नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको जन्म कुण्डली विश्लेषण
|
नव नियुक्त प्रधानमन्त्री देउवाको जन्म वि सं २००३ साल जेठ ३१ गते विहिवार पूर्णिमाको साझ १०:३० बजे (समय अनुमानित) डडेलधुरामा भयेको थियो । यिनको जन्म नक्षत्र जेष्ठा हो। यिनको राशि वृश्चिक हो भने लग्न मकर रहेको छ । जन्म मितिको आधारमा हेर्दा यिनको प्रचलित नाम कुण्डलीसंग मिल्दैन । यिनको नामाक्षर “नो” हो ।
देउवा नेपाली कांग्रेसका सभापति नेपालका वर्तमान प्रधानमन्त्री नियुक्त भएका छन्। देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए । पटक पटक गरी देउवा ५ पटक प्रधानमन्त्री बन्न सफल भयेका छन् । देउवा नेपालको ४४ औँ प्रधानमन्त्रीका रूपमा नियुक्ती पाएका छन् ।
देउवा पहिलो पटक प्रधानमन्त्री २०५२ भदौ २७ देखि २०५३ फागुन २९ सम्म ४९ वर्षको उमेरमा प्रधानमन्त्री भयेका थिए । त्यसबेला देउवाको पत्नीभावका स्वामी सूर्यको महादशामा सुखभाव र भाग्य भावको स्वामी शुक्र र पछि चन्द्रको अन्तर चलेको थियो। उता योगिनीमा सिद्दाको महादशामा शंकटा कै अन्तर चलिरहेको थियो ।
यिनी दोश्रो पटक प्रधानमन्त्री २०५८ साउन ११ देखि २०५९ असोज १८ सम्म भए । यसपटक चन्द्रको महादशामा शनि अन्तर चलिरहेको थियो । योगिनी तर्फ शंकटाको अन्तरमा शुरू भयि भद्रिकाको अन्तरसम्म यिनी प्रधानमन्त्री भए । उल्काको अन्तरमा यिनको पद राजा ग्यानेन्द्रले असक्षम भनि खोसिदिये ।
देउवा तेश्रोपटक
२०६१साल जेठ ३१गते राजा ग्यानेन्द्रले नै देउवालाई प्रधानमन्त्री बनाए । यसपटक शंकटाको महादशामा भ्रामरीको अन्तरमा यिनलाई पद प्राप्त भयो तर उल्काको अन्तरमा खोसियो । विशोत्तरी तर्फ चन्द्रको महादशामा शुक्रको अन्तर चलिरहेको थियो ।
चौथो पटक
देउवा २०७४ जेठ२४ गते देखि २०७४ फागुन ३गतेसम्म प्रधान मन्त्री बने । यसवखत यिनको राहूको महादशामा वृहस्पतिको अन्तर चलिरहेको थियो । योगिनी तर्फ भ्रामरी अन्तर्गत सिद्दाको अन्तर चलिरहेको थियो ।
पाँचौं पटक
देउवा २०७८साल असार २९ गते भद्रिका अन्तर्गत संकटाको अन्तरमा प्रधानमन्त्री बनेका छन् । यता विशोत्तरी तर्फ राज्यभावमा शुक्रगृही भयि पूर्णदृष्टि दिई सूर्यसँग वसिरहेको राहूको महादशामा पञ्चम त्रिकोणस्थ त्रिकोणकै मालिक बुधको अन्तरमा प्रधानमन्त्री भएका छन् ।
नेपाली काँग्रेसको विभाजनपछि देउवा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति थिए काँग्रेस पुनर्मिलन पश्चात् उनी आफ्नो पार्टीसँगै नेपाली काँग्रेसमा गाभिएका छन् । शेरबहादुर देउवा चारपटक प्रधानमन्त्री रहिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरा जिल्ला क्षेत्र नं. १ र कञ्चनपुर जिल्ला क्षेत्र नं. ४ बाट संविधानसभामा प्रतिनिधित्व गर्दछन् । वि. सं. २०४८ ,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्ला क्षेत्र नं. १ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन् । यिनी माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष थिए । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा ने.वि. संघका प्रथम सभापति थिए र सुदूर पश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिन्छन् । राजनीतिक संघर्षका क्रममा। देउवाले नौ वर्ष जेलजीवन बिताएका थिए । देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा “असक्षम”को आरोप लगाई संसद विघटन गरी पदच्यूत गरेका थिए भने उनैले दुई वर्षपछि वि.सं. २०६१ सालमा पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए । पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा वि.सं. २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गरेका थिए भने वि. सं. २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उनी वरिठ नेतामा स्थापित भए ।
प्रजातन्त्रप्रतिको अटुट लगाव र तदनुरूप संघर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधैँ विजयी गराउँदै आएको मान्ने देउवा संविधान सभामा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउछन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमड्ड ए गरेका उनी देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् । देउवा एक छोरा जयबीर देउवाका पिता हुन् र उनकी पत्नी आरजु राणा देउवा पनि संविधान सभा सभासद् थिइन् ।
डडेल्धुरा जिल्लाको पश्य गर्खा क्षेत्रमा एक सम्पन्न परिवारको रूपमा रहेको शेर बहादुर देउवाको परिवारलाई डडेल्धुरा क्षेत्रमा ठकुरी देउवा परिवार भनेर चिन्दछन्। डोटी पचनाली, लुलानी मल्ल, डोटी बोगटानी बम र बोगटी रजवारसंग मात्र बैबाहिक सम्बन्ध गर्ने यो परिवार सम्पन्न र जागिरदार परिवारको रूपमा ऐतिहासिक कालदेखि चिनिदै आएको हो । डोटी राज्यकालमा डडेल्धुराको पश्यगर्खा क्षेत्रू यिनै देउवाहरूको अधिनमा थियो । चन्द्रवंशी, कश्यप गोत्रीय यी देउवाको कुलको देवता बडालको गन्याप लाटो (गणेश) र अशिग्राम केदार हो। जानकारी भए अनुसार डोटी राज्यकालमा चर्चित बनेका कुसलसिंह देउवा रजवारका दुई पुत्र जेठा गोमनसिंह देउवा रजवार र कान्छा बहादुर सिंह देउवा रजवार हुन् । जेठा गोमन सिंह देउवा रजवारका एक पुत्र उदैसिंह देउवा रजवार भए उदैसिंह देउवा रजवारका एक पुत्र प्रसादसिंह देउवा रजवार हुन्। प्रशादसिंह देउवा रजवारका दुई श्रीमती (डडेल्धुरा गणेशपुर मैरोड़ाका मल्लकुलकी छोरी धनादेबी मल्ल देउवा र डोटी बोगटानका बम कुलकी छोरी द्रोपती बम देउवाबाट ३ र ३ छोराहरु गरेर ६ छोराहरु क्रमश शेरबहादुर देउवा, लोकबहादुर देउवा, गणेशबहादुर देउवा, प्रेमबहादुर देउवा, ललितबहादुर देउवा र बलबहादुर देउवाको जन्म भयो । यी ६ भाइ मध्ये जेष्ठ पुत्र शेरबहादुर देउवा राजनीतिमा सफल व्यक्तित्व बन्न पुगे । देउवाहरु डडेल्धुराको रुवाखोला, कुमाऊ बंडालु, पिथौड़ागड, सोर, चंदेनी र डोटी गड्सेरा देउवान क्षेत्रमा गरी करीब ५०० परिवार कुमाऊ डोटी गड्सेरा देउवान क्षेत्रमा र रुवाखोलामा फैलिएर रहेका छन् । देउवाहरू कुमाऊमा भारतीय सेनाका अधिकृत, डाक्टर, इन्जिनियर छन्। नेपालमा आफ्नो कुलको व्यक्ति शेरबहादुर देशको प्रधानमन्त्री बनेकोमा गौरव गर्छन्।
देउवाले आफ्नो जीवन गरिव, पिछडिएको समाज, जाति, बर्ग, देशको निम्ति समर्पण गरेको पाइन्छ । डडेलधुरा जिल्ला अशिग्राम गाउँ रुवाखोला बिकट स्थानमा जन्मेका शेरबहादुर काठमाडौँ अध्ययन गर्ने सिलसिलामा प्रजातन्त्रको निम्ति संघर्ष गर्दा तत्कालीन पंचायती राज्यको शिकार भएका थिए। उनले आफ्नो युवा अवस्था प्रवासमै बिताउनु पर्यो। युवा अवस्थाको अन्तिम जवानीमा नेपाल फर्केका शेरबहादुर देउवाको लागि नेपाली कांग्रेसको देउवा कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए । खासगरी वि। सं। २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रूपमा सक्रिय उनी नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् ।
वि. सं. २०२८ मा उनी नेपाल विद्यार्थी संघको सभापतीमा चुनिएका थिए । वि. सं. २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुरा जिल्लाबाट निर्वाचित उनी वि. सं २०६४ र वि. सं २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर जिल्ला र कैलाली जिल्लाबाट समेत विजयी भएका थिए ।
पूर्ण चन्द्रको रातमा जन्मेका देउवाको चन्द्रमा त्यसवेला वृश्चिक राशिमा भयेको पाइन्छ। जो केतुसंग राज्यभावमा छन् । जसलाई राजकारक ग्रह सूर्यले पूर्णदृष्टि दिइरहेको पाइन्छ। शत्रु भावमा रहेर पनि राहू समेतले राज्यभावमा देखिरहेको छ । राज्यभावको मालिक मंगल सूर्यको घरमा गयेर बसेको छ । शत्रुभावमा शत्रुगृही भयेरै शनि शुक्र बसिरहेका छन् । पत्नीभावको मालिक सूर्यले पनि राज्यभावमा दृष्टि दिइरहेको छ। वाणीको मालिक वृहस्पति मृत्यु भावमा बक्री भयेर बसेकोले बोलीले सहयोग नगरेको हो तर आयु लामो रहनेछ ।
अध्ययनको मालिक बुध तथा छोरा छोरीको मालिक बुध स्वगृही भयेकोले उच्च अध्ययन र शालीन सन्तान प्राप्त भयेको छ । देउवालाई बुध,सूर्य,मंगल,राहू ,चन्द्र,शनि तथा सूर्यले सत्तामा पुर्याउन मद्दत मिल्छ । देउवाको सत्ताको इतिहास हेर्दा पनि शंकटा,बुध,भ्रामरी,राहू,मंगला,पिङ्गलाकाअन्तरहरूमा पदको सुखभोग गरिरहेको पाइन्छ ।
अहिले पनि राहूको महादशामा त्रिकोण स्वामी बुधको अन्तरमा सत्तामा आशिन हुन पुगेका छन् । बुधको अन्तर ७७वर्ष ६ महिनासम्म मात्र देखिए पनि त्यसपछि ७८वर्ष ८महिनासम्म राज्यभावमा चन्द्रमासंगै बसेको केतुको अन्तर आउने भयेकोले यिनलाई सत्ता सुख थप प्राप्त हुन सक्ने कुरामा नकार्न सकिदैन । साउन ६ गते पछि मङ्गल आफ्नै घरमा पुग्दैछन् । यिनी पत्नीको सहयोगमा सत्तामा रहनेछन् । वक्री वृहस्पति लग्नमा रहेकोले चाहियो भन्दा बढि भरोसा गर्न सक्नेछन् । लग्न मालिक शनि पनि वक्री नै छ । शनि खर्च भावमा रहेकोले खर्च बढि हुनेछ ।
(लेखक बराल: अधिवक्ता तथा ज्योतिष विषयमा अनुसन्धान गरिरहनु भएको छ)
