २४ मई मा सांस्कृतिक साहित्यिक कार्यक्रम भव्य रूपमा हुन्थे। यसैगरी प्रत्येक वर्षको भानु जयन्तीमा रामायण पाठ, कविता आवृति आदि विद्यार्थीलाई स्कुलले जन्माएका विद्यार्थीहरू ठुल्ठला कवि, लेखक भएका छन्। राजेन्द्र सुवेदी (त्रिभुवन विश्वविद्यालयका भूतपूर्व प्रोफेसर र वरिष्ठ समालोचक), राजेन्द्र भण्डारी, महानन्द पौड्याल, नरबहादुर दाहाल, मधुसूदन लामा (कवि, गीतकार, संगीतकार), हीरा छेत्री (निबन्धकार, साहित्येतिहासकार), ज्ञान सुतार (कथाकार, उपन्यासकार), ग्याल्पो लामा (उपन्यासकार, समीक्षक), कृबु संयमी, टिएन सुवेदी, सिताराम काफ्ले, सुधीर छेत्री, राज के श्रेष्ठ, कमल रेग्मी आदि हुन्। यसले सिक्किम, दार्जिलिङ, सिलगढी नेपाल, भुटान, डुवर्स आदि चारैतिरका विद्यार्थी पढ्ने गर्थे। कति के साहित्यिक पद-ओहोदामा पुगे, त्यो जानेर साध्य छैन ।

त्यस्ता काम गर्ने स्कुलका संस्थापक टिकाराम शर्मामाथि आर्थिक हिनामिनाको लाञ्छना लाग्यो । उनका शत्रुहरूले भए-नभएका लाञ्छना लाए। यो कुरा उनलाई पचेन र स्कुल छोडेका थिए रे भन्ने सुनेको छु। यद्यपि यो कुरा कालिम्पोङका निम्ति दुर्भाग्यपूर्ण सावित भयो। उनको समयमा स्कुलको मात्र नभएर कालिम्पोङको जनतालाई समयको सदुपयोग होस् भनी मद्रासबाट मगाएर ठुलो र चारैतिर भएको घडी जडान गरेका थिए। धर्म हल निर्माण भयो । यस हलमा के के कति कति कार्यक्रम भए, त्यो त जान्नेलाई मात्र थाह होला। टिकाराम सरको समयको बीस वर्ष जति कालिम्पोङको र स्कुलकै निम्ति स्वर्णिम युग थियो । यसको गरिमालाई आधार लिएर टिकाराम सरकै भाइले पोखरामा पनि कुमुदिनी होम्स स्कुल खोलेको सुन्न आएको छ ।

त्यसपछि स्कुलको बागडोर उनै टिकाराम सरलाई लाञ्छना मूल लाउने चन्द्रबहादुर रानाको हातमा गयो । उनी त्यतिबेला धेरै पढेका, बुद्धिमानी थिए तर सन् १९६७ देखि १९९५ सम्ममा स्कुलको अवस्था जस्तो भयो, त्यो सबैले देखेकै हो। उनको समयमा कहिले उन्नति भयो, कहिले अवनति भयो। स्कुलको केही ऐकर जमीन कब्जा भएर कैयौं घर बनिए । कसले बेच्यो, वा कसको आडमा घर बनिए त्यो तिनै घर बनाउनेहरू जानुन् तर स्कुलको जमीन घट्यो। स्कुलमा एघारौं बाह्रौं श्रेणीमा कला, वाणिज्य र विज्ञान राना सरको समयमा आएको हो। यद्यपि त्यति बिग्रिहालेको थिएन। स्कुलका शिक्षक शिक्षिका प्रसिद्ध थिए। भरत सर, श्री पि एल सुब्बा सर (अहिले पनि ९१ वर्षको उमेरमा हट्टाकट्टा हुनुहुन्छ), हरि सर, महानन्द पौडेल सर, टिकाराम बर्मन सर, रूपराम देवान, जोहन सर, खगेन्द्र साङपाङबे सर, अग्रवाल सर, शाह सर, प्रसाद सर आदिको नाम कालिम्पोङको इतिहासमा पछिसम्म रहनेछ ।

राना सरको सेवानिवृत्ति पछि केही समय आऱ. ए. प्रसाद, केसाङ भोटिया आदि कार्यवाहक प्रधानाध्यपक भएपछि सन् १९९७ देखि भने श्री भानु बराल प्रधानाध्यपक भए। एस यु एम आइका विज्ञान शिक्षक रहेका भानु बरालले कुमदिनु स्कुलको उन्नतिका निम्ति केही काम गरेका हुन्। तर पनि भनेजस्तो गरी स्कुल उठ्न सकेन भन्ने गुनासो सुनिन्छ। त्यसपछि भने श्री याङ्देन घिसिङ सन् १९१२ देखि २०२१ सम्म स्कुलका कार्यवाहक प्रधानाध्यापक गरेका हुन् । उनले स्कुलको बिग्रँदो अवस्थालाई धेरै सच्याउन कदम चाले, मेहनत गरे। स्कुलको पुरानो गरिमा फर्काइल्याउन प्रयोस गरे । अनुशासन कायम राख्ने पनि प्रयास गरेका हुन् नि केही मात्रामा सफल पनि भएका छन्। अहिले स्कुलको जिम्मावारी विद्यालयका भूगोल विषय शिक्षक श्री भुपेन कार्थकको काँधमा (कार्यवाहक) आइपुगेको छ। कालिम्पोङका आम जनताको आफ्नो विद्यालय, आज जनताबाट चन्दा उठाएर बनाएको, टिकाराम सरले उन्नतिको शिखमा पुर्‌याएको, कालिम्पोङको एक प्रतिष्ठित कुमुदिनी विद्यालयको पुरानो गरिमा फर्काउन, प्रधानाध्यापक, शिक्षकगण, व्यवस्थापन समिति, विद्यार्थीवर्ग, अभिभावकवर्ग, भूतपूर्व विद्यार्थीवर्ग, प्रशासन, सरकारी पक्ष र आम जनता सबैको कर्तव्य हुन्छ ।

कुमुदिनी विद्यालयका अधिकतर विद्यार्थी गाउँ बस्तीका थिए र अहिले पनि छन्। बिहान बेलुकी घाँस काटेर, दुध ठेक्का टुङ्गामा पुर्‌याएर स्कुल धाएकाहरू हुन्। त्यही गरिमामय स्कुल पढेर कति ठुल्ठुला भए, जानेर र लेखेर साध्य छैन ।

भुपेन कार्थकज्यूको कार्यकालमा स्कुलको पुरानो गरिमा मात्र होइन त्यो भन्दा झै अघि बढेर सम्न्नति भएको देख्न पाउँ भनी कालिम्पोङको जनताको तर्फबाट आशा, आकांक्षा र शुभकामना रहेको छ ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *