धन्यवाद

धन्यवाद,
नौ महिना गर्भमा आश्रय दिने आमालाई
जीवनमा प्रश्रय दिने बाबुलाई
मजस्तै मलाई स्वीकार्ने जीवन साथीलाई
भरोसा गर्न योग्य भाइलाई
निस्वार्थ माया गर्ने साथी-संगीलाई
भविष्य कोर्न सिकाउने गुरुवरलाई
मातृत्व भरिदिने सन्तानलाई ।

भोलिको के भरोसा छ र?
समयले कसलाई पर्खेको छ र?
कोपिला झर्छन् फुल्न नपाउँदै
तारा खस्छन् बिहान नहुँदै
सन्देह लाग्छ भोलिको
एउटा कुरा आजै भनिदिन्छु
मनको कुरा अहिल्यै खोलिदिन्छु
म त कृतकृत्य छु है सबैसँग सँधैलाई ।

धन्यवाद
सूर्य अनि चन्द्रलाई
अग्नि अनि वायुलाई
माटो अनि पानीलाई
हजुरबुवाले रोपेको बुढो रुखलाई
छोरोले रोप्दै गरेको सानो बिरुवालाई
फुलेको रंगिन फूललाई
फूललाई बचाई राख्ने हरियो पातलाई ।

धन्यवाद
म भित्रको गुण देख्नेलाई
म भित्रको दोष पहिल्याउनेलाई
मेरो स्वाभिमानको कदर गर्नेलाई
मेरो अभिमानलाई बदर गर्नेलाई
म हाँस्दा मसँगै निसंकोच हाँस्नेलाई
म रुँदा मसँगै बेफिक्री रुनेलाई
मलाई भरोसा गर्नेलाई
मलाई सन्देह गर्नेलाई पनि ।

धन्यवाद,
मन्दिर भित्रको ढुंगाको परमेश्वरलाई
मन्दिर बाहिरको मान्छे जगदिश्वरलाई धन्यवाद
भूत, वर्तमान र भविष्य सबै कालका खण्डलाई
आत्मा र परमात्मालाई
सृष्टि र दृष्टि सबैलाई धन्यवाद
सबै सबैलाई धन्यवाद ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *