पुस्तक समीक्षा: बारुदमाथि उड्दा

विसं २०५२ देखि २०६३ करिब १०–११ सम्म नेपाल कम्युनिस्ट पार्टी माओवादीले देशमा हिंसात्मक जनयुद्धको सञ्चालन गरे । यस अवधिमा माओवादीले आफ्नो सैन्य दस्ता छापामार तयार पारी रक्तपातपूर्ण आन्दोलनको थालनी गरेका थिए । माओवादी आन्दोलनको मूल नारा थियो, प्रतिक्रियावादी राज्यसत्तालार्ई ध्वस्त पार्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने । माओवादीको यस आन्दोलनले विभिन्न क्षेत्रका प्रायः सरकारी एवं गैरसरकारी निकायका भौतिक संरचना ध्वस्त पा¥यो । दर्जनौँ प्रहरी चौकी, बैँक तथा वित्तीय संस्थालगायतका भौतिक संरचना समाप्त भए । युद्धका क्रममा चन्दा सङ्कलन, व्यक्ति अपहरण तथा लुटपाटका घटना तीव्रतर रूपमा बढे । जबरजस्ती तथा भिडन्तमा परी माओवादी, सेनाप्रहरी र सर्वसाधारण समेत गरी सत्र हजारभन्दा बढी व्यक्तिको हताहती भयो । यस्तो जटिल अवस्थाबाट मुलुकलार्ई निकास दिनका निम्ति माओवादी र सात राजनीतिक दल बीच समझदारी भई संविधानसभाको निर्वाचनपश्चात् नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रात्मक मुलुकका रूपमा रूपान्तरण हुन पुग्यो ।

दश वर्षे जनयुद्धको समयमा राज्यपक्ष र विद्रोही पक्षका बीचमा भएका दोहोरो भिडन्त, दुवै पक्षको सशत्र द्वन्द्व, माओवादी तथा सरकारी युद्ध रणनीति तथा युद्धस्थलको आलो घाउलाई प्रत्यक्ष देखेभोगेका व्यक्ति हुन्, क्याप्टेन रामेश्वर थापा । उनै थापाले माओवादीको फौजी कारबाहीबीच जोखिमपूर्ण उद्धारकार्यको समयमा देखेको युद्धको हृदयविदारक दृश्यका विवरणलार्ई समेटेर संस्मरणात्मक पुस्तक बारुदमाथि उड्दा तयार पारे । व्यावसायिक पाइलट क्याप्टेन रामेश्वर थापाद्वारा लेखिएको यो पुस्तक २०७५ असोजमा बुकहिल प्रकाशनले प्रकाशित ग¥यो । पुस्तकको संरचना दुई सय आठ पृष्ठ र बयालीस वटा शीर्षकमा संयोजन गरिएको छ । यसका अतिरिक्त पुस्तकका केही पृष्ठमा उनको निजी जीवन तथा उडानको समयमा उनले गरेका साहसिक कार्यबापत प्राप्त प्रशंसापत्र र तस्बिरहरू राखिएका छन् ।

पुस्तकका प्रत्येक शीर्षकमा माओवादी युद्धको प्रतिछाया बिम्बित भएका छन् । लडाकुहरूको युद्ध रणनीति, युद्धस्थलको भौगोलिक अवस्था, युद्धमा घाइते भएका र मृत्युवरण गरेका प्रहरी तथा सैन्य जवानको अवस्था, तिनीहरूको सङ्ख्या, युद्धभूमिमा घाइते सैन्य एवं प्रहरी जवानको चित्कार पुस्तकमा प्रतिबिम्बित भएको छ । तत्कालीन रणभूमिको कहालीलाग्दो दृश्य तथा जोखिमपूर्ण साहसिक कार्य पुस्तकमा समेटिएका छन् । तत्कालीन समयमा लेखकको अधिकांश समय मानव जीवनको रक्षार्थ युद्धभूमिमा व्यतीत भएको थियो । तसर्थ आफूले निर्वाह गरेका जोखिमपूर्ण एवं साहसिक कार्यको विवरण पुस्तकका आकर्षण बनेका छन् । लेखकले युद्धमा सहभागी जवानको मात्र नभई न्याय र प्रशासन क्षेत्रका उच्च पदस्थ कर्मचारी (प्रधानसेनापति तथा न्यायाधीश)हरूसमेतको जीवन बचाएका घटनालाई पुस्तकमा समेटेका छन् ।

क्याप्टेन थापा विसं २०२३ मा कुशादेवी गाविस स्थित दारिमबोट गाउँको एउटा सामान्य किसान परिवारमा जन्मिएका हुन् । उनको बाल्यकालीन जीवन सङ्घर्षपूर्ण रहेको थियो । शिक्षा प्राप्त गर्ने तीव्र आकाङ्क्षा बोकेका र जुनसुकै जोखिमयुक्त काम गर्न पछाडि नपर्ने स्वभावका थापाले कुशादेवी माविबाट नै प्रवेशिका परीक्षा उत्तीर्ण गरेका हुन् । उनले नमुना मच्छिन्द्र क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह पूरा गरी जीवनयापनका लागि अति सामान्य कामसमेत गरे । उनी न्याय क्षेत्रको साधारण मुखिया पदमा नियुक्त भई सरकारी सेवामा प्रवेश गरे । आफूभन्दा माथिका अभिभाकको कुरा सधैँ सुन्ने स्वभावका थापा अभिकर्ता र न्यायाधीशको सल्लाहलाई शिरोधार्य गर्दै मस्कोको एभिएसन कलेजबाट गोल्ड स्टाटस त्रिपन्न ग्रेट प्राप्त गरी सन् १९९४ मा नेपाल फर्किए । प्रारम्भमा उनलाई जागिर प्राप्त गर्न निकै सङ्घर्ष गर्नुपरे पनि अप्ठ्याराहरूलाई पार गर्दै उनी एभरेस्ट एयरसँग आबद्ध भए ।

लेखकको उडानयात्रामा पर्ने मध्यपश्चिम क्षेत्रको रुकुमको खारा सैन्यक्याम्प रुकुम, सल्यान र रोल्पा जोड्ने स्थान थियो । यस क्षेत्रमा भएको आक्रमण माओवादीका निम्ति युद्ध सफलता प्राप्त गर्न ज्यादै महत्त्वपूर्ण रहेको थियो । किनभने, यसै क्षेत्रमा माओवादी सैन्य दस्ताको पूर्व, मध्य र पश्चिम गरी तीन डिभिजनको सैन्य संरचना थियो । माओवादीले तीनमध्ये दुई डिभिजनको सम्पूर्ण शक्ति केन्द्रित गरी सरकारी सेनाको खाराको बेसक्याम्पमा हमला गरेका थिए । केन्द्रीय तहका शीर्ष नेताहरूको नेतृत्वमा भएको उक्त आक्रमणमा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गर्दाको रणनीति माओवादीले अपनाएका थिए । यस्तो जटिल परिस्थितिमा आफूलाई विचलित नगराई क्याप्टेन थापाले अत्यन्तै उच्च जोखिम मोलेर खाराको बेस क्याम्पमा हेलिकप्टर अवतरण गरे । उनले रातभर युद्धमैदानमा लडेका सेनाका लागि खानेपानी तथा हातहतियारको उपलब्धता र धाइते सेनाको उद्धार गर्दै मानवीय सहयोग उपलब्ध गराए । माओवादीद्वारा भएका करिब चालीसभन्दा बढी सैन्य आक्रमण र तत्कालीन अवस्थामा उद्धार गर्दाका रोचक चित्रहरू कलात्मक ढङ्गले पुस्तकमा आएका छन् । त्रिवेणी डोल्पा, बेथान रामेछाप, किलो सेरा टु, तनहुको कालिकाटार, महत रुकुम, रारालिही, रामपुर सल्यान, घर्तीगाउँ रोल्पा, भिङ्ग्री, प्युठान, तकसेरा रुकुम, मुम्राहा, कालिकोट, पाँचकटिया, जाजरकोट, दुनै डोल्पा, छैसट्ठी, सुर्खेत जस्ता क्षेत्रको दोहोरो भिडन्तका घटना सविस्तार आएका छन् । त्यस भिडन्तमा ज्यान गुमाएका सेना तथा प्रहरीका शवहरू ल्याउने र भिडन्तमा छटपटइरहेका प्रहरीको जवानको उद्धार कार्यको कहालीलाग्दो चित्रण गरिएको छ । सङ्ख्यात्मक हिसाबले पनि थुप्रै प्रहरी एवं सेनाले ज्यान गुमाएका घटनालाई समेत सविस्तार वर्णन गरेका छन् । लेखकले रोल्पाको उवाको गाउँमा पसलमा बसेका एक वृद्धसँग भलाकुसारी गर्दा ती वृद्धले प्रहरीलाई छोरी विवाह गरेर दिएमा छोरीहरू सुरक्षित हुने धारणा राखेका रहेछन् । छापामार सैन्यले घरमा भएका छोरीचेलीसमेत अपहरण गरी लग्ने भएकाले बरु सेना वा प्रहरीलाई नै छोरी विवाह गर्नु बेस भन्ने दृष्टिकोण त्यस क्षेत्रका अभिभावकमा रहेछ । अभिभावकको यस मनोविज्ञानलाई लेखकले मर्मस्पर्शी रूपमा चर्चा गरेका छन् ।

विसं २०५८ सालमा सरकारले सेना परिचालन गर्न नसकेर प्रधानमन्त्रीले समेत राजीनामा दिन बाध्य भएका घटनाको विवरणसमेत पुस्तकमा आएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पुनः माओवादी छापामारहरूले तेह्रथुम, बाजुरा, पाण्डसेन, चौकीमा आक्रमण गर्दा करिब डेढ दर्जन प्रहरीले ज्यान गुमाउनुपरेको घटनालाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । लेखकले यस पुस्तकमा सेना परिचालनपछि माओवादी सैन्य दस्ताले दाङको सैनिक ब्यारेक, स्याङ्जाको वालिङ, मोरङको भोजराज प्रहरी चौकीमा आक्रमण गरी चौधजना सैनिक र सात प्रहरीको ज्यान लिनुको साथै थुप्रै हातहतियार छापामारले लुटेका थिए । त्यस घटनामा लेखकले राज्यपक्षलाई महत्त्वपूर्ण सहयोग उपलब्ध गराएको कुरा उल्लेख गरेका छन् ।

यस घटनापश्चात् माओवादी झन हिंस्रक बनेका र मंगलसेन अछाम, मुर्कुुच्चा बजार दाङ, बारपाक गोर्खा, गाम रोल्पा, भिमान सिन्धुली, सन्धिखर्क अर्धाखाची, खलाङ जुम्ला जस्ता स्थानमा दोहारो भिडन्त हुँदाका घटनालाई सविस्तार वर्णन गरेका छन् । त्यसैगरी सशस्त्र प्रहरीका आइजिपी कृष्णमोहन श्रेष्ठ र उनकी धर्मपत्नी नुडुप श्रेष्ठको हत्याका घटना तथा कृष्णभिरमा एम्बुस बिच्छाई राजमार्गलाई केही समय बन्द गरिएको घटना स्मरण गरिएको छ । माओवादी सैन्य दस्ताले युद्धमा सफलता प्राप्त गर्दै गएका घटनाले झनै उत्साहित हुँदै कैलाली, भिरुपुस्तुन लमजुङ, पिली कालिकोट, मथुराडाँडा, अर्घाखाँचीलगायतका स्थानमा आक्रमण गरे । ती आक्रमणमा परी क्षतविक्षत बन्न पुगेका शवहरूको हृदयविदारक दृश्य र ती शवको उद्धार कार्यमा आफू संलग्न भएका घटनालाई विश्लेषणात्मक ढङ्गले उल्लेख गरेका छन् ।

लेखकले आफ्नो व्यक्तिगत जीवन असुरक्षित भएको सन्दर्भसमेत उल्लेख गरेका छन् । नेपालगञ्जको ओएसिस होटलमा उनीमाथि आक्रमण भएको, त्यसबाट उनको ज्यान मुस्किलले बचेको साथै उनी बस्ने घर र कार्यालयमा समेत बेलाबेलामा बिस्फोट गराउने प्रयास भएको घटनालाई समेत सविस्तार वर्णन गरेका छन् ।
सगरमाथा आधारशिविर सोलुखुम्बुको उडानका क्रममा पर्यटक हराएपछि उनीहरूलाई खोज्ने क्रममा आफू दुर्घटनामा परेको र त्यति ठूलो दुर्घटनाबाट बच्नु भनेको नयाँ जीवन पाए सोसरह भएको मार्मिक विवरण प्रस्तुत गरिएको छ । यस पुस्तकमा लेखकले कठिन परिश्रमबाट नै मानिस महान् हुन्छ तथा आफ्नो काममा निरन्तर लागिरहे त्यसमा सफलता पाउन सकिन्छ भन्ने सन्देश दिएका छन् ।

(विष्णु सापकोटा)
(विष्णु सापकोटा)

उनले अमेरिकाको ओक्लोहवा सहरको भर्साटायल इन्स्टिच्युटबाट पाइलट तालिम पूरा गरी नेपालमा आएर पुरानै पेसालाई निरन्तरता दिए । उनले उक्त पेसामा आबद्धहरूको एक समूह बनाए । उक्त समूहले पुरानो स्विस एयरलाइन्सको नाम नै परिवर्तन गरी सिम्रिक एयरलाइन्सको नाम दियो । यसपछिको उनको जीवन यात्राव्यवसायतिर आबद्ध हुन गयो । उनकै प्रयासबाट एयरलाइन्स खडा गरी हालसम्म चारवटा हेलिकप्टर सञ्चालन गरिसकेका छन् । हेलिकप्टर सेवाबाहेक मिडिया हाउस, रियल स्टेट, हाइड्रो, पर्यटनलगायतका क्षेत्रहरूमा व्यापार विस्तार गरेका छन् । पुस्तकमा लेखकले धैर्य र मेहेनत गरेको खण्डमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने दृष्टान्त समावेश गरेका छन् ।

पुस्तकको अन्त्यमा लेखकले एउटा सकारात्मक धारणा पाठकलाई दिएका छन् । अब राज्यले पुनः हत्या हिंसा भोग्नु नपरोस् । साथै देश आगोको मुस्लोमा फस्नु नपरोस् । नरसंहार, युद्ध विभीषिकाका दृश्यहरू, हृदयविदारक आवाजहरू तथा मुलुकलाई यस्तो अशान्तिबाट मुक्त गरी देशमा सदा शान्ति कायम रहोस् भन्ने दृष्टिकोण राखेका छन् । राज्य द्वन्द्वमा फसेको समयमा लेखकले साहसिक कार्य गरी थुप्रै नागरिकको जीवन बचाएका दृष्टान्त पुस्तकमा पाउन सकिन्छ । उनले राष्ट्रलाई आवश्यक परेको बेलामा आफ्नो जीवनलाई समेत दाउमा राखी कुनै कसुर नराखी काम गरेका छन् ।

अन्ततः देशमा पुनः शान्ति कायम भयो । माओवादी दल पनि बुलेटको राजनीतिबाट माथि उठी ब्यालेटको राजनीतिमा प्रवेश गरिसकेको छ । देश संवैधानिक राजतन्त्रबाट अगाडि बढी संसदीय प्रजातन्त्रको अभ्यास गर्दै नयाँ संविधान निमार्ण भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा स्थापित गरिसकेको छ । यसर्थ सबै राजनीतिक दल मिली मुलुकमा अब हत्या हिंसा, अपराध, लुटपाट सबै हटी शान्तिप्रिय देश बनोस् भन्ने महत्त्वपूर्ण सुझाब पाठक समक्ष पस्किएका छन् । यसर्थ पुस्तकमा समेटिएका सामग्रीहरू पाठकका लागि ज्यादै उपयोगी छन् । एउटा सामान्य किसान परिवारमा जन्मेर यति ठूलो साहस धीरता र कठिन मेहेनतका साथ परिश्रम गर्ने कहिल्यै पछाडि नहट्ने स्वभावका आफ्नो पेसा र विषयमा विज्ञता हासिल गरेका क्याप्टेन थापाले जुन साहसिक भूमिका खेले, त्यसका लागि राष्ट्रले नै उनको कार्यको प्रशंसा गरेको छ । साथै युद्धमा घाइते अशक्त, कमजोर र छटपटाइरहेका मानिसको ज्यान जोगाउन आफ्नो ज्यान हत्केलमा राखेर राज्यलाई सहयोग पु¥याउनु साच्चै नै प्रशंसनीय कार्य भएको छ ।

यस पुस्तकको लेखाइ गहन छ । पुस्तकमा दिइएका घटनाविवरण मर्मस्पर्शी छन् । पुस्तकमा युद्धकलाको वास्तविक अवस्था, माओवादी सैन्य दस्ताको युद्ध रणनीति, नेपालको भूगोल, सांस्कृतिक पक्ष आदिको वर्णन जीवन्त छ । नेपालका इतिहासकार, राजनीतिज्ञ, विश्लेषक, अर्थशास्त्री, समाजशास्त्री, द्वन्द्व व्यवस्थापक, विभिन्न विधाका विज्ञ, प्राध्यापक, शिक्षक–विद्यार्थी र त्रिभुवन विश्वविद्यालय तथा अन्य सरकारी एवं गैरसरकारी संस्थाका लागि यो पुस्तक निकै नै उपयोगी हुनेछ । त्रिभुवन विश्वविद्यालयले पनि द्वन्द्व व्यवस्थापन विभाग वा मानविकी संकाय अन्तर्गतका इतिहास अर्थशास्त्र, राजनीतिशास्त्र वा अन्य विभागको पाठ्यक्रममा समावेश गर्न उपयुक्त हुनेछ ।

यस विषयमा खोज अनुसन्धान गर्ने व्यक्ति संस्था, विद्यार्थी पत्रकार, पाठक एवं जिज्ञासु जानिफकार द्वन्द्वका विषयमा अध्ययन अनुसन्धान गर्ने व्यक्ति र निकायहरूका लागि पनि अत्यन्तै महत्त्वपूर्ण ग्रन्थ साबित भएको छ । पुस्तकको डिजाइन तथा आवरण तस्बिरको साजसज्जा उत्कृष्ट छ । भाषाशैली सरल, सहज तथा सरस छ । साधारण पाठकले सजिलैसँग बुझ्न सक्ने खालको छ । पुस्तकको मूल्य पनि सामान्य पाठकले पनि खरिद गर्ने सक्ने खालकै छ । पुस्तकको अन्त्यमा केही आफ्ना तस्बिर र केही सरकारबाट प्राप्त तस्बिरहरू राखिएका छन् । अतः सम्पूर्ण जिज्ञासु पाठकका लागि माओवादी दश वर्षे युद्धकालका घटना चित्रण गरिएको पुस्तक बारुदमाथि उड्दा लेखकले पाठकसमक्ष ल्याएका छन् । व्यावसायिक हेलिकप्टर पाइलट क्याप्टेन रामेश्वर थापालाई बधाई तथा उनको जीवनको उत्तरोत्तर प्रगति र दीर्घ जीवनको कामना गर्दछु ।

पुस्तकः बारुदमाथि उड्दा
लेखकः क्याप्टेन रामेश्वर थापा
प्रकाशकः बुकहिल पब्लिकेसन, कालीकास्थान, काठमाडौँ ।
प्रथम संस्करणः असोज, २०७५
पृष्ठसङ्ख्याः २१४
कलरफोटोसङ्ख्याः
पुस्तक कभरः डिजाइन आकृष्कगाता ।

Add a Comment

Your email address will not be published. Required fields are marked *