छोरालाई सन्देश

छोरा खै के दिउँ  तिमीलाई जन्मदिनको उपहार?
ईश्वरले सबल हात दिए
मात्र म तिमीलाई कलम उपहार दिन्छु
तिमी आफ्नो मौलिक कथा आँफै लेख्नु
मेरा अधुरो कथामा तिमीले पाना थप्नु पर्दैन
शब्द चयन आँफै गर्नु
अर्थहरू आँफै खोज्नु
निष्कर्ष आँफै पहिल्याउनु
मात्र यत्ति भन्छु
सम्भावनाहरू अनगिन्ती छन्
निर्धक्क बनेर लेख्नु
निस्संकोच भएर लेख्नु
कहीं कतै कथा रोकिन खोज्यो भने
म सदैव तिम्रो साथै छु है ।

छोरा खै के दिउँ तिमीलाई जन्मदिनको उपहार?
ईश्वरले दरिला खुट्टा दिए
मात्र म तिमीलाई दौडने मनोबल उपहार दिन्छु
तिमी आफ्नो नयाँ बाटो आँफै पहिल्याउनु
मेरो बाटो तिमीले पछ्याउनु पर्छ भन्ने छैन
आफ्नो गति आफै तय गर्नु
आफ्नो गन्तब्य आँफै भेट्नु
मात्र यत्ति भन्छु
बाटाहरू सबै सजिला हुँदैनन्
हरेस नमानेर हिंड्नु
चुनौतीहरूसँग नडराएर हिंड्नु
कही कतै लड्यौ भने
म सदैव तिम्रो साथै छु है ।

छोरा खै के दिउँ तिमीलाई जन्मदिनको उपहार?
ईश्वरले राम्रा आँखा दिए
मात्र म मिठो निदरी उपहार दिन्छु
तिमी आफ्नो सुनौलो सपना आँफै देख्नु
मेरा अपुरा सपना तिम्रा आँखाले खोज्नु पर्दैन
तिमीलाई म सपनाबाट झस्क्याउने छैन
तिम्रा सपनाको म विश्लेषण गर्ने छैन
तिम्रा सपनामा म सीमा रेखा कोर्ने छैन
मात्र यत्ति भन्छु
तिम्रा सपना सबै साकार हुन्
तिम्रा सपनाका राम्रा आकार हुन्
कहिलेकहीं सपनाहरू तुहिए भने
म सदैव तिम्रो साथै छु है ।

छोरा खै के दिउँ तिमीलाई जन्मदिनको उपहार?
ईश्वरले तिमीलाई विशाल मस्तिष्क दिए
मात्र म तिमीलाई सही सोच उपहार दिन्छु
तिमी आफ्नै ढंगले सोच्नु
तिमी आफ्नै रंगमा सोच्नु
तिमी मेरा सोचहरूमा रुमल्लिनु पर्दैन
तिम्रा सोचहरूलाई म आफ्ना साँचामा ढाल्दिन
तिम्रो सोच मेरो जस्तै हुनुपर्छ भन्दिन
मात्र यत्ति भन्छु
तिम्रा सोचहरूले जीवन्तता पाउन्
तिम्रा सोचहरूमा म गर्व गर्नु सकुँ
यदाकदा सोचहरू साँघुरिन थाले भने
फेरि पनि भन्छु
म त सदैव तिम्रो साथै छु है ।

3 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *