किसान

वातानुकूल कोठाभित्र बसेर
ढुक्कले कविता लेखेजस्तै होइन
एक बालो धान फलाउनु
एक लाँक्रो उखु उब्जाउनु
एक घोगो मकै पकाउनु

रगतले जोत्नु पर्छ बाँझो बारी
पसिनाले नुहाइदिनु पर्छ एकेक गरा खेत
भोकलाई त्यागपत्र दिएर
रोगलाई अवज्ञा गरेर
समयलाई चुनौति दिँदै
जनावरसँग पौठेजोरी खेल्दै
मौसमको टुप्पी समाएर
तिरिखिरी पार्न सकेमात्र
आँगनमा ल्याउन सकिन्छ
मगमग बास्ना आउने बासमती

उसको कथा र व्यथाको पाण्डुलिपि
कस्ले पढेको हुन्छ
उसका फुटेका पैतालाको वेदना कस्ले भोगेको हुन्छ
उसको नग्नताको लाज कसले अनुभव गरेको हुन्छ?

पेट र पीठ टासिँएर एक भइसकेको उसको चित्र
कसैले कोर्ला
उसको दुखाइको कविता कसैले रच्ला
उसका सुस्केराहरूको गीत गाएर
कोही दामी कलाकार बन्ला
उसको पीडा उतारेर
प्रतियोगिता जितिएला
तर उसले सधैँ हारेको छ सबै चुनौती
सबै प्रतियोगिता

देशको भुँडी भर्ने चक्करमा अाफ्ना परिवारलाई पानी पिलाएर सुतायो होला
कत्ति रात उसले
आशाको एउटा दानो बच्चासरी हुर्काउन

तर पनि हुन्छ ऊमाथि षड्यन्त्र
दबाइन्छ उसको आवाज
रिन तिर्न नसकेर
हक नपाएर
झुन्डिन्छ ऊ बारीतलको रुखमा
सुनसान रातमा

भोलिपल्ट उसको टुहुरो खेतले
शोकसभा मनाउँछ
स्वार्थी देशले
चुनावी मामला बनाउँछ
कुर्सीमा बस्छ अर्को घातक

“जय किसान”
एउटा लोकप्रिय नारा हो
जब ऊ हकको आवाज उठाउँछ
राजधानीको गोलीले छियाछिया पारिदिन्छ उसको छाती
ऊ देशको दुश्मन ठहरिन्छ
जो देशको अन्नदाता हो उही
उही जसको नाडी छामेर
देशको ज्वरो जोख्न सकिन्छ ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *