सङ्गीतमा समर्पित विष्णु अधिकारी
|नेपाली सांगीतिक फाँटमा विष्णु अधिकारीको नाम पनि स्थापित छ। उनी सुगम धाराका गायक कलाकार हुन् । उनी दिन रात संगीतकै क्षेत्रमा रमाउँछन्, व्यस्त रहन्छन् । संगीतकै साधना, साङ्गीतिक दिनचर्यामा मग्न रहन्छन् । यद्यपि उनी विज्ञापन, हल्ला र प्रचार प्रसार त्यति रूचि लिँदैनन्। पर्दापछि बसेर नै धेरै साङ्गीतिक कार्य गरेका छन् ।
उनको आफ्नो ओपल स्टुडियोमा आएका गीतको कुशल एरेन्ज गर्द्छन् । उनले एक सयभन्दा बढी गीत गाइसकेका छन् । विष्णु अधिकारी एक कुशल एरेन्जर हुन् । हालसम्म उनले एघार हजारभन्दा बढी गीतहरूको एरेन्ज कार्य सम्पन्न गरिसकेका छन् । उनी आफैं एक कुशल संगीतकार हुन् । सन् १९८८ मा दार्जिलिङबाट ‘मेरो सौगात’ भन्ने गीति अल्बमको संगीतकार पनि हुन् । उनले १९९२ सालमा रिलीज भएको नेपाली चलचित्र भूलको एउटा गीत पनि गाएका थिए । उनले पच्चीस तीस वर्षअघिदेखि गीत गाउँदै आएका हुन् । उनी गीतमा नै डुबेका छन् । गीत गायन, सङ्गीत संयोजन, एरेन्ज आदि काममा नै दिनरात व्यस्त हुन्छन् ।
उनका केही प्रमुख गीतहरूमा ‘आँखाबाट आँसु आफ्नै राम कहानी बग्यो’, ‘स्नेह तिमी टाडै बस’, ‘बिहानीले पनि रूवाउँछ मलाई साँझले पनि रूवाउँछ मलाई’ (शब्द विचन्द्र प्रधान) ‘मलाई खुशीमा जल्ने मेरो’, ‘पिरतीका कुरा मिठा’, ‘छाडीगई निष्ठुरीले आज एक्लै भा’छु’ मन झुमोस नाचोस मन हर्षले (नयाँ वर्षको शुभकामना गीत) आदि हुन् ।
विष्णु अधिकारीका स्वरमा आफ्नै मौलिकता छ । उनको मन्दिरा मधुश्रीको गजल गायन पनि उत्कृष्ठ छ । गजल गायनमा गुलाम अलीको आभाष पाइन्छ । उनको गायनमा सुमधुरता पाइन्छ । उनका गीत गायनको आधार शास्त्रीय रागमा रहेको पाइन्छ । उनका गीतहरूको ढाँचा र स्वर प्रकाश श्रेष्ठ, किरण प्रधान, दिपक खरेल, रबिन शर्मा, याम बराल, रामकृष्ण ढकाल, कर्ण दास आदिसित कता-कता मिल्दछ । उनको स्वरमा स्रोतालाई भावविभोर बनाउँछ । उनको गायनको सुर र गीत बिहानको मिरमिरे वा गर्मीकालको समयमा घाममा शीतल छायामा बस्ताको सिर्सिरे हावाको अलौकिक अनुभूति झैं आनन्दमय लाग्छ । उनको स्वर झरनाको कलकल झैं प्राकृतिक छ । गीतका पारखीका निम्ति उनको स्वर र गीत उत्कृष्ट लाग्छन् । उनका प्रत्येक गीतमा शाब्दिक र अर्थगत गाम्भीर्य पाइन्छ । उनले कृष्णहरि बराल, अभि अजनबी, बुँद राना, विचन्द्र प्रधान, आदिका शब्द रचनामा गीत गाएका छन् । उनका गीतका बारेमा अझै खोजी र मूल्याङ्कन गर्नुपर्ने देखिन्छ ।