‘नीलो चरो र अन्य कविता’ मा समयका बाछिटाहरू

आमुख :
आफ्ना हुन् त्यसैले मायालाग्दा छन्
अलिकति स्पर्श गरे हुन्छ न्यानो मायाको
नीलो चरो उडिरहेको छ आकाशमा
विश्वासको नयाँ पालुवा बोकेर आँखामा । ”

यी हरफहरू कवि मोहन सुवेदीका हुन् । कवि भएर होला यसरी नै कृतिमा आफ्नो भनाइ पनि कवितामै पोखेका छन् । मोहन सुवेदीको ‘नीलो चरो अन्य कविता’ कृति असमको विश्वनाथ जिल्ला अन्तर्गत गोलिया गाउँमा सन् २०२१ को १३ र १४ फेब्रुअरीमा अनुष्ठित असम नेपाली साहित्य सभाको १५ औं केन्द्रीय अधिवेशनमा मेटहुँदा कवि सुबेदीबाट प्राप्त भएको हो । भेट भएको अवसरमा हामीले असममा नेपाली पुस्तकहरूको बिक्री-वितरण सन्दर्भमा पनि धेरै चर्चा गरेका हौँ । त्यसैको परिणाममा हामीले अधिवेशनस्थलीमा सित्तैमा पुस्तक दिनेभन्दा पनि पुस्तक पसलमा पुस्तक राखेर तीबाट खरिद गर्ने कुरालाई बढी जोड दिएका थियौँ । हाम्रो अपिललाई सबै सर्जकहरूले स्वागत गर्नुभएको थियो । परिणाममा थुप्रै पुस्तकहरू बिक्री पनि भएका थिए । सित्तैमा पुस्तक बाँड्ने चलनले पनि बिराम लिएको थियो ।

कविको परिचय : मोहन सुवेदीको जन्म सन् १९६५ को २५ जनवरीमा असमको नगाँव जिल्लाको लङ्का, रङ्गमहलमा भएको हो । उनका बुबाको नाम स्व. यज्ञ प्रसाद उपाध्याय र आमाकी नाम विष्णु माया देवी हो । जागिरे जीवनमा उनी भारतीय जीवन बीमा निगममा, प्रशासनिक अधिकारीका रूपमा कार्यरत छन् । उनका प्रकाशित कृतिहरूमा – पृथिवी जसरी भोग्दैछु ( कविता सङ्ग्रह, सन् १९८७) , माटो, मान्छे र माया (कथा सङ्ग्रह, सन् १९९८), केही शब्द र धूँवा (कविता सङ्ग्रह, सन् २००४), साहित्य र समीक्षा (निबन्ध सङ्ग्रह, सन् २००५), मृतकहरूको देशमा (कथा सङ्ग्रह, सन् २००८), गीतको मूर्च्छना (गीत सङ्कलन, सन् २०१२), नीलो चरो र अन्य कविता’ (कविता सङ्ग्रह, सन् २०१६),  विवेचना र मूल्याङ्कन (समालोचना, सन् २०२१) । अनुवादका पनि केही कृतिहरू प्रकाशित भएका छन् । मोरा (मूल्कराज आनन्द) नेशनल बुक ट्रष्ट, नयाँ दिल्ली- सन् २००२, कविता (नीलमणि फुकन), साहित्य अकादमी, नयाँ दिल्ली- सन् २०१२। उनले केही पुस्तकहरू सम्पादन पनि गरेका छन्।

कृति संरचना :  असम, लङ्कास्थित सुवेदी प्रकाशनबाट प्रकाशित र भट्टराई प्रिन्टर्स, चाँदमारी (तेजपुर) बाट मुद्रित यस कृतिमा ४९ वटा कविताहरू समावेश गरिएका छन्। प्रकाश भट्टराईद्वारा बनाइएको नीलो चरोको सान्दर्भिक आवरण पृष्ठले कृतिको सारभाव प्रकट गरेको छ ।  आवरण पृष्ठको पछिल्लो भागमा कविको परिचय राखिएको छ । यस कृतिको मूल्य १००/- रुपियाँ रहेको छ ।

कृतिप्रति भूमिकाकारको धारणा : ‘नीलो चरो गाउँदै मोहन सुवेदी’ शीर्षकमा वरिष्ठ साहित्यकार मनप्रसाद सुब्बाले भूमिका लेखेका छन् र उनको यस कृति बारे धारणा यस प्रकारको रहेको छ- ” नीलो चरो र अन्य कविता र लेखकका पूर्वप्रकाशित कृतिहरू प्रमाण छन् कि मोहन सुवेदीको व्यक्तित्व सूक्ष्म संवेदनासित प्रकट भइरहेको छ । अनि प्रकट्याउने माध्यम उनले भेटेका छन् काव्य विधा । त्यसो त कलाको कुनै पनि विधा केवल माध्यम होइन। आफ्नो संवेदनाले आत्मसात गरिसकेपछि साधकले कलालाई आफ्नो जीवनशैली नै तुल्याएको हुनुपर्छ। तब नै ऊबाट उत्कृष्ट कला- सृजन हुनसक्छ। काव्य विधा त्यस्तै एक सूक्ष्म शाब्दिक कला हो जसलाई हामी हाम्रो जीवनको ढुकढुकीले जीवन्त तुल्याउँछौं । जीवनको ढुकढुकीरहित कला शुष्क र यान्त्रिक हुन्छ। ”

कृतिभित्र प्रवेश गर्दा : यस कृतिमा स्वाच्छन्दिक लालित्य, आधुनिकतावादी ढाँचा र ढङ्ग, समकालीन स्वर आदि काव्यिक तत्त्वहरू पाइन्छन्। कविताहरूमा जीवन- सङ्घर्षको पीडा छ, असमाप्त पाइलाहरूको निरर्थकता छ, युद्धको विभीषिका छ, मूल्यबोधप्रति मिठो भावाभिव्यक्ति छ, नैतिक स्खलनप्रति चिन्ता छ, प्रकृतिको वर्णन छ । तर, यस कृतिको अध्ययन मूलत: कृतिभित्र रहेका समय बिम्बमा केन्द्रित रहने छ । कवि मोहन सुवेदी आफै समय सचेत व्यक्ति हुनाले कविताहरूमा पनि समयका बाछिटाहरू पर्नु स्वाभाविक नै हो भन्नुपर्छ । कृतिमा भएका अधिकांश कविताहरूमा समयका बाछिटाहरू परेका छन् । हेरौँ त समयका बाछिटाहरूले कसरी भिजाएका छन् काव्य भूमि-

समयको चुटाइमा पिल्सेको शरीर र अनुभूतिहरू कुनै साँघुरो पाटोसित यसरी तुलना गर्दै अभिव्यक्त गरेका छन् कविले –
” ….. उकास  काराबन्दी जीवनको साँघुरो पाटोलाई
औ, अलिकति अँध्यारो पोत अनुहारभरि
फेरि स्पर्श गर्न देउ दुवै हातले
समयले चुटेको निर्वाक शरीरको क्षीण अनुभूतिलाई । (शून्यता, पृष्ठ – ५)

एउटा सुनसान बेलुकी । समयको चक्र नै त हो बेलुकी भएर रहँदैन कता जान्छ कता । कवि आफ्नो भाव यसरी व्यक्त गर्दछन् –
” एउटा सुनसान बेलुकी
कतातिर बाट आएर कतातिर हिँडिहाल्यो
औ, ऊसित न म गएँ
न रूपहीन समयको स्वछता । “ ( बेलुकीपख, पृष्ठ- ९)

समय गतिशील छ । पृथ्वी जस्तै घुमिरहेको हुन्छ । दिन पनि सधैँ एकनास हुँदैन। घुमिरहेको हुन्छ । प्राणीको दिन- दशा पनि घुमिरहन्छ । समयअनुसार मानिसको सोच र विचार पनि परिवर्तन भइरहेको हुन्छ । त्यसैले समयको काम समयमै गर्नुपर्छ। आफ्नो लक्ष्य आफै निर्धारण गर्नुपर्छ। नत्र असफलता मात्रै हात लाग्छ। समयले  दिएको दर्द कुनै ऐनामा देखिँदैन ।
“…. त्यसैले, यन्त्रणा तिम्रो नै हो
नसोध, कहाँ गएर टुङ्गिन्छन् पाइतलाका छापहरू
समयको कोर्राले चुटिएको तिम्रो निर्वाक अनुहार
कहाँ देखियो र
कुनै ऐनामा प्रतिबिम्बित भएर । “ ( असमाप्त पाइलाहरूको पछि, पृष्ठ – १३,१४)

समयले अनुभवहरू बटुल्ने मौका दिन्छ । कुनै अनुभवहरूले सुखद स्मृति बटुल्दै सकारात्मक ऊर्जा प्रदान गरेको हुन्छ भने कुनै अनुभवले दुखद स्मृतिहरू बटुली नकारात्मक मनस्थितिको सिर्जना गराउँछ । प्रभावकारी अनुभवहरूले जीवन जिउन धेरै सहयोग गरेको हुन्छ। दुखद अनुभवहरूले जीवनलाई जटिल बनाउन खोज्छन्। अनुभवहरू सेलुलयड र जीवाष्मको अस्तित्व जसरी सदैव आँखाअघि घुमिरहन्छन् भन्ने अभिव्यक्ति पोख्न खोज्छन् कवि-
अनुभवले छामेका समय दु:समय
सेलुलयड जसरी घुमिरहन्छन् आँखाअघि
जीवाष्मको अस्तित्व जसरी । “ ( एकहूल झरी र त्यसपछि, पृष्ठ- १५)

(कृष्णनील कार्की)

नयाँ सालले नव आशा पूर्ण गर्नेछ भन्ने कुरामा कवि विश्वस्त छन् । प्रतीक्षाको फल मिठो भनेझैँ सुकर्मद्वारा सुन्दर परिणाम समयले ल्याउँछ भन्ने कुरामा कवि आशावादी देखिन्छन् –
छोडिदेऊ, अलिकति बाटो
आउँदैछ समय यतातिर
आशाको नयाँ जयगीतको राप अलापेर । ” ( नयाँ सालको अनुभव, पृष्ठ- १७)

प्रकृतिको अनुपम वरदान हो नदी । तर नदी पनि समयचक्रको खेलमा कहिले सुक्छ भने कहिले प्रलयकारी बन्छ । नदीको दु:ख नदीसितै छ । उसले आफ्नो दु:ख बिर्सिएर पृथिवीलाई सुक्खाबाट बचाइरहेको छ । प्राणीहरूको त्राणकर्ता बनेको छ । यसै नदीको पक्षमा कविको अभिव्यक्ति यस्ता खाले छन् –
समयको चक्रमा हुर्किएको यन्त्रणा
जो गएर टुङ्गिन्छ मृत्युपारीको बाक्लो जङ्गलमा
नदीले बोकेको अशेष नीलो वेदना
अब कुन देशमा गएर टुङ्गिन्छ होला ?
समय- जो कसैको हुन सकेन
जीवन- जसको कोही पनि छैन
मात्र, एउटा तीक्ष्ण उज्यालोभित्र हल्लिन्छन्
एक्ला एक्लै हरिया पातहरू, निसङ्ग झ्याङहरू । ” ( नदी, पृष्ठ- २१)

कविले एउटा रातको कविता लेख्दा पनि समयलाई सम्झिएकै छन् । सबै एउटा रातका लागि दिनभर ब्युँझिएर बस्छन् भन्ने भाव पोखेका छन् कवितामा । समयले सदैव प्रकृतिका लागि समर्पितहरूलाई साथ दिन्छ भन्ने कुरा कवि यसरी भन्न खोज्छन् –
सबै ब्युँझिनेछन् एउटा रातका लागि एउटा दिन
नदीको किनारतिर बगेर आएको धानको झुप्पासित
समयले अवश्य खोली दिनेछ मानिसका लागि
समग्र द्वार । “ ( एउटा रातको कविता, पृष्ठ- २८)

सभ्यता धेरै माथि पुगिसक्यो । समयको खेलमा मानिसहरू कुकुर भइरहे, तर निर्वाक कुकुरहरू कहिल्यै मान्छे भएनन् । समयको कस्तो क्रूर वास्तविकता भन्न खोज्छन् कवि-
मानिस बारम्बार कुकुर भएको कथा
इतिहासको पातामा होइन
बरु समयको क्रूर वास्तविकता
सभ्यता कति माथिसम्म पुगिसक्यो
तर, कहिल्यै मान्छे भएनन् निर्वाक ती कुकुरहरू । ” (कुकुर, पृष्ठ- ३०)

असल मान्छे बन्न पनि निकै मिहेनतको खाँचो हुन्छ । समयमा मिहेनत गर्न सकेन भने पछुतो गर्नु सिवाय हातमा रहँदैन । विगतका दिनहरू सम्झी वर्तमानको खाडल भर्नेमा कवि मन लागिपरेको छ-
अँध्यारोमा नियालेर हेर्ने प्रयास
आफ्नो अनुहारका धर्साहरू
समयको काँचमा टुक्रिएको छातीको प्रतिबिम्ब
जोड्ने क्रममा लिप्त छु अनवरत। ” ( अर्को मान्छे, पृष्ठ- ३३)

समयले कोही बेला बाढीको रूप धारण गरेर सर्वस्व बगाइ लान्छ । अविरल वृष्टिधाराले बगाएको निर्लज्ज समयलाई पनि कविले कवितामा उतारेका छन् –
जून रातभरि रोइरह्यो बादलले छोपेर
माटोमाथि शीतल थोपाहरूको साउती
औ, अविरल वृष्टिधाराले बगाएको
निर्लज्ज समय । ” ( बाढी, पृष्ठ- ३७)

यस कृतिभित्र ‘अस्पष्ट समय’ शीर्षकमै पनि कविले कविता लेखेका छन् । प्रत्येक यन्त्रणामा लिपिबद्ध भएको समयहरूको बखान छ यस कवितामा । यन्त्रणा आफैभित्र गुम्सिएर रहेको, द्रौपदीको आर्त्तनादलाई आत्मसात गरेको समयलाई सुनाउने स्थितिमा छैनन् कवि । त्यसैले कवि समयलाई यन्त्रणामय भन्न खोज्छन् –
मभित्र प्रत्येक यन्त्रणामा
लिपिबद्ध छ समय
हाडमा
रगतमा
अनुहारमा
पिठ्यूँमा
…………..
समय यन्त्रणामय छ
औ, यन्त्रणामित्रको अस्पष्ट समय रेखाङ्कित छ
हत्केलाहरूमा पोतेर ।” ( अस्पष्ट समय, पृष्ठ- ४१)

नेपाली साहित्यमा आदिकवि भानुभक्तको देन मनग्गै छ । समयको चक्र त हो, हामीबिच रहेको छ केवल स्मृति। भानुभक्तप्रति हाम्रो प्रेम, श्रद्धा यथावत् छ । नेपाली भाषाले समग्र नेपालीहरूलाई एकत्रित पार्नखोज्ने भानुभक्तको कमी यस बेला कवि अनुभव गर्दछन् ।
एकमुट्ठी अश्रु अन्जली औ खसेर गयो समयको स्मृति
तिम्रो मूर्च्छनाको मादकता, हाम्रो प्रेम
फेरि बटुल्न लाग्दैछौँ  टुक्रा टुक्रीहरू
ऐनाबाट झरेको तिम्रो सिङ्गो अनुहारको छवि । ” ( बिर्सेर भानुभक्त, पृष्ठ- ४२)

यस कृतिको अन्तिम कविता ‘ समय’ शीर्षक नै रहेको छ । सुतेर सपनाहरू पूर्ण हुँदैनन्। सपनाहरू साकार पार्न विपनामा मनग्गै मिहेनत गर्नुपर्ने हुन्छ ।
बहुतै ढिलो भयो निद्राबाट उठ्नलाई
एकछिन सोच्नुपर्नेछ दिन र रातका कुराहरू
आविष्कारको गतिमा निर्लिप्त मन
पृथिवीको कठिन सत्यतालाई अँगालेर ।“( समय, पृष्ठ- ५९)

यस कृतिका कविताहरूमा पाइएका समयका बाछिटाहरूलाई हजुरहरूको काव्य मनमा छर्किदिने प्रयास मात्र गरेको छु । परिवेश, समय, घटनाक्रम, पात्र आदिलाई लिएर कवि मनको भावनाले के सन्देश दिन खोजेको छ त्यो यथार्थता पाठक र समालोचकले आफ्नै तरिकाले आत्मसात गर्ने हो, तर उल्लेखित भावसारलाई अध्ययन गर्दा सुवेदीका अधिकांश कविताहरू समयका बाछिटाहरूमा भिजेका पाइन्छन् । कवि मोहन सुवेदी समय सचेत कवि हुन् । हर क्षण उनी काममै व्यतीत गर्छन् । बिनाबित्थामा समय खेरा फाल्दैनन् । अरूलाई समयको महत्व बारे भन्ने गर्छन्। समय सन्दर्भमा नै नेपोलियनले भनेका थिए- ” तिमी मलाई युद्ध हार्दै गरेको भेट्टाउलाउ । तर, एक मिनेट पनि समय खेर फालेको भेट्टाउँदैनौँ। ” वास्तवमै समय भनेकै यसको सही उपयोग गर्नु हो । ” Do it Today. Tomorrow will be too late. ” अर्थात् आजको काम आजै गर भोलि त धेरै ढिलो भइसकेको हुनेछ । हो पनि, भोलि त हाम्रो भ्रम मात्रै हो । त्यसैले समयप्रति कुनै गुनासो नराखी आफ्नो कर्म गर्नु चाहिँ वुद्धिमानको काम हो । समय सन्दर्भमा जेक्सन ब्राउनले भनेका अभिव्यक्ति यहाँ राख्न चाहेँ – ” कहिल्यै नभन तिमीसँग पर्याप्त समय छैन। तिमीसँग पनि दिनमा त्यति नै घन्टा छन्, जति हेलेन केलर, पाश्चर, माइकल एन्जलो, मदर टेरेसा, लियोनार्ड दा भिन्सी,थोमस जेफर्सन र आइन्स्टाइनसँग थियौ । “हाम्रो समाजमा अधिकांश मानिसहरू समय व्यतीत गर्ने तौर-तरिकाहरू खोज्छन् । यहाँनेर बेन्जामिन फेंकलिनको अभिव्यक्ति प्रासङ्गिक जस्तो लाग्यो र राखेँ- ” सामान्य मानिस समय बिताउने बारेमा सोच्छ, तर महान मानिस यसको उपयोगको बारेमा सोच्छ । ” एकदमै साँचो हो । गाउँ, समाज, जताततै बिनाबित्थामा समय खेरा फाल्ने मानिसहरूको भीड छ । यी महान व्यक्तिहरूको भनाइझैँ सबैले समय मुताबिक आ-आफ्ना कामहरू सही तरिकाले गर्नु हो भने गाउँ, समाज, देश नै अर्कै हुन्थ्यो। उन्नति र प्रगतिको बाटामा खुसी नै खुसी पाइन्थ्यो। यस्तै सोच र विचारले गर्दा कवि मनका हरफहरू पनि अधिकांश समयकेन्द्रित नै रहे होलान्।

कविताहरूमा प्रतीक, बिम्ब, मिथकहरू पर्याप्त प्रयोग गरिएका छन् । कविताहरूको मूल स्वर आधुनिकीय रहे तापनि समकालीन काव्य शिल्प पनि अँगालेको पाइन्छ । समग्रमा भन्नुपर्दा कवि मोहन सुबेदीको ‘नीलो चरो र अन्य कविता’ एउटा पठनीय र सङ्ग्रहनीय कृति बन्न पुगेको छ भन्नैपर्छ । त्यसैले त वरिष्ठ साहित्यकार मनप्रसाद सुब्बाले भूमिकामा उनको बारे यसरी लेख्छन् – ” भारतको पूर्वोत्तर क्षेत्रलाई प्रतिनिधित्व गर्ने वर्तमान भारतेली नेपाली कवितामा एक टड्कारो नाम हो मोहन सुवेदी। “

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *