ऎना साथी मेरो
|
ऎना
कति साँचो छस् तँ
कति भरपर्दो छस्
जब जब संकटपर्छ मलाई
उभिन्छु म तेरो सामु
त्यो बेलामा
बुझाउँछस् मलाई
मैले भुल्दै गरेको यथार्थ ।
छल गर्न जान्दैनस् तँ
न जानीस् नक्कल नै गर्न
कतिलाई बिझाउँछ
कतिलाई दुख्छ पनि
तर पनि
देखाउँछस् सत्य र यथार्थ मात्र।
नौरङ्गी कलाले भरिएको भिडमा
गाह्रो हुदो रहेछ
आफ्नु र बिरानो चिन्न पनि
त्यहि भिडमा बेलाबेलामा हराउँछु म पनि
धन्य तँ छस् साथमा
अनि म,भुल्न पाउदिनँ आफैलाई ।
तर ऎना !
तैले देखाउँदै आएको
तैले चिनाउँदै गरेको
हिजोको म
अनि आजको ममा
धेरै भिन्नता आइसकेको छ
तर तँ
उहीँ छस्
उस्तै छस्
केवल देखाउछ्स मात्र
चुपचाप केहि नबोली
त्यसैले म
तेरो सामु उभिएर
कोहि बेला खुशी हुँदै
कोहि बेला हिक्का छोडेर रुदै भए पनि
प्रयास गरिरहेकी छु
आफैलाई चिन्न आफैंलाई बुझ्न ।
One Comment
अपसराजीको यो ऐना कविताले धेरै भन्न खोजेको छ। आफुलाई चिन्न र चिनाउनका लागि कविताको स्वर गुन्जिएको छ। बधाई छ अपसराजी!!!