मलाई ढुक्क छ

मलाई ढुक्क छ, सुक्ख छ
हो मलाई हाइढुक्क छ ।

मन आफुमै व्यस्त छु, सबै झमेला मुक्त छु
घरबारी सम्पत्ति, स्वास्नी छोराछोरीको
सन्तुष्टी पुर्याउनमा मन संनत्रस्त्र छ
वास्ता राख्दिन कसैको, स्वयंलाई मस्ति छ

बावुले अर्जापेर कलेज पढाएको ज्ञानमा
नयाँ दुनियाको च्याउ पह्लाएको छ
मलाई थाहा छ टुसावोस बरु धेरै
मलाई त लेखनाथको-
सुख सँयल र मोजले झ्यप्पै छोप्या छ
र ता मलाई ढुक्क छ, सुख्ख छ ।

नेपाली र गोर्खालीको नाताले
पितृहरुको बीरताको धाकले
अगेनोको डिलमा बसि
हाँक लडाउछु कम्मर कसि
सुन्छन निर्धाहरु वरिपरि  बसि बसि ।

गोठाला खेताला हर्काउनु
एउटै दाममा दोब्बर काममा खटाउनु
यस्तो विद्यामा पारंगत छु
अनि को देखि किन डराउछु ।

गाँउको ठालु अझ जनताले
मलाई नै पार्छन ठुलो
म जनहितको आडमा
पार्छु उन्नयनको छातीमा ठुलो दुलो ।

फेरि ढाँटछु दुरुस्तै पारेर
फेरि भर पर्छन साच्चिकै योगी
आउने आशले
माथि पुग्दा पुग्दै मेरो कान चिरिञ्छ
आमै फलाक्छिन
जुन योगी आयो कानै चिरिएको
म हेर्दै हुन्छु वजन कति छ
धन सोहोर्ने पुर्यानो फ्याउरिको !

पढी गुणी देश दशको भलो गर्न
बुढाहरु अर्ती गर्थे गौरव ठान्थे
धर्म मान्थे रे- बुज्दा किताबी यी कुरा
के जान्नु अनपढले बरा-
मलाई त राम्री आइमाई
नयाँ गाडी, तलेघर राम्रो जञ्जीर
साह्रै मन पर्ने
धनीको मोहर नलागे कस्ले पत्याउने।

पूर्खाका ज्ञानी भनाउदाले
दामी पुस्तक भित्र्याउदा सप्ताह पुराण
लाँउथे गरीब खुवाउथे कीर्तन गर्थे रे
मैले ता बेलाइती कुकुर भित्र्याएर
रातो बतल ठोके कुखुरो टोके
रातो पानी पिएर ” विजुली सर्बत ”
भन्दा आभिजात्यले छाती फुलाएर
गजक्क थिँए,” पप संङ” रक डान्समा
औधी रमाएर हल्लिएको थिँए।

मग्नताको नग्नता हुन्छ भन्ने थाहै नपाइने
समाजको आँखोले “एक्सरे” गरेछ।
बतल साथीले सानो निँहुमा
मेरो नाम लेखेको गोलि
मौकामा ठोकुंला भनि बुलेटमा भरेछ।

कोठे घन्टी बज्दा अबेर राती
घर घर पुगेका
डान्सर र  सबै  बोतलबहादुर साथी
कुकुर थियो सुख निन्द्रामा
मेरै दामी ओछ्यान माथि ।

बाहिर निस्कदा त थाह भयो
थाहै नभइ मलाई सन्त्रासले घेरेछ,
विद्युतीय गतिले छातीमा गोली छिरेछ
छातीबाट उखेलेको गोलिमा
ढुक्क, हाइ ढुक्क लेखेको रहेछ ।

मैले त्रासित भइ चिच्याएको
सियाल बाहेक कसैले सुनेनछ
लाश मेरो लावारिस भएछ
सिरी सम्पत्ति खोइ कता गएछ
भोलिपल्ट मेरो लाश गिद्धले चाखेछ ।

चिहानबाट प्रेतात्माहरूको
“ढुक्क आयो, साथी भयो”
भन्ने आवाज आउथ्यो रे
चिहानबाट प्रेतात्माहरूको
“ढुक्क आयो ,साथी भयो”
भन्ने आवाज आउथ्यो रे ।।

Add a Comment

Your email address will not be published. Required fields are marked *