दशैँ र महाभारत

यो बुढो दशैँ
ऋणको भारले थिचिएका बुढा बाबुहरू
अनि प्रतिज्ञाको भारीले किचिएका बुढा भीष्म पिता
उस्तै-उस्तै लाग्छ मलाई
वाणै वाणको शैयाले घेरिएका
कठैबरा सबै लाचार
कठैबरा सबै किंकर्तव्यविमूढ
महाभारतजस्तो कठोर दशैं ।

एक हुल निरीह पाण्डव
दशैंको गरिमा राख्न
हात फैलाएर
पाँच मुठी अन्न माग्छन्
पाँच हात वस्त्र खोज्छन्
अर्को हुल कौरव
शकुनीसँगै पासा पल्टाउँछन्
आफ्नै भकारी भर्छन
के दशैं महाभारत नै हो त ?

यही नै दशैँ होला
अन्धो राजा धृतराष्ट्र
भोको पेट देख्दैन
द्रौपदीको च्यातिएको धोती देख्दैन
दशैँ भित्रको दशा देख्दैन
दोष उसको होइन
बिचरो अन्धो छ
तर विडम्बना
ऊ बहिरो पनि रहेछ
ऊ केही सुन्दैन सायद
त्यसैले न्याय मिल्दैन
यस्तै हो दशैँ ।

पर्सिएको बोको
बलि चढाइन्छ
रक्ताम्य भएर ढल्छ
रक्तविज मर्नु पर्थ्यो
अहो चक्रव्यूहमा अभिमन्यु पो हेलिन्छ
फरक के भयो र ?
बग्यो आखिर उही रातो रगत
दशैँ महाभारत नै हो त ?

Add a Comment

Your email address will not be published. Required fields are marked *