पर्यावरण कथा: हावापुरको विकास
|
एक
बललाई दाहिने हातका औँलाहरुले विशेष शैलीमा नचाउँदै विवेकले स्टाम्पतिर नजर लगायो। त्यहाँ विकेट कीपरका रुपमा अर्जुन हातको ब्याट्ले भूँइमा ठ्याक ठ्याक पार्दै तयार भएर पर्खिरहेको थियो, कुन मुहूर्तमा विवेकका हातबाट घुम्दै छुटेको बल छेउमा आइपुग्छ। स्पिन बलमा छक्का हान्न मुस्किल हुन्छ। तर चौका त हान्नै पर्छ भन्ने सोचेर उसका आँखा विवेकका हातको बलमा केन्द्रित पार्ने प्रयास गर्यो मानों ऊ साँच्चै महाभारतको अर्जुन हो अनि विवेकका हातको बल द्रौपदीको स्वयम्बर सभामा माथि चक्कामा घुमिरहेको माछाको आँखामा ध्यान केन्द्रित पारेको छ। ठिक त्यही समयमा विवेकले देख्यो, उसले उडाउनु पर्ने स्टाम्पदेखि प्राय सयफुट जति अगाडि बाटाका छेउमा भएको रुख मुनि दुईजना मान्छे आपसमा के कुरा गर्दै छन। अर्जुनले पनि पछि फर्केर विवेकले हेरेतिर हेर्यो, देख्यो हातमा ब़ञ्चरो लिएका दुईजना मान्छेका टाउका मास्तिर चराहरु कराउँदै तिनलाई ठुङ्न खोज्दैछन। त्यस ठाउँमा फिल्डिङ ड्युटीमा एग्गे थियो। उसले साथीहरुलाई हातको सङ्केतले बोलायो।
सबै केटाहरुले त्यतैतिर हेरे। उनीहरुलाई कुरा बुझ्न बेर लागेऩ।
“हिँड साथी हो” भनेर अलिक पर्तिर ठड्याएर राखेको ब्याट टिपेर विवेक कुद्यो।
अरु केटाहरु पनि ब्याट टिपेर विवेकका पछि पछि कुदे।
उनीहरुले त्यहाँ दुईजना अपरिचित मान्छे देखे— एउटा अँगारजस्तो धम्मरधुसे, अर्को भुस्तिघ्रे मोटे। तिनीहरुको अनुहार डरलाग्दो भए पनि केटाहरु डराएनन।
केटाहरु रुखको छेउमा पुगुञ्जेलमा एउटाले रुखमा बञ्चराले हानिहाल्यो।
“रुख नकाट”—विवेकले आदेश दियो मानो उ नै त्यो रुखको मालिक हो।
“रुख काट्न पाउँदैनौ” —- सबै केटा एकैचोटि कराए।
अर्को भुस्तिघ्रेले बञ्चराले रुखमा दुई खेप हान्यो।
“खबरदार, भ-भ-भन्दैछु रुख का-का-काटिहेर्लास्। “एग्गेले भक्भकाउँदै अन्तिम चेतावनी दियो । धेर रिस उठेका बेलामा उसको बोली भकभके हुन्छ।
“भाग तिमेरु फुच्चे केटा हो यहाँबाट”— काले धम्मरधुसेले टेरपुच्छर लाएन।
“हगेर कण्डो धुन जान्दैन………………..
भुस्तिघ्रेका कुरा पुरा हुन पाएन। दुबै हातले दाहिने आँखो छोप्तै ऊ थुचुक्क भूँइमा बस्यो। उसको टाउकाबाट रगतको भल बगेको देखियो। चन्द्रेले हानेको ढुङ्गो उसका निधारमा बज्रिएछ। मोटे चन्द्रेलाई झम्टिँदै गएको थियो तर विवेकको ब्याटको प्रहारमा एक फन्को घुमेर पछारियो। त्यस पछि सबै केटाहरु ब्याट काँधमा लिएर एउटा लाइनमा यसरी खडा भए मानो उनीहरु सेना हुन अनि आक्रमणका लागि तयार—- कमाण्डरको आदेशलाई पर्खिरहेका छऩ।
दुबैजना बञ्चरेले केटाहरु तर्फ एक पल्ट हेरे । केटाहरुको उग्र रुप देखेर तिनीहरु त्यहाँबाट यसरी भागे, पछि फर्केर हेर्ने आँटसम्म गरेनन। कुध्दा कुध्दै मोटेको लुङ्गी बाटैला खस्यो तर उसले टिप्न भ्याएन। त्यो दृश्य देखेर केटाहरु गलल्ल हाँसे।
उनीहरुको हाँसोमा विजयको उल्लास थियो।
‘हिप् हिप् हुर्रे, हिप् हिप् हुर्रे’ — खुसीमा उनीहरुले नारा लगाए।
यसरी त्यस दिन 12-14 वर्षका किशोरहरुले त्यो रुखलाई जोगाए। सगुनको रुख कति मूल्यवान हो त्यो कुरा उनीहरुलाई थाह थिएन। हामीलाई स्वास फेर्ने अक्सिजेन रुखले दिन्छ भन्ने कुरा भने पुस्तकमा पढेका थिए। पर्यावरण के हो त्यसको बारेमा भर्खरै घुर्मैलो अवधारणा उनीहरुमा जन्मँदै थियो। सबैभन्दा ठूलो कुरा त त्यो रुखसँग उनीहरुको आत्मिक सम्बन्ध गाँसिएको थियो मानों त्यो रुख रुख नभएर उनीहरुको टीमको अन्यतम सदस्य हो।
उनीहरुले खेल्ने चौरीका छेउमा यही एउटा ठूलो छायाँदार रुख छ, एकातिर छ खेत। बाटाका पल्लो छेउमा झाडी र खोलो छ, श्मशान घाट पनि त्यही हुनाले त्यतातिर उनीहरु जाँदैनन। तित्री र पाँचफलेको रुख भएतिर तर्साउँछ भन्ने सबैले सुनेका हुन। त्यतातिर नजानु है भनेर आमा-बाबुले सम्झाए पनि एक दिन सुटुक्क सबै मिलेर त्यस ठाउँमा पुगे। दुई घन्टा यताउति हेरे तर भुत वा मसान कतै देखिएन।
दुई
आज बिहानैदेखि घामको मुख देखिएको छैऩ। बादलले ढाकेर आकाश धुम्म छ। पानी पर्ला जस्तो छ तर एउटै छिटा भूँइमा परेको छैन। खटपटी हुने एक तमासको उखुम परिवेश छ। एउटी बृद्धा नारी हातमा डेक्ची र पोको बोकेर छिटछिटो जाँदै छे। ऊ चन्द्रेकी आमा हो। खेतमा हलो जोतिरहेको छोरालाई चियी-खाजा पुर्याउन जाँदा उ सधैँ यही रुखको सयँलमा एकछिन बिसाउँछे। पोहोर साल उसको लोग्ने खेतमा हलो जोत्दा जोत्दै चट्ठाङ परेर मर्यो।
रुखका छेउछाउमा खेल्ने केटाहरु थिएनन। केटाकेटीहरुले रमाइलो गर्दै खेल्दा त्यहाँ रौनक छाउँछ। आइमाई रुखमा छेउमा पुग्दा एउटा नाङलो जत्रो सुकेको पात उसका छेउमा खस्यो। कस्तो अपशकुन। रुखले आँसु खसालेको जस्तो लाग्यो उसलाई। त्यसलाई वास्ता नगरी आइमाई सरासर खेततिर हिँडी। आमालाई खाजा लिएर आएको देखेर चन्द्रे खेतको आलीमा बस्यो । चाम्रे भात खाँदै ऊ आमाका कुरा सुन्दै थियो।
“छोरा, बाबुको बरखी पनि सकियो यस पालि त बिहे गर्नु पर्छ…..”
आमाका कुराको उसले कुनै उत्तर दिएन, खेतको एक गरा पर्तिरको रुखतिर हेर्यो।
चन्द्रेले देख्यो एउटा कालो रङको बलेरो गाडी आएर रुखका छेउमा रोकियो। गाडीबाट दुइजना मान्छे ओर्लिए। तिनमा एउटालाई चिने चिने जस्तो लाग्यो। हो त, पक्कै विवेक हो, उसको दौंतेरी साथी। बोटनिमा एमएस्सी गरेर फरेस्ट अफिसर पोस्टिङ भएर यही हावापुरमा आएको छ भन्ने सुनेको थियो।
साथमा भएको भुँडे मान्छेलाई पहिले देखेजस्तो लागेन।
चन्द्रेले देख्यो
विवेकले फिता लाएर रुखको मोटाइ नाप्यो।
‘दस हजार चाहिन्छ। सरकारी नियम अनुसार काटेर किन्नु पर्दा कम्तीमा पनि साठी हजार लाग्छ। यी रुख काट्न पाइँदैन’—– विवेकले भुँडेतिर हेरेर रहस्य हाँसो ।
उसको हाँसोमा निष्ठूर हत्याराको कुटिलता थियो।
चन्द्रेले स्पष्ट सुन्यो
‘अरु त्यति नै खर्च हुन्छ नि सर हाम्रो……. गाउँका नेताहरुलाई अलिकति चटाउनु पर्छ, नत्र चुक्ली लाउँछन’—– भुँडे बोल्यो।
‘मिडियाले चाल नपाओस, नभए हाम्रो विभागकै हुर्मत लिन्छन’— विवेकले चेतावनी दियो।
तीन
समय अघि बढिरहेछ निरन्तर। दिन महिना र वर्षहरु बितेर गए। समयका साथ देशमा धेरै परिवर्तन आएको छ। देशमा विकास भएको छ। विकास चन्द्रेहरुको हावापुर गाउँमा पनि आइपुगेको छ। गाउँमा बिजुली आयो, पक्की सडक बनियो। गाउँका थुप्रै केटाकेटीहरुलाई बाबु-आमाले अंग्रेजी स्कुलमा पढाउऩ थाले। ती केटाकेटीहरु हिजोआज चौरीमा खेल्न आउँदैनन। उनीहरु शहरको स्टेडियममा प्रेक्टिस गर्न जान्छन। कोही जान्छन जीमखानामा, बडीबिल्डिङ गर्छन। सुइमिङ पुलमा एकाबिहानै सुइमिङ सिक्न लगाएर आमा-बाबुहरु छेउमा बसेर वा उभिएर सुइमिङ गरेको नयनाभिराम दृश्य उपभोग गर्छन।
चन्द्रेले चाटीचुटी पारेर चाम्रे भात खायो, जगको पानी पनि रित्यायो। आमा गए पछि ऊ फेरि खेत जोत्न थाल्यो। उसका मथिङलमा कुराहरु सगबगाइरहेका छन।
गाउँमा शिक्षितहरुको संख्या बढेको छ। गाउँका धेरै केटा-केटी डाक्टर इञ्जीनियर अफिसर बनेका छन। एग्गे चुनाउ जितेर समष्टको विधायक बनेको छ। विवेकको यही हावापुर रेञ्जमा वन अधिकारी भएर आएको छ। उसले नोकरी गरेको पाँच वर्ष भित्रमा शहरमा तीन तले भवन ठढ्याएको छ। धनी र पढे-लेखेका धेरैले शहरमा माटो किनेका छन । दूरदर्शी हुनु त राम्रो हो नि। गाउँका केटाकेटीहरुले ठूलो भएर गाउँको नाम रोशन गरेका छन। गाउँले गौरव अनुभव गरेको छ उनीहरुको तरक्कीमा।
हिजोआज चन्द्रे खेतमा हलो जोत्न जाँदैन गाउँमा भएको विकासकै कारणले। उसको खेतमा एग्गेले इटाभट्टा खोलेको छ। पहिले त चन्द्रेले उसको उब्जाउ खेत बेच्न चाहेको थिएन तर एग्गेका गुण्डाहरुको धम्कीमा माटो दिन्न भन्ने आँट गर्न सकेन। उचित मूल्य पनि पाएन उसले । चुनाउको समयमा एग्गेको भाषण उसले सुनेको छ। कुरैपिच्छे भकभकाउँदै भए पनि विकासका कुरा गर्छ। चन्द्रे विकासको अर्थ बुझ्ने प्रयास गर्छ। उसले आफ्नो बाल्यबन्धु विकासलाई सम्झियो। यही चौरीमा सँगै खेलेका एक एक दृश्य उसका मानस पटमा देखिन थाले। बञ्चरेलाई लखेटेको दृश्य पनि देखियो। रुखलाई जोगाउनेमा विकासले नै नेतृत्व लिएको थियो।
एक दिन डुल्दै जाँदा उसले देख्यो भूँइदेखि प्राय एक फुट माथि आराले काटेको सगुनको ठुटो रहेको छ विकासको साक्षी भएर। रुखका चारैतिरबाट हाँगा पलाएर यतिखेर मान्छेभन्दा अग्ला भएका छन।