आमा बिनाको घर

आमा बिनाको घर हुन्छ शून्य
न्यास्रो र निर्जन्, घनघोर् अरण्य
रोऊँ, म कस्ले पुछिदिन्छ आँशु
त्यो मातृवात्सल्य कहाँ म दाजुँ?।।१।।

बल्दैन आकाश् जति सूर्य छाओस्
चम्किन्न धर्ती जति जून् उदाओस्
के हुन्छ, खै के? भयभीत हुन्छु
आमा विनाको टुहुरो म रून्छु।।२।।

आमा नबोल्दा सरगम् सुनिन्न
यो जिन्दगीको रूपसार् बुझिन्न
निःशब्द आँगन् सुरताल् हुन्न
फाटेर छाती सकिँदैन तुन्न।।३।।

जो सामु पर्दा पनि काल रूक्थ्यो
जो मुस्कुराए पनि स्वर्ग झुक्थ्यो
अद्भूत त्यस्तो ममता कहाँ छ?
आमा रहेको झुपडी जहाँ छ।।४।।

पंछी परेवा, धुरिमा धुरिन्थे
गाई र बाख्रा नगिचै झुमिन्थे
अर्कै थियो तन्मय जिन्दगीको
फिक्का भयो रंग विडम्बना यो।।५।।

खाँबो बिनाको घर अग्लिँदैन
आमा रूँदा जीवन रङ्गिँदैन
बाजी जितौं, लाख इनाम पाऊँ
लौ हेर आमा!म कता सुनाऊँ।।६।।

मैले चढें त्यो, हिम टाकुरामा
स्याबास कस्ले भनिदिन्छ आमा?
नङ्ग्रा खियाएर बने म मान्छे
को गर्व गर्ला नगरे तिमीले?।।७।।

चारो खुवायौ, मुखले चपाई
बाटो हिँडायौ, दुख पार लाई
त्यो त्याग् तपस्या भुलुँ के गरी म
आमा म आएँ, भनुँ कोसितै म ?।।८।।

फर्केर गाउँ घर जत्ति जाउँ
भोकै छु लाग्ने, जति गाँस खाउँ
आमा अँगेनानिर छिन् कि जस्तै
डाक्छिन् मलाई किन लाग्छ जैल्यै।।९।।

को छैन, को छैन, भइरहन्छ
आमा कहाँ छिन्, मन यो चिरिन्छ
हे दैव, मेरो लिनु जे छ लैजा
आमा मलाई गरिदे न फिर्ता।।१०।।

छन्दः इन्द्रवज्रा

2 Comments

Leave a Reply to मनोज झा मुक्ति Cancel reply

Your email address will not be published. Required fields are marked *