अपेक्षा
|पठन: फिलिंगो- १
अपेक्षाको मर्म खोल्न सजिलो पनि छैन ? ‘अपेक्षा’लाई पन्साएर ‘फिलिंगो’को पठन पनि पूर्ण हुँदैन । शायद यो मनोदशाको शब्दहरू हो । माग, खाँचो, तीर्खा, आवश्यकता, अघोषित चाहना, सद्भावना, न्यानुपनको संकेत, ममता सहज मानसिक संबन्धको प्रक्षेपण भनेर अपेक्षालाई जसरी पनि बुझ्न सकिन्छ । झनै अमूर्त माग हो, अप्रकट परीक्षा हो, व्यावहारिक पक्षबाट मूल्यांकनको घडी पनि हो– अपेक्षा । म तिम्रा अगाडि यसको मर्म खोल्न असक्षम भएको छु सीमान्ती ! अपेक्षा शायद मानसिक तत्व हो ।
तर प्रश्न हैन, जिज्ञासा छ । अपेक्षा स्थूल र मांसल मात्र पनि होइन । पति–पत्नि जीवनभर एक–अर्काबाट अपेक्षा राख्तछन् । समय–समयमा अझ खास क्षणमा विशेष अपेक्षा राख्तछन् । त्यसको पूर्ति नहुँदा खिन्नता आउँछ, शायद ओइलाउँछन् । विरक्त हुन्छन् र झनै तटस्थ हुन पुग्छन् । अनि ‘हामी’को सट्टा ‘म’मा व्यक्त हुन खोज्छन् ।
सीमान्ती, तिमीले थुप्रै बेला ‘निर्भयबाट अपेक्षा राखेकी थियौ । तिमीले बिर्स्यौ कि ! जापान टेक्ता थाकेकी थियौ । लामो यात्राबाट आएकी तिमीले निर्भयबाट कुन कुराको अपेक्षा राखेकी थियौ ? संझना छ ? तर त्यो क्षणमा तिम्रो अपेक्षा उसले बुझेन, त्यसले तिमीलाई छोयो, दुख्यो । यो सूक्ष्म र निजी कुरा थियो– आत्मगत नै थियो, झनै अमूर्त । तिमी किन प्रकट भइनौ ? न्यानुपन, गौरवबोध र महत्व किन प्रकट गर्न सकेन निर्भयले ? तिम्रो अपेक्षा–अपेक्षा नै भएर किन खुंचियो ? तिमीले कामना त गर्यौ किन्तु तिम्रो स्थिति र महत्वप्रति ऊ अज्ञात जस्तो रहँदा तिमी किन शीतल नै देखियौ, कतै त्यहींबाट तिम्रो व्यक्तित्वका अगाडि उसले आफूलाई होचो ठान्न थालेको त होइन ? तिम्रो आगमन र उपस्थितिलाई किन एउटा सुयोग ठान्न सकेन, किन उत्सव मान्न सकेन ? तिम्रो अपेक्षा उपेक्षामा परिणत भएको त होइन सीमन्ती ? त्यो क्षणलाई तिमी कसरी लिँदैछ्यौ ?
निर्भयले नेपाल फर्कंदा, आफन्तहरुलाई राम्रै उपहार किन्यो । त्यसमा तिम्रो गुनासो थिएन । तर तिम्रा भाइ बहिनीलाई उसले संझन सकेन । यहाँ पनि अपेक्षा जन्मियो र खेर गयो । अबुझका अगाडि पूर्णरुपले प्रकट हुनुपर्छ भन्ने विचार तिमीले किन लिइनौ । यदि तिमीले उसको मनोभाव बुझेकी हुन्थ्यौ भने पहिले नै सूची बनाएर दिएकी हुन्थ्यौ । तिमी नै भन त अबुझ वा उपेक्षाकारीसँग अपेक्षा गर्न मिल्थ्यो र ?तिम्रा भाइ बहिनीलाई पछि किनिदिएका उपहार तिमीले अपेक्षा गरे अनुसार थिए त ? मलाई त यस्तो लाग्छ सीमान्ती न निर्भयले तिम्रो मन पढ्न सक्यो न तिमीले आफैं खुलेर देखाउन सक्यौ । निकट, एक हुनुपर्ने समयमा छुट्टिएर बस्नुपर्ने बाध्यताको प्रतिफल त होइन – एक अर्काप्रति अज्ञात रहने मनोदशा र आचरणको विकास ? तिमीले कसरी लिएकी छौ सीमन्ती ?
मैले कति संझन सके तिमीलाई सीमन्ती म आफैं त भन्न सक्तिनँ । तर म यति चाहिं भन्न सक्छु तिम्रा अपेक्षा अनुचित थिएनन् अलिकति आफूसँग, अलिकति संबन्धसँग अलिकति संस्कृतिसँग अलिकति अधिकारसँग संबन्धित थिए, ती स्वाभाविक र सहज थिए । पत्नीका अपेक्षा केही छन् ? कि भनेर बुझ्ने चेष्टा नगर्ने या गर्न नसक्ने व्यक्तिलाई त्यत्रो समयसम्म पतिको पदमा रहन दिइराख्यौ किन ? के यो नैतिक वा संस्कृतिक पक्षबाट हेर्न मिल्दैन ?
मिसवा र निर्भयले संचालन गरेको होटलमा तिमीले आफ्नो उपस्थितिलाई जुन हैसियतले हेरेकी थियौ र होटलका तर्फबाट, निर्भयका तर्फबाट जुन अपेक्षा लिएकी थियौ, क, ख, ग, घ कयौं बुँदामा तिमी उपेक्षित नै रह्यौ । बस, सामान्य ग्राहककै हैसियतमा तिमी थियौ । यस क्षणमा तिम्रो अपेक्षा कति सही थियो, देश र परिवेशको आधारमा पनि अपेक्षाको अधिमूल्यन र अवमूल्यन हुने गर्छ कि त ?
अपेक्षाको सकारात्मक पक्षले व्यवहारमा कौशल झल्काउँछ र माधुर्य थप्छ पनि सीमान्ती, होइन र ? यदि अबुझ अनाडीले बुझेन भने आफैँसँग बाहेक अरु कोसँग गुनासो गर्नू ? प्रच्छन्न तथा सजग मनोदशाको मौन अभ्यर्चना होइन र अपेक्षा ? मानसिक संस्कृतिको आधारमा पृथक्–पृथक् महत्वकासाथ प्रकट हुन्छ कि त ! तर म तिमीभित्रको अपेक्षा सह्राहनीय र उचित छन् भन्ने संझन्छु । यदि तिमी सौम्य–शालीन व्यक्तित्वकी नभए निर्भयजस्तो अनाडि या बेहुधा व्यक्तिसँग कैयौं पटक झपट पर्थ्यो । तिम्रो संयम र विवेकले त्यो स्थिति आएन । त्यसैले त तिम्रै दृष्टिकोण आदरणीय छ । व्यवहार अनुकरणीय छ ।
आक्रोश र नैतिक मूल्यको आडमा पनि त अपेक्षा मुखर हुँदोरहेछ नि ! नत्र आफ्नो जीवन बिथोले पनि मिसवाको जीवन बर्बाद नगरेस् भन्ने अपेक्षा किन राख्ती हौ सीमान्ती निर्भयबाट ? आखिर मिसवाप्रति आत्मीयभावले पोखिनुको कारण के हो ? उदात्त हुनुको पृष्ठभूमि खोल्न मिल्छ भने खोल । किन्तु यो मात्र अनुरोध हो, दवाव होइन सीमान्ती ।
Expectation
Isn’t it easy to unravel the essence of expectation? The reading of ‘Filingo’ is not complete without the expectation. Maybe these are the words of the mood. Demand, need, thirst, need, undeclared desire, goodwill, a sign of warmth, affection, the projection of a comfortable mental relationship can be understood in any way. It is even more intangible demand, it is an implicit test, it is also a time of evaluation from the practical side – expectation. I have been unable to reveal its essence in front of you, frontier! Expectation is probably a mental element.
But there is no question, there is curiosity. Expectations are not just gross and fleshy. Husbands and wives expect life from each other. From time to time they have special expectations. When that doesn’t happen, it’s time to dump her and move on. They become bored and become even more neutral. And they try to express themselves in ‘I’ instead of ‘we’.I think it is true literary and beautifully crafted comments by intellectual Dr. Hariraj Bhattarai.DBTamang