संस्मरण: सरस्वती स्कुलमा पाँच वर्ष (विसं २०२२–२०२७)

(प्राडा तीर्थप्रसाद मिश्र)

भीमसेन थापाको मुख्तियारी काल (विसं १८०६–१८३६) को समयमा धनकुटाका ठूलाहाकिम जसपाउ थापाद्वारा बिर्ता प्राप्त भएपछि हालको कचिडेमा बसोबास सुरु भएको हो । कचिडो नै कचिडोको घारी भएकाले उक्त स्थानको नाम नै कचिडे रहन गएको हो । विशेषगरी उक्त गाउँमा बस्ने मिश्र र पोखरेल परिवारमा शिक्षाप्रति विशेष अनुराग थियो । राणाकालमा काठमाडौँ बाहेक अन्यत्र शिक्षालय नै थिएनन् भने पनि हुन्छ । त्यसबेलामा धनकुटा कचिडेबाट शिक्षा आर्जनका लागि काठमाडौँ आउनुभन्दा भारतको बनारस जानु नै सहज थियो । बनारसमा संस्कृत अध्ययन गर्ने छात्रका लागि खान, बस्न र पढ्न पनि सहज थियो । वटुकलाई खासै आर्थिक भार थिएन । विसं १९६० देखि १९८० को अवधिमा नरपति पोखरेल, ध्रुवलाल पोखरेल, नारायणप्रसाद पोखरेल छविलाल पोखरेल, शिवप्रसाद पोखरेल, लिलाराम पोखरेल, उमानाथ पोखरेल, विद्यानाथ पोखरेल, गंगाप्रसाद पोखरेल, रामनाथ मिश्र, भीमशंकर वाग्ले जस्ता कचिडेवासीले बनारस गई अध्ययन गरेका थिए ।

बनारसबाटै अध्ययन गरेर फर्केका हेमचन्द्र पोखरेल, रेवतीरमण अधिकारी जस्ता विद्वानहरूले पनि शिक्षण पेसा नै अपनाए । बनारसमा अध्ययनपश्चात् फर्केका सबैले आफ्ना सन्ततिका लागि सुलभ शिक्षा प्राप्त गर्ने चाँजोपाँजो मिलाउन थाले । छविलाल पोखरेलले त घरमा नै गुरुकुल सञ्चालन गरेका थिए । छविलाल पोखरेल तथा भीमबहादुर प्रधानाङ्गको सहयोगमा विसं १७८९ मा गोकुण्डेश्वर इङ्लिस हाइस्कुल नै स्थापना भयो । तर, कचिडेबाट गोकुण्डेश्वर हाइस्कुल पुग्न केटाकेटीलाई सहज थिएन । ससाना केटीकेटाकेटीहरूलाई आधा घण्टा हिँडेर स्कुल पुग्नुपर्ने बाध्यता हटाउन गाउँमा नै स्कुल खोल्ने प्रयास सुरु भयो । तर, धनकुटा बजारकै समीपमा अर्को स्कुल स्थापना गर्नु चानचुने कुरा थिएन । केटाकेटीहरूलाई घरमा नै प्रारम्भिक शिक्षा दिइने व्यवस्था भने भएको थियो । यसै पृष्ठभूमिमा सरस्वती स्कुलको जन्म भएको थियो ।

सरस्वती प्राइमरी स्कुलको स्थापना २०१४ सालमा धनकुटाको जीतपुर गाउँमा भएको थियो । वार्षिक रूपमा विद्यालयलाई आर्थिक सहायता दिनेसरकारी निर्णय भएको थियो ।
उक्त स्कुलमा प्रारम्भदेखि नै भक्तविनोद श्रेष्ठ शिक्षक हुनुहुन्थ्यो । विद्यानाथ पोखरेलको प्रयासबाट उक्त स्कुल कचिडेमा स्थानान्तरण भयो, २०१५ सालमा । यो स्कुल कचिडेको खोल्मा, कटेरा, दलान हुँदै सल्लाघारी बीचको सरस्वती मन्दिरस्थित पाटीमा पुग्यो । पछि अन्य स्कुलमा नगाभिँदासम्म सोही स्थानमा नै रह्यो । यसै स्कुलमा तीन वर्षसम्म पढी मैले ५ कक्षा उत्तीर्ण गरेको थिएँ । यस स्कुलका प्रथम प्रधानाध्यापक भक्तविनोद श्रेष्ठ नै हुनुहुन्थ्यो । उहाँको निधन भएपछि २०१९ सालमा देवेन्द्रलाल श्रेष्ठ र २०२१ सालमा दुर्गा पोखरेल यस स्कुलको प्रधानाध्यापक हुनुभयो । यस स्कुलमा कार्यरत शिक्षकमा नारायण श्रेष्ठ, बेनुबहादुर शाक्य तथा गुणराज कार्कीको नाम याद छ । दुर्गा पोखरेल प्रधानाध्यापक हुँदा राधा श्रेष्ठ, प्रेमचन्द्र पोखरेल  र निला भट्टराई शिक्षक हुनुहुन्थ्यो ।

विसं २०२२ सालमा एसएलसी परीक्षा दिएपछि म सरस्वती स्कुलमा जान थालेँ । दुर्गा दिदीले भनेअनुसार पढाउन पनि थालेँ, स्वयंसेवकका रूपमा । मैले पढाउन थालेको केही महिनापश्चात् नै राधा श्रेष्ठले स्कुल छाड्नुभयो । उक्त रिक्त स्थानमा मेरो नियुक्ति भयो । मैले जागिर पनि खाएँ र आइए पनि उत्तीर्ण गरेँ । सुरुमा मेरो मासिक तलब चाहिँ रु २०।– थियो । तीन महिनापछि रु ४२।– पुग्यो । विसं २०२३ सालमा नै दुर्गा पोखरेलले पनि स्कुल छाड्नुभयो । त्यसपछि यादव अधिकारी प्रधानाध्यापक हुनुभयो । निला भट्टराई पनि नर्सिङ पढ्न काठमाडौँ गएपछि उक्त स्थानमा विश्वनाथ पोखरेल नियुक्त हुनुभयो । विसं २०२५ सालमा यादव अधिकारी साना जलविद्युत् आयोजनामा खरिदार भएपछि म प्रधानाध्यापक नियुक्त भएँ । यसको केही समयपश्चात् विश्वनाथ पोखरेल पनि जेटिए पढ्न काठमाडौँ जानुभयो । उक्त स्थानमा सुशीला पोखरेल नियुक्त हुनुभयो । त्यतिबेला स्कुलमा जम्मा तीनजना शिक्षकको दरबन्दी थियो ।

बिहानको कलेज भएकाले १० बजेसम्म कक्षा हुन्थ्यो । फेरि १०ः३० देखि स्कुल लाग्थ्यो । त्यसैले हामीले कलेजको अन्तिम कक्षा त कतिपटक छाडेका पनि छौँ । स्कुलमा सहयोगीको दरबन्दी थिएन । आफैँले स्कुल खोल्ने र बन्द गर्ने काम गर्नुपऱ्थ्यो । घन्टी लगाउने काम पनि शिक्षकको नै हुन्थ्यो । विद्यालय परिसर सफा गर्न विद्यार्थीहरू सदा तत्पर रहन्थे । त्यस स्कुलमा सँगै काम गरेका भक्तविनोद श्रेष्ठ, बेनु शाक्य, यादव अधिकारी, निला भट्टराई, विश्वनाथ पोखरेल, प्रेमचन्द्र पोखरेल र सुशीला पोखरेलको निधन भइसकेको छ । उहाँहरूप्रति हार्दिक श्रद्धान्जली !

सरस्वती स्कुलमा पढ्न कचिडे, आदमारा, खाल्डे, पात्ले, देब्रेबास, सेउले जस्तागाउँबाट विद्यार्थीहरू आउँथे । बजारबाट भने यहाँ कमै मात्र विद्यार्थी आउने गर्थे । संक्षेपमाभन्नुपर्दा गाउँले स्कुल थियो, सरस्वती स्कुल । खेतीपातीको समयमा त विद्यार्थीहरूको उपस्थिति झनै न्यून हुन्थ्यो । कक्षा कोठाको अभावमा एउटै स्थानमा दुईवटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता पनि थियो । वर्षायाममा त निकै दुःख हुन्थ्यो । विद्यार्थीहरूबाट मासिक चन्दा लिने व्यवस्था थियो, शुल्क लिन पाइँदैनथ्यो । शिशु कक्षा तथा १ र २ कक्षाका विद्यार्थीले चन्दा दिनुपर्दैनथ्यो । तीनकक्षाका विद्यार्थीहरूबाट ५० पैसा, ४ कक्षाका विद्यार्थीबाट ७५ पैसा र ५ कक्षाका विद्यार्थीहरूबाट रु १।–चन्दा लिइन्थ्यो । सरकारबाट वार्षिक रूपमा एकमुष्ठ आर्थिक सहायता उपलब्ध हुन्थ्यो । त्यसैले सबै शिक्षकले वर्षको एकैपटक वर्षभरिको तलब पाउँथे । मैले स्कुल छाड्दा मेरो तलब रु ९०– पुगेको थियो । विद्यालयको बैँक खाता थिएन ।कोषाध्यक्षले विद्यालयलाई प्राप्त भएको आर्थिक सहायता बुझेरआवश्यक वितरण गर्नुपऱ्थ्यो  । चन्दाबाट मसलन्द खर्चटर्ने गऱ्थ्यो ।

हामीले देब्रेबासका विश्वेश्वरको होटलमा दिउँसो चियाखाजा खाएको पैसा पनि वर्षमा एकैपटक दिने गर्दथ्यौँ । धन्य विश्वेश्वर साहु (पूर्णबहादुर)को सदासयता । हुन त उनको पसलमा उधारो खाएका मध्येकरिब ५० प्रतिशतले पैसा तिर्दैनथे ।

विद्यालय निरीक्षण गर्न वर्षको एकपटक शिक्षा निरीक्षक आउँथे । उनले निरीक्षण गरेको भोलिपल्ट विद्यालय छुट्टी हुन्थ्यो । सरस्वती स्कुलमा पहिले बर्खे बिदा दिइन्थ्यो तर पछि गएर जाडोमा नै छुट्टी दिने चलन रह्यो । यस स्कुललाई स्थानीय सबैको सहयोग त छँदै थियो त्यसमा पनि भक्तबहादुर पोखरेल, कृष्णप्रसाद पोखरेल, उपेन्द्र पोखरेल, मोहनबहादुर पोखरेल, रामचन्द्र पोखरेल, शारदाप्रसाद मिश्र, अम्बिकाप्रसाद पोखरेल, शिवप्रसाद पोखरेल जस्ता व्यक्तित्वको योगदान उल्लेख्य थियो ।

हामी विद्यालयको भवन निर्माण गर्न सांस्कृतिक कार्यक्रम लिएर कचिडे, आदमारा, देब्रेबासलगायतका गाउँमा पुगेका थियौँ । सबैले आफ्नो गच्छेअनुसार सहयोग पनि गरेका थिए । तत्कालीन बडाहाकिम रत्नबहादुर गुरुङको निवासमा नाचगान देखाउँदा विद्यार्थीहरूले हाम्रो स्कुलको चुहिने छानो, पढ्दापढ्दै विद्यार्थी कहाँ जानु भनेर गीत गाएका थिए । त्यस गीतबाट प्रभावित भई बडाहाकिमले रु १००।– दिएका थिए । उक्त रकम त्यसबेलाका लागि ठूलै थियो । सांस्कृतिक कार्यक्रमबाट उठेको रकम तथा जनश्रमदान गरेर ढुंगामाटो तथा काठको दुईकोठे कच्ची भवन बन्न सक्यो । समयसमयमा धनकुटामा हुने संगीत र नृत्य प्रतियोगितामा सरस्वती स्कुल निरा र निर्मला श्रेष्ठ प्रथम हुन्थे । कथामा भने सेउलेका गुरागाई प्रथम भएको याद छ । बाटोघाटो हाटबजार जहाँ भेटे पनि विद्यार्थीहरू शिक्षकलाई आदरपूर्वक अभिवादन गर्दथे ।

मैले स्कुलमा पढाएका विद्यार्थीहरूमध्ये केहीसित अहिले पनि भेटघाट हुन्छ । प्रायः सबै आफ्नो स्थानमा स्थापित पनि भएका छन् । प्राडा विनोद पोखरेल, डा हरि पोखरेल, प्राडा राजकुमार पोखरेल, इशुशंकरश्रेष्ठ, प्रा निरन्जन वस्ती, श्रीरञ्जन वस्ती, अजयप्रकाश पोखरेल, बिन्दा श्रेष्ठ, राधिका श्रेष्ठ तथा रामप्रसाद कोइराला आफ्ना क्षेत्रमा स्थापित भएका छन् । तारा पोखरेल, गंगालक्ष्मी परियार, शशिकला परियार, चन्द्रकला वाग्ले, पार्वती वाग्ले, रमेश पोखरेल तथा जीवप्रसाद पोखरेल माधव पोखरेल, नरेन्द्र पोखरेल, महेश वाग्ले, नरेश श्रेष्ठ, खेम भण्डारी, श्रीधर भण्डारी, लीलानाथ मिश्रलगायतसित भलाकुसारी भइरहन्छ ।

सरस्वती स्कुलमा मैले पढाएको देखेर प्रसन्न भई तत्कालीन नेपाली सेनाका श्रीजंग गुल्मका प्रमुखले आफ्ना जवानहरूलाई पढाउने काम दिए । एक वर्षसम्म राति–राति म सेनाका जवानहरूलाई पढाउन ब्यारेक गएँ । राती सेनाका जवानहरू पेट्रोम्याक्स बालेर मलाई घरसम्मै पु¥याउन आउँथे । त्यत्तिबेला आफूलाई निकै ठूलै मानिस भएँ जस्तो लाग्थ्यो ।

त्यसबेला अहिलेको जस्तो शिक्षण सिकाइका आधुनिक विधि अवलम्बन गरिँदैनथ्यो । कक्षामा शिक्षक विद्यार्थीको अनुपात पनि मिलेको थिएन । आर्थिक स्रोतको अभाव थियो भने शिक्षकहरूका लागि तालिमको व्यवस्था पनि थिएन । विद्यालयमा कालोपाटीलगायतका न्यूनतम पूर्वाधार पनि थिएन । केबल घोकन्ते विद्या थियो । शिक्षणबाहेक खेलकुदलगायतका अतिरिक्त कार्यकलाप विरलै सञ्चालन हुन्थे । स्कुलबाहिर विद्यार्थी विद्यार्थीबीच भएको झगडाका विषय हुन् अथवा आफ्ना छोराछोरी पहिलो नभई अरू नै विद्यार्थी पहिलो भएका विषय हुन् । यस्ता विषयलाई लिएर अभिभावकहरू पढाउँदा ध्यान नदिएको भन्दै वादविवाद गर्न आउँथे । कतिपय अवस्थामा त यिनै विषयलाई लिएर अभिभावकको कोपभाजनको समेत शिकार हुनुपरेको थियो ।

त्यसबेलाका राष्ट्रिय पर्व राजारानीको जन्मोत्सवमा विद्यार्थी लिएर जुलुसमा सामेल हुनु अनिवार्य थियो । त्यसबेलामा विद्यार्थीहरूलाई खानेपानीको बढी नै मुस्किल थियो । तिर्खा लागेको बेला एक किलोमिटर जति हिँडेर छाउनी धारा पुग्नुपथ्र्यो । यो समस्या बुझेर भारतीय पेन्सन पेइङ अफिसका मेजरले स्कुलको छेउसम्म पानीको प्रबन्ध गरिदिएका थिए । पेन्सन पेइङ अफिस हालको आँखा अस्पताल रहेको क्षेत्रमा थियो । पेन्सन पेइङ अफिस धरान सरेपछि उक्त स्थानमा जिल्ला पञ्चायतको कार्यालय आयो । जिल्ला पञ्चायतले उक्त भवन र जग्गा धनकुटा कलेजलाई उपलब्ध गरायो भने कालन्तरमा सोही जग्गा धनकुटा क्याम्पसले नेत्रज्योति संघलाई हस्तान्तरण ग¥यो ।

विसं २०२७ सालमा बिए पास गरेपछि म सरस्वती स्कुलबाट अलग भएर झापातिर लागेँ । मैले सरस्वती स्कुलमा पढाएका विद्यार्थीहरू पछि सबै मित्रवत् भए । अहिले पनि उनीहरूसित उठबस गर्न पाउँदा मलाई ज्यादै आनन्द लाग्छ । कतिपय विद्यार्थीहरू मेरै उमेरका थिए भने धेरैजसो मभन्दा एकदुई वर्ष मात्र कान्छा थिए । यस कारणले पनि उनीहरू सबै मित्र नै थिए । ती विद्यार्थीहरूसित मिलेर अम्बाबारी टारमा फुटबल खेलेको पनि सम्झना ताजै छ । मलाई सरस्वती स्कुलमा प्रवेश गराउन सार्थक प्रयास गर्ने दुर्गा दिदीप्रति म कृतज्ञ छु । आफैँ पढेको स्कुलको पाचौँ प्रधानाध्यापक भएकोमा मलाई गौरव पनि लाग्छ तर यो स्कुल अन्य स्कुलमा विलय हुँदा इतिहास नै लोप भएको पीडाले सताएको छ ।

हामी सरस्वती स्कुलमा पढेका र पढाएका सबैले यसविद्यालयको इतिहास कसरी जीवन्त राख्न सकिन्छ भन्ने विषयमा गम्भीर भएर चिन्तन गर्नु आवश्यक छ ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *