नरोपि फुलेकी मखमली

मेरो घरको आँगनमा
मैले नरोपि फुलेकी मखमली
खै तिमी किन फुल्छ्यौ
रहरमा फुल्छ्यौ
वा कहरमा फुल्छ्यौ
साँच्चै तिमी किन फुल्छ्यौ !?

फुल्नु कर्म मानेर फुल्छ्यौ
फुल्नु धर्म जानेर फुल्छ्यौ
तिमीलाई सिंचिने को छ र ?

इन्द्रको निगाह केही झर पानी पिउँछ्यौ
सूर्यको अनुग्रह केही किरण प्रकाश निल्छ्यौ
तिमीलाई हुर्काउने को छ र ?
तिमीलाई फुर्क्याउने को छ र ?
गन्धे झारसँग होड गरेर आँफै फुल्छ्यौ ।

ए मखमली !
दाजुहरुलाई हतियार भिराइए
कसैका गर्दन छिनाइए
भाइहरुलाई बन्दुक बोकाइए
कसैका हात काटिइए
कस्तो नियति
तिमीलाई मालामा उन्न हात छैन
तिमीलाई गलामा पहिरन शीर छैन
अझै पनि तिमी नरोपिकनै आँफै फुल्छ्यौ !

ती मान्छेको आशा मरेका गाउँहरुमा
ती मान्छेका बलि चढेका आँगनहरुमा
ति खाडीमा गडिएकाहरुका करेसाबारीहरुमा
खै कुन आत्मबलले हो
खै कुन मोहले हो
खै कुन भरोसाले हो ?

कठै तिमी !
चरी अमिलो सँगै लडाइँ गर्दै फुल्छ्यौ
मैले नरोपिकन आँफै फुलेकी मखमली
यो कस्तो अस्तित्वको खोजी हो ?

यो कस्तो जीउने चाह हो
तिहार नबोलाई आँउछ
तिमी जसै फुलिदिन्छ्यौ
न आशिष न स्पर्श
तिमी उसै झरिदिन्छ्यौ ।

ए प्यारी मखमली
मैले नरोपि फुलेकी मखमली
यो कस्तो विधि हो
यो कस्तो विधान हो
तिमी मात्र मर्नकै लागि किन बाँच्छ्यौ ?
तिमी केवल झर्नकै लागि किन फुल्छ्यौ ?!

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *