डि आर थापाको कथा स्मृतिमा- ओझेलमा परेको एउटा इतिहासको उत्खन
|सन् १९४७ सालको भारत- पाकिस्तान विभाजन समयको त्रासद् इतिहासबारे हामीले धेरथोर पढेका र सुनेकै छौं । त्यस समयमा पाकिस्तान भूमिबाट लाखौं हिन्दू परिवार भारत आई बसोबासो गरेका हुन्। यद्यपि त्यस ऐतिहासिक घटनामा हाम्रा गोर्खा सन्तान पनि परेको उल्लेख पाइन्न । यता भारतपट्टि शरणार्थी शिविर बसाइएको थियो । त्यस शिविरमा हाम्रा गोर्खा सन्तान पनि लगभग १०-१२ परिवार थिए । उनीहरू क्वेटा छाउनीमा निकै वर्ष बसेपछि मुलुकको राजनैतिक ब्यवस्थाले बज्रापात गर्यो । हजारौं हिन्दू भारतीयहरूको हुलमा हाम्रा गोर्खा पनि आएका थिए । त्यहाँबाट आउँदाका शारीरिक, मानसिक पीड़ा वर्णन गरेर साध्य थिएऩ । इतिहासको यो अप्रकाशित तथ्यलाई डि. आर. थापाले कथाको एउटा सामाग्री बनाएका छन् । उनको स्मृतिमा कथाको मूल विषयवस्तु यही छ।
इतिहासको यस पक्षको उद्घाटन गर्ने हेतुले तयार पारिएको स्मृतिमा कथाले विशेष महत्व पाएको छ। क्वेटा छाउनी कार्यरत कोही कोही गोर्खा सिपाही सेवानिवृत्त भएपछि त्यही छाउनीको छेउछाउमा व्यापार-व्यवसाय गरी त्यही बसेका थिए भन्ने तथ्य पनि प्रस्तुत छ। विधिको विडम्वना र हिन्दू- मुसलमान बैमनस्यबाट उब्जेको पिरो राजनैतिक धुँवाको फलस्वरूप देश विभाजन हुँदा अरूसँगै १०-१२ गोर्खा परिवार पनि भारत आएको तथ्य उक्त कथामा उल्लेख पाइन्छ । भारत-पाकिस्तानमा जनताले एकातिर देश स्वतञ्त्र भएको खुशीयाली मनाइरहेको थिए भने अर्कातिर देश विभाजनको चपेटामा परी हजारौं जनता अनेक प्रकारका यातनाले पीडित भई दुःख मनाइरहेका थिए ।
कथाको कथावस्तुलाई र उत्तरार्द्ध गरी दुइ भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ। पूर्वाद्ध कथामा धनवीरको सेनाको एक टुकडी शरणार्थी शिविरमा खटिएको, शरणार्थी शिविरको दर्दनाक अवस्था,त्यहाँको त्रासद् स्थिति, धनवीर र मानवीरको क्वेटामा भएको पहिलो भेट, मानवीरको परिवार बेपत्ता भएको, मानवीर बुढाले दुःख र विरक्ति व्यक्त गरेको, पछिबाट उसको परिवारको पुनर्मिलन भएको घटनाक्रम रहेको छ । कथाको उत्तरार्द्ध भागमा उसले धनवीरलाई फेरि दिल्लीको करोलवागमा भेट्छ र उसको घरमा आउने निम्तो गर्छ। एकदिन धनवीर मानवीरको घर पुग्छ। धनवीर त्यहाँ पुगेको बेला मानवीरले उसलाई आफ्नी छोरी मनमायासित घरजम गर्ने आग्रह गर्छ । धनवीरले उक्त आग्रह स्वीकारी मनमायालाई बिहे गर्छ। धनवीर पल्टनबाट दुई महिनाको छुट्टीमा घर आउँदा आफ्नी पत्नी दोजिया भएको थाहा पाउँछ । उ पल्टन फर्किएको एक महिनामा नै स्वास्नी मनमायालाई बेथा लागेको र नानीलाई जन्म दिएर आफ्नो ज्यान गएको खबर सुन्छ। य़सो हुँदा धनवीर विरक्त हुन्छ। मानवीरकी जेठी छोरीको कोही सन्तान नहुँदा उसैले धनवीरकी छोरी स्मृतिको भरण-पोषण र शिक्षा-दीक्षा जिम्मा लिएकी हुन्छे। पछिबाट स्मृतिले पढेर डाक्टरी पास गर्छे भने धनवीर सन्न्यासी भई काशीबास गरी देह त्याग गर्छ।
यस कथामा कथावस्तुको बुनोट र बनोट पक्ष सामान्य छ। घटना शृङ्खला बुनाइमा केही दुर्बलता पाइन्छ। यद्यपि यस कथाको महत्त्व यसको कथावस्तुको संरचनागत संयोजनभन्दा कथावस्तुको ऐतिहासिक पृष्ठभूमिको संयोजनमा छ । शरणार्थी शिविरको परिदृश्य, त्यहाँको हाहाकारी अवस्था, रोग, भोक र शोकले भरिएको शिविरको अवस्थाको वर्णन तथ्यात्मक रूमा पाइन्छ । यस्तैमा अरू समुदायका बीचमा केही गोर्खा सन्तान पनि पाकिस्तानबाट पलायन गरी अनेक दुःख झेली भारत आएको ऐतिहासिक तथ्य पाइन्छ। कथामा एक ठाँउमा संवादको प्रयोग छ भने कथाको अन्तमा एउटा चिठी छ । यसमा गोर्खाको वीरताको वर्णन छ । वीर मानवीरले प्रथम र द्वितीय विश्वयुद्धमा एकेकवटा मेडल पाएको, त्यतिबेला अरब सागरको मार्ग हुँदै मिश्र देशपट्टिबाट युरोप पुगेको प्रसङ्ग छ। मानवीरले आफ्नो पराक्रमको कथा सुनाउँदा धनवीर छक्क पर्छ। धनवीरहरू जस्ता अनेक वीरताको कथा अलिखित, अचर्चित र ओझेल परेका छन् ।
यस कथामा सांस्कृतिक पक्षको पनि झलक पाइन्छ। मानवीरको घर जाँदा धनवीरले मिठाइ र रमको बोतल कोसेली लान्छ, मानवीर आफु बसेको घरलाई चिटिक्क पारी राख्छ, घरको भित्तामा खुकरी झुण्ड्याएको देखिन्छ । उसले नातिनी स्मृतिमालाई मास्टर मित्रसेन थापाका नेपाली भजन सिकाई राम्रो संस्कार दिन्छ। मानवीरले दिल्ली जस्तो परायको मुलुकमा आफ्नी छोरीको बिहेका बारेमा चिन्तित हुन् र यसका निम्ति धनवीरलाई निवेदन गरेको छ ।
प्रस्तुत कथाका दुइजना मुख्य पात्र छन् धनवीर र मानवीर छेत्री। दुवै गोर्खा राइफल्सका जवान। एकजना सेनामा कार्यरत जवान र अर्का चाँहि सेनाबाट सेवानिवृत्त भई पाकिस्तानबाट बसाईं सरी आएका वृद्ध पुरूष । मानवीरले गुमाएको परिवार पाउँछ । उसले दुइवटा विश्वयुद्धमा पराक्रम देखाई तक्मा पाउँछ। युद्धकै सिलसिलामा उ युरोप पुगेको छ । यसपछि सेनाबाट सेवानिवृत्त भई क्वेटा छाउनीमा नै घर-गृहस्थी गरी व्यापार चलाउने एक पौरखी पुरूष बनेको छ। भाग्यले साथ नदिँदा उ त्यहाँबाट भारत आई दिल्लीमा बसोबासो गरेको छ। धनवीर पनि एउटा पौरखी, उदार हृदयी, परोपकारी पुरूष हो । उसले शरणार्थी शिविरमा स्वजातिको मानवीरलाई भेटेर सक्दो सेवा गर्छ। पछिबाट दिल्लीमा उसलाई भेट्दा छोरीलाई बिहा गरिदिने निवेदन स्वीकारी मनमायालाई बिहे गर्छ। मानिसलाई भाग्यले सधैं साथ दिँदैन । जातिप्रेमी, कर्तव्यशील, इमानदार, असल मानिस धनवीरको जीवनमा पनि बज्रापात हुन्छ। एउटी छोरी जन्माएर मनमायाको देहावसान हुँदा उसमा विरक्ति आउँछ । अरू साथी भाइले उसलाई दोस्रो बिहेको सल्लाह दिँदा पनि उ मान्दैन । बरू उ सन्न्यासी भई काशीवास गर्नपुग्छ र त्यही देह त्याग गर्छ । मनमाया, स्मृति यस कथाका गौण पात्र हुन् भने मनमायाकी दिदीचाँहि नेपथ्य पात्र हो । मनमायाकी एउटी दिदीको सन्तान नहुँदा स्मृतिमालाई लालन-पालन गर्छे । स्मृतिमा पनि योग्य बाबु र बाजेको योग्य सन्तान हुनाले उसले राम्रो संस्कार पाएकी छ । उ डाक्टर बनी आफ्नो कुल र जातिको मर्यादा राख्छे । कथा छोटो आयामको छ भने यही छोटो आयाममै कथावस्तुगत सघनता पाइन्छ । कथाको कथानक छिटो-छिटो अघि बढ़ाइएको छ ।
अतः यस कथाको वस्तुगत संरचनाभन्दा वस्तु चयनगत कौशल, ऐतिहासिक तथ्यको एउटा प्रक्षेपको उद्घाटन जस्ता पक्षलाई नै मूल उपलब्धी मान्नु सकिन्छ। कथाको भाषा सरल छ । प्रायः हाम्रा ठेट शब्द प्रयोग गरिएको पाइन्छ । हाम्रो जनजिभ्रोले पचाइसकेका केही अँग्रेजी शब्दहरू जस्तै रिटायर, मेडिकल, फर्स्ट वल्ड वार, सेकेन्ड वल्ड वाग, मेडल, रिलिफ क्याम्प, पेन्सन इत्यादि प्रयोग भएका छन् । कथाको संरचना छोटो भए पनि यसको ऐतिहासिक पृष्ठभूमि र प्रसङ्गद्वारा बुनेर एउटा कथा बनाइएको छ । जे होस्, कथाकार थापाले यस्ता ताथ्यिक कथावस्तुलाई चयन गरेर हाम्रो इतिहासको एउटा अलिखित पक्षको उत्खनन गरिदिएका छन्। यसका निमित्त उनलाई साधुवाद छ। उनीबाट अझै यस्ता कथा जन्मिउन भन्ने हाम्रो सनिवेदन कामना छ।