कथा: बेबी सावर
|जीवन जती जति गहिरिएर सोच्यो त्यती त्यती नै गहिरिंदै जाने सागरको गहिराईजस्तै रहेछ । जिउँदै गयो समयको भेलमा बग्दै जाने खोलाजस्तै । आ-आफ्नै राम कहानी कोर्दै जाने आख्यानजस्तै।
सोच्नु त जीवनको बाटो रहेछ। जति सोच्यो नयाँ विचारहरुको शृंखला खोल्दै जाने रहेछ। अब के गर्ने जीवनमा भन्ने सोचबाटै जीवनको उदेश्य प्राप्त हुन्छ । बाँच्ने चाहना बन्छ।
अमेरिका भरखर भरखर आएको थिएँ । नौलो परिवेशमा मातृभूमिबाट टाढिएर। कोही आफ्नो माटोको फूल देख्यो कि लोभ लाग्ने । उस्तै किसिमको मुख बान्कि भयो कि सोध्न मनलाग्ने तपाईं नेपाली हो ? परिचय बनाउने क्रम जारी हुन्थ्यो। सोध्दै जाँदा कहिले आफ्नो छिमेकी त कहिले ग्वाटेमालाका नागरिक पर्थ्यो । भाषा नै नबुझ्ने तर झट्ट हेर्दा नेपालीजस्तै लाग्ने। कति झुक्किएँ झुक्कीएँ म यस्तरी । तरपनि शंका लाग्यो कि सोधि हाल्ने प्रयास छोडिन किन भने मलाई चिन्नु छ परदेशमा आफन्त र नयाँ परिवेसमा मिल्नु छ।
एक दिन यस्तैमा चिना-परिचयको सिलसिलामा एउटी बहिनी भेट भयो। मिजासिलो आफ्नै परिवारजस्तै लाग्यो । उहाँको श्रीमानलाई ज्वाईं सा’ब भन्थें । परिचयसँगै फोनमा सन्चो बिसन्चोको कुरा गर्ने र कहिले डिनर कहिले लन्चको ‘अफर’ पनि शुरु हुँदैगयो । कहिले दिदी कहिले बहिनी कहाँ गएर दु:ख सुखको कुराहरु हुन्थे। यसरी जाने क्रममा उहाँको अरु नातेदारसँग पनि परिचय हुँदै गयो । एकदिन बहिनीको फोन आयो- ‘रश्मीले बोलाएको छ। उनको ‘बेबी सावर’मा गर्ने रे। आउँदो शनिवार तपाईं हामी जाने है दिदी’ । त्यतीबेला मेरो गाडि पनि थिएन । जाने ठाउँ पनि कहाँ पर्छ भन्ने ज्ञान पनि थिएन । तिनै बहिनीले नै भनिन्, दिदी धन्दा नमान्नु, हाम्रो गाडीमा जाने। मलाई थाहा थिएन ‘बेबी सावर’मा के के गर्नु पर्छ ? त्यसैले मैले सोधें- के गर्नु पर्छ बहिनी ‘बेबी सावर’मा बोलाएको ठाउँमा जाँदा ?
उनले भनिन्, बच्चा पाउनुभन्दा पहिला गर्भवती महिलालाई नेपालमा हामीले दही चिउरा ख्वाउने चलनजस्तै हो,अमेरिकामा । आफन्त र साथीहरू मिलेर गर्ने हो । तर यहाँको चलनमा बोलाएको घरमा आफूले कुनै चिज बनाएर लाने हो। बच्चा जन्मने बेलामा चाहिने सामानहरुको लिष्ट हुन्छ । त्यस्मा आफूलाई लान मन लाग्ने सामान छ भने म यति नम्बरको सामान ल्याईदिन्छु भनेर पहिले नै भन्ने चलन रहेछ । मलाई पनि सामानको नामको लिष्ट दियो । मैले हेर्दै जाँदा बच्चालाई लुगा किन्न मन पर्यो। मैले लुगा दिन्छु भनें ।
त्यसपछि शनिवारको दिन पनि आयो। हामी जान तयार भएर बस्यौँ । बहिनी लिन आईन् । हामी उनीसँगै गयौं । कहाँ लगेको हो ? त्यो बाटोको ज्ञान थिएन। करिब आधा घण्टापछि राम्रो नयाँ घरको अगाडि गएर गाडी रोकियो । बहिनीले ‘रश्मीको घर यही हो’ भनिन् । राम्रो लाग्यो चिटीक्क परेको सुन्दर घरभित्र हाम्रो स्वागत भयो।हामीले लगेको खानेकुरा टेबुलमा सजायौं । त्यहाँ अरु खाने कुराहरू पनि फिंजाएर राखेको थियो सायद हामीभन्दा पहिला पुगेका अरु साथीहरुले ल्याएको होला।
सबैजना जम्मा भएपछि ‘बेबी साबर’को काम सुरु भयो,रमाईलोसँग हाँसी खुसी हुँदै आ-आफूले लगेको उपहारको सामान आमा हुने बहीनीलाई दियौं । सबैले शुभेच्छा दिएर कार्यक्रम सकेपछि खाना खाने काम शुरु भयो। सबै राम्रो प्रबन्ध मिलाएकोले स्वाद फरक फरक जस्लाई जस्तो खाना मन पर्यो त्यस्तै खाना ल्याएकोले रमाईलो भयो। सबैसँग कुराकानी गर्दा गर्दै थाहा भयो-रश्मी बहिनीको आमा पनि त्यहीं बस्नुभएको रहेछ । कुरै कुरामा घरको कुरा निस्कियो, सबैले घर राम्रो छ भनेर तारिफ गरे । करिब दुई बर्ष अगाडि बनेको घर रहेछ, तयार हुनेबित्तिकै सरेका रे उनीहरू । बेबी साबर गर्ने बहिनीको आमाले भन्नुभयो ‘मेरो एक्लो सन्तान हो रश्मी । उच्च शिक्षाको लागि अमेरीका पठाएको थिएँ।’ उनको बोलीचाली खानदानी घरानियाँ महिलाकोजस्तो लाग्थ्यो ।
आमाले भन्नुभयो -रश्मीको बुबा मिलीटरीमा क्याप्टेन हुनुहुन्थो । छोरीलाई अमेरीका पढ्न पठाएको केही समय पश्चात उहाँको स्वर्गवास भयो।’ आँसु पुछ्दै भन्नुभयो -‘पैसाको कमी नभएकोले पहिले नै बन्दोबस्त मिलाई दिनुभएको थियो। छोरीले पढाई सकाएर बिबाह गर्ने कुरा निकाल्दा ‘मैले केटा रोजीसकेको छु’ आमा भनीन्। केटा हेर्दा मलाई पनि मनपर्यो, बिबाहको लागि स्वीकृति दिएँ । एक्लो छोरी भएकोले मन फुकाएर परम्परा अनुसार बिबाह गर्ने निधो गरेर म पनि अमेरीका आएँ ।
आमाले आफ्नो मनको कुरा छोरीलाई बताउँदा छोरीले हाँस्दै भनिछन् ‘मेरो कुरा मानिसीन्छ ?’ मैले तिम्रो कुरा नमाने कस्को कुरा मान्ने मानी हाल्छुनी भन तिम्रो इच्छाअनुसार गरीदीन्छु भनें । मैलै निर्धक्क खर्च गर्ने सोचेको थिएँ । मेरो कुरा सुनिसकेपछि रश्मीले भनिन्- ‘आमा हजुरले मेरो बिबाह धुमधामसँग गर्ने सोच्नु भएको छ हैन ? कति जति खर्च गर्न रहर छ हजुरलाई ?’ छोरीको प्रश्न सुनेर म छक्क परें । के भनौं के नभनौं लाग्यो । मेरो अलमल देखेर छोरी मुसुक्क हाँसिन् र फेरि भनिन् ‘भन्नुस आमा तपाईंको योजना अनि म मेरो कुरा भन्नेछु ।’ तिनको कुरा सुनेर मैले गहना र दाईजो सबै गरेर पन्ध्र-बीस हजार डलरसम्म खर्चगर्ने आँट गरेकोछु भनें । त्यसपछि छोरीले मलाई भनीन् ‘आमा मलाई केहि पनि किनिदिन पर्दैन, त्यो हजुरले छुट्याउनु भएको पैसा मलाई दिस्यो ,त्यो दाईजोको पैसाले घर किन्नलाई डाउन पेमेन्ट गर्छु । बिबाहमा कसैलाई बोलाउन पनि पर्दैन। मन्दिरमा जाने अनि हजुरले भगवानको अगाडी हामी दुवैजनालाई टीका लगाईदिस्यो ।’
छोरीले थपिन् – त्यसो गर्नु भयो भने हामी खुशी हुन्छौं । मुमा हजुरलाई नि’ सन्तोष हुन्छ । हजुरको दाईजोको पैसा पनि सदुपयोग हुन्छ। हामी आफ्नै घरमा बस्न पाउँछौ ।’ आफन्त र साथी भाइलाई बोलाएर एकै दिनमा सबै कार्यक्रम सकाउने भन्ने कुरा भयो। यस्तो कुरा सुन्दा मन मेरो मानेको थिएन । परम्परालाई कायम गरेर नै छोरीको बिबाह गर्ने ईच्छा थियो। छोरीले सम्झाएपछि अनावश्यक खर्च ठिक होईन जस्तो लाग्यो र उस्को इच्छा मुताबिक़ नै गरीदिएँ । यो घर किन्नलाई त्यही दाईजोको पैसा सबै राखेर किनेकी हुन् । रश्मीको आमाले एकै सासमा सबै कुरा भन्नु भयो ।
यो कुरा सुनेर अनौठो त लाग्यो तर सही निर्णय भएको मलाई पनि महसुस भयो। रश्मीको बुद्धिमत्तालाई मैले हृदयदेखि स्वागत गरें । त्यतीबेला मैले सोचें सबैको मनमा यस्तै भावना पलाए हाम्रो समाजमा नयाँ चेतना आउने थियो। फजुल खर्चले एउटा छुट्टै अस्तित्वको रवाफ र प्रभाव हुने ठानेर देखासिकीमा फजुल खर्च हुने परम्पराको अन्त हुने थियो । धनको खर्चमा सही मुल्याङ्कन हुनेथियो । मैले सोचें,कस्तो राम्रो सोच रहेछ रश्मीको । मलाई लाग्यो- यो बेबी सावर,साँच्चिकै हामीले भन्ने गरेको आमा र बच्चाको स्याहार-सुसार पो रहेछ । किफायती काइदा र सुखी भविष्यको योजना ।
One Comment
Didi
Excellent writing.
Great job!