नेपालमा आत्मवृतान्त लेखन परम्परामा आयाम
|
दाजु (जेठान) मुरारीप्रसाद पोखरेलको सौजन्यमा प्राप्त ताराप्रसाद घिमिरेद्वारा लिखित आत्मवृत्तान्त आयाम २०७८ सालको दशैंमा पढिएका पुस्तक मध्ये एक हो । यो पुस्तक मैले एकै दिनमा पढी सिध्याएँ । पुस्तक पढिसकेपछि दशैंमा असल दक्षिणा पाएकामा दाजुलाई कृतज्ञता पनि व्यक्त गरेँ । यसै क्रममा उहाँले समीक्षा तयार पार्न गर्नुभएको आग्रहको परिणति यस आलेखले यो स्वरूप पाएको हो ।
उद्देश्य प्राप्तिका लागि जीवनभर साधनारत; संघर्ष र सम्झौता गर्दै आरोहअवरोह, सुखदुःख, मानमर्यादा, सम्मानप्रतिष्ठा र केही हदसम्म अपमानसमेत प्राप्त गर्ने भीष्मरथारोहण गरिसकेका ताराप्रसाद घिमिरेको करिब ८ दशकको दस्तावेज हो, आयाम । यस कृतिले नेपालको आत्मलेखन परम्परामा आफ्नै पृथक् र विशिष्ट पहिचान कायम गर्न सकेको छ भन्ने तथ्यमा म निश्चिन्त छु ।
नेपालको आत्मावृतान्त अर्थात् आत्मकथा लेखन विधामा आयामले थपेको आयामका विषयमा केही कुरा भन्नुभन्दा पहिले नेपालमा आत्मकथा लेखनकार्यको संक्षिप्त ऐतिहासिक रूपरेखा प्रस्तुत गर्नु वाञ्छनीय ठान्दछु ।
नेपालीबाट आत्मवृत्तान्त लेखनमा दुई दशकदेखि उत्साहजनक प्रगति भएको छ । आफ्नो अनुभव, सफलता एवम् संघर्ष र सम्झौताहरूको भोगाइ भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यका साथ आत्मकथाका पुस्तकहरू लिपिबद्ध भएका देखिन्छन् । श्रुति परम्परामा ह्रास हुँदै गएको वर्तमान सन्दर्भमा आफ्नो अनुभव पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने सशक्त माध्यम आत्मवृत्तान्त हुन पुगेको छ ।
नेपालको आत्माकथा लेखनको इतिहास केलाउने हो भने यसको परम्परा चिरञ्जीवी पौड्यालको आत्मकथाबाट प्रारम्भ भएको देखिन्छ । यसै परम्परालाई निरन्तरता दिएका राममणि आदीको भएका कुरा, सागरमणि आदीको पुराना सम्झना, बालकृष्ण समको मेरो कविताको आराधना, टुकराज मिश्रको रिढी राँची रुँदै हाँस्दै तथा भीमबहादुर पाँडेको त्यस बखतको नेपाल जस्ता कृति राणाकालीन नेपाल हेर्ने ऐना नै साबित भए ।
विश्वेश्वरप्रसाद कोइरालाको आफ्नो कथा तथा जेल जर्नल, कृष्णप्रसाद भट्टराईको मेरो म, गणेशमान सिंहको मेरा कथाका पानाहरू, गिरिजाप्रसाद कोइरालाको आफ्नो कथन, खड्गमान सिंहको जेलमा बीस वर्ष, रामहरि जोशीको आत्मकथा, ऋषिकेश शाहको प्रारब्ध र पुरुषार्थ, नरशमशेरको जीवनी, खगराज अधिकारीको माया मारेको मान्छेजस्ता आत्मवृत्तान्तबाट तत्कालीन समाज र राजनीतिको यथार्थ जानकारी पाउन सकिन्छ ।
माओवादी आन्दोलनका विषयमा राधा पौडेलको खलंगामा हमला र नारायण सुवेदीको सय दिन माओवादीको कब्जामा जस्ता कृतिले राम्रो प्रकाश पारेका छन् । गौरा प्रसाईंको मेरो जीवनका पानाहरू तथा शान्त चौधरीको कमलरीदेखि सभासद्सम्म जस्ता आत्मकथामा नेपाली नारीको क्रन्दन पाउन सकिन्छ ।
दमनराज तुलाधरको दमनराज तुलाधर, नरपति शर्माको नरपति शर्मा, छविलाल शर्मा पोखरेलको छविलाल शर्मा पोखरेल जस्ता आत्मवृत्तान्तमा तत्कालीन समाजको सुन्दर चित्र कोरिएको छ ।
भूपालमानसिंह कार्कीको आत्मवृत्तान्तमा आफ्नो पुरुषार्थ र योगदानको बढाइचढाइ गरिएको छ भने विनोदकुमार चौधरीको आत्मकथामा व्यापारीहरूको कथाव्यथा बुझ्न सकिन्छ । रामेश्वर थापाको बारुदमा उडेको जिन्दगीमा माओवादी संघर्षको स्वरूप र प्रभावको चिरफार भएको छ ।
प्राध्यापकहरू लोकराज बरालको रोमाञ्चित जीवन र विश्वम्भर प्याकुरेलको केही छोपिएका केही उघारिएकाजस्ता कृतिमा नेपालको शैक्षिक, राजनीतिक तथा बौद्धिक अवस्थाको शल्यक्रिया गरिएको छ ।
पूर्वसेनापतिहरू रुक्मांगत कटुवालको रुक्मांगत कटुवाल, छत्रमान गुरुङको जनताको छोरो, विवेककुमार शाहको मैले देखेको दरबार, सुन्दरप्रताप राणाको दरबारका दुखान्तबाट नेपालको सैनिक प्रशासन र दरबारिया राजनीतिबारे बुझ्न सकिन्छ । प्रहरी प्रमुख अच्युतकृष्ण खरेलको आत्मवृत्तान्तमा नेपालको शान्ति सुरक्षामा प्रहरीको भूमिका रप्रहरी प्रशासनमा राजनीतिको प्रभाव विषयक जानकारी उपलब्ध हुन्छ ।
पत्रकारहरू दुर्गानाथ शर्माको छाल, किशोर नेपालको समय समय, हरिहर विरहीको आगो निभेको छैन, विजयकुमार पाण्डेको खुसी जस्ता आत्मकथाबाट नेपालमा पत्रकारिता र पत्रकार, पत्रकार र राजनीति तथा पत्रकार र सरकारजस्ता विषयको चित्र हेर्न पाइन्छ ।
पूर्वप्रधानन्यायाधीशहरू नैनबहादुर खत्रीको मेरो जीवनयात्राः अनुभव र अनुभूति, मीनबहादुर रायमाझीको न्यायपालिकामा चारदशकः मेरो सम्झनामा, सुशीला कार्कीको न्याय ररेवतीरमण खनालको अनुभूति र अभिव्यक्ति जस्ता आत्मकथाका कृतिबाट तत्कालीन नेपालको न्याय व्यवस्थाका विविध पक्षमा जानकारीमूलक सूचना उपलब्ध भएका छन् ।
महिला लेखिकाहरू झमककुमारी घिमिरेको जीवन काँडा कि फूल, भारती गौतमको अमेरिकामा आमा, आनी छोइङ डोल्माको फूलको आँखामा फूलै संसार जस्ता कृतिमा उनीहरूको जीवन संघर्षका गाथा समेटिएका छन् ।
पूर्वप्रशासक एवम् साहित्यकार मधुसूदन ढकालको मेरो जीवनका ६ दशक, शारदाप्रसाद दाहालको आफ्नै कथा, लक्ष्मणप्रसाद रिमालको आत्मवृत्तान्त तथा जगदीश घिमिरेको अन्तर्मनको यात्रा जस्ता कृति एकपटक सबैले पढ्नै पर्ने आत्मकथाका कृतिहरू हुन् ।
मदनकृष्ण श्रेष्ठको महको म तथा हरिवंश आचार्यको चिना हराएको मान्छे जस्ता आत्मकथामा नेपालको हास्यव्यंग्य क्षेत्रको समग्र वस्तुस्थिति बुझ्न सकिन्छ । डा हेमाङ्ग दीक्षितको माई जेड इनिङ, डा मणीन्द्ररञ्जन बरालको नियति र अनुभूति जस्ता कृति पनि पठनीय आत्मवृत्तान्त हुन् । आत्मवृत्तान्त लेखनको यही परम्परालाई पछ्याउदै ताराप्रसाद घिमिरेको आत्मकथा आयाम पाठकसमक्ष आइपुगेको छ ।
विविध विषयका ११३ शीर्षक र ५४३ पृष्ठमा सजिएको आयाममा लेखकले मेरो भनाइभित्र आयाम प्रकाशनको प्रयोजन समेत खुलाएका छन् ।
ताराप्रसाद घिमिरेले १३ वर्षको उमेरमा आएर साउँ अक्षर चिनेर पनि स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेका छन् । निजामति सेवाको उपल्लो तहमा पुगेका उनी हाल सेवानिवृत्त जीवन यापन गरिरहेका छन् । पढ्नका लागि उनले गरेको संघर्ष, तपस्या र अथकित प्रयासका कथाव्यथाको वृत्तान्त ७२ पृष्ठसम्म समेटिएको छ । लमजुङबाट पढ्ने नै उद्देश्यले काठमाडौं आई श्री ३ महाराज पद्मशमशेरको सवारीको समय ज्यानै बाजी लगाई पुकारा गरेको तथा महाराजको हुकुमपश्चात् तीनधारा पाठशालामा भर्ना पाएको घटना मार्मिक छ । नेपालका शैक्षिक विकासको इतिहासमा तीनधारा पाठशालाको योगदान र भूमिका स्तुत्य छ । यो पाठशाला धेरै कालसम्म विशेषगरी ब्राह्मणहरूका लागि शिक्षाको तीर्थस्थल नै बनेर रह्यो । साथै यस पाठशालामा शिक्षा आर्जन गर्ने व्यक्तिहरू मुलुकका प्रायः सबै क्षेत्रमा प्रतिष्ठित व्यक्तित्व बन्न पुगेका छन् । कतिपयले चाहिँ तीनधारा पाठशाला पढेको कुरा लघुताभासका कारण लुकाउन पनि खोजेका दृष्टान्त पाइन्छन् । तीनधारा पाठशालाले नेपालको राजनीतिमा समेत महत्वपूर्ण भूमिका खेलेको तथ्य जयतु संस्कृतम्को संघर्षबाट प्रस्ट हुन्छ । यसै अभियानका एक पात्र थिए, ताराप्रसाद घिमिरे । सोही आन्दोलनका कारण चारभञ्ज्याङ कटाइएका उनी माहिला गुरुज्यूको कृपाबाट पुनः पढ्न पाएको चर्चा रोचक लाग्छ । राणाकालमा बडागुरुज्यूको तत्कालीन राजनीतिमा रहेको वर्चस्व लेखकको वर्णनबाट स्पष्ट हुन्छ । तीनधारा पाठशालामा अध्ययन गर्दा राजनीतिमा चस्का लागेको संकेत त पाइन्छ तर सरकारी सेवामा प्रवेश गरेपछि उनको राजनीतिक जीवन अघि बढ्न सकेन । सेवानिवृत्त जीवनमा पनि लेखकले राजनीतिसँग सरोकार राखेको देखिँदैन ।
विसं २००७ सालको परिवर्तनपश्चात् विद्यार्थीहरू राजनीतिमा समेत देखा परे । यसैक्रममा नेपाली कांग्रेसले २०१४ मा सत्याग्रह आन्दोलन गर्दा तीनधारा पाठशालाका विद्यार्थीहरू पनि सहभागी थिए । त्यसबेला सरकारले विद्यार्थीमाथि गरेको कारबाहीको चित्रण सुन्दर ढंगबाट गरिएको छ । राजनीतिमा चाख हुँदाहुँदै पनि सरकारी जागीरमा प्रवेश गरी पढाइ चालु राख्दै शास्त्री परीक्षा उत्तीर्ण गरे । लोकसेवाबाट शाखा अधिकृतमा नियुक्ति पाएपछि भने लेखकले राजनीतिबाट सन्यास नै लिएको देखिन्छ । तीनधारा पाठशालाका समकालीन विद्यार्थीहरूको सोच, अध्ययनअध्यापन गर्ने तौरतरिका, गुरुहरूको परिचय र गुणानुवर्णन लगायतका प्रसंग आत्मवृत्तान्तमा पाउने अपेक्षा भने पूरा हुन सकेन ।
कार्यालयमा सेवा गर्दाको विवरण, कञ्चनपुर जिल्लाको महेन्द्रनगरको बस्ती बसाउन गरिएको सरकारी प्रयास, कञ्चनपुरमा सेवारत हुँदा नै बाघसँग साक्षातकार, सुथ्या सिंह काण्डको विवरण आदिबाट तत्कालीन राजनीति बुझ्न सकिन्छ । त्यो समय श्री ५ को सिकारको व्यवस्थापनका लागि गरिएका तयारीलगायतको वर्णनबाट मुलुकले राजपरिवारको मनोरञ्जनका लागि गरेको स्रोत, साधन र समयको सदुपयोग कि दुरुपयोग भयो भन्ने विषयमा पाठकले समीक्षा गरून् भन्ने आशय लेखकको रहेको प्रतीत हुन्छ । यसैगरी लेखकको गृह मन्त्रालयअन्तर्गत कोशी अञ्चलाधीश कार्यालयमा सेवारत हुँदाको स्मरणको प्रस्तुति उम्दा लाग्दछ ।
लेखकले ३४ वर्ष लामो सरकारी सेवामा रहँदा महाकाली अञ्चलाधीश र कोशी अञ्चलाधीश कार्यालयमा रहँदा र प्रमुख जिल्ला अधिकारी भई रसुवा, हुम्ला, तनहुँ, नवलपरासी, ओखलढुंगा, प्युठान, कपिलवस्तु, सिन्धुली, म्याग्दी तथा डोटीलगायतका जिल्लामा पुगेको एवं तत्तत् स्थानमा आफूले अनुभव गरेका घटनाको स्मरण गरेका छन् । प्रमुख जिल्ला अधिकारी भई मोफसलमा धेरै समय कार्य गर्ने कर्मचारीहरूको गणना गर्दा लेखक माथिल्लै श्रेणीमा पर्ने अनुमान गर्न सकिन्छ । यति लामो समय कार्य गर्दा पनि उपसचिव (कामु सहसचिव)मा मात्र सीमित किन हुनुप¥यो ? यो जिज्ञासा भने पाठकमा उत्पन्न हुन्छ ।
लेखकको स्मरणले तत्कालीन जिल्ला प्रशासन अध्ययन गर्नेहरूका लागि मौलिक स्रोत उपलब्ध गराएको छ । पुस्तकमा तत्कालीन समय नेपालको प्रशासनमा अञ्चलाधीशको कार्य, कर्तव्य र अधिकार तथा उनीहरूको योग्यता र चयन प्रक्रिया लगायतका विषयमा राम्रो प्रकाश पारिएको छ । अञ्चलाधीशले सम्बन्धित अञ्चलमा विकास निर्माणका कार्यमा निर्वाह गरेको भूमिका, जनतालाई भन्दा नेता तथा दरबार र राजालाई सन्तुष्ट पार्ने कार्य, सिकार र सवारीको व्यवस्थापन जस्ता महत्त्वपूर्ण एवम् संवेदनशील तथ्यहरू प्रस्तुत कृतिमा उजागर गरिएको छ ।
पञ्चायतकालीन राजनीतिमा अञ्चलाधीश र प्रमुख जिल्ला अधिकारीहरूले सरकारी उम्मेदवारलाई विजयी गराउन जिल्ला, नगर र राष्ट्रिय पञ्चायतको निर्वाचनमा अपनाएको सामदानदण्डभेदको नीति, गाउँ फर्क राष्ट्रिय अभियानको निर्वाचनमा वर्चस्व, अन्य राजनीतिक दलबाट पञ्चायतमा प्रवेश गराउने प्रलोभनको नीति, जनमतसंग्रहमा सरकार, स्थानीय प्रशासन र स्वयं प्रधानमन्त्रीबाट पञ्चायतलाई जिताउन गरिएका अवाञ्छित क्रियाकलाप आदिको वर्णनबाट पनि तत्कालीन राजनीति र प्रशासनको मूल्यांकन गर्न सहज भएको छ ।
सुथ्या सिंह र खम्बा काण्डहरू नेपालको परराष्ट्र र कूटनीतिक सम्बन्धको इतिहासमा महत्त्वपूर्ण घटना ठहरिन्छन् । सुथ्यासँगको घटनाले नेपाल–भारतको सम्बन्धलाई निकै तताएको थियो । यस काण्डमा नेपाल सरकारको नीति र स्थानीय प्रशासनको कार्य जस्ता विषयका लेखक एकजना प्रत्यक्षदर्शी पात्र थिए । यस घटनामा नेपालको नीति र कार्यवाही विषयका लेखकका स्मरण अनुसन्धानकर्तालाई असल खुराक भएका छन् । यसैगरी नेपालचीन सम्बन्धमा खम्बा विद्रोहले निकै टाउको दुखाएको थियो । खम्बा विद्रोहीहरूले नेपाल–चीन दुवैतिरको सीमा क्षेत्रमा अवाञ्छित कार्य गरे पनि खम्बाको गतिविधिबाट नेपालभन्दा चीन बढी चिन्तित थियो । खम्बा विद्रोहलाई नियन्त्रण गर्न गरिएका प्रयासले नेपालले उक्त काण्डप्रति लिएको दृष्टिकोण बुझ्न सकिन्छ ।
नेपालको जिल्ला प्रशासनको इतिहास अध्ययन गर्ने हो भने विभिन्न प्रकारका अभ्यास भएका देखिन्छन् । कतिपय स्थानमा सैनिक अधिकृत नै प्रशासन प्रमुख रहन्थे । विसं २००७ सालको परिवर्तन पश्चात् निजामति र सैनिक प्रशासनलाई छुट्याइयो पञ्चायतकालमा आएर प्रमुख जिल्ला अधिकारीको पद सृजना गरी विविध अधिकारले सुसज्जित गराइयो । पञ्चायतकालमा पञ्च नेताभन्दा यी अधिकारीहरूको मान, मर्यादा एवं प्रशासनमा वर्चस्व थियो । यिनै प्रमुख जिल्ला अधिकारीहरूलाई सैनिक तालिम पनि दिएको वर्णन रोचक छ । सरकारले तालिम प्रयोजनका लागि गरेको स्रोत, साधन र समयको सदुपयोग हुन नसकेको संकेत पनि यस पुस्तकमा पाइन्छ ।
राप्ती नदी बीचमा ६ घण्टा बिताएको, तुइनबाट कर्णालीमा घोडा पार गरेको, मानसरोवरको भ्रमण प्रसंग, प्लेन जलाउन खोज्दा बचाएको घटना लगायतका स्मरणबाट पाठक रोमाञ्चित हुन पुगेका छन् ।
नेपालको सिमा व्यापारको स्थिति, वस्तु विनियम गर्ने परम्परा व्यापारमा देखापरेका व्यवधान आदिको वर्णनबाट नेपालको हिमालय पारको व्यापार बुझ्न सहज भएको छ ।
लेखकले शिक्षा आर्जन गर्नका लागि मात्र संघर्ष नगरी रोगसँग समेत संघर्ष गरेको कुराको स्मरण गरेका छन् । घाँस काट्न जाँदा भीरबाट लडेर घाइते भएको समय आफ्नै स्वजनले गरेका टिप्पणीबाट बालहृदयमा परेको प्रभाव, घाँटीको समस्या र सोको उपचारका क्रममा खेपेको सकस, हुम्लाको विकट स्थानमा मृत्युको मुखमा पुगेर फर्केको, निवृत्त जीवनमा पनि विभिन्न रोगसँग साक्षात्कार गरेका प्रसंग रोचक छन् । बाल्यकालमा प्रोत्साहन दिने व्यक्ति र हेप्ने व्यक्तिको छाप अमीट रहन्छ भन्ने तथ्यलाई लेखकको लेखोटले साबित गरेको छ । आफ्नै स्वजनबाट गरिएका नकारात्मक टिप्पणी त झनै नमीठो भएको स्मरण लेखकले गरेका छन् ।
लेखकले आफ्नो लामो संघर्षमय जीवनबाट पाएका उपलब्धि र सन्तोषका कुरा उल्लेख नहुँदा पाठकलाई कताकता खल्लो अनुभव हुन्छ । आफ्नो संस्मरणमा तत्कालीन समाज र परिस्थितिको चर्चा भएको भए सुनमा सुगन्ध हुने थियो । छपाइमा सावधानी अपनाएको देखिँदैन । सम्पादन गर्ने व्यक्तिको थर नै अशुद्ध छ । साथै यतिधेरै उपशीर्षक दिनुभन्दा विविध क्षेत्रको संस्मरणका परिच्छेद दिएको भए उपयुक्त हुने थियो ।
आत्माकथा लेखनको परम्परामा एउटा दोषबाट भने लेखक पनि मुक्त रहन सकेका छैनन्, त्यो हो आफ्नो प्रशंसामा धेरै शब्द खर्च गर्नु । जीवनको कमजोर पक्षको मूल्यांकन गरेको भए अति उत्तम हुने थियो । कमजोरीविनाका ेव्यक्ति हुँदैन भन्ने सत्य उनले पनि मनन गरेकै तथ्य हो ।
समग्रमा भन्नुपर्दा यस कृतिले नेपालको इतिहासका विविध पक्षमा अनुसन्धानकर्तालाई मौलिक स्रोत प्रदान गरेको छ र भविष्यका लागि नमासिने कोसेली उपलब्ध गराएको छ । बूढा मरे भाका सरे भन्ने उखानलाई चरितार्थ पार्ने आयामका लेखक बधाईका पात्र छन् ।
Good piece of information to investigate and elaborate the history of autobiographies in Nepal.