ओलीको राष्ट्रवाद मोदीदेखि मोदीसम्मको उडान त होइन ?
|भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा के.पी. ओली बेहुलो झैं अन्मिएर दिल्ली गएका थिए । भारतीय शासन व्यवस्थाद्वारा गरिएको नाकाबन्दीबाट पीडित आम नेपाली जनताले प्रधानमन्त्री ओलीलाई त्यता जानको लागि जनादेश दिएका थिएनन् । भारतसँगको हाम्रो सार्वभौमसत्ता सम्पन्न छिमेकी मुलुकको हैसियतलाई ठिक ठाउँमा ल्याउनका लागि, राष्ट्रियता प्रवर्धन सम्बद्र्धन गर्नका लागि दिइएको सुझाव सत्तारोहणसँग सँगै बिर्सिएका छन् । भारतीय सरकारले नेपालको संविधानलाई मान्यता दिएको छैन । नाकाबन्दीको आफ्नो अपराधपूर्ण गतिविधिप्रति क्षमायाचना गरेको छैन । अर्को तिर देशको सिमानामा लुटपाट तथा भारतीय प्रहरीबाट गोविन्द गौतमको हत्या भएको छ । त्यसको क्षतिपूर्ति परिवारले पाएको छैन । सिमानामा समय–समयमा गरिएका हस्तक्षेप बारे खुलेर कुरा गर्न नसक्नुले ओलीको राष्ट्रवाद यसबेला दिग्भ्रमित भएको देखिन्छ । नेपाली काँग्रेसका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र ओलीमा अनुहारको मात्र फरक देखिएको छ । आखिर के.पी. आए पनि भारतीय शासकको अन्याय अत्याचार नै नेपाल र नेपाली जनताले सहनु पर्ने स्थितिको बोध भएको छ ।
अंशुवर्माद्वारा शासित यो मुलुक तत्कालीन भारतीय संरचनाको कुनै अस्तित्व थिएन । सातौं शताब्दीदेखि नै यसको वैभवता बढेको पाइन्छ । मुद्रामा कारोबार त्यसबेलादेखि तिव्वत रेशममार्ग हुँदै अघि बढिरहेको अवस्था थियो । सातौ शताब्दीदेखि नै यो साँस्कृतिक वैभवता अग्रस्थानमा नै दर्ज थियो । भारतीय प्रभानमन्त्री नरेन्द्र मोदी किन जस्केलो (अर्थात) चोरबाटो बाट पस्न उद्दत भएका छन् ? ती चोरबाटो बाट पस्दा त्यहाँ आफ्नो उपस्थिति जनाएर तराइप्रति बेइमानी तथा राष्ट्रप्रति घातको भूमिकालाई जोडजाड गर्न त होइन ? यस किसिमका शङ्का उपशङ्काहरु निवारण हुनुपर्छ । नियमित गन्तव्यबाट उनको आवागमन हुनुपर्छ भनेर नेपाल सरकार किन बोल्दैन ? मधेशमा घृणा सद्भावनालाई भड्काएर देशमा अशान्ति तथा कृत्रिम तरिकाबाट देशलाई धरापमा पार्ने नियतबाट हामी सतर्क हुने बेला आएको छ ।
ओलीको राष्ट्रवाद मोदीदेखि मोदीसम्म
लिपुलेक नेपालको हो भन्ने कुरामा चीन सायद अनभिज्ञ छैन होला ? बुझ पचाएर चीनले भारतसँग लिपुलेक सम्झौता गरेको छ । यो सम्झौता भित्रको पाटो खोलिनु पर्छ । चीनले किन यसरी नेपालप्रति उदासिनता, नेपालको सार्वभौमसत्ता माथिको अग्राधिकारलाई जानी–जानी भारतीय पक्षको पोल्टामा हालि दिने कार्यमा अगुवाई गर्यो ? यो प्रश्न नेपाल स्थित चिनियाँ राजदूतावासलाई किन सोधिँदैन ? हुनसक्छ भारतीय षडयन्त्रको पहुँच नेपालका उच्च अधिकारीसँग राम्ररी पुगेको कुरा नकार्न नसकिने भएको छ । नेपालका राजनैतिक पार्टी जुन सुकैका हुन् या बुद्धिजीवि नै किन नहुन यहाँका सम्भ्रान्त नेपलीका छोरा–छोरी भारतीय सरकारका तर्फबाट दिइने लालिपप छात्रबृत्तिका कारण पनि नबोलेका हुनसक्छन् । तँ चुप मै चुपका ओठहरु बन्द भएका पनि हुन सक्छ ।
प्रधानमन्त्री ओलीप्रति बहुमत जनता उर्लेर उनले देखाएको राष्ट्रवाद प्रतिको समर्पणका कारणले नै एमालेलाई अत्याधिक बहुमतद्वारा सत्तामा अग्रस्थानमा पुर्यायो । सत्तामा पुग्ने वित्तिकै ओलीको राष्ट्रवादको कन्दनी खुस्केको छ । छिमेकी भुलुक चीनको बोआओ सम्मेलनमा नेपालको शुन्य उपस्थिति, नेपालको प्रतिनिधित्व मण्डलको पहुँच, समावेश त्यहाँ किन हुन सकेन ? यसरी ओलीको राष्ट्रवाद भारतीय प्रधानमन्त्री मोदीको वरिपरि, मोदीको खटन पटनमा तथा मोदीलाई खुशी पार्न उद्दत हुनुका पछाडिका रहस्य उद्घाटित हुँदैछन ।
प्रधानमन्त्री ओली ज्यू ! आफ्नो ५ वर्षे कार्यकालको दिर्घायूको लागि जे पनि गर्न सक्छु, जे गरे पनि राष्ट्रियताको वर्कोले छोपेर त्यसलाई पुर्छु भन्ने मनसुवा होला । ती सबै जगजाहेर भएका छन् । महाकाली सन्धिको पूर्वसन्ध्यामा तपाईले गरेका हर्कतको धरातलमा टेकेर अरबौंको सपना बाँड्नु भएको थियो । त्यसको उछित्तो तपाइलाई झापाली जनताले चुनावमा चिताङ्ग पारेको थिए । राष्ट्रप्रति समर्पणको भावले जसरी नाकाबन्दी तथा नेपालको संविधान निर्माणका तपाईको भूमिका स्तुत्य छ ।
ती भावधाराका भर्यांग चढेर आफूलाई देशभक्त नेताको रुपमा परिभाषित त गर्नु भयो तर यसलाई निरन्तरता दिनका लागि यसबेला विभिन्न किसिमका अलमलले घेरिनुभएको छ । ती अलमललाई किन ल्याङल्याङ गर्नुहुन्छ राष्ट्रियताप्रतिको आफ्नो अडानलाई चट्टान बनाउन तपाईंलाई के ले रोकिरहेको छ ?
चीनको वोआओ सम्मेलनमा नेपालको उपस्थिति नरहनुको पछाडि कतै तपाइँ नै भुटानको परिवर्तित संस्करणमा यस मुलुकलाई पुर्याउन मोदीलाई मलजल त गरिरहनु भएको छैन ? सुन्नमा आएको छ, परराष्ट्र र सेना भारतीय शासन सत्ताको पकडमा राख्ने मोदीका चाहनामा मलजल त पुर्याई रहनु भएको छैन ? वोआओ सम्मेलनमा नेपालको अनुपस्थितिको लागि सरकारका तर्फबाट जनताको नाममा सार्वजनिक अपिल गर्न किन ढिलाई गरिरहेको छ ?
प्रधानमन्त्री ओली जी !
चीनसँग गरिएको लुम्बिनीसम्मको रेलमार्ग तथा अन्य कतिपय सन्धि आदि अब गर्भ मै तुहिन्छ कि त्यसलाई ब्युताउने कार्यमा उदासीन भईन्छ ? त्यतापट्टि ध्यान नदिएको हो कि ? मोदीको मन्त्रणामा आफूलाई सीमित व्यक्तिको घेरामा राख्नु भएको हो ? ती सबैको समष्टि जवाफ दिनुहुन्न ?
तपार्इंको यसपटकको भारत भ्रमणमा भारतीय सुरक्षाकर्मीको गोलीबाट एकवर्ष अघि गोविन्द गौतमको हत्या भएको थियो । केही दिन अघि यस क्षेत्रका स्थानीयले जंगली जनावरका आक्रमण रोक्न लगाएको तारबारलाई भारतीय सुरक्षाकर्मीले भत्काइदिए । समय समयमा सिमामा भएका हस्तक्षेप तथा गोविन्द गौतमको हत्याको भारतीय सरकारले नैतिक रुपमा जिम्मेवारी लिनु पर्ने कुरामा किन आलटाल गरिरहेको छ ? भारतले पनि समस्या समाधान गर्न गराउन किन ढिला गरिरहेको छ ? राष्ट्रवादसँग जोडिएका केही कुराहरू छन् । ती बारेमा भारत भ्रमणताका पनि ओली मौन नै रहे । सुस्ता, कालापानी, सीमानामा भारतले एकतर्फी बाँध बनाएर नेपाली भूमि डुवानमा पार्नु, सिमा क्षत्रेमा हुने गरेको भारतीय प्रहरीको ज्यादती जस्ता कैयौं राष्ट्रिय प्रश्नमा मौनताले ओलीको राष्ट्रियतामा मोदीले प्वाल पारेको त हैन भन्ने शंका उब्जिएको छ ।
मोदीको सत्ता उन्माद गुण्डागर्दी
नेपाली जनताप्रति गरेको नृशंस कठोर नाकावन्दी मृत्युञ्जय हथियारको प्रयोग गरेका थिए । नेपालले आफूले बनाएको संविधानमा भारतीय निर्देशन बमोजिम भारतीय शासकको चलखेलको निरन्तरता मोदीले खोजेका थिए । नेपालको संविधान भारतीय सत्ताको चाहना अनुकूल नभएका कारण नेपाली जनताको स्वाभिमानलाई चुनौति दिँदै नाकाबन्दी लगाउनुको कारण विश्वभरिका न्यायप्रिय जनतालाई अवगत भएकै कुरा हो । उनको नेतृत्वमा चीन सँग लिपुलेकसम्झौता गरेर नेपालप्रति घात प्रतिघातका घृणित कार्यहरू गरिरहेका छन् । त्यतिले मात्र नपुगेर कोशी माथि नियन्त्रण गरी असंख्य गाउँलाइ डुवान क्षेत्रमा परिणत गरेका छन् । लुम्बिनीमा एकाधिकार जमाई स्थानीय जनता भड्काएर, रअ मार्फत् गतिविधि गरेर जसरी पनि लुम्बिनीलाई आफ्नो नियन्त्रणमा लिनका लागि, जस्तो सुकै किसिमको हरकत गर्न हदैसम्म झरेर आएका छन् । ती कुराको छनक देशभक्त, नेपालीलाई हुँदै गएको छ ।
परराष्ट्र मामलाका जानकार केशवप्रसाद भट्टराइले भनेका छन् – भारत नेपालको ठूलो समूहबाट सानो समूहमा सीमित भएको छ । मोदी सीधै जनकपुर आउनु भनेको सिङ्गो नेपाललाई विश्वास नगरेको प्रमाण हो । यो मोदीको उल्टो रुट हो (नेपाल ३० बैशाख २०७५)
मोदीको राजनैतिक गुण्डागर्दी तथा मेरो गोरुको बाह्रै टक्का कथनलाई पन्छाउँदै, नेपालको संविधानमाथि छिमेकील गरेको घृणित हस्तक्षेपप्रति नेपालको संसदले अस्वीकार गर्दै संविधान जारी गर्यो । मोदीको नेपालप्रति विक्ष्प्तिता त्यहाँदेखि शुरु भएको छ । ती विक्ष्प्तितालाई आफ्नो अनुकूल बनाउँदै, आफूमा दम्भको पहिचानमा विजेता बन्ने सपना पालिरहेका छन् । आफूमा भएको विक्षिप्त सोच, छिमेकी प्रतिको ध्वाँस आदिलाई यताबाट पालित पोषित गर्न चाहन्छन् भन्ने कुराको स्पष्ट गरेको छ ।
मोदीको हिटलरी दभ्म जनकपुरमा प्रर्दशन
मोदी भारतका प्रधानमन्त्रीमा आसीन भएता पनि उनी राजनैतिक संस्कारबाट कोशौ टाढा छन् । धार्मिक सम्प्रदायको आडमा धार्मिक अन्धोपनको आडमा अझै उनी भारतीय उपमहाद्वीपलाई हाँक्ने किसिमका हर्कतहरु देखिएका छन् । नेपाल एउटा सम्प्रभुसत्ता सम्पन्न मुलुक भएको कुरा विश्वमा सातौं शताब्दीदेखि नै प्रष्ट हुँदा हुँदै पनि मोदीमा नेपालको सार्वभौमसत्ताप्रति हेपाहा प्रवृति प्रचुर मात्रामा देखिएको छ । नेपालप्रति मित्रभाव, नेपाली बहुसंंख्यक जनताको अपार श्रद्धा भन्दा पनि आफ्नै किसिमको दम्भबाट आत्मकेन्द्रित भएको स्पष्ट भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको नियत नै शंकै शङ्काले घेरिएको छ । उनी चोर बाटोबाट नेपाल छिर्दैछन् । ती चोरबाटोबाट छिरेर केही सीमित समूहलाई च्यापेर नेपालप्रति गरिने कटुतालाई बढावा दिने किसिमबाट उनका व्यवहारहरु छरपष्ट भएका छन् । नाकावन्दीको दम्भ, नेपालको संविधानमा भारतीय चलखेलको अग्रता, चीनसँग नेपालले गरेको समुन्द्रसम्म जाने व्यवस्था तथा नेपाल र चीन बीच भएका सन्धिहरुमा आक्रोशलाई पुर्नजीवित गर्नका लागि जनकपुर भ्रमण संरचनालाई बुझ्न सकिन्छ ।
भुकम्प पीडित उद्धारका लागि आफूले बोलेको सहयोगको राशीलाई फेरि पनि प्रधान मन्त्री के.पी ले कुरा उठाएका छन् । स्मरण गराएको छन । यो भन्दा लाजमर्दो कुरा के हुन सक्छ ? मोदीको आवागमन चोर वाटोबाट आउनुको पछाडि विराटनगर, वीरगंज आदिमा मिनि राजनूतावासको रफ्तार बढाएर सी.के. राउत जस्ता व्यक्तिको खोजीमा तथा तिनीहरुको सम्वर्धनमा आड, भरोसा दिएर मधेश विखण्डनको सपनालाई निरन्तरता दिने जाल बुनाईको कडि भन्न सकिन्छ । दक्षिणी छिमेकी भारतमा जहिले जुन सुकै शासक आए पनि तिनीहरुको व्यवहार, काम गराई, हाम्रा मुलुकका नेताहरुको घुडा धसान दलालीको उच्चतम रुप प्रकट गरेका छन् । त्यस किसिमका नौकरशाह दलालीको फौज बनाउन उद्दतबाट प्रेरित छन भन्दा अत्युक्ति नहोला ।