सीमान्तीलाई पत्र
|
पठन: फिलिंगो- ३
सीमान्ती,
परिवेशलाई हेर्ने, जीवनलाई बुझ्ने र मनलाई केलाउने क्षमता तिमीमा भरपूर रहेछ । त्यो अब्बल दर्जाको हुनाले सजिलै अरूसँग तुलना गर्न सकिन्न कि भन्छु । ‘फिलिङ्गो’ मूलत: तिम्रो मनोयात्राको प्रतिविम्बन हो र तरुणभावको कटुतम चर्वणाको मधुरतम सम्प्रेषण रहेछ । मैले यस्तै ठानें । अल्झिएको र हराएको स्थितिमा निकास दिएछ ‘फिलिङ्गो’को प्रकाशले । फेरि पनि उपन्यासको अन्त्य जुन ढंगले गरिएको छ त्यो युवा नारीको आत्मबल र स्वनिष्ठ चिन्तनको परिणाम हो । परिस्थिति र मनोदशाको सन्तुलनबाट लिइएको निष्कर्ष हो । त्यहाँनेर सांस्कृतिक पक्ष गौण छ । यसबारे मनोविद्हरू अध्ययन गर्दै होलान् ।
अन्त्य असाध्य मार्मिक छ,स्वाभाविक छ र नेपालीहरूको पारिवारिक संस्कारभन्दा पृथक् नै देखिन्छ । ‘संबन्धको नयाँ आयामले पनि रुवायो र आँसुले असीम आनन्द संचार गर्यो’ भन्ने कथनले संस्कारयुक्त धारणालाई अवश्य हल्लाउँछ ।
परिवारजनसँग विछोड भएको पीडा र मनले अलिकति सांस्कृतिक कुवामा स्नान गरेकै हो । ‘दिदी छिट्टै जापान आउनुस् है’ भनेर अँगालो हाल्ने मिसवाको वाणी र अभिनयमा शायद तिमीले आत्माको सही ध्वनि सुन्यौ सीमन्ती । तिमी पग्लियौ र अश्रुसिक्त रहेर विदा गर्यौ । थाह छ सीमन्ती, तिमीले आफ्नो परिवारलाई विदा गर्यौ , किन्तु त्यस टोलीमा कोचाहिँ तिम्रो आफ्नो थियो त्यस कुराले मलाई पनि रुवाएको छ । म अझै खोज्दै छु । तिमी नै भन, म मन खोजौँ कि शरीर ? प्रेम खोजौं कि संबन्ध ? केचाहिँ रहेछ रुवाउने र केचाहिँ रहेछ छुट्टयाउने ?
मलाई जान्न मन छ सीमान्ती, तिमीले केचाहिँ छोड्न खोजेकी थियौ र केचाहिँ पाउन खोजेकी थियौ । अगि भौतिक रूपबाट ग्रहण लागेको थियो, अहिले मन खग्रासमय भएको छ भन्न मिल्दैन होला नि, सीमन्ती !
सीमान्ती, मैले तिम्रा मनका पत्रहरू फारू-फारू गरेर पढें । आइस्क्रीमजस्तै नसकियोस् भन्ने ठानें । स्वाद मानी–मानी सकें । मनका पत्रहरू तिम्रा मात्र थिएनन्, हाम्रा पनि थिए । अरूका पनि थिए । तर हाम्रा मनहरू तिम्रै मनसँग एकाकार थिए, त्यसैले त स्वभावले हामीहरू पनि तिमीसँग रमायौं, तिमीसँगै घुम्यौं र तिमीसँगै रोयौं । पीडामा पनि मिठास हुन्छ– कुनै बेला । यति मीठो खुराक दिएकोमा तिमीलाई शतशः धन्यवाद । छद्म र पाण्डित्य विनाको रचना कहिले प्रिय भएन र !
वेला–वेला म घोरिएँ पनि । तिम्रो दृढता र कर्मशील व्यक्तित्व देखेर उत्साहित पनि भएँ । तिम्रै आँखाले जापान हेरें पनि । तिम्रै चेतनाले सम्हालिएँ नि । शायद अब मैले जापान गइरहनुपर्दैन । तिमीसँगै घुमेर परितृप्त भएको छु । विषय स्वादु छ । सम्प्रेषण छ । यसलाई मैले मनकै कथा ठानें र वास्तविक मानें । कृति मनोज्ञ छ । मलाई जित्यौ, इर्स्या छ । मैले लेख्न सकिनँ, पीडा छ । प्रदान सुन्दर छ ।
सरलता । सीमान्ती, मैले तिमीभित्र मात्रै सरलता देखें । मनको सरलता, संवादको सरलता, संबन्धको सरलता, व्यवहारको सरलता, यात्राको सरलता । एकोहोरोपनको अप्ठेरो शायद तिमीले निर्भयलाई दियौ । अर्थात् अप्ठेरो गेम खेल्ने पात्र अरू देखिएन, बरू मैदान छोडेर भागे । शायद विवशता !
माधुर्य र कोमलताकै कथा हो– तर अश्रुमय भएर टुङ्गिन्छ । सकारात्मक भाव मुखर हुनु विशेषता नै हो ! भनिन्छ, मानवसँग दानवतत्व पनि सँगै हुन्छ । तिमीसँग दानवतत्व पनि थिएछ भन्ने लाग्दैन । त्यो मुखर भएन । नियन्त्रित थियो क्यार ! एकपटक त पुलोमा पनि सचेत रहेर स्वयं निर्वसन रहेर सोमदत्तलाई देखाइदिएकी थिई, आवेगमा थिई अनियन्त्रित (सुम्निमा) । किन्तु काशीनरेश दिवोदासको वनभोजकी माधवी पूर्ण मर्यादित थिई (माधवी) । तिमी निद्रामा अवसन हुनुपुग्यौ । अनर्गल होइन सीमान्ती ! अज्ञात स्थितिमा भोग संभव छ, त्यो असंभव लाग्छ, किनकि त्यो ‘सुरत’ हुने गर्छ । सुरत थियो त्यसैले प्रतिक्रिया रहेन । अथवा अज्ञात क्षणको विषय भएर पन्छियो अचर्चित ठानिएर, बस ।
तिमीभित्र अब्बल, विवेकी, सहिष्णु तथा स्थितिबोध गर्नसक्ने मानव रहेछ सीमान्ती । त्यसले प्रत्येक असजिला क्षणलाई सहज ढंगले निकास दिँदै गयो र यात्राको निरन्तरतापछि जीवनले विसौनी मार्यौ । तिमीमा विद्यमान संयम र औचित्यपूर्ण निर्णय लिनसक्ने आत्मविश्वासको म शततः सम्मान गर्छु । सम्मान पुगोस् भन्ने कामना राख्छु ।
सीमान्ती तिमी त स्वकीया नायिका हौ । तिमीलाई खण्डिता बनाउने बल गर्यौ निर्भयले । किन्तु तिमी कतै चुकेकी छैनौ भन्ने मेरो मान्यता छ । तिमी त नारी जातिकी उच्च स्वाभिमान हौ । सांस्कृतिक घेराबाट मानसिक रूपले उठ्नैपर्छ किन्तु जातीय स्वाभिमानको रक्षा गरेर । धन्यवाद ।
– पठन: फिलिंगो १ – ३ समाप्त