आसाम यात्रा- बिर्सिनसक्नु अभरिलो यात्रा
|गत २०१७ जनवरी महिनामा गौहाटी जाने निधो भएको थियो । दुई तीन वर्षदेखि आफु गौहाटी र आसामका अन्य जिल्लामा रहेका आफन्तको घरतिर जाने गर्थें । विषेश गरी आफु नेपाली भाषा र साहित्यको एक अध्येता र पढाउने प्राध्यापक (खासगरी उप प्राध्यापक) भएकाले गौहाटी विश्वविद्यालयको दूर तथा खुला शिक्षा संस्थानद्रारा केही वर्ष अघि (चार वर्षअघि जस्तो लाग्छ) सञ्चालित नेपाली विषयमा स्नातकोत्तर तहमा वर्षमा एकपल्ट अध्ययन परामर्श कक्षा लिन त्यहाँ पुगिन्छ । यही काम र कुराको सिलसिला लिएर गएर कहिले चार दिन कहिले पाँच दिन बस्ने गरिन्छ । यसपालि सात दिन बस्ने निधो भएर गौहाटी गयौं ।
त्यो वर्षको गौहाटीको भ्रमण मेरा निम्ति अनौठो भयो । रोचक, नबिर्सने र अभरिलो पनि भयो । त्यसपल्ट भने आइडोलमा त्यही कक्षा लिन मसित जाने प्रा. कबीर बस्नेत पनि थिए। आइतबारका दिन गौहाटीको गणेशगुरीछेउको होटेल अर्क्याडमा बस्ने बन्दोबस्त भएको थियो । सबै बन्दोबस्त ठिकै थियो, होटेलका मेनेजर रोहित गौतमले राम्रो व्यवस्था गरिदिएका थिए। होटलमा नुहाउन तातो पानीको गिजर नभएर वार्ड बोयले बाल्टीमा बोकेर भए पनि तातो पानीको व्यवस्था गरिदिएको थियो। हामी दुईजना एउटा कोठामा बसेका थियौं। खाना त्यही होटेलमा बिहान बेलुकीको बन्दोबस्त थियो। सबै ठिकै चल्दै थियो ।
सोमबारका दिनदेखि गौहाटी विश्वविद्यालयको आइडोलमा स्नातकोत्तर तहमा अनौपचारिक व्यक्तिगत सम्पर्क कार्यक्रमअन्तर्गत पाठहरूबारे चर्चा कक्षा सञ्चालन भए । त्यही प्रकारले मङ्गलबार, बुधबार बिहीबार गर्दै दिन बिते । बुधबारदेखि भने टाउको चिलाउन थाल्यो । नुहाएर पनि उत्तिकै चिलाउँदै थियो । फेरि रातीराती अलिलि गर्दै ज्वरो आउने गर्न लाग्यो । दिनमा त क्लास लिएर बस्ता, गफ गर्दा ठिकै थियो । रातीराती टाउको चिलाउने र ज्वरो आउने बढ्दै गयो । पेट पनि फुलिएको जस्तो हुने । दिनभरि ठिकै हुन्छ, टाउको चिलाउने त दिनमा पनि हुन्थ्यो तर यता उति भुलिन्दा ठिकै थियो । शुक्रबारको दिन हामीलाई रूद्र बरालज्यूले उहाँहरूको सांगठनिक सरसल्लाहका निम्ति डा. कमल छेत्रीको प्राइभेट क्लनिकमा लानुभयो । उहाँ ग्यास्टोलजिस्ट हुनुहँदो रहेछ । मैले उहाँलाई पेटको समस्या बताएँ । उहाँले तीन चारवटा ट्याब्लेट किन्न लाउनुभयो । त्यही दिन बरालले गौहाटीबाट आफ्नो कारमा उहाँको घर बडसोलाको घर लानुभयो । करीब तीन घण्टामा हामी बडसोला पुग्यौं । त्यहाँ पनि ठिकै थियो । सामान्य रूपमा जिउ भने चिलाउन थालेको थियो। भोलिपल्ट बडसोलादेखि केही पर भाँगा मन्दिरको एउटा स्कुलमा असम नेपाली साहित्य सभाको स्थानीय उपसमितिको आयोजनामा नेपाली वर्णविन्यास कार्यशालाको कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ हामी दुई स्रोत वार्ताकारका रूपमा आमञ्त्रित थियौँ । मैले र कबीर बस्नेतले आफ्नो आफ्नो वार्ता दियौं । नेपाली भाषामा चलेका भाषा विवाद, वर्णविन्याससम्बन्धी समस्या आदि कुरामा छलफल पनि भए । आफुलाई भने त्यो दिनको बिहानदेखि नै शरीर बिसञ्चो भइरहेको थियो । घाँटी पनि दुखेको, गला पनि बसेको जस्तो अवस्था थियो । बोल्न मुस्किल परेको अवस्था थियो । मुस्किलले एक घण्टा जति उक्त कार्यशालामा बोलेँ । केही प्रश्नोत्तर भए । हलभरि स्रोता थिए । त्यसको छेउमा ओमप्रकाश बस्नेतको घर रहेछ । त्यहाँ उनले र उनकी श्रीमती रिजु देवीले न्यानो स्वागत गरे । कथाकार डिल्लीराम खनाल, दधि भट्टराई आदिसित पनि भेट भयो, कुशल मङ्गल भयो । राम्रो आतिथ्य भयो । त्यो दिन हामी सिङ्ग्री पनि घुम्न गयौं । सिङ्ग्रीमा व़योबृद्ध उपन्यासकार शेरमान थापाको घर गएर उहाँसित भेटघाट गरेका थियौं । विचरा थापाज्यू गरीबीको दलदलमा हुनुहुँदो रहेछ । आफ्नो साहित्यिक रचनाबारे चर्चा गर्नुभयो । धेरै वर्ष नेपाल गएर काम पनि गर्नुभएको संस्मरण सुनाउनु भयो । सिङ्ग्रीको ब्रह्मापुत्र घुम्यौं । शरीर बिसञ्च पनि छँदैछ । त्यसपछि हामी बडसोला बरालज्यूको घर आयौं । त्यहाँ रमाइलो लाग्यो। बरालले केही पर आफुले पाएको निम्तो मान्नु एउटा असमीय मान्छेको घरमा बिहामा हामीलाई पनि लानुभयो । त्यहाँ बिहाका विभिन्न पकवान थिए, खाइयो । बरालको घरमा किताबको थाक, सङ्गठनका कागजपत्र, भाउजूले कम्युटरमा कम्पोज गर्न राखेका कागजपत्र । उहाँ साह्रै ब्यस्त रहनुहुँदो रहेछ । स्वर्णलता भाउजू पनि एकदमै फर्साइली, सहयोगी र उज्याली ।
भोलिपल्ट बिहानी हामी त्यहाँबाट निस्कियौं । त्यसको तीन दिन अघि कालिम्पोङको नेपाली साहित्य अध्ययन समितिका सचिव बलभद्र शर्मा दाजुले मलाई फोन गरेर ‘तपाईं आसाम जानुभएको रहेछ, तेजपुरको कतै भित्री गाउँमा ज्ञानबहादुर छेत्रीको आयोजनामा प्रभुराम कार्कीको सालिग लोकार्पण कार्यक्रममा गइदिनु होला’ भनी निवेदन गर्नुभएको थियो । मैले हुन्छ भनेको थिएँ । तर त्यो दिन बिहान पनि शरीर चिलाउने, पोल्ने, टाउको चिलाउने, ज्वरो पनि आउँदै गरेको जस्तो गरी बिसञ्च थिएँ । कुरा बुझ्दा निकै टाडा अनि दुर्गम गाउँ रहेछ। जान कुरा आएन। धन्य गइएन रहेछ। नत्र के हुन्थ्यो, दैवै जानुन् ।
बडसालोदेखि सिराजुलीसम्म बरालले हामीलाई ल्याइदिनु भयो । त्यसपछि हामी एउटा बस चडेर दलगाउँसम्म गयौं । दलगाउँबाट एउटा टोटो चडेर भित्रको गाउँ कोलबारी –कौपाटी गयौं । त्यहाँ दाजुको ससुराली घरमा बिहेको निम्तो थियो । त्यहाँ श्रीमान् काशीप्रसाद उपाध्यायको घरमा बसेर छेउको कबीर साथी र म दीपाली बहिनीको बिहेमा पनि गयौं । बिहेका खानेकुरा मनग्गे खाइयो । त्यसको भोलिपल्ट भने आफुलाई निकै ज्वरो आयो । अब घरका आफन्तले कौपाटीमा कम्पाउन्डर बस्छ, त्यहाँ जानुहोस भनेर बाइकको बन्दोबस्त गरिदिनुभयो । बिहानीपख चिसामा बाइकमा चडेर कौपाटी गएर कम्पाउन्डरलाई भेटेर ज्वरोको दबाइ ल्याएँ । तर ज्वरो निको भएन । त्यो दिन सुतिरहेँ । भोलिपल्ट कसो कसो गर्दा जीउ किन चिलाउँछ भनेर हेर्दा त जिउभरि ठेउला (चिकन पक्स) भएको रहेछ । त्यही दिनदेखि अनुहारभरि कालो दागैदागले भरिन थाल्यो । त्यो दिन २४, २०१७ मा जनवरीको रातीको रेलमा मेरो र कबीरको फर्कने टिकट थियो । कबीर बस्नेत साथीलाई घर पठाएर आफु त्यहीँ दाजुको ससुराली घरमा बसें। रेलको एक सिटको टिकट रद्द गर्न पाइनँ ।
मलाई ज्वरोले चाप्दै चाप्दै गयो । दुई दिन सम्म प्रचण्ड ज्वरो आयो । मनमा पीरले औडाहा हुनथाल्यो । आफुलाई ठेउला रोगले मार्ने रहेछ, घर परिवार अब भेट नहुने रहेछ । कहाँ यो असमको दरङ्ग जिल्लाको दलगाउँभित्रको गाउँमा नै मर्ने रहेछु भन्ने लाग्यो । त्यस्तै बेलामा गाउँकी एउटी वृद्ध महिला आएर “यो बिमारमा कोही फलाना केटाले मासु खाएको थियो, भुतुक्क मरिहालो” भनिन् । आफुले बिहामा खाएको थिएँ । घरका यस्तै कुराहरू भए । ‘चिल्लो चाप्लो खानु हुँदैन’ भन्दा बिहामा सेलरोटी पनि खाएकै थिएँ । ‘अमिलो पिरो खानुहुँदैन’ भने त्यो पनि बिहामा खोर्सानी र टमाटरको पकाएको अचार खाएकै थिएँ । फेरि यो बिमार हुँदा ‘दही खायो भने पनि मान्छे मर्छ’, भन्छन् भने । दही मोही पनि दुईदिन अघि खाएको थिएँ । ‘चिसामा हिँड्यो भने पनि यसले झन सारो पर्छ, बिमार बढ्ने डर हुन्छ’ पनि भने। आफु भने दुई दिन अघि बिहानै बाइकमा चडेर दबाइ खोज्न गएको थिएँ । उनीहरूका अनुसार जे जे कुरा हुँदैनन भन्ने थियो, त्यही त्यही कुरा गरेको रहेछु । यी सब कुराले आफु त पक्का मर्ने रहेछु, अब मानु खानु सकिएको होला भन्ने लाग्यो । घरमा फोन गरेर आफु अलिलि बिमार भएको कुरा सुनाएँ । मोबाइलमा बोल्दा पनि घाँटी दुख्ने। राती त झन शरीर पनि कट्कटी दुख्ने, ज्वरो एक सय तीन–चार डिग्री पुगेको थियो होला । तीन दिन जति प्रचण्ड तेज ज्वरो आएको थियो । त्यो अनकन्टार गाउँमा डाक्टर र अस्पताल नभएको ठाउँमा मुस्किल परयो ।
भोलिपल्ट पनि आफु दिनभरि पल्टिरहेँ । ज्वराले छोडेको छैन । त्यसपछि एकदुई दिनपछि केही मत्थर भएँ । अब चैं बाँच्ने रहेछु भन्ने आशा लाग्यो । त्यो दाजुको ससुराली घरका आमा र बुहारीहरूले एकदमै राम्ररी सिहारे । म कोलबारी पुगेकै दिन हाम्रो घरमा बस्ने अञ्जली नानी पनि माजबाटको घरबाट आएकी थिई । उसले म बिमार भएको अवस्थामा खुब स्याहार गरी । ओछ्यानमै खाना ल्याउनु, तातो पानी ल्याउनु, लुगा धुनु, कोठाको लुगा मिलाइदिनु आदि विभिन्न सेवा गरी । घरका बुहारीहरूले बिमारीका लागि अलग्गै खोले भात, गहतको झोल, के के खाना तयार गरिदिन्थे। त्यो घरका आमा, बाबा, बुहारीहरू सबैको सामूहिक स्याहारबाट म जाति हुन लागेँ । कुल निरौला भिनाजु, चम्पा दिदी, रबिन निरौला, घरका साइला दाजु र साइली भाउजू, गणेश न्यौपाने आदि सबैले आफ्नो आफ्नो तरिकाले साथ दिए, मानसिक रूपमा ढाडस दिए, स्याहारे । कुल भिनाजुलाई त आफु त यसपाली यतिकै गइन्छ होला भन्ने मनको आतेस पनि सुनाएँ । उहाँले त्यस्तो हुन्न आदि भनेर सम्झाउनु भयो। नुहाउनलाई तीतेपाती के के दबाइसहितको तातो पानीको बन्दोबस्त, कम्पाउण्डरलाई घरमा बोलाएर दबाइको व्यवस्था आदिले म जाती हुँदै गएँ । अझ आमा (दाजुकी सासुआमा)ले गाउँमा खोजेर भए पनि ठेउलाको पाखे दबाई ल्याएर खानु र लाउनु दिनुभएको हुन्थ्यो ।
जनवरी २९ तारिक बागडोगराबाट कोलकाता जाने प्लेनको टिकट पनि किनिराखेको थिएँ । त्यो पनि फिर्ता नहुने खालको अफरको हुनाले त्यतिकै खेर गयो । आफु त असमको त्यो गाउँमा बिमारी भएर थन्किएको अवस्थामा दुइ चार दिन घर जाने कुरा आएन । बल्ल बल्ल दस दिन जति त्यहाँ बसेर जाति भई कालिम्पोङ घर फर्किन सफल भएँ । पछि घर आएर बुझ्दा साथी कबीरलाई पनि उही ठेउलाले भेटेछ, त्यसपछि उनकी श्रीमती पवित्रालाई पनि सरेछ ।
त्यो २०१७ को जनवरी महिनाको आसाम यात्रा भने मेरो निम्ति बिर्सिनसक्नु भयो ।
साँच्चै अविस्मरणीय पल रहेछ सर।।सुन्दर बर्णन आसाम यात्रा २०१७ ।सबै पढे राम्रो चित्रण ।
खान र लाउन सही हो या खानु र लाउनु सही हो अन्तिम ३ प्याग्यराफको अन्तिम २ लाइनमा भएका?
खेर गयो कि खेरो गयो यो पनि जान्न पाउँ।
समग्रमा हजुरको लेख अनुत्तम हुने प्रश्न नै छैन। असममा आएर दुःख पाउनु भएछ र अलिकति मन अमिलयो। अन्त्त्यमा नमस्कार।
धन्य बाँच्नुभएछ। नत्र यो संस्मरण त विस्मरण हुनेथ्यो।
सुन्दर वर्णन। यस्तो भरिलो लेखाइले हामीलाई पनि बिर्सी नसक्नु गरी शामिल गर्यो।
बधाई।
खान र लाउन सही हो या खानु र लाउनु सही हो अन्तिम ३ प्याग्यराफको अन्तिम २ लाइनमा भएका?
खेर गयो कि खेरो गयो यो पनि जान्न पाउँ। हामी हजुरहरूका लेखहरू पढ़ेर नै आफ्नो भाषा ज्ञान वृद्धि गर्ने हौँ र प्रश्न उठाएकोमा अन्यथा नलिनु होला।
समग्रमा हजुरको लेख अनुत्तम हुने प्रश्न नै छैन। असममा आएर दुःख पाउनु भएछ र अलिकति मन अमिलियो। अन्त्त्यमा नमस्कार।
नवीन पौड्यालको असम भ्रमण संस्करण आद्योपान्त पढें । हाम्रै गाउँ कोलबारी खानुभ । काशीनाथ उपाध्याय न्युट्रान मेरा मात्राक छोरा हुन् । छेउको घरका स्व: विद्यापति न्यौपाने मेरा मितबा हुनुहुन्छ । पक्सले ग्रसित भएर कष्ट पाउनुभएछ । धन्नो मित्रो खस्ताहाल र उचित उपचार रोगमुक्त हुनुभएछ ।
सुन्दर संस्मरण। निकै कष्ट भोग्नु भएछ । तर, हामीसित भने भेट भएन ।