लाचार छायाँहरू


आज मेरा कविताका शीर्षकहरू
गुनासो पोख्दै
दुखित हुँदै भन्छन् –

“आफ्नो मूलबाटो बिर्सिएर
यान्त्रिक खुट्टाहरूले लामा-लामा फड्का हान्दै
कतिपय
अभिमानी शीर्षकहरू
हामीले पसिनाले हिल्याएको
हाम्रो विश्वासको क्षेत्रफलभरि रोपेका
शब्दहरूका खेतीको सीमानानेर
भित्रिन दाउ खोज्दै छन् ।”
म मुसुक्क हाँस्तै भन्छु —
मलाई पनि थाहा छ
ती हतास मानसिकताका बिरामी शीर्षकहरूका कुरा —

तिमीहरू चिन्ता नगर !
उनीहरू केवल
गरुङ्गा काला अभिमानी बुट लगाएर
चौडाइ नभएको गल्लीमा हिँड्ने
पथिक मात्र हुन् ।

म त उनीहरूलाई बिचरा भन्छु

अनिश्चयता र व्यर्थता भित्र भित्रै
धेरैपल्ट
अनुवाद हुँदाहुँदै
आफैबाट टाढिएका
लाचार छायाँहरू मात्र हुन् उनीहरू ।।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *