अतितानुरागी
|आज धेरै दिनपछि मौसम बदलियो। मन पनि बदलिएको छ । घरदेशबाट टाढा पदेशमा छु।दशै सुरु भएको छ। युटुवबाट मालसिरी धून सुन्दै छु । मनमस्तिष्क नोस्टालजिक भएको छ।
बारीभरि कोदाका बाला झुलेका हुन्थे । बारीका छेउ छेउमा सयपत्रि फुलेका हुन्थे।अम्बक,भोगटे र केराका बोटले घरबारीको सौन्दर्य उजागर भएको हुन्थ्यो । रायोको साग त्यसै त्यसै हलहल भएर काँचै खाउँ जस्तो लाग्थ्यो । रोटेपिङ्, लिङ्गे पिङ् राख्न सुरु हुन्थ्यो । नयाँ कपडा किन्न हाट कहिले लाग्छ भनेर औला भाँचेर दिन गन्ती गरिन्थ्यो।कुन खसी काट्ने हो खोरबाट छानिन्थ्यो।दशैंलाई भनेर गाईवस्तुलाई घाँस साँचेर राखिन्थ्यो।आमाले आगनमा जीरा र धनियाँ सुकाउँदै गरेको दृश्य होस् वा पाकेका काँक्राको खल्पी हाल्दै गरेको दृश्य होस् आँखामा झलझली आउँछ।कतारको एयरपोर्टमा छु।लगातार मान्छेको बाढि आएको छ।शौचालय सफा गर्ने कामको जिम्मा पाएको छु।बिच बिचमा बङ्गलादेशी सुपरभाइजर निरीक्षण गर्न आइरहन्छ । चारैतिर हेर्छ अनि हप्काउँछ । मानौं सही भए पनि गलत भए पनि हप्काउनु उसको कर्तब्य हो । शौचालय पुछे जस्तो गर्छु।ऊ जान्छ।कानमा एयरफोन लगाएर मोबायलबाट मङ्गलधून सुन्छु । फेरि तिनै पुराना दिन सम्झन पुग्छु-
मसिनी र म दिनभरी कहिले रोटेपिङ् , कहिले लिङ्गेपिङ् खेल्थ्यौ।मैले मच्चाइदिनु पर्थ्यो।उसका मुहारमा खुसीका सीमा हुँदैन थे।खाना खान पनि बिर्सन्थ्यौ।बेलुका गाउँका सबै जम्मा भएर मादल बजाउँदै गीत गाएको रमाइलो कसरी भुल्नु?।
‘टिसु पेपर छैन ?’
यात्रीले प्रश्न गर्दा झसङ्ग हुन्छु । आफ्नो गल्ती महसुस गर्दै हतार हतार टिसुपेपर झुण्डाइदिन्छु ।
चार वर्ष भयो यहाँ काम गर्न थालेको।काम गाह्रो छैन-अनुभवले गर्दा।जाडो गर्मीको पीर छैन-एयरपोर्टभित्र भएर।पैसा पनि योग्यता अनुसार नराम्रो छैन तर यस्ता चाडपर्वमा चाहिं आफन्त सम्झिइन्छ,छरछिमेकी, इष्टमित्र याद आउँछ । मसिनी मेरी सङ्गिनी थिई।घाँस-दाउरा, गाईबस्तु, पानीपँधेरो,ढिकीजाँतो सँगै हुन्थ्यौं।आमा जिस्क्याउँनु हुन्थ्यो-
‘यी मोरामोरी पछि पनि सँगै हुने हुन् कि क्या हो!’
मसिनी लजाउँथी र मतिर परेला फर्काएर हेर्थी।
मसिनी र म दलित परिवारमा जन्मेको हौं।समाजिक र आर्थिक अवस्था अत्यन्त गएगुज्रेको थियो।समाजको हेपाहा प्रवृत्तिको शिकार भएका थियौं।विकट पहाडी गाउँ- विकास थिएन।रोजगारी थिएन।माओवादी जनयुद्ध सुरु भएको थियो । गाउँ गाउँबाट किशोर किशोरी, युवायुवति जनयुद्धमा सामेल हुन थालेको हल्ला डडेलो लागे जस्तै फैलिएको थियो।गाउँमा पनि युद्धमा सामेल हुन कतै धम्की,कतै अपहरण,कतै आग्रह भैरहेको थियो।एक दिन शुक्रबारे हाट गएको थिएँ।मसिनीसित भेट भयो।उसले निन्याउरो मुख लगाएर भनी –
‘हिजो माओवादीहरु आएका थिए । उनीहरुले यो मुक्तिको आन्दोलनमा सामेल हुनुपर्छ।यी शोषक-सामन्तीलाई नसकी हाम्रो मुक्ति हुँदैन।यी माथिका जात भनाउँदालाई नकाटी हाम्रो शोषण रोकिदैन भन्दै आऊ बन्दुक बोक भने।’म जान्न।स्कूल पढ्दै छु भनें।
उनीहरुले जवर्जस्ती गर्छन् जस्तो छ ,के गर्ने ?
मलाई पनि डर लाग्यो तर मसिनीका अगाडि डराए जस्तो देखिनु भएन।
संझाएँ-’जान्नभन्दा कर लगाउन पाइन्छ?, जानु हुदैन।’
सँगसँगै घर फर्कियौं।बाटाभरि मन अमीलो भइरह्यो।
भोलिपल्ट हल्ला फैलियो-गाउँका मसिनी, जूनी, हिरा, काले, सन्तोषी सबैलाई माओवादीले लग्यो रे।मलाई भाउन्न भयो।भुँइमा बसें । सबैतिर अन्धकार देखें । एकातिर मसिनी गई भन्ने अर्कातिर माओवादीले आफूलाई पनि लैजालान् भन्ने पीर भयो।रातारात भागें । असारको महिना थियो।बाहिर पानी झमझम परिरहेको थियो।म हिडें।कता हिडें थहा थिएन । बाबुआमा, भाइबहिनी कसैलाई नभनी हिडें।खोलाहरु उर्लेर आएका थिए। बाटो जूका लागेर हिडिसक्नु थिएन । भोकतिर्खा खप्तै,बाढी पहिरो झेल्दै पाँच दिन हिडेर काठमाण्डौ आइपुगें । तर चिनेको कोही थिएन । शहर गाउँ जस्तो थिएन । अठार वर्ष लागेको थिएँ । गाउँघरको अर्गानिक खाना खाएर होला-हिम्मत थियो तर शरीर थिएन।ख्याउटे शरीर बोकेर खाएको हण्डर संझदा पनि अहिले कहाली लाग्छ।बाटामा कराउँदै पत्रिका बेच्दै हिडेको आफ्नै उमेरको केटालाई रोकें।सोधें-मैले खान पाएको छैन।बस्न पाएको छैन,कुनै उपाय भए सहयोग गरदिनुस्न।’उसले सोधेका सबै कुरालाई बेलिबस्तार लगाएँ।सायद उसले आफ्नो पनि अतीत संझ्यो होला । भन्यो-मसँग हिड।यी पत्रिका बाँढिसक्छु अनि मेरो डेरा जाउँला।’उसको पछि लागें । मान्छेका भीडभाडमा वरिपरि घुम्दै लगभग दुई घण्टामा पत्रिका बेचेर सक्यो।मेरालागि सबै नौलो।अग्ला घर,फराकिला बाटा, मान्छेको भीड, गाडीका ताँती सबै नौला।उसको पछि लागें।हराउँला भनेर उसको हात समातेको छु।एउटा घरको छिडींमा पुर्यायो।भर्याङमुनि अन्धकार एउटा कोठामा पुग्यौं।बत्ति बाल्यो।ओसिलो कोठा।झ्याल कतै थिएन।बिहान उसले खाएका जूठा भाँडा त्यसै थिए।भुइँमा चिसो नआउँने ‘म्याट’ ओछ्याइएको थियो।त्यसैमाथि सामान्य कपडा ओछ्याएर ऊ सुत्ने गरेको रहेछ । तर मेरालागि डुब्न लागेको समुद्रमा डुङ्गा बनेर आएको थियो ऊ ।
‘ल, यही हो मेरो बस्ने ठाउँ,मबाहेक कोही छैनन्।बस्न मन लागे बस,सँगै काम गरौंला।म आएको पनि छ महिनामात्र भयो।’
मैले उसको गाउँ सोधें, ठाउँ सोधें, नाम सोधें।
‘घर सोलु-नेचा हो।बिचारी कट्टेल मेरो नाम हो।’
‘ मेरो हर्क हो।’ थर परियार भनिन।उसले पनि सोधेन।
सँगै बस्यौं।सँगै खायौं।सँगसँगै काम गर्यौं।
यति सहयोगी साथी मैले भेटेको थिइन। काठमाण्डौमा खुट्टा टेकाउँने मात्र होइन, शीप सिकाउँने शुभचिन्तक पनि थियो । प्रकाशित पत्रिका हातमा लिन्थ्यौं, दिनभर घुमेर बेच्थ्यौं। भोक लागेका बेला मम पसलमा गएर टन्न बफ मम खान्थ्यौं।बेलुका कोठामा आएर डङ्ग्रङ्ग सुत्थ्यौं।शोक न सुर्ता,भोक न भकारी । दैनिकी यसरी नै चलेको थियो।बिचारीले मलाई काम सिकायो,हिम्मत सिकायो बाँच्ने कला सिकायो अझ भनुँ निडर हुन सिकायो । पत्रिका बेच्ता बेच्ता एकातिर सम्पादकहरुसँग हिमचिम बढ्दै गयोभने अर्कातिर समाचार पढेर ज्ञानको दायरा फराकिलो हुँदै गयो । अब बजारमा ताजा समाचार प्रवाह गर्ने हामी नै भयौं । सम्पादक-प्रकाशक हाम्रै बाटो हेरेर बस्थे । बिहानै सबै पत्रिकाको जिम्मा लिएपछि शहरभरी अरु केटाहरुले पत्रिका लिएर जान्थे।एक दिन बिहानै ‘ ब्रेकिङ् न्यूज’आयो-•••को आर्मी क्याम्पमा माओवादीले
आक्रमण गर्दा दुवैतिर ठूलो हताहत’ भन्ने । त्यहाँ सबैको नामावली थियो।त्यसमा मसिनीको पनि नाम थियो।गाउँका अरूको पनि नाम थियो।भाउन्न भयो।म थुचुक्क बसें । मेरो दिमागले केही काम गरेन।म शून्यमा गएँ । बिस्तारै उठेर भुँडे गणेशको मन्दिरको भित्तामा अढेस लागेर बसें।मसिनीसँगका क्षणहरू अगाडि आए।परालका कुन्यूमा लुकामारी खेलेको,खोल्साखाल्सीमा गएर निगुरो, जलुको टिपेको । ऐसेलु, चुत्रो, पुरुनी, भलायो, काफल खाएको । गिदेरी, पट्मिरो, स्यालफोस्रो,बडहरका रुखमा चढेर डाले घाँस झारेको । अझ दशैंम-तिहारमा रोटेपिङ्मा दिनभरी भोकतिर्खा बिर्सेर खेलेको दृश्य अगाडि आए । बिचरीलाई पढ्ने कत्रो रहर थियो।मसँग हिड्ने,खेल्ने, खाने,बाँच्ने कत्रो रहर थियो । माओवादीले त्यत्रो फकाउँदा पनि नजान कत्रो अड्डी कसेकी थिई तर आज यो परिणाम भोग्नु पर्यो-कठैबरा !!
आँसु आयो।आँसु पुछें । आफू नभागेको भए यस्तै गति हुन्थ्यो-लामो सुस्केरा हालें।बिचारीलाई फोन गरें । बेलीबिस्तार लगाएँ।बीचबीचमा हिक्का छुटेछ।उसले सम्झायो । एक छिनपछि बिचारी त्यहीं आयो।स्थितिलाई सामन्य बनाउँन खोज्दै भन्यो-’भोक लाग्यो, हिड मम खान जाऊँ’। बिचारीको पछि लुरुलुरु लागें । प्राय सँधै खाने गरेको मम रेस्टुरामा गयौं । भीड रहेछ । नजिकैको अर्को रेस्टुरामा गएर बस्यौं । उसले धेरैबेर शान्त्वना दियो।तब न साथी । मन अलि बुझे जस्तो लाग्यो,हलुङ्गो भयो ।
सुख,दुख जेहोस् त्यो टरेर जान्छ । त्यो क्षण बितेर जान्छ।एक दिन, दुइदिन गर्दै म फेरि नियमित प्रक्रियामा फर्कें । उही दौडधुप, कोलाहल र अभावको जिन्दगी सुरु भयो ।
मुख्य ठाउँबाट पत्रिका उठायो, ल्यायो अनि ठाउँ ठाउँमा बाँड्यो बाँकी रहेको साइकलमा बोकेर कराउँदै बेच्तै हिड्यो; यही थियो दैनिन्दिनी।कतिपय ‘ ब्रेकिङ् न्यूज ‘ कराउँदा कराउँदै भीड जम्मा हुन्थ्यो । कोही उभिएर सरर पढिहाल्थे, कोही किनेर लैजान्थे। कहिलेकहीं हातहातैमा बिकी भइसक्थ्यो।कहिले गस्तीप्रहरीले लखेट्थे कहिले उनीहरू नै सुटुक्क आफैं लिएर पढ्थे।त्यसबेला सरकार र माओवादीबीचको द्वन्द्व ‘हट न्यूज’ हुने गरेको थियो ।
फेरि अर्को दुर्घटना भयो।साथी बिचारी पत्रिका बेच्तै जाँदा बेपत्ता भयो।सोधखोज गरें।कतै पत्ता लागेन।न खवर दियो,न कतैबाट सम्पर्क गर्यो।सबै जानेका र चिनेका पत्रकार , सम्पादक , प्रकाशकहरूलाई खवर पुर्याएँ तर बिचारी भेटिएन । भोलिपल्टका केही पत्रिकामा खवर आए-माओवादीको सुराकीको आशङ्कामा पत्रिका बिक्रेता बिचारी सेनाद्वारा पक्राउ ।’
मलाई अर्को बज्रपात पर्यो । नसोचेको कुरा भयो । यदि यो समाचार साँचो भए बिचारीमाथि घोर अन्याय भएको थियो।ऊ र म एउटै कोठामा बस्ने, एउटै भाँडामा खाने, एउटै काम गर्ने हौं।मैले जति उसलाई कसैले चिनेको थिएन।कसरी ऊ माओवादीको सुराकी बन्यो? अकल्पनीय घटनालाई पत्याउँनु संभव नै थिएन र मलाई सेनाले लग्यो भन्ने कुरामा विश्वास नै भएन।तर पत्रकारहरुका कुरा सुनेर केही प्रत्यक्षदर्शीका बयान सुनेर उसलाई सेनाले नै लगेको हो।पत्रिकामा प्रकाशित समाचार कराउँदै बेच्तै हिड्ने भएकाले माओवादी सम्बन्धी केही सूचना पाइन्छ कि भनेर लगेको हुनसक्छ।एकदुई दिनमा छोड्देला भन्ने पनि आस गरें।तर साथी आएन।अब मलाई एउटा आतङ्कको छायाँले लखेट्न थाल्यो।आफू पनि असुरक्षित महसुस गर्न थालें।जाने कहा?
पत्रपत्रिका बाड्दै जाने क्रममा एक जना म्यानपावर सञ्चालकसँग परिचय भएको थियो।उनी बोलक्कड थिए।सँधै राजनीतिक परिघटनामा नजर राख्ने उनी -’आज के राजनीतिक हलचल लिएर आयौ?’भनेर प्राय: सोधिरहन्थे।
यो अन्योलको स्थितिमा मैले उनलाई संझें।गएँ।भेटें।सबै बेलीबिस्तार लगाएँ।असुरक्षाले र अनिश्चित भविष्यले अनुनयविनयका साथ ज्यादै भावुक पनि बनायो।त्रस्तमनस्थितिबाट पीडा घोलिएर आयो।व्यापारीमन उनले पनि मेरा आँखा राम्ररी जुधाउन सकेनन्।
‘मसँग पैसा छैन तर इमान छ।कुनै उपायले मलाई बाहिर पठाइदिनु होस्।म गुण बिर्सने छैन।’
एक महिना पछि उनले बोलाएर -’ कतार जाने प्रस्ताव राखे।
‘तीसहजार तलव हुन्छ।एयरपोर्टभित्र काम गर्नुपर्छ।राम्रो हुन्छ।जाऊ।’
भगवान्ले दिए जस्तो लाग्यो।ज्यादै खुसी भएँ।जाने सहमती जनाएँ र त्यसको एक हप्ता मैं उडिहालें।
(२०६६ विजया दशमी)