विराट साहित्य सङ्गम: दुई दशकको अनुभूति

विसं २०५७ सालबाट सुरू भएको थियो । यसको गठन प्रकृया र यसको अस्तित्वको शुरूवातका लागि अग्रज बलराम पोखरेल, म (ऋतु आसीक), केशव आचार्य, अमृतलाल श्रेष्ठ, अशोक पौडेल आदि भएर प्रत्येक महिनाको अन्तिम शनिवार जनपथ मा.वि.को मैदानमा जम्मा भएर आफ्नो–आफ्नो रचना सुनाएर घर फर्किन्थ्यो । साहित्यकारहरूको आकार बढ्दै जाँदा त्यसै स्कूलको कुनै कक्षा कोठामा साहित्यिक गोष्ठीको आकार लिँदै गएको थियो । यी माथिका पंक्तिहरू लेख्दै, यो क्रमलाई निरन्तरता दिँदै गर्दा गोग्राहका हाइस्कूल विराटनगरमा आइपुग्दा कार्यक्रममले भव्य रूप लिंदै अघि बढीरहेको थियो । हाम्रा गतिबिधिहरू पनि अघि बढिरहेका थिए ।

विराट साहित्य सङ्गमका तत्कालीन अध्यक्ष बलराम पोखरेलको नेतृत्वमा २०६४ साल नेपाली साहितय परिषद् असमका सचिव कवीरसिंह क्षेत्रीको आतिथ्यपूर्ण निमन्त्रणमा असमको गुवाहाटीमा २८ अप्रेल २००७ बेलुकी ३.३० बजे नेपाली साहित्य परिषद् असमको तत्वाधानमा मणिकुमार सुब्बा भवन पल्टन बजारमा   चिरपरिचत भारतीय साहित्यकारहरू,स्थानीय लब्ध प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा साहित्यिक कार्यक्रम भएको थियो ।

असमका साहित्यिक महारथी
अग्रज लीलबहादुर क्षेत्रीद्वारा लिखित बसाइँ उपन्यास २०२५ सालताका कलेजको विद्यार्थी हुँदा पढेको थिएँ । यस बसाइँ उपन्यासमा पहाडबाट झरेका व्यक्तिहरूको मुग्लान यात्राका तथ्यहरूलाई लिपिबद्ध गरिएका छन् । यी पहाडी जीवनमा तत्कालीन घटनाहरूलाई समावेश गरेर लेखिएको यथार्थपरक उपन्यास हो । नेपालका तत्कालीन पहाडी भेगमा सामन्ती संस्कारद्वारा गरिने व्यवहारहरूलाई यसमा सजीव तरिकाले फोटो खिचिएकोले यसमा यथार्थता झल्किन्छन् । अग्रज साहित्यकार गीता उपाध्याय, अग्रज युद्धवीर राणा, अग्रज दुर्गा घिमिरे, अग्रज भविलाल लामिछाने, यी सबै अग्रज साहित्यकारहरूको घर आँगन टेकेको छु । आफूलाई गर्वानुभूति महसुस गरेको छु ।

असमका नेपाली साहित्यिक गतिविधि तथा नेपाली संस्कृतिक, संरक्षण र सम्बर्ध्दनमा असमका भारतीय नेपाली साहित्यकारहरूले अहम् भूमिका खेलेको कुरालाई नकार्न सकिन्न । भारतीय नेपाली साहित्यकारहरूमा नेपाली भाषाको  विकासका लागि विशेषत डा. शान्ति थापाका योगदान अनुकरणीय छन् । गुवाहाटी विश्वविद्यालयमा नेपाली भाषा साहित्यमा स्नातकोत्तर गर्नका लागि कोर्षको व्यवस्थापनको जस उहाँलाई जान्छ । भारतीय नेपाली साहित्य भण्डारलाई साहित्य सिर्जनामा आफूलाई त्यतिकै क्रियाशील बनाइरहनु भएको छ । असमका भारतीय नेपाली महिला साहित्यकारहरूमा मुन्नी सापकोटा, डा. इन्द्रप्रभादेवीलाई पनि अलग गरेर हेर्न मिल्दैन । उहाँहरूको देन महत्वपूर्ण छ ।

विराट साहित्य सङ्गमले साहित्य गतिशील एवम् अग्रगामी सोच अनुसार जि.प्र.का. मोरङमा २०६८-२०६९ मा दर्ता भएर सङ्गम अभियान २०७८ भाद्रसम्ममा मासिकरुपमा प्रकाशित भइसकेको छ । विराट साहित्य सङ्गमले आफ्नो अमूल्य निधिको रूपमा प्रकाशित गरेका कृतिहरू हुन् – (१) मोरङका समकालीन कविताहरू, (२) ब्रह्मपुत्रदेखि नालापानीसम्म, (३) आदिकवि भानुभक्त आचार्य विशेषाङ्क ।

विराट साहित्य सङ्गमको प्रत्यक्ष निगरानीमा मासिक साहित्यिक पत्रिका सङ्गम अभियान नियमित रूपमा प्रकाशित भइरहेको छ । प्रेस काउन्सील वितरण संपरीक्षण समिति २०६८-२०६९ को वर्गीकरण अनुसार मोरङ जिल्लाबाट प्रकाशित हुने सङ्गम अभियान मासिक क्षेत्रीय ‘क’ मा परेको छ । सङ्गम अभियान साहित्यिक पत्रिकालाई भानुभक्त स्वर्ण पदक प्रदान गरिएको छ ।

भानुभक्त आचार्य दिशतवार्षिकी समारोह समितिद्वारा २०७१ साल असार २९ गते तत्कालीन कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमद्वारा प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ – नेपाली भाषा र साहित्यको पहिचानका प्रतीक राष्ट्रिय विभूति आदि कवि भानुभक्त आचार्यको द्विशतवार्षिकी स्वदेश तथा विदेशमा मनाउने सिलसिलामा नेपाल सरकारबाट गठित भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समितिको गरिमामय उचाइ अभिबृद्धिका लागि समर्पित श्री सङ्गम अभियान साहित्यिक पत्रिकालाई भानुभक्त स्वर्ण पटक समर्पण गरिएको छ ।

विराट साहित्य सङ्गमले नेपाली वाङ्मय प्रगतिवादी सोचलाई अझ दृढटाका साथ पक्रिएर यसले आफ्नो ऐतिहासिक जिम्मेवारीलाई निर्वाह गर्दै अघि बढि रहेको यथार्थता सबैका समू छर्लंग छ । विराट साहित्य सङ्गमले आफ्नो स्थापना भएपछि २०६७ पौष ९-१० गते ऐतिहासिक कार्य गरेको थियो । नेपाली साहिपत्य परिषद् असमका अध्यक्ष नव सापकोटाको नेतृत्वमा १८ जनाको टोलीलाई जानकी सेवा सदन विराटनगरमा विराट साहित्य सङ्गमका तर्फबाट तत्कालीन अध्यक्ष बलराम पोखरेलद्वारा स्वागत गरिएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा उप्रेतीको पनि सहभागिता रहेको थियो । विराट साहित्य सङ्गमको यस ऐतिहासिक जमघटमा भाग लिन लोककवि अलिमिया वाङ्मय प्रतिष्ठान पोखराका साहित्यकारहरूको टोली र विराट साहित्य सङ्गमसँग मिलेर २ दिने कार्यक्रममा सहभागिताको रूपमा आफूलाई उपस्थिति गराएको थियो ।

यस अवसरमा  भैरहवा बाग्लुङ, स्याङ्जा आदि जिल्लाहरूका साहित्यकारहरूको पनि सहभागिता थियो । भारतको पश्चिम वङ्गालका साहित्यकारहरूको नेतृत्व गर्दै ज्ञानेन्द्र खतिवडाको नेतृत्वमा ३ सदस्यीय टोलीले सहभागिता जनाएको थियो । भुटानी शरणार्थी शिविरबाट पनि भुटानी साहित्यकारको सहभागिता रहेको थियो ।

तीतो सत्य:मिनी दूताबास
मैले “छिमेकीको अर्घेल्याइ” नामक ग्रन्थ प्रकाशन गरेँ । त्यो पुस्तकमा छिमेकी भारत सरकारद्वारा समय–समयमा नेपाललाई दिइएका पीडा तथा हेपाहा प्रवृत्तिलाई उजागर गरिएका लेखहरू मैले विभिन्न कालखण्डमा लेखिएका लेखहरूलाई संग्रहित गरेको छु । कुनै बेला विराटनगरस्थित भारतीय दुतावासको मिनी दूतावास विराटनगर स्थित दूतावास पनि हुने गथ्र्यो । आफूलाई साहित्यकारको रूपमा अब्बल रूपमा ठान्नेहरू, त्यतातिर छिर्न र घाँटी रसाउनका लागि त्यतातिर छिर्ने साहित्यकारहरूको पनि विराटनगरमा कमी छैन । त्यतातीर छिर्ने लत लागेकाहरूलाई मेरो पत्रकारिता लेखन पक्ष मन परेको छैन । मलाई उनीहरू जहिले पनि भारतको विरोध गरेको तातो न छारोको लेख लेख्नु हुन्छ इंगित गर्ने गर्छन् । तर मैले  विराट साहित्य सङ्गमको टोली दिल्ली जाँदा पनि भारतीय सरकारको थिचोमिचोको विरोधको स्वर प्रकट गरेकोछु ।

विराटनगर स्थित मिनी दूतावास पस्ने ती देशद्रोही साहित्यकारहरू हामी माझै लुकेर बसेका हुन्छन् । तिनीहरूका हर्कतलाई हामीले नाङ्गेझार पारिनुपर्छ । लिम्पियाधुरा, लिपुलेक, कालापानी माथि भारतीय सरकारको हस्तक्षेप बढिरहेको छ । ती हाम्रा अभिन्न अङ्ग माथि भारतीय हस्तक्षेप बढीरहँदा नेपाली पत्रकारहरूको मौनता झन् डरलाग्दो रूपमा छ ।

नेपाल पत्रकारहरूको ठूलै समूह लैनचोरबाट पालिस पोषित छ । नेपाल पत्रकार महासंघको मौनता यसै इशारामा परिलक्षित छ । हामी साहित्यकारहरू, पत्रकारहरूले भारतीय सरकारको थिचोमिचो र घृणित कार्यको विरोध कलमद्वारा विरोध गरिनुपर्छ । यसलाई निरन्तरता दिइनुपर्छ । हामीसँग टाँसिएका भारतीय लेण्डुपेहरूको विरोध गर्नुपर्छ । तिनीहरूलाई समाजमा नङ्ग्याउनु पर्छ । तिनका कर्तुत समाजलाई चिनाउनु पर्छ ।

विसं २०७६ साल मङ्सिर २४, २५ र २६ नेपाल भारत साहित्यिक सङ्गमको प्रारूप खडा गरियो । यी दिनहरूलाई स्मरणीय बनाउनका लागि छिमेकी राष्ट्र भारतको केरला, कर्णाटक, बिहार, पश्चिम बङ्गाल, सिक्किम, दार्जीलिङका साहित्यकारहरूको उपस्थिति रह्यो । दक्षिण भारत केरला राज्यका अन्तर्राष्ट्रिय ख्यातीप्राप्त प्रा.डा. रति सक्सेना (अथर्ववेद) विभिन्न विश्वविद्यालयमा  Visiting professor का रूपमा आफूलाई उभ्याउनु भएको छ । उहाँको साथमा उहाँको पति वैज्ञानिक डा. प्रदीप कुमार समेतको संलग्नता रहेको थियो ।

यस अबसरमा विराट साहित्य सङ्गमको निम्तीलाई स्वीकारेर आउनु भएका डा. सुनील तरूण, हास्यकवि निगमराज नन्द, सारस्वत नन्द, अभिताभ सक्सेना, ज्योति शाह, उर्दूका सुप्रसिद्ध शायर शायद जाहिर अहमत फनाको समेत उपस्थिति रहेको थियो । विराट साहित्य सङ्गमबाट मासिक प्रकाशित हुने सङ्गम अभियान २०७६ मङ्सिर पूर्णाङ्क ११५ वर्ष १०, अङ्क ४ मा अतिथि देवो भवः को रूपमा पस्किएका थियौँ ।

यसरी विराट साहित्य सङ्गमका तत्कालीन संस्थापक सचिव हैसियत राख्दै अग्रज बलराम पोखरेलको पदचापलाई पछ्याउँदै प्रगतिवादी साहित्यिक आन्दोलनको दिशामा झण्डै–झण्डै २१ वर्ष व्यतित गरेका क्षणहरू कति छिटो बितेछन्, पत्तै भएन । विराट साहित्य सङ्गमको नयाँ कार्य समिति मित्र मधु पोखरेलको नेतृत्वमा गठन प्रकृयालाई अन्तिम प्रारूप दिइएको छ । आउँदा दिनहरूमा यसले आफ्नो निरन्तरतालाई अघि बढाउँदै प्रगतिवादी साहित्यिक आन्दोलनलाई यसले गति प्रदान गर्दै जावस् शुभकामना व्यक्त गर्दछु ।

Add a Comment

Your email address will not be published. Required fields are marked *