कथा : मा द्रौपदी गौशाला
|हिजाज दूध, दही, किरिम, पनिर यस गौशालामा पाँइन्छ। आठदश वर्ष देखि यता यस गौशालामा धेरै राम्रो उत्पादन भएको छ अनि यो बेरोजगारहरूको एउटा आड भरोसको दह्रिलो संस्थान बनिई सकेको छ।
दुई सम्धी प्रात: भ्रमण गरेको बेला बाटो बाट नजिक देखिएको गौशालातिर हेर्दै गफगाफ गर्छन।
धेरै दिनसम्म बाँझिएको र त्यसै गौचरन खेलमैदान जस्तो भएर रहेको साँइला महाजनको यो विश पच्चीस बिघा जमीन गोपालले किनेको थियो। समय अनुसार अरूतिर जमीनको दाम धेरै भएपनि, यो माटो थुल हिसाबले एक्कै ठाँउमा परेको अनि बेसँह्यार अवस्थामा रहेको हुँदा सजिलै केही सस्तो मूल्यमा लियो उसले। पहिले बेच्न मन गरेको तर नबिकेको हो थियो। साँच्चै भन्नुपर्दा साँइला महाजनकाा छोराहरू कुनैले यो बारीमा आफ्नोमा परेको भागसम्म लिन नरूचाएको, याहाँ घर बनाएर बस्न नचाहेको हुँदा, बुढाबुढीको जिउनी भागमा राखेको, मान्छेहरु उत्ताने डाँडो भन्थे,र त्यसै बाँझो रहेको थियो। महाजन बुढा ,बुढै भए, अनि कसले सँह्यार गर्ने यसको। धेरै वर्ष त्यतिकै थियो।
गाँउबाट दश वर्ष जति हराएर फुत्तै एकदिन आफ्नो गाउँ आफ्नो घर फर्केर आएको गोपालले कएकदिन यता उता गरे पछि लौ ‘साँइला महाजनको बाँझो बारी गोपालले जम्मै किनो रे’ भनेको सुनियो। रमाइलो पनि लाग्यो त्यो मेरो बाल्यकालको साथी हो। नरमाईलो लाग्यो यस्तो बाँझो जमीनमा यत्रो ओधि ठुलो रकम खर्च गरेको देखेर, दुख्ख कष्ट गरेर कमाएको धन यस्तो माटोमा गम्मै फाल्यो भनेर। यता छक्क पनि परेको थिएँ- टेक्ने न समाउने अवस्थाको रामचन्द्र शिलोकेको छोरो गोपालले कति औधी थामी नसक्नु पैसा कमाएछ गाँट्ठे दशवर्षे छोटो समयमा भनेर। गाउँघरमा हामीले यस्तै उस्तै कुरा मुखामुख गरिँउ सकियो कुरा । तर हेर्दै जाँदा,गर्दै जाँदा त्यही बाँझो बारी हरियो परियो रसिलो गतिलो बन्दै गएर यसबेला रमाइलो भएको छ। तपाईँले बिहान देखेर मलाई सोध्नु भएको त्यो फारमको कुरा गरेको नि सम्धीज्यू । पाहुना सम्धीलाई घरभेटी सम्धीले गफगाफ गर्दै फेरि गौशालाको कुरा उक्काए।
: अनि भित्रतिर चाँही के छ होला हजुर त्यहाँ ?
: ए विचित्र छ नै – एकातिर गाई गोरुको गुहाली, लस्करै गाई बाँधेको, एकापट्टि दुहुनो, अर्कोतिर छिटा र गाभिना,
छेउमा बाछाको टाट्नो,पर्तिर दूध जम्मा गर्ने सरदामहरु राख्ने समेत एउटा सानो सानो कार्यालय छ। अलिकति ठाउँमा पोखरी खनिएको छ। डिलमा ओरि परि नाना थरीका केरा रोपिएको छ। एकातिर बिउ छरेर घाँस उमारिन्छ, काटेर तीनै गाईगोरुलाई खुवाउने गरिन्छ। अलिकति जग्गा मकै, कोदो, फापर जस्ता समयोचित खेतीको लागि राखेको छ। एकातिर रकम रकमका रूख र बिरूवाहरूको बगैंचा छ। एकाछेउमा खाली गुहाली घर छ, कुनै कारणवश गाई गोरु बिरामी परो भने त्यसलाई एक्का राखेर दवाई पानी गरिन्छ। अर्को टहरोमा पराल खाँदेर राखिएको छ, धेरै पराल। चापडका बोराहरू पनि उत्तिकै छन। बर्खामास उलाउपानीको बेला हरेक ठाँउमा आवश्यक अनुसार यहाँ बाटै पशुखाद्य बिक्री वितरण हुन्छ। यो ता नामको गौशाला हो, कामचाँहि साँच्चै भन्नुपर्दा ठुलो ठुलो कम्पनीको जस्तो छ। यस्ता गोडा तीनेक कारबार छन उसैका।
एकखाले रमित छ भनौं न सम्धीज्यू।
: निकै गजबको कारबार रहेछ होकि !
: भन्नुपर्दा गाउँका सबै बेरोजगार यहीं खटिएका छन् अनि सानो कुरा छ यो। हिजोआज दिल्ली र बेङ्लोर भनेर हिड्छन् मान्छे।
: हाम्रो यहाँ- बेङ्लोर न सेङ्लोर गाँउ र छेउछाउका प्रायः बेरोजगार मान्छे यहीँ कमाइ खाई जहान पालेका छन्। तीन हजार भन्दा बढी कर्मचारी खटेका छन् जताततै। अलिक पर एउटा ठुलो धान खेत छ। उता माथ्लो गाँउमा एउटा ठूलो बाँसघारी छ। त्यहाँ रकम रकमका देशी विदेशी बाँस छन।, त्यस्मा टाँसिएको एउटा नाना प्रकारका रूख पातको बगैंचा छ। आ-आफ्नो क्षेत्रमा सबै काम चलिरहेको देखिन्छ। हाम्रो छेउको साँइला महाजनको यो चिहाने डाँडो कस्तो थियो यस्तो हुन्छ होला भन्ने कस्ले चिताएको थियो र । यो ता गोपालको हात परेकोले कति हो कति चाँढो एउटा प्राणचञ्चल र उपार्जनको स्रोत थलो बनियो, सम्झिएर ल्याउँदा अचम्मको कुरा झैं लाग्छ हामी देख्नेहरुलाई। आज बिशवर्षमा यो गौशाला- यो प्रान्त जिल्ला मात्रै नभएर राज्य भरिमै दामीलो दुग्ध उत्पादक केन्द्र भन्ने कुरा सरकारका खातामा पुगेको छ । यस्मा कृषि विज्ञानका छात्र-छात्रा खोज अनुसन्धान गर्न आँउछन,वर्षको दुईटा छात्र छात्रालाई “मा द्रौपदी छात्रवृत्ति” भन्ने गौशाला मालिक तर्फबाट छात्रवृत्ति दिइन्छ। विदेश बसेर गवेषणा गर्न मौका पाँउनेले विदेशमा पढाईमा हुने समस्त खर्च समेत यस गौशालाले नै वहन गरेको हामी जान्दछौँ। कतिले पढेर ठुला ठुला अफिसर बने। अनि विचित्र होईन त सम्धीज्यू। यी हिजोआजका बिसपच्चिस वर्षे बाबुको होटलमा खाएर सरकारी स्कूलमा पढने उर्लापात स्वभावका केटाकेटीहरूले जान्नु सिक्नुपर्ने कुराहरू छन यस कम्पनीबाट। सिके हुन्छ नि तर के गर्ने ! यीनले दुःखकष्ट पाएको भएपो छिटै घैँटामा घाम लागोस । सोझो कुराले भन्दा यीनका निम्ति यो कथा नै हुन्छ कथा।
: हो सम्धी हो। दिलकालमा समयको धेरै रङ पोतिएको छ। अब,हिजोआजका मेट्रिक पढने नानीहरूले हलगोरू जोतेर माटोमा मोइ लगाएको देखेकै छ कि छैन सन्देह छ। पाटा र आहुधान गोडन बिन्धा लगाउनु पर्थ्यो। हरियो घाँस देखेर सबै हलगोरुले ठुट्याँछ भनेर बिन्धा लगाउनु पहिलेनै गोरूको मुखमा महला लगाएर हल नारिन्थ्यो। यीनले के महला के बिन्धा देखेको भएपो। देखे त देखे यीनले कोरोनाको बेला मान्छेको मुखमा लगाएको माक्स देखे ,तर गोरूको महला देखेनन। हैनत ? उमेरदारी मान्छेले यो माक्स लाँउनु पर्दा मनमनै पीरले भुतुक्क हुन्छन भन्ने यीनरू जान्दैनन पनि। कस्तो कस्तो दिन फर्केर आएको, पहिले पहिले यीनै हातले गोरूका मुखमा लगाएको जिनिस, आफैंले आफ्नैं मुखमा लगाउनु पर्ने भयो भनेर कत्रो पीर परेको छ हामी जस्ता उमेरदारीलाई। त्यो कुरा यीनलाई के थाहा। जे होस यो बाँच्नको स्वार्थमा प्रयोग गर्नु परेको छ। दिनकालको, समयको, परिवेश परिस्थितिको दास हुनु परेको कुरा सम्झेको हो। पाहुना सम्धी थामिए एकछिन।
: यस्तै समय परिवेश परिस्थितिको चक्रवातमा परेर गोपाल अर्थात यो द्रौपदी गौशालाको मालिक अठार उन्नाईस वर्ष जस्तो कलिलै उमेरमा एकदिन गाउँबाट एक्कासि भागेर हिँडेको थियो। त्यस बखतमा यस घटनाको बारेमा कएकले जान्दछन, धेरैले जान्दैनन। सुनेर कसैले पत्याँउछन, कसैले फटाहा कुरा भनेर उडाँउछन। तर सामान्य घटना र गरिबीको चेपमा चेप्टिएको गोपाल जसरी बेपत्ता भएथ्यो, एकदिन यसै गाँउमा गाँउको ठाँउको सुनको गहनामा जडान गरिएको अमूल्य हीरा भएर आँउछ, त्यो सोचेको थिएन। तर अहिले त्यही कुरा आँखा अघिल्तिर ठुलो सत्य साबित भएको छ।त्यतिबेर सबैको घैँटामा घाम लागे। यसलाई भन्छन मान्छेको लागि गरिबी अभिशाप हैन बरू गरिबी मानिसको जीवनमा उस्को जीवनको आशीर्वाद हुने एउटा सौगात हो, जीवनलाई जित्न सिकाउने एउटा प्रत्याह्वान हो ।
गोपालको जीवनमा घटेको त्यस रातको घटनाको प्रतक्ष्यदर्शी हुनुको कारण आज मेरो आँखा सामु त्यो घटना त्यो अप्रत्याशित विकट परिस्थिति झलझलि नाचेरहेको छ।
भाञ्सा खाऐर दुई सम्धी यसो भान्साघरमा जोडिएको छहारी मुनि अँगेनामा आगो ताप्न बसे। घरकाहरु कल्याङमल्याङ गर्दागर्दै सबै सुते।
जाडाको रात, अँगेनामा आगो तापेर दुई सम्धीका गफ जुधेपछि पछि रात बितेको के थाहा। त्यति भएन दुवै सम्धी गुवापानका भक्त हुँदा, दिँउसै गुवा पान चुन सबै कुराको विशेष प्रबन्ध गरिएको थियो। छेउछाउका ठुटा मुढा जोतेर,आगो तापेर गुवापान मसक्क मस्काउँदै गफ हाँक्ने विचारले।
: सबै कुरा ठीक छ सम्धीज्यू, बिहान त्यो फलेकमा देखिएको”मा द्रौपदी गौशाला” भनेर लेखेको कुरा मलाई अलिक अनौठो लागेको छ। विष्णु, लक्ष्मी, शिव यस्तो नाम देखेको सुनेको भए पनि, यो खाले नामको कुनै पनि अनुष्ठान प्रतिष्ठान आज सम्म देखेको सुनेको सम्झना छैन। त्यो त्यसरी लेख्नुको केही माने छ कि,कि एउटा नाम राख्नु पर्ने हो राखि दिएको हो। अलिक कता कता मेरो मनमा खेलाएको कुरा पोखेको मात्रै हो। हजुरलाई त जानकारी हुन पर्ने हो।
चम्लागाँई बुढाको कुरा भुँईमा पर्नासाथ घरभेटी मैनाली सम्धीलाई झँनै स्वाद परो। यसरी सोधेपो मथिङ्गलमा कुरा आँउछन कमिलीसलह हुरुर्र कुदेर। एकबुजो गुवापान मुखमा कोचारेर मैनालीले उसबेलाको कुरा सम्झिए। ठ्याक्कै लग्नमा कुरा राख्नु भयो हजुरले। यो कुरा पहिले पहिले सत्ते कुरो हो भने नठम्मिउन्जेल सम्म हामी धेरैले यो ता- त्यो नाटकमा द्रौपदीको भाउ लिएर भाग्नुपरेको हुँदा- यस्तो द्रौपदी नाम राखो होलानि भन्ने सोचियो । आमाको नाममा यो यस्तो लेखो भनौं भनेपनि उसकी आमाको नाँउ त पार्वती हो। त्यो पनि मिल्दैन। तर पछि गएर पो भेद खुल्यो सम्धीज्यू।
: अब आखिरी सुनौं न त के रहेछ भेद।
घरभेटी सम्धीले कुरा खोले।
: गोपालको र मेरो उमेर प्रायः समान समान हो। हामी सानैदेखि बिरिङ गुटी खेलने,टाङ्गुटी हान्ने अनि पछि पछि उस्तै साथीको लहडमा परेर लुकिछिपी खैनी खाने यसरी मिलेका साथी थिएँउ। अलिक पछि पछि हामी स्कूल छुट्टी भएपछि बेलुकी पख गाई चराउन जाँदा तितेघारीमा लुकाएर राखेको बिँडी उतै सन्काएर आँउथिएउँ । पक्राउ परेर स्कूलमा मास्टरको चड्कन पनि उत्तिकै खाएको हो हामीले। कसो कसो मैलेचाँहि खैनीमा लागेर बिँडी त्यागें। तर गोपालले बिँडी खाने बानी छोड्न सकेको थिएन। जाडोमा लुकेर बाक्लै धुँवा उडाउने गर्थ्यो मौका पारेर। त्यसताका मेट्रिक पास गर्दा हामी निकै डँढाक भैसकेका थिएँउ। निकै छिप्पिएको उमेरमा स्कूलमा भर्ना भएकोले होला। जे होस त्यो वर्ष हामीले मेट्रिक पास गरेर स्कूल छोडेका । धेरै पढनु पर्छ र केही बन्नुपर्छ भन्ने त्यत्रो चाहना थिएन उसबेला। गाँउघरमा मेट्रिक पास गरेको मान्छे झण्डै निकै पढेको ठुलो मान्छे भन्ने धारणा राख्ने धेरै थिए। त्यस्तैमा त्यसवर्ष दशैंमा गाँउमै नाटक गर्ने सिद्धान्त भयो। एक दल सामाजिक नाटक गर्ने पक्षमा थिए। अर्कोदल राजकीय पोषाकवाला दामी नाटक गर्नेमा। पछि रएल नाटक गर्ने पक्षमा सबैको सिद्धान्त टुङ्गियो। महाभारतको द्रौपदीको वस्त्रहरण नाटक खोजेर ल्याईकन त्यही नाटक दशैंमा खेल्ने तयारी चल्यो।
भाउ वितरण गर्दा गोपालको भागमा द्रौपदीको भाउ परो। उ पुलुक्क हेर्दा उ राम्रो देखिन्थ्य। उसबेला स्त्री चरित्र पुरूषले गर्नु पर्थ्यो। हिजाज जस्तो थिएन।
म सधैंको पम्पटार माने स्मारक छँदै थिएँ। नाटकको यताउता गर्ने फुको मान्छे पनि चाहिने, त्यो नाटक स्पष्ट पढेर रिहासल गराउने मान्छे, त्यसैले सोझै म प्रम्पटार छाँनिए। राम्रैसँग चल्दै छ सबै कुरा। रिहासलहरू राम्रो भयो। महाष्टमीको राति हामी बेलैमा खाएर साँझमै नाट्य मञ्च गएर ठिक ठाक पारिँउ। समयमा नाटक मञ्चन सुरु भयो। हलमा ठेलमठेल मान्छे छन्। हुँदै जाँदा नाटकको दृश्यमा पासा खेल आयो, खेलमा सबैथोक जितेर दुर्योधनले द्रौपदीसम्म जित्यो, जिते पछि- भारी राजसभामा उसको काखमा बस्न द्रौपदीलाई बोलायो, द्रौपदी आँउदिन , दुर्योधनको हुकुम लिएर दुशासनले भित्र बाट द्रौपदीलाई घिसारेर ल्याँउनु पर्ने एउटा सुन्दर नाटकीय मुहूर्त आयो। जाडाको दिन द्रौपदीरूपी गोपाल मञ्चको छेउमा छेलिएर मज बिँडी तान्दै गरेको बेला दु:शासनले साँचैको दृश्य देखाउने विचारले द्रौपदीलाई च्याप समातेर तान्दै ल्याँउने सुरमा गएर गोपालाई केही नभनिकन घिसार्दै मञ्चमा ल्यायो। एकसुरमा खाईरहेको गोपालको मुखको बिँडी फ्याँक्ने कुनै सुविधा परेन। बिँडीतान्दै गरेकि द्रौपदी मञ्चमा सबैले देखे। अचम्मको कुरा। पहिले त मान्छे गलल्ल हाँसे। तत्मुहूर्तमा अर्को हल्ला भयो , बिँडी खाने द्रौपदी- ओहो बिँडी खाने द्रौपदी। पर्दा ताँन, पर्दा ताँन। एकैछिनमा पर्दा ताँनियो।
यत्रो दशैंको नाटक देखाइएको अरे !
हामीले बिँडी खाने द्रौपदी देखाउन भनेर नभएका पैसा चन्दातिरेको हो कुमेटिलाई ? (नाटक परिचालना समिति)
सामाजिक नाटक गर्ने पक्षमा रहेका मान्छे के निहुँ पाँउ भनेर निँहु खोज्नेमा रहेछन। त्यही माथि दशैंको बेला, कति मान्छे मासु र रक्सिको रमझममा पनि उत्तिकै थिए। एक्कै छिनमा एक भयङ्कर हल्ला र सानोतिनो मुक्कामुक्कि तानातान हानाहान हुन थाल्यो। नाटक बन्द। आईमाई केटाकेटी चिहिलबिहिल भएर भागाभाग भए। एकसमयमा सबै मान्छे दर्गादिशा लागे। तर गोपाल कता गयो कसैले देखेनन। त्यसैदिन हराएको गोपाल हराएको हराएै भयो कतै पत्तो लागेन। तीन चार वर्षपछि कोइ दिन झुक्याएर राति घर आएर रातिनै फेरि कतै जान्थ्यो अरे भनेर सुने पनि देखिएन भेटिएन आँफूले।
दशवर्ष पछि निकै रूपियाँ पैसा कमाएर गोपाल आयो र अनि यो गौशाला खोलेको। बिच बिचमा म सँग झुकलपुकल भेट गर्न आँउछ। साथी भन्ने माया र मान्यता राख्छ। उसको जीवन चिथोर्ने बिगतका कुरा कहिलेकाहीँ भन्छ पनि।
मान्छे एकदम साधारण जीवन धान्ने शैलिको छ। गाडी घोडा,तकझक छैन। झट्ट परको नयाँ र उस्लाई नचिनेको मान्छेले देख्दा, थाहै हुँदैन कि यो एउटा विशाल सम्पत्ति र कएक विभिन्न कारबारको मालिक हो भनेर। मौका परेछ भने म हजुरसँग पनि भेट गराई दिँउला न सम्धीज्यू।
: बढी रोचक हाँसो र रोदन मिलेको अचम्मको कुरा गर्नु भयो हजुरले। अब उसो त्यो त्यसरी रातिहुँदि नाट्य मञ्चबाट बेपत्ता भएको मान्छेले दशवर्षमा घरफर्केर आँउदा त्यत्रो माटोबारी किन्ने र गौशाला खोल्ने धन सम्पत्ति कसरी कमायो,यो पनि ता सोच्नु पर्ने कुरा हो नि सम्धी।
: हो किन हैन। जसरी विचित्र पाराले गोपाल हरायो उस्को पैसो कमाउने पारा पनि उत्तिकै नाटकीय र सर्वसाधारणको मथिङ्गल खलबल्याउने विचित्र तरिकाको मै छ ।
: रात त निकै छिप्पिएको आभाष हुन्छ। भोलि भनौंकि रहल कुरा,कि सकेर सुतौं कि कसो, तपाईंको इच्छा है। घरभेटी सम्धीले गफगाफमै भने।
: हैन यस्तो कुरा मनमा लिएर सुत्दा काहाँ निन्द्रा पर्छ र सम्धीज्यू। बरु अझै एक-एक खन गुवापान खाँउ। दन्काएर आगो ताप्तै कुरा टुङ्गाउनु पर्छ। भोलि घर फर्केर जाने कुरा पनि छनि फेरि मेरो त।
: लौ त। कुराहरु गोपालले मलाई जसरी भनेको थियो, यसबेला म हजुरलाई उसैगरि भन्दछु। एकदिन गोपाल मेरोमा आएको थियो रात बस्दै,सायद उसको मनको वह पोख्ने विचार रहेछ होला। भान्सा खाएर हामी मेरो कोठामा बसेर गफिन लागिउँ। मौकामा मैले उ भागेर गएको कुरा छर्लङ्ग पार्न आग्रह गरें।
: त्यो रात नाटकको पर्दा छोपिने साथै द्रौपदीको वेशभुषा फालेर मैंले भित्र लगाएको पतलुन माथि अर्को पतलुन घुसारें अनि धुसाको सर्ट र बाहिर ज्याकेट भिरेर अँध्यारोमा छेलिंदै धानबाली माझको आलि आलि हिँडेर प्रायः डेडदुई घन्टापछि रेल स्टेशन पुगे। मेरो विचार थियो जोनाई फुपूको घरमा गएर उतैबाट अरूणाचल पसेर काम खोज्ने। घर फर्किई सक्नु थिएन। दशैं खर्च खल्तीमा पचास साठी रूपियाँ लगभग थियो। नाट्य मञ्चमा उत्पत्ति भएको आकस्मिक परिवेशले अत्यन्त भयानक रूप लिने भयो भनेर मेरो मुटु कलेजो कामेको थियो। बाहिर साँइला महाजनको माहिलो छोरोले चिच्याएर कराएको सुने ‘त्यो कुनचै बजिया हो द्रौपदी हुने, त्यसलाई घिसारेर निकाल’ भन्ने आवाजले मेरो हंसले ठाउँ छोडेको थियो, त्यो भङ्ज्याहा र रक्सिया मान्छे नै हो। छेउमा मैले तँलाई देख्छु कि भनेर हेरे । त्यो हल्लामा कतै केही देखिएन।
: उसले मलाई भन्यो।
: मैले नाटकको खाता समेटेर कता के भएछ भनेर खोजी गर्दा तैँले डाँडो काटेर राज मार्ग पुग्न लागेको हुँदो होस अनि। यता भोलि पर्सिपल्ट गाँउमा मेल पञ्चायत बस्यो। तेरा बाबुले छोराको पक्षमा एकसय एकाउन्न रूपियाँ जरिवाना समेत हात जोडेर माफी मागे सकियो। तर तँ हराईस्, गोपाल हरायो। हरायो हरायो। अनेक खोजिनिती गर्दापनि कतै केही सिप लागेन। चुप लाग्न बाध्य थिए घरका।
फेरि गोपाल भन्न लाग्यो-
: मेरो सोचाइ थियो उता जुनाइ तिर जाने तर रेल जोनाई तिरबाट यता रङ्गिया फर्किने रहेछ त्यसबेला। अर्को मनले जताबाट पहिलो रेल आँउछ त्यसैमा चढ्छु भन्ने सोच्थ्दै थियो । पुगेको मात्रै थिएँ रेल आयो चढेँ । रेलमा चढेर तल बसेर भित्तामा अडेस लागे हिँडाईले थाकेको बेलामा, त्यहीँ थेच्चिएँ ,सिट खोज्न जाँगर चलेनन्। त्यसरी नभागे जोगिने अर्को उपाय थिएन मेरो मनमा। बिहान रङिया स्टेसन पुगेछु। रेल त्यँही टुङ्गियो। यात्रा कहाँ हो किन यहाँ आउनु परो, कस्तो आपद हो यो, मेरो मनमा यस्तै कुराको ठुलो हुण्डरी चलेको थियो। हिजै साँझमा हतार हतार खाएर नाटकमा सिङ्गारिन हिँडेको। राति टिटिईले तिस रूपियाँ किराया लगि हाल्यो। केही पैसा छन। सहारा त्यही हो। चिनेजानेको कोही छैन। पराइको ठाउँ। टाउन जग्गा। यसबेला असम आन्दोलन तीब्र गतिमा बढीरहेको समय,आँफू नेपाली भाषी परियो। झनै त्रास छ मनमा। स्टेसनबाट निक्लेर फुटपाथमा एउटी आईमाई मान्छे चिया बेच्दै देखेर त्यतै लागेँ।एक रूपियाँको डेक्ची बाबर एउटा र एकपेला चिया मागेर खाए पछि आँतमा केही साहस बढेको अनुभव भयो। अब,अब कता जानु,के गर्नु।उदालगुडीमा सानीमाको घर छ तर…!
त्यही चिया पसलको छेउमा अल्याङ टल्याङ गरेको देखेर होला- एक्कासी,अई केटा के नाम हो, कहाँ हो घर ? कहाँ हिँडेको ? खोई यता आईज भनेर अलिक अप्ठेरो असमिया भाषामा आईमाई मान्छेले बोलाई। मान्छे बोलिमा वेङ्गली भाषी हो भन्ने मैले पहिले ठहर गरि सकेको थिएँ। किनभने त्यो अघि मलाई डेक्ची बाबर बेच्ने मान्छेनै हो। म खुरूक्क उतिर लागें।
: म गोपाल, विश्वनाथ चारालि बाट रेलमा आएको ओदालगुडी उत्रिनु पर्ने, निधाएर यहाँ आई पुगेँछु थाहै भएन।
: हो कि घरबाट भागेर हिँडेको होस।कसले जान्दछ, केही काम गर्छस ?
काम गर्छस भन्दा मेरो मनमा ठुलो आँट पस्यो।
गर्दछु। के काम ।
: यो ला खा, भोकाएको जस्तो लाग्यो। खा खा, पैसा तिर्नु पर्दैन खा। यसो भनेर
अर्को एउटा डेक्ची बाबर र एकपेला चिया दिई त्यसैले। एकछिन बसि राख यहीं। घरमा को को छन्। यस्तो टाउनको ठाउँमा एक्लै नयाँ मान्छे घुमफिर गर्न हुँदैन। जान्दैनस्। पुलिस आर्मी लाग्छन् थाहा छैन ?
: उतो पिठो भिजा भिजा। अघिको पिठोले अर्को रेल आँउन्जेल पुग्दैन होला। डेक्ची बाबरको अड्कल गरेर भनि।
धान राख्ने जस्तो टिनमा भएको पिठो आरी जस्तोमा निकालेर कति भनेर उसको मुखमा हेरेको, सबै भिजा भनेर हात हल्लाएर देखाई । उ आफ्नो ग्राहक पनि हेर्दै छ, मलाई पनि नजर लगाँदै छ।
लुरू लुरू उसले भनेको गर्दै गएँ। निकैबेर पछि साढेएघारको रेल गयो । सर समान थन्काई मुन्काई पारेर ,ती सामान त्यो ठेला जस्तोमा छोपी। एउटा डालोमा केही फलमूल र खाने वस्तु र खज्यार मुजुर हाली।
: अई केटा हिँड । पहिली यो डाली उचालि दे दे मलाई। तँ यो खालि टिन र बोरा बोक। हिँड घर गएर नुहाएर भात खानु पर्छ।
धेरै दिन घरमा राखेर रतिएको, एकदमै आत्मीय कर्मचारी जस्तो व्यवहार गरेरै त्यसले मलाई घर पुर्याई। उसले मलाई साँच्चै सहारा दिई। बेला बखतमा हकारपकार पनि पार्ने माया पनि गर्ने।
म उसैसँग त्यस्तै पाराको काम गर्न थालें। विचार गर्दै जाँदा, उसको पसलका छेउछाउ र चिने जानेको सबैले उस्लाई सम्मान पूर्वक “मा द्रौपदी” भन्दा रहेछन। पहिले पहिले द्रौपदी शब्दचाहिँ उच्चारण हुँदै एकखेप मेरो सातै जान्थ्यो, त्यो शब्द सुन्दा मलाई जिउभरि अरिङ्गालले टोके जस्तो हुन्थ्यो मनमा, गाँउको त्यो राति भएको नाटकको घटना सम्झिएर। तर दिन दिनै मा द्रौपदीको सहारामा मैले नयाँ जुनी फेरि सकेको थिएँ। केही महिनामा सबै सामान्य भयो। द्रौपदीको हाइप्रेसर स्ट्रोकले पेरालाईसिस् भएको लोग्ने घरमा बस्थ्यो। त्यो दिन भरी रात भरी खाटमा सुतेर,के के भुतभुताई रहन्थ्यो। त्यहाँ पनि मिलियो। आफ्नो ज्यानको खतरा रहेन। एकदिन त्यहाँ मा द्रौपदीको भाई आयो । उसले काम गर्ने मान्छे भेटियो भने राख्नु भनेको रहेछ।
: एकजना काम गर्ने मान्छे भेटियो भनेर खबर गरेकी थिएउ दिदी, खोइ मान्छे भन्यो। म आफ्नो ठाउँमा के गर्दै थिएँ,सुने। मैले बुझ्न बाँकी रहेन मा द्रौपदीले उसको भाईकोमा काम गर्न पर्छ भनेर यत्रो दिन मलाई राखेको रहेछ। जे होस राम्रो भयो। मैले खान बस्न र सुरक्षा पाँए,दैव दाँहिना रहेछन भन्ने लाग्यो मनमा।
: गोपाल यता आइज। अब तँ यो मेरो भाइकोमा जा आज देखि। कहिलेकाहीँ आँउने गर्नु। मेरो माईती घरमा पठाएको, अन्त होइन बुझिस। धक मान्नु पर्दैन। उ दुई मैल पर छ घर,तँ उतै जा ल।
: हुन्छ।
: यो ला। याहाँ नयाँ कपडा छन पूजामा कसैलाई दिने गरेको थियो वर्षेनी , यसपालि तैँ लगा, ठिकै हुनुपर्छ जिउमा।
: यी डेढसय रूपियाँ छन राख। मौका पाउँदा घरमा पठाउनु।
: अई मानिक यो केटालाई राम्रो व्यवहार गर्नु, नेपाली केटो रहेछ,विश्वासी र इमान्दार छ। मान्छे चिनेस् ।भात खाएर जानु है तिमेरु । म स्टेसन जानुपर्ने अबेर भईरहेको छ ।
त्यसदिन म स्टेसनको साटो मानिकको पछि लागेर उसको घरमा गएँ।
त्यो पूजाहरूमा चाँहिने मूर्तिहरू बनाउने कारिगर भँनु मूर्ति शिल्पकार रहेछ। त्यसकोमा ता जताततै धानको पराल, बाँसको टुक्रा,भाटा र सूत्ली, काठको टुक्रा,साना ठुला तार गजाल,नाना थरी रङ्गका ट्यामीहरू, त्यस्तै सामान बग्रेल्ती देखिन्छन्। मैले बनिएको दुर्गा, विश्वकर्मा सरस्वती मूर्ति देखेपनि, मूर्ति बनाउने यस्तो कारबार नदेखेको कुरा थियो। जे भएपनि मलाई वास्ता थिएन। काम गरेर पेट भर्नु मुख्य कुरा थियो त्यसबेला मेरो निम्ति। त्यहाँ तिनै पराल, भाटा, सुत्ली जोगाड दिने मानिकलाई सघाउने काममा मलाई खटाइयो। एउटा भाटोमा कति सावधानी र हिसाव गरेर पराल सित्तैमा खेर नफालि, एउटा एउटा तेन्द्रो पराल धेरथोर मिलाएर कसेर बाँध्नु पर्छ भन्ने एकखाले ज्ञान मलाई थाह हुन लागेको थियो। अनुमानिक एउटा भाटामा बाँधिएको पराल मूर्तिको आकारमा खडा गरेर, त्यसमाथि बाहिरबाट विशेष माटोले लिपेर सुक्छ, अनि सिपालु मानिसले रङहरू मिलाएर पोते पछि मात्र एउटा मूर्ति तयार हुन्थ्यो। मेरो मनमा मूर्ति बनाउने प्रति जस्तो सजिलो कमलो धारणा थियो,यो काम देखे पछि मात्र अनुभव भएको हो यो कठिन काम हो। कति मसिनो र लगनशीलताले मात्रै एउटा सुन्दर मूर्ति बनिन्छ त्यसबेला थाहा भयो। यसरी गर्दागर्दै एकमहिना जति बितेपछि एकदिन राति एकहुल केटा यो मूर्ति बनाउने घरमा आए। सुतेको मानिकलाई उठाएर के के मागे। उसले पराल हाल्ने पुरानो बोरामा एकबोरा पराल खाँदेो र त्यो सँगै एकमुठो सुत्ली र एकबिटो भाटा दिएर पठाएको मैले देखेँ,तर नदेखे झैं सुती रहे। डरपनि लागेको थियो। भोलि पनि उत्तिकै काम गरियो,मानिकले हिजोको कुरा गरेन। मपनि नयाँ नयाँ मान्छे सोधि खोजी गर्नु उचित ठाँनिन। अर्को एकदिन राति धेरै केटा आएर फेरि पराल र भाटा मागेर दिगदार गरे। उसले दियो पनि। यो क्रममा पछि मालिक मानिक सँग ती केटाहरुको झगडा भयो। मागेको सामान नपाँउदा ती रिसाएर के के भन्दै गए। त्यसबेला गएनि,पछिल्लो दिन बिहानी पख परालको थुप्रोमा आगो दन्किएर सबै सरदाम खरानी भए । यो कस्ले गरेको हो, कोही जान्दैन। मानिक विचरा वेङ्गली भाषी मान्छे। धाति न गुहारी। उसको भएर बोल्ने कोही निक्लेन। स्वाभाविक थियो। तर मेरो आफ्नो मनले अङ्क गर्दा ती आन्दोलकारी मध्धेमा बदमास खेमाका केटा थिए। आन्दोलनकारी मध्येका भद्र र शिक्षित केटाहरु धेरै थिए। ती मध्येका धेरैले मा द्रौपदीको पसलमा चिया पिउने गर्दथे। उनीहरू द्रौपदीको बढी सम्मान आदर गर्दथे। त्यो मैले धेरै दिन देखि लक्ष्य काटेको थिएँ। तर तीनै मध्ये उदण्ड स्वभाव भएका केटा मौका छोपेर बदमासी पनि गरि हाल्थे। राम्रो विचार भएका केटाहरु द्रौपदीको पसलमा चिया खाँदै त्यसबारेमा दुखमनाउ पनि गर्दथे।
परालको गोदाममा आगलागी भए पछि
मानिकको बेपार त्यसपालि ठप्प भयो। मेरो पनि बिचल्ली हुँदा मा द्रौपदीले मलाई फेरि उस्को घरमा बोलाई । गएँ। उसको घरमा अर्को म जस्तै रेल स्टेशनमा बिथान्को परेको नयाँ केटो आएको रहेछ। झुस्स परेर बसि रहेको थियो। यस्ता रेलमा,बसमा असहाय परेका धेरै मान्छेको टुङ्गो लगाएकि द्रौपदीकहाँ यो पनि आएछ भन्ने लाग्यो। केही भनिन मैले।
म पुग्ने साथै-
: गोपाल एउटा कुरो भन्न बोलाएकि।
: कस्तो कुरो होला।
: म तँलाई केही पैसा दिन्छु – तँ एउटा नयाँ बेपार गर। मज्जा चल्छ यहाँ। साहस चाहिन्छ तर।
मैले हुन्छमा टाउको हल्लाएँ। तर के बेपार गर्नु पर्छ त्यो मलाई थाह छैन।
: यता हुँदि धेरै धान खेती गर्ने नेपाली बस्ती छन। त्यहाँ बाट धानको समयमा जति सक्दो पराल किनि राख। टाडा परो भने,जँहा किन्छस त्यतै विस्वासी मान्छेकोमा उतै थन्काएर आँउन पनि सकिन्छ। पैसा दिएर छाडनु पर्छ। बुझिस।
: गर्न त सकिन्छ तर त्यत्रो ओधी पराल के गर्नु र।
: बेपार गर्नु के गर्नु ! यी दशहजार रूपियाँ छन ला। यीनलाई बेपारमा खटा, पछि सकिस भने मूलधन फर्काउनु,सकिनस भने पनि मलाई गुनासो छैन,बुजिस् ?
: हुन्छ। पैसा थापें। दशहजार रूपियाँ। यत्रो ठुलो रकम एकैठाउँमा देखेको आजै,आजै आफ्नो जिम्मामा रहेको अनुभव, साँच्चै भन्नुपर्दा ठुलो अनुभव थियो। त्यसदिन मा ले राति भात खाएपछि,के गर्ने कसरी गर्ने सबै कुरा बुझाई मलाई।
रङियाको वर पर धेरै कृषकले धानबाली उत्पादन गरेको कुरा यसबेला सम्ममा मलाई पनि थाह भै सकेको थियो। मा द्रौपदीले मलाई तँ नेपाली गाँउको पराल ल्याएर जमा गर। बाँस यतै किन्न पाईन्छ, पराल र भाटाको बेपार गर राम्रो पैसा कमाउन सकिन्छ। यसरी दशहजार रूपियाँले मैले नयाँ कारबार थालें। पराल र बाँसका भाटा सुत्लिको डङ्गुर थुप्रियो।
यी सामान विभिन्न प्रान्तमा मूर्ति बनाउने शिल्पालयले खरिद गर्न लागे। विभिन्न अर्डार अनुसार माल रेडी पार्ने मान्छे पनि द्रौपदीको सहारामा मैले नियुक्त गर्न थाले।
पहिले पहिले दिन हाजिरामा, पछि गर्दै जाँदा महिनावारी दर्माहामा। खुबै चल्यो। विश्वकर्मा पूजा,दुर्गापूजा, सरस्वती पूजा कति हुन पूजा सबैमा माल लान थाले। आफ्नो गाडी लिएर आयो लगो।यस लहडमा कसो कसो त्यसबेला चर्किएर चलिरहेकोआन्दोलनमा ब्यवहार हुने
सय सय राँका, विभिन्न प्रकारका पुल्ठा ,बाटोमा प्रतिवाद थलोमा डढाउने मान्छेका पुतलाहरू बनिने सरदामहरु पनि यीनै बेपारी हरूबाट कसरी नेतृत्व सम्म पुगेको सुनियो। मैले सोझै पुल्ठो बनाउने सरदामहरु नदिए पनि,मेरै गोदामबाट गएको सामग्री त्यसरी व्यवहार हुँदा नै सायद दिनदिनै पराल र बाँसका भाटाको बिक्री बेस्सरी बढेको अनुभव भयो। जे होस् मेरो असत् उदेश्य थिएन। मेरो पराल लगेर गाईगोठ लगेर ख्वावोस कि जे दर्कारले लगो त्यही गरोस। भाटा धानमा बेरा लगावोस कि राँका बनावोस,म के गर्न सक्छु र । पैसा लिएर माग अनुसार सामान दिने मेरो काम हो। लाने पुर्याउने के के बनाउने उनेरको काम। बस। यस्तो कामको लागि मेरो सामान, चुपचाप बिक्री वितरण हुन थाल्यो। विभिन्न ठाउँमा राँके जुलुस,नेताको पुतला इत्यादि भएर पनि मेरो पराल र भाटा जतै ततै कुद्न थाले। पहिले पहिले दुई चारवटा गर्दै, पछि पछि यसको चाहना बढदै गयो। तीनै सामग्री लिएर जाने मान्छेले,फलाना ठाँउमा सजिलो र सस्तो, जहिल्यै खोजे यस्तो सामग्री पाँईन्छ भनेर विज्ञापन फिँजाइ सकेका रहेछन। मेरो माल गोदाम गोदाम बिक्री हुन लाग्यो। अलिक दिनमै हातमा भुर्कुट पैसा भए । पैसा भए पछि मानिकलाई पछिल्लो वर्ष मूर्ति बनाउने पराल र चाँहिने सरदाम मैले किनि दिएँ। एकदिन दशहजार रूपियाँ एकै खेप द्रौपदीले हातमा हालि दिँदा के के न भएर छाति फुलेको अनुभव गर्ने मान्छे, यसबेला, मानिकलाई सामान किनिदिएको त्यो मूला पचास हजार रूपियाँ के हो र जस्तो लाग्न थाल्यो मेरो मनमा।
एक वर्ष पछि त समग्र असम राज्यको विभिन्न क्षेत्रमा मेरा सामग्री बेच-किन हुन थाल्यो। प्रत्येक वर्ष गोदामको ठाउँ फेरि रहन्थे म। अनि त्यो बेपार गर्ने मान्छे म हो भन्ने कुरा प्रायः मान्छेलाई थाह थिएन।किनकि म दिनभरि मा द्रौपदीको चिया पसलको वरपर हुन्थे। मेरो सामान आखाँ आँखाले बोलेर बन्दोबस्त हुन्थ्यो। पैसा थापो गोदामको केटो सँगै पठाई दियो, बस । एकातिर आन्दोलनकारीलाई पुलिसको भूतले सताएको हुन्थ्यो। उता माथिका नेताहरुले तत्काल पठाएको हुकुम तामिल गरिनुपर्ने बाध्यता रहेको बुझिन्थ्यो केटाहरूको अनुहारमा। कति बेला कुन ठाउँमा कस्तो जुलुस हुन्छ त्यहाँ परिकल्पना अनुसार कति र कस्तो सामान ठिक पार्नुपर्ने हो, कसरी जोगाड गरेर कहिले कँहा पुर्याउने हो त्यो सबै यी केटा र नेताको ठेकामा हुन्थ्यो। उनरले सामग्रीको दाम हुकुम दिने उपरवालाबाट पाँउथे सायद। मेरो तोकिएको रकममा कहिल्यै घटिबढी गरेनन । किनभने समयमा यस्तो सामग्री पाँउनु नै ठुलो कुरा थियो। तीन चारवर्षे कारोबारमा वर्षको छ सात लाखको दरमा पैसा आर्जन भयो। मा द्रौपदीले मलाई दिएको दशहजार रूपियाँ बिना बियाज लिई अरू पैसा तँ कारोबारमा खटा तैँ कमा तैँ जमा गर भनेर मलाई छाडी दिईन। बिचमा मौका पारेर घर आएँ। सानोतिनो रिन तिरेँ। आमाबाबूको चिकित्सा गरेँ, मैले धेरै पैसा कमाएको कुरा कसैलाई भनिन ,थाह दिईन। मेरो उदेश्य अर्कै थियो।
: पैसा कमाएर राम्रो काम गर्नु, सुनिसके। फुर्मास गरेर पैसा उडाउनु अपराध हो बुझिस। पैसा भनेको लक्ष्मी हुन लक्ष्मी। आदर सम्मान गर्ने वस्तु हो पैसा। पैसा मान्छेको सेवामा खटाउनु पर्छ । अनि यो धरती आमा हुन, यीनको सेवा संरक्षण गर्नुपर्छ, रूख पात ,पशु चौपायाको माध्यमबाट पनि जनसेवा गर्न सकिन्छ। तेरो भित्र एउटा राम्रो मान्छे छ भन्ने लाग्छ मलाई र यी कुरा मैले भनेको हो। यसको विपरीत गरिस भने यीनै लक्ष्मीले सरापछिन र भएको बुद्धि पनि नष्ट हुन्छ।
: भात थपि दिँउकि ?
खुला र ठुलो हृदय भएकी मा द्रौपदीको उच्चभावना मैले छेउबाट अनुभव गरेको थिएँ। द्रौपदी चिया पसले थिई तर उसको नारीमन भित्र देवीदेवताको बास थियो। प्रायः दशवर्ष बितेपछि एकदिन राति मेरो गोदामको परालमा आगो सल्किएछ। आगोले सबै सखाप पारि दियो। मेरो मनले यो साह्रै राम्रो ईंगित हो जस्तो लागेन। बेंकमा प्रायसत्तरी असी लाख जति रकम जमा भएका थिए। त्यस्तैमा पेरेलाईसिस भएको द्रौपदीको लोग्नेको आकस्मिक मृत्यु भयो। द्रौपदीसँग त्यो नयाँ राजवंशी केटो मिलेर काम गर्दथ्यो। हामी बेलुका एकैठाउँ भेला हुन्थिएँउ।यी दुईवटा घटना पछि मैले अब घर फर्केर उतै केही उद्योग गर्नु र सकेसम्म जनसेवा गर्ने विचार गरि सकेको थिएँ। द्रौपदीहरूका आफ्ना सन्तान थिएनन। यस्तो स्थितिमा मैले उनलाई मेरो मनको कुरा भनेर अनुमति लिनु परो भन्ने ठाँने। मेरा कुरा सुनेर खुसी हुँदै सहर्ष अनुमति दिईन। अनुमति पाए पछि म मेरो घरमा आएर यो माटो किनेर मा द्रौपदीको नाममा यो गौशाला खोलेको हो। द्रौपदीको नाममा यस ठाउँबाट विस्थापित भएको हूँ म, तर द्रौपदी नामकै गरियसी नारी द्वारा पुनर्स्थापना भएको पनि उत्तिकै साँचो हुँदा,कृतज्ञता र प्रेरणाको स्मृति स्वरूप यो नाम मेरो पसन्द छ। पैसा कमाउन भन्दापनि मैले द्रौपदीबाट बढी भन्दा बढी व्यवहारिक शिक्षा धेरै कमाएको थिएँ। द्रौपदी मरेर गईन तर एकदमै अचम्म लाग्छ आजपनिकि – रेल स्टेशनको फुटपाथमा बसेर सामान्य डेक्ची बाबर बेचेर जीवन धान्ने द्रौपदीको हृदयमा मानवसेवा व्रती रहेको ठुलो र प्रकृति प्रेममा मुछिएर हरियो रहने उसको हृदयावेग सम्झेर। त्यसैले ता द्रौपदीको सम्मानमा मैले यो गौशालाको नाँउ, “मा द्रौपदी गौशाला” राखेको हो। यसबाट उब्जनी भएको दूध दही घिउ किरिम पनीर खाएर मानिस स्वस्थ सवल र बुद्धिमानी बनोस। रूखपात बढुन हुर्किउन पर्यावरण स्वस्थ हुन्छ,बाँस हाम्रो जन्मदेखि मृत्यु सम्म काम लाग्ने मरेपछि सम्म मान्छे बोक्ने कत्रो परममित्र हो,यसको जगेर्ना गर्ने र उचित व्यवहारमा खटाउने,यो मा द्रौपदी गौशाला यस्तै उदेश्यले उन्मुख भएर मेरो गाउँ मेरो ठाउँ मेरो जन्म थलो मेरो पवित्र देशको सेवामा समर्पित भावनाले स्थापना गरेको हो।
: गोपालले यति भनि सकेपछि पो म त छाङ्गाबाट खसेजस्तै भएको थिएँ।
अब त चित्त बुझो नि सम्धीज्यू। मा द्रौपदी गौशाला यसरी चक्रवातमा परेर जन्मिएको थियो।
दुई सम्धी गफगाफ गर्दागर्दै पूर्वमा घाम झुल्कि सकेर आँगनसम्म घाम झलमल्ल भएकोले झसङ्ग परेर बसेठाँउबाट उठेर हात मुख धुने तरखरमा लागे।
असम नेपाली नाट्य सम्मेलनका महासचिव पूर्णकुमार शर्माका राम्रा कविता इ-पत्रिकाहरमा पढ्दै थियौ। यतिखेर उनले अर्को टर्न लिएका छन—- कथातिर। बान्किला रोचक कथाहरु आउँदैछन उहाँका कलमबाट। द्रौपदी गौशाला कथा पढेर राम्रो लाग्यो । शुभकामना छ कथाकार शर्माजीलाई ।
नाटकीयता बुनियेको कथा।पत्यारिलो र सुन्दर। सात्वटा भिन्न शब्द। तर अर्थ आउँछ। गोपाल्को सफल्ता एक सन्जोग हो। राम्रोकथा। पुरानो समय र सस्कृती बोधक । धन्य पूर्ण जि।
दुवै परम आदरणीय गुरु स्थानीय साहित्यिक प्रति हार्दिक आभार व्यक्त गर्दछु नमस्कार