संस्मरण : धनकुटाको गोकुण्डेश्वर हाइस्कुलका पाँच वर्ष (२०१८ देखि २०२२)
|उमेर बढ्दै गएपछि, सिनेमामा बीचको रिल काटिएझैँ बीचको रिल काटिने रहेछ जीवनको पनि । उहिले धरानमा सिनेमा हेर्दा बीचतिर रिल काटिएको कुरा अहिले जीवनसित मिल्दोजुल्दो लाग्न थालेको छ । हालसालैका घटनायाद हुनु स्वाभाविक छ । जीवनमा बालापनका स्मरण पनि ताजै हुने रहेछन् । बीचका स्मृति भने गायब । प्रायः सबैको जीवनमा देखिने यस्तै रोग लागेको हो कि भन्ने लाग्छ । जीवनका पाँच दशकभन्दा बढी समय काठमाडौँमा नै बिताइयो । मैले बालापन र किशोर वयका करिब १९ वर्ष जन्मस्थलको सेरोफेरोमा बिताउने अवसर पाएको थिएँ । यिनै १९ वसन्तबीचका घटना आजसम्म पनि स्मृतिमा ताजै छन् । यसबीचमा मैले ९ देखि १४ वर्षको उमेर गोकुण्डेश्वर हाइस्कुलमा बिताएँ । करिब ५ वर्ष । यस आलेखमा विसं २०१८ देखि २०२२ सम्म गोकुण्डेश्वर स्कुलमा बिताउँदाका संस्मरणलाई समेटेको छु ।
मलाई यकिन सम्झना चाहिँ भएन । खै कुन सालमा हो सरस्वती प्राइमरी स्कुलमा भर्ना भएको ? सरस्वती स्कुल कचिडेका कटेरा, गोठ, आँगन हुँदै सरस्वती स्थानको पार्टीमा पुगेको थियो । त्यसबेला सरस्वती स्कुल र गोकुण्डेश्वर स्कुलको परीक्षाको समय मिलेको थिएन । आषाढ श्रावण महिनातिर सरस्वती स्कुलको शैक्षिक सत्र सुरु हुन्थ्यो भने गोकुण्डेश्वरको फागुनमा । हाइस्कुलको समय मिलाउन ५ कक्षामा ६ महिनामात्र पढेर परीक्षा दिएँ । उत्तीर्ण पनि भएँ । त्यसपछि २०१८ सालमा बजारको गोकुण्डेश्वर हाइस्कुलमा भर्ना हुन पुगेँ । गोकुण्डेश्वरमा कक्षा १ देखि १० सम्मको पठनपाठन हुन्थ्यो । गोकुण्डेश्वर महादेव भएकै स्थानमा स्कुल स्थापना भएको हुँदा स्कुलको नाम पनि गोकुण्डेश्वर रहन गएको हो ।
धनकुटाको कचिडे राणाकालदेखि नै शिक्षामा सचेत थियो । यो गौरवको कुरा हो । धनकुटा पूर्वक्षेत्रको शैक्षिक केन्द्रका रूपमा विकास भएको थियो । यसो हुनुमा त्यहाँका मानिसहरूमा शिक्षाप्रति देखापरेको आकर्षण नै हो । विशेषगरी खस जाति त्यसमा पनि ब्राह्मणहरूमा शिक्षाप्रति गहिरो अनुराग थियो । उनीहरूमा जसरी पनि शिक्षा आर्जन गर्नुपर्छ भन्ने दृढ धारणा थियो । त्यसैले अन्य जातिका सापेक्षतामा ब्राह्मणहरूले नै शिक्षा आर्जनका लागि सङ्घर्ष गरेका दृष्टान्त पनि छन् । धनकुटा प्रशासनिक केन्द्रका रूपमा विकास हुँदै जाँदा शिक्षामा पनि स्वाभाविक विकास र विस्तार हुँदै आयो । समाजले गुरुकुल परम्पराअनुसार परम्परागत रूपमा लिइने शिक्षाको विकल्प पनि खोज्दै थियो । राणा शासकमध्ये देवशमशेर केही उदार स्वभावका शासक थिए । शिक्षाप्रेमी जयपृथ्वीबहादुर सिंहले देवशमशेरसित मिलेर देशमा विभिन्न स्थानमा भाषा पाठशाला स्थापना गरे । सोही क्रममा धनकुटामा पनि भाषा पाठशाला स्थापना भएको थियो । तत्कालीन समयमा प्रायः ब्राह्मण वटुकहरू शिक्षा आर्जनका लागि भारतको बनारस पुग्दथे । उनीहरूको शिक्षामा घरबाट आर्थिक लगानी शून्यप्रायः हुन्थ्यो । तथापि, बनारसमा शिक्षार्जनका लागि पुग्ने वटुकहरूका लागि भने खाने, बस्ने र पढ्ने उचित वातावरण थियो । वनारसमा शिक्षा आर्जन गर्नेहरू नै धनकुटामा आएर गुरुकुल सञ्चालन गर्ने तथा कर्मकाण्ड गर्थे गर्दथे । समाजमा कर्मकाण्डी तथा पुराणवाचक पण्डितहरूको ठूलो सम्मान र इज्जत थियो ।
वीरशमशेरको पालामा गुरु षडानन्दले भोजपुरको दिङ्लामा संस्कृत पाठशालामा स्थापना गर्नुभएको थियो । धनकुटाबाट पनि पढ्नका लागि मानिसहरू दिङ्ला जाने गर्दथे । वनारसमा पढेर आएका स्थानीय शिक्षाप्रेमी तथा तत्कालीन प्रशासनको सहयोगमा धनकुटाको टुँडिखेल छेउमा सम्बत् १९८९ मा गोकुण्डेश्वर स्कुल स्थापना भएको थियो । त्यस स्कुलमा भोजपुर, तेह्रथुम, ताप्लेजुङलगायतका जिल्लाबाट पढ्नका लागि विद्यार्थीहरू आउँथे । शिक्षकको अभाव नै थियो । भारतको बङ्गाल, बिहार र दार्जिलिङबाट शिक्षक झिकाउनुपथ्र्यो । पछि भने स्थानीय शिक्षकहरूकै बाहुल्यता रह्यो । स्थापनाकालमा १० जना छात्रछात्रा लिएर शिक्षासेवी गजेन्द्रबहादुर प्रधानाङ्गको निजी निवास तल्लोकोप्चेबाट प्रारम्भ भएको उक्त स्कुल सम्बत् १९९१ देखि गोकुण्डेश्वर महादेवस्थानमा सञ्चालन हुन थाल्यो । यस विद्यालयको पहिलो सञ्चालक समितिमा पं छविलाल पोखरेल, गजेन्द्रबहादुर प्रधानाङ्ग, गणेशकुमार कर्माचार्य, गुणराज जोशी, पहलमान प्रधान, डिल्लीनाथ श्रेष्ठ क्रमशः सभापति, सचिव, कोषाध्यक्ष र सदस्य रहनुभएको थियो । विद्यालयको विकासमा लिलाराम पोखरेल, पूर्णलाल श्रेष्ठलगायतको पनि ठूलो योगदान रहेको छ । गोकुण्डेश्वर स्कुल नेपालकै पुरानोमध्येको एक हो । काठमाडौँ उपत्यकाबाहिर खुलेका स्कुलमा तानसेनपछिको यही नै हो जस्तो लाग्छ । देशकै पुरानो स्कुल भएकाले शिक्षाको विकास र विस्तारमा यसले ठूलो योगदान पु¥याएको देखिन्छ । स्कुल स्थापनाको प्रारम्भिक समयमा बंगाल, बिहार तथा दार्जिलिङबाट शिक्षकहरू आउँथे । सञ्चालक समितिका सदस्यहरूले नै ती विभिन्न स्थानमा सम्पर्क गरी शिक्षकको अभाव टारेका थिए । हामी पढ्दा भने विज्ञान र हिसाब पढाउने मैथोस सर हुनुहुन्थ्यो तर उहाँ लामो समयसम्म बस्नुभएन । अन्य त सबै नेपाली नै हुनुहुन्थ्यो, त्यसमा पनि स्थानीय ।
सम्बत् २०१८ सालमा गोकुण्डेश्वर स्कुलमा कक्षा ६ मा भर्ना भइयो । भर्ना गराउँदा भक्तविनोद सरले लिएर जानुभएको हो । सरस्वती स्कुलबाट ५ कक्षा उत्तीर्ण हुने देवहरि, पूर्णप्रसाद, विश्वनाथ र म गरी ४ जना थियौँ । हामी चारैजनाको खुब मिल्ती थियो । देवहरि र विश्वनाथ बितेर गए । पूर्णप्रसादसित मित्रता यथावत छ ।
हामी स्कुल भर्ना हुँदा प्रधानाध्यापक मैत्रेय सर बङ्गाली थिए । विशेषगरी अङ्ग्रेजी र गणित पढाउने शिक्षकको सधैँ अभाव नै हुन्थ्यो । बङ्गाली सर धनकुटाबाट धरान गएपछि गोकुल श्रेष्ठ प्रधानाध्यापक हुनुभयो । हामी १० कक्षामा पुग्दा भने भुवनेश्वर बौद्धाचार्य प्रधानाध्यापक हुनुहुन्थ्यो । स्कुलको आनै औपचारिक पोसाक पनि थिएन । गच्छेअनुसारका पोसाकमा स्कुल गइन्थ्यो ।
हामीलार्ई घरबाट स्कुल पुग्न फटाफट हिँड्दा आधा घण्टा जति लाग्थ्यो । बिहान ९ बजे खाना खाएर स्कुल गएपछि बेलुका खान घर नै आइपुगिन्थ्यो । कहिलेकाहीँ मात्र हो खाजा खाने नत्र जुर्दैनथ्यो । स्कुलनजिकै घर भएकाहरू खाजा समयमा घरै जान्थे । हामीलार्ई त्यस्तो सम्भव थिएन । अहिलको जस्तो खाजा लिएर स्कुल जाने चलन पनि थिएन । बजारमा घर भएको भए त खाजा खान पाइन्थ्यो जस्तो लाग्थ्यो । गुरुहरू एकैसाथ स्कुलकै फर्निचर मर्मत गर्नेको पसल (तन्नेरी साहुको पसल)मा खाजा खान जान्थे । केही गुरुहरू भने खाजा खान गएको कहिल्यै देखिएन । खाजा खाने समयमा कोही क्यारमबोर्ड खेल्न जान्थे । हामीजस्ता पैसा नभएकाहरू दर्शक बन्थ्यौँ । बाजी खेल्ने र जित्नेहरू चाकुशाला खुवाउँथे । चिनीमाइलाको चाकुशाला नामी थियो, त्यतिबेला । हाम्रो स्कुल तल्लो टुँडिखेलको छेउमा थियो । कहिलेकाहीँ ४ बजेपछि पनि फुटबल खेलेको हेर्न बसिन्थ्यो । चौरबाहिर आएको बल हान्ने दाउ हुन्थ्यो, हाम्रो । खुब रमाइलो लाग्थ्यो ।
हाम्रो गाउँमा न त कसैको फुटबल थियो न त खेल्ने चौर नै । कलेज पढ्दा कचिडे र आदमाराका साथीहरूसित मिलेर अम्बाबारी टारसम्म पुगियो, खेल्नकै लागि । कतिपटक त खेलेरै बरालिँदा कुटाइ पनि खानुपरेको थियो । मेरा बालसखा गणेश, देवहरि, दिवाकर, शिवबहादुर (लट्टे), पूर्णप्रसाद, वासुदेव, नवराज, खड्गबहादुर आदि थिए । घनिष्टता चाहिँ गणेश र पूर्णप्रसादसित थियो । सबैका पिताजी थिए । केही भन्यो कि बालार्ई भनिदिन्छु भनेर घुर्की देखाइहाल्ने । अरूका पिताजीले आफ्ना छोराछोरीलार्ई माया गरेको देख्दा कता कता दुख्ने गर्दथ्यो ।
म हिसाबमा भने कमजोर थिएँ किनकि हिसाब घोकेर हुने विषय थिएन । गाउँघरका स्कुलमा गणित शिक्षकको सदासर्वदा अभावै जस्तो हुन्थ्यो, राम्ररी पढ्न पाइएन । कक्षा ६ को अर्धवार्षिक परीक्षामा त हिसाबमा शून्य अङ्क आयो । मार्कसिट घरमा देखाउन पनि डर लाग्यो । शून्य अङ्कभित्र ३५ नम्बर आफैंले लेखेँ । यो गल्ती गरेकोमा घरमा कुटाइ नै खानुपरेको थियो भने स्कुलमा गाली । सो बेलादेखि मार्कसिटमा लेख्नु नहुने रहेछ भन्ने चेत खुल्यो । एसएलसीमा ऐच्छिक विषय ऐन स्रेस्ता लिन खोजेको थिएँ, हिसाबको सट्टा तर दाजुले मान्नुभएन । हिसाब लिन बाध्य भएँ । हिसाबमा साथीहरूले ९० अङ्कसम्म पाए मैले कुल ३० अङ्क पाएर उत्तीर्ण गरेँ । एसएलसीपछि गणितबाट पार पाइयो । म यसैमा धेरै खुसी थिएँ । कक्षा ६ देखि ९ सम्म मलार्ई निःशुल्क पढ्ने अवसर मिलेको थियो । १० कक्षामा भने आधा शुल्क तिर्नुप¥यो । मलार्ई निःशुल्क गराउने वातावरण गुरु हेमचन्द्र पोखरेलले मिलाइदिनुभएको थियो । उहाँप्रति म कृतज्ञ छु ।
धनकुटाका स्कुल कलेजहरू बिहीबार साप्ताहिक छुट्टी हुन्थ्यो, हाट लाग्ने भएकाले । सबै कर्मचारीहरू हाटमा किनमेल गर्न जाने हुँदा सरकारी कार्यालय पनि एक बजेपछि मात्र लाग्दथे । शनिबार भने छुट्टी नै हुन्थ्यो । मलार्ई स्कुल कहिल्यै छुट्टी नहोस् जस्तो लाग्दथ्यो । स्कुल जाने रहरले भन्दा पनि गोठालो जानुपर्ला भन्ने पिरले । मेरो मात्र होइन अरूको पनि हविगत यस्तै थियो ।
सरस्वती स्कुलमा विद्यार्थी थोरै थिए ।फर्निचर तथा शिक्षकको पनि अभाव थियो । सरस्वती स्कुलमा हुँदा जम्मा २ जना शिक्षकले पार्टीमा पढाउनुहुन्थ्यो । हाइस्कुलको विशाल भवन, फराकिला कक्षाकोठा,आवश्यक फर्निचर, प्रशस्त शैक्षिक सामग्री तथा धेरै शिक्षकहरू देख्दा मलाई निकै अचम्म लागेको थियो । कक्षामा हामी ३० जनाभन्दा बढी विद्यार्थी थियौँ । त्यसमा सरस्वती स्कुलबाट गएका जम्मा ४ भाइ थियौँ ।त्यसैले कक्षामा घुलमिल हुन नै केही समय लाग्यो ।
विद्यालय समय १० देखि ४ बजेसम्म थियो । दश बजे प्रारम्भ हुने प्रार्थनासभामा सहभागी हुनु अनिवार्य ठानिन्थ्यो । पहिलो घन्टी पढाउने शिक्षकले विद्यार्थीको हाजिर लिनु हुन्थ्यो । त्यसैले उहाँलाई क्लासटिचर भनिन्थ्यो । विद्यालयमा १ बजेदेखि २ बजेसम्म खाजा समय थियो ।
हामीलाई पढाउने गुरुहरूमा भुवनेश्वर बौद्धाचार्य, जीवलाल श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, सुन्दरबहादुर श्रेष्ठ, मैथोस अधिकारी, मुरारी अधिकारी, गोविन्दबहादुर श्रेष्ठ, शिवप्रसाद गुरागाई, हेमचन्द्र पोख्रेललगायत हुनुहुन्थ्यो । उहाँहरूमध्ये अधिकांश बितिसक्नुभएको छ । स्वर्गवासी गुरुहरूप्रति हार्दिक श्रद्धान्जली । हामीलाई पढाउने शिक्षकमध्ये हाल गोकुललाल श्रेष्ठ मात्र जीवित हुनुहुन्छ । गुरुको आशीर्वाद पाइरहुँ । हामीले ८ कक्षामा अमेरिकी पिसकोर कार्यक्रमअन्तर्गत २ शिक्षक म्याक र हेम्रिकबाट फर्निचर निर्माण एवं कृषि विषयमा अतिरिक्त कक्षा लिन पाएका थियौँ । हाम्रो विद्यालयमा कोही पनि शिक्षिका हुनुहुन्नथ्यो ।
धनकुटा जिल्लामा त्यतिबेला दुईवटा हाइस्कुल थिए । एउटा गोकुण्डेश्वर हाइस्कुल तथा अर्को गोकुण्डेश्वर कन्या स्कुल । प्रारम्भमा यी दुवै स्कुल एकै थिए । पछि गोकुण्डेश्वर हाइस्कुलबाट कन्या स्कुल पृथक् भएको थियो । हेमचन्द्र पोखरेल तथा विज्ञान र हिसाब विषय पढाउने शिक्षकले भने दुवै स्कुलमा पढाउनुभएको सम्झना छ ।
जिल्लाका विभिन्न स्थानमा प्राइमरी तथा मिडिल स्कुलहरू थिए । त्यहाँबाट विद्यार्थीहरू सातु-सामल लिएर धनकुटा बजारमा डेरा गरी बस्थे । छिमेकी जिल्लाबाट पनि केही विद्यार्थी भर्ना भएका थिए । धनकुटाको सरकारी कार्यालयमा कार्यरत कर्मचारीका छोराछोरी पनि सोही विद्यालयमा पढ्ने गर्दथे । त्यस बेलामा भारतीय सेनामा भर्ना भएका सिपाहीका सन्तानलाई भारत सरकारले नै पढाइदिन्थ्यो । उनीहरूका लागि एक होस्टेल पनि तल्लो कोप्चेमाबनेको थियो । यसलाई सोल्डर बोर्ड हास्टेल भनिन्थ्यो । कक्षा ६ देखि १० सम्म अध्ययन गरिरहेका सैनिकका छोराहरूसमेत उक्त होस्टलमा बस्ने गर्दथे । उनीहरू सबै त्यहाँबाट पढ्नका लागि गोकुण्डेश्वर स्कुल आउँथे ।
हामी सात कक्षामा पुग्दा तेलियाबाट लोकेन्द्र राया, शेरबहादुर थापा, खिन्द्रप्रसाद घिमिरे तथा खेम घिमिरे, जितपुरबाट शिव नेपाल र खाँदबारीबाट रामप्रसाद श्रेष्ठ गोकुण्डेश्वर स्कुलमा पढ्न आएका थिए । कक्षा ९ मा धनकुटा गौडाका सुब्बा माधवप्रसाद नेपालका छोरा प्रकाश नेपाल र तेह्रथुमबाट अमरदीप प्रधान पढ्न आएका थिए । हामी कक्षा ६ देखि १० कक्षाको पूर्वयोग्यता परीक्षा दिने बेलासम्मप्रायः उनै सहपाठी थियौँ । हामीमध्ये पुण्यप्रसादले बीचैमा पढाइ छाडेभने देवहरि श्रेष्ठ विराटनगरतिर लागे । मेरा अन्य सहपाठीहरूमा सुशील कर्माचार्य, प्रेमकुमार श्रेष्ठ, गंगा श्रेष्ठ, राधेश्याम श्रेष्ठ, ओमकार श्रेष्ठ भोगेन्द्रप्रकाश श्रेष्ठ, ईश्वरबहादुर श्रेष्ठ, दिनेशलाल श्रेष्ठ, पूर्णकृष्ण श्रेष्ठ, सोहनलाल श्रेष्ठ, पहलमान तामाङ, भागवत श्रेष्ठ तथा रुद्रबहादुर बस्नेतको सम्झना छ ।
एसएलसीको सेन्टअपमा गएरभने हामीले धेरैसाथी छाड्नुप¥यो । एसएलसी परीक्षा दिँदा प्रकाश नेपाल (हाल अमेरिका) र अमरदीप प्रधान (डा अमर प्रधान, उनी चाँडै बिते)बाट मैले धेरै कुरा सिकेको थिएँ । कक्षा ८ मा हुँदा पूर्णकृष्ण श्रेष्ठको घरमा हामीले संयुक्त अध्ययनसमेत गरेका थियौँ ।
स्कुलमा साहित्यिक कार्यक्रम भइरहन्थ्यो । विद्यालयको वार्षिकोत्सव, राजारानीको जन्मोत्सव तथा अन्य यस्तै उत्सवहरूमा खेलकुदका कार्यक्रम पनि हुन्थे । साथै विदेश भ्रमण गरेर आएकाहरूले आफ्नो अनुभव सुनाउँथे । माधवप्रसाद शर्मा (डा माधवप्रसाद शर्मा), मुकुन्द पोखरेल लगायतले आफ्नो विदेश भ्रमणको अनुभव सुनाएको मलाई याद छ ।
बजारका र गाउँका विद्यार्थीहरूबीच धेरै अन्तर देखिन्थ्यो । बजारका विद्यार्थीहरू सुकिलामुकिला थिए तर गाउँका झुत्रे-झाम्रे जस्ता देखिन्थे ।तुलनात्मक रूपमा गाउँका विद्यार्थीहरू नै पढ्नमा तेजी थिए । पढ्ने मामलामा भने बजारका प्रायः पछाडि नै परेको अनुभव गरेको छु । जिल्लामा मन्त्री आउँदा घुमाउने चौतारासम्म उनीहरूलाई लिन जाने गरिन्थ्यो । यस अवसरमा विद्यालयका सबै विद्यार्थी सहभागी गराउने चलन थियो । खेलकुदमा भने बजारका विद्यार्थीहरू अगाडि नै हुन्थेँ । पढाइ तथा साहित्यिक क्रियाकलापमा भने गाउँका अगाडि देखिए ।
मंसिर महिनामा अमिलो साँधेर खाने खुवाउने चलन थियो । कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले बेग्लाबेग्लै दिन अमिलो साध्ने कार्यक्रम राख्दथे । सम्बन्धित कक्षाका बाहेक अन्य कक्षाका मनिटर तथा शिक्षकहरू सबैलाई आमन्त्रण गरिन्थ्यो । जुनार, सुन्तला, संखत्रो, चाकुपाङ जस्ता फलफूलमा दही, बदामको छोप, मसला एवम् चिनी हालेर अमिलो साध्ने चलन थियो । थियो घरमा यी फलफूल हुनेले लिएर जान्थे भने अरूले सामान्य पैसा दिन्थे । त्यसबेला मलाई मोनिटर हुन पाएको भए हुन्थ्यो जस्तो लाग्थ्यो । त्यसबेला धरान, विराटनगर, तेह्रथुम, चैनपुर र धनकुटा बीच फुटबल प्रतियोगिता हुन्थ्यो । धनकुटाले जित्दा खुसी भइन्थ्यो भनेहार्दामन ज्यादै खिन्न हुन्थ्यो ।
स्कुलमा कडा अनुशासन थियो । शिक्षकसित विद्यार्थी डराउनुपर्छ भन्ने मान्यता थियो । सबै शिक्षकको हातमा प्रायः बाँसको सिर्कनु वा लट्ठी हुन्थ्यो । तर, ८, ९ र १० कक्षामा पुगेपछिभने विद्यार्थीले कमै पिटाइ खान्थे । बिफर तथा टिएबिसीको भ्याक्सिन प्रत्येक वर्ष स्कुलमा नै दिइन्थ्यो । स्कुलमा विशेष व्यक्तिको भ्रमण हुँदा तथा माथिल्लो तहका अधिकारीहरूको निरीक्षण हुँदाविद्यार्थीहरूलाई विशेष सजग गराइन्थ्यो ।
सुरुमा स्कुलमा छात्र संगठन थिएन तर हामी १० कक्षामा पुगेपछि संगठनको माग भयो । सुशील कर्माचार्य र दिनेशलाल श्रेष्ठ छात्र संगठनको सभापतिको उम्मेदवार भए । प्रत्येक कक्षामा शिक्षकहरू नै गएर को कसको पक्षमा हो हात उठाउन लगाउनुभयो । सोहीअनुसार आएको नतिजामा दिनेशलाल श्रेष्ठ सभापतिमा चुनिएका थिए । हामी स्कुल पढुन्जेल कहिल्यै हड्ताल भएन । यथार्थमा भन्ने हो भने हडताल के हो थाहा नै थिएन ।
स्कुल पढेका साथीहरूमध्ये रुद्रबहादुर बस्नेत र म एमएसम्म सँगै भयौँ । उनी अर्थशास्त्रमा स्नातकोत्तर गरी नेपाल सरकारको सेवामा गए । दिनेशलाल, रामकृष्ण, लोकेन्द्र, पूर्णकृष्ण, प्रकाश नेपाल, टंकबहादुर लिम्बुलगायतका साथीहरूसित अहिले पनि मेरो सम्पर्क छ । देवहरि, ओमकार, भोगेन्द्रप्रकाश, सुशील कर्माचार्य, अमरदीप प्रधान जस्ता मित्रहरूलाई गुमाउनुपरेको छ । मित्रहरूप्रति पुनः हार्दिक श्रद्धाञ्जली ।
एसएलसीपूर्वको टेस्ट परीक्षा उत्तीर्ण गरेपछि दुवै गोकुण्डेश्वर स्कुलका विद्यार्थीहरूको संयुक्त बनभोज कार्यक्रम आयोजना गर्ने चलन थियो । त्यसबेला सहशिक्षा थिएन । त्यसैले केटी साथीसित बोल्न निकै असहज हुन्थ्यो । तर, उक्त वनभोजबाट केही खुल्न सजिलो भयो । हामीले खानेकुरा सोल्जर बोर्ड होस्टलमा तयार गरेका थियौँ । वनभोजस्थल भने पाख्रिबास थियो । उक्त बनभोजमा जानेमध्ये कन्या स्कुल उर्मिला श्रेष्ठ, रोहिणी श्रेष्ठ तथा सुशीला पोखरेल आइए पढ्दा सँगै भए ।
स्कुल पढ्दा भागेर धनकुटा बेसीमा बयर टिप्न, फडिर टिप्न तथा पात्लेखोलामा पौडी खेल्न गएको सम्झना छ । स्कुल छेउछाउमा भएका बारीको अम्बालगायत फलफूल पनि झुक्याएर टिप्ने गरिन्थ्यो । माथिल्लो कक्षामा पढ्ने प्रायः सबैले धुम्रपान गर्थे लत भने धेरैको थिएन ।
हामीले पढ्दा बुझेर भन्दा घोकेर पढ्ने चलन थियो । कक्षाकोठामा कालोपाटी त थियो तर थोरै मात्र शिक्षकहरूले यसको प्रयोग गर्नुहुन्थ्यो । हिसाब पढाउने शिक्षकले भने प्रायः कालोपाटी नै प्रयोग गर्नुहुन्थ्यो । खेलकुद कार्यक्रमको प्रयोजनका लागि समय छुट्याइएको थिएन । कविगोष्ठी तथा वादविवाद भने बारम्बार भइरहन्थ्यो । हाजिरीजवाफ जस्ता कार्यक्रम भने सञ्चालन हुँदैनथे ।
हाइस्कुल पुगेपछि सिसाकलम, सिलोट तथा बाँसका कलमले छुटकारा पायो । बल्ल फाउनटेनपेनबाट लेख्न थालियो । हाम्रो पालामा टेको तथा प्लेटो जस्ता कलमहरू विद्यार्थीको पहुँचमा थिए । पार्कर तथा वाटन म्यान जस्ता कलम भने ठूलाबडाको हुन्थ्यो । बलपेन त हामीले देखेकै थिएनौँ । विद्यार्थीहरूलाई कडा अनुशासनमा राख्नुपर्छ,पिटेरै तह लगाउनुपर्छ भन्ने मानसिकता थियो । गुरुहरूसित असाध्यै डराउनुपर्ने अवस्था थियो । आफ्ना छोराछोरीहरूलाई सरको डर देखाएर तह लगाउन खोज्थे, बाबुआमाहरू । नेपाली र संस्कृत पढाउनेशिक्षकलाई गुरु र अन्यलाई सर भन्ने चलन थियो ।
म कक्षाको सबैभन्दा फुच्चे भएको कारणबाट सबै साथीहरूले माया गर्थे । गुरुहरूले पनि असाध्यै स्नेह गर्नुहुन्थ्यो । मैले कहिल्यै पिटाई खानुपरेन । कक्षा ६ देखि ९ सम्म पढ्दा मैले निःशुल्क छात्रवृत्ति पाएको थिएँ । कक्षा १० मा भने अर्धशुल्क छात्रवृत्ति पाएको थिएँ । साथीहरूले मलाई स्नेहपूर्वक फुच्चे बाजे, सानो बाजे भनी सम्बोधन गर्थे । त्यस समयमा ब्राह्मणलाई प्रयोग गरिने ‘बाजे’ शब्द आदरार्थी मानिन्थ्यो । अहिले पनि कसैले बाजे भनेर सम्बोधन गर्दा मलाई आनन्द लाग्छ तर यसो भन्ने कोही छैनन् ।
नेपालमा शिक्षा र आइसल्यान्डमा सर्प उस्तै हो भन्ने टिप्पणी गरिएको समयमा गोकुण्डेश्वर हाइस्कुलले पूर्वाञ्चल क्षेत्रमा शिक्षाको विकास र विस्तार गर्न ठूलो भूमिका निर्वाह गरेको थियो । राणा शासकहरूको सुदृष्टि नहुँदा नहुँदै पनि स्थानीय समाजसेवीहरूको अनवरत तथा अथक् प्रयासबाट यस स्कुलले समयानुसार प्रशंसनीय एवम् अनुकरणीय कार्य गरेको थियो । यस स्कुलमा पढ्ने विद्यार्थीहरूले मुलुकमै अति विशिष्ट पहिचान कायम गर्न सकेका थिए । सूर्यबहादुर थापा, ज्ञानेन्द्रबहादुर कार्की, कृष्णप्रसाद पोखरेल, मोहनप्रसाद पोखरेल, पदमबहादुर बस्नेत जस्ता राजनीतिज्ञहरू गोकुण्डेश्वर स्कुलकै उत्पादन थिए । रामनारायण श्रेष्ठ, रामेश्वरबहादुर श्रेष्ठ, खगेन्द्रबहादुर प्रधानाङ्ग जस्ता समाजसेवी तथा रामप्रसाद पोखरेल, तुलसी दिवस, दयाराम सम्भव, अशेष मल्ल, लोकेन्द्र राय, बुद्धदेवप्रसाद घिमिरे जस्ता साहित्यिक क्षेत्रका गहना यसै स्कुलका उत्पादन हुन् । उपेन्द्र दुःखी, मुकेश मल्ल जस्ता लब्धप्रतिष्ठित चित्रकार, एलपी जोशी, ओमकार श्रेष्ठ, गणेश खुँजेली जस्ता संगीतका साधक, डा रामप्रसाद पोखरेल, डा निराकारमान श्रेष्ठ, डा गुणराज कार्की, डा सम्पूर्णानन्द ढुंगाना, डा भगवान श्रेष्ठ जस्ता चिकित्सक, झमकबहादुर निरौला जस्ता उद्यमी एवम् ओमभक्त श्रेष्ठ (पूर्वप्रधानन्यायाधीश) जस्ता न्यायमूर्तिहरूले पनि यसै स्कुलमा अध्ययन गरेका थिए । त्यसैगरी गोकुलप्रसाद पोखरेल, डा माधवप्रसाद शर्मा, प्रा नारायण जोशी, प्रा उपेन्द्र पोखरेल, डा टेकबहादुर श्रेष्ठ, डा पुष्पबहादुर श्रेष्ठ जस्ता बौद्धिक व्यक्तित्व पनि यसै स्कुलमा पढेका थिए ।
यस स्कुलबाट पहिलोपटक प्रथम श्रेणीमा प्रवेशिका उत्तीर्ण गर्ने व्यक्ति छविरमण भट्टराई थिए भने हाम्रो पालामा अमरदीप प्रधानले प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि स्कुलबाट प्रथम श्रेणीमा प्रवेशिका उत्तीर्ण गर्ने दोस्रो व्यक्ति बने ।
गौरवपूर्ण अतीत बोकेको यस विद्यालयको समयसापेक्ष विकास गरी पुनः पूर्वकै एक सशक्त शैक्षिक धरोहरको रूपमा स्थापित गर्न सम्बन्धित सबै पक्षको प्रतिबद्धताको टड्कारो खाँचो देखिएको छ ।
बाल शखा तीर्थजी तपाइँको संस्मरणको लेख पढेपछि कता कता मन छोयो। समकक्षि र समकालीन घटनाक्रम धेरैकुरा ओझेल परेको आज पढेर छर्लड्ग भएँ । “पिच्चे बाजे” बिध्यालयको हाम्रो बृतान्त बनभोजको रमाइलो क्षण अनि समकालिन मित्रहरूको बृतान्त, बिद्सयालयको इतिहास सरहरूको बृतान्आत आदि आदि बिशेष मनछुने मुख्य बिषय भए । लेखका लागि तपाइँलाई बधाई छ अनि धन्यबाद, गर्व लाग्यो लेख पढ्न पाएँ ।
Thanks to our good old friend Tirtha Mishra to walk us through our school time. I enjoyed it a lot. I could recall our friend Tanka Limbu and have requested him to connect me in Facebook.
Very interesting recap to those who take pride in their roots and childhood days in Dhankuta, the Eastern adm.centre of Nepal