एक विद्यार्थीकोआँखाबाट ट्विटरको स्पेसलाई नियाल्दा
|तीन महिनाअघिको कुरा हो । बिहानको समय थियो, यसै मनमा बेचैन भएर आयो। ‘सोसल वर्कर’ मा स्नातकोत्तर गरिएरहेको विद्यार्थी भएकोले राम्रोसँग लेख्नेपढ्ने काम सक्नु पनि चुनौति नै थियो। झन यो सेमेस्टरको विषय पनि ‘गरिबी, असमानता र सामाजिक सहयोग’ थियो। त्यसैले मन नि उसै बोझिलो भएको होला।
बिहानको समय भएको कारण एक कप चिया तयार पारेँ अनि पिउँदै सोच्न थालें ।
यसै सिलसिलामा मलाई मेरो कामको क्रममा सुनेको सिन्थियाको (नाम परिवर्तन) कथा याद आयो । उनी मेरो कार्यालयकी एक सेवाग्राही थिइन् । एक सेवाप्रदायक कार्यालयमा काम गर्ने social worker को नाताले मैले उनीसँग केही कुराकानी गरेको थिएँ । कुराकानीको क्रममा मैले उनलाई सोधेको थिएँ, तपाईँ आफ्नो बारेमा के भन्नु हुन्छ ? उनको कथन थियो, “म ४ वर्षकी हुँदा मेरो बुवाको क्षयरोग लागेर मृत्यु भयो । त्यसबेला आमासँग बुबालाई अस्पताल लैजाने पैसा थिएन रे, मेरो आमाले पछि मलाई भन्नु भएको थियो । बुवाको मृत्युपछि हाम्रो परिवारमा खानेकुरा, लत्ताकपडा र बस्ने बासको भाडा तिर्न समस्या उत्पन्न भयो । यहि कारणले आमाको मानसिक स्वास्थ्य खराब हुन गयो र आमाले पनि आत्महत्याको बाटो रोजिन् । आमाबाबु गुमाएपछि मेरो साहारा कोही भएन । यसपछि म र मेरो भाइ सडकमा माग्न आउनुपर्यो । सडक, पुल अनि शहरका पेटी ओछ्यान भए भने आकाश घरको छानो त ताराको प्रकाश हाम्रो लागि मर्करी लाईट । यसरी नै दिन बित्दै थिए । तर एक दिन मेरो भाइ हरायो । म भौतारिएँ, धेरै खोजी गरेँ तर भेटिनँ । पछि थाहा भयो माग्नेहरूको अर्को समहुसँगको झगडामा ऊ मारिएको रहेछ । त्यसको केही वर्षपछि म देह व्यापारमा संलग्न भएँ, त्यो मेरो रहर हैन बाध्यता थियो । रोजगारीको लागि केही दलालहरूको सहायताले क्यानाडा पुगेँ र मैले आफ्नो कानूनी हैसियत प्राप्त गर्नको लागि refugee claim को प्रकृया सुरु गरेकी छु । यो प्रकृयाको लागि मलाई कानूनी सहयोग र तत्काल बस्नखानाको समस्याले तपाईंको अफिसमा सेवा लिन आएकी हुँ ।”
सिन्थियाको कथाले मेरो मनमा थुप्रै प्रश्नहरू उब्जिएका थिए । उनको यो अवस्था हुनुको पछाडि राज्यको के हात छ ? गरीबी के हो ? सरकारको कानून र नीतिले कसरी सामाजिक वहिष्करण र संरचनात्मक हिंसाले गरीबीलाई कायम राख्छ ? यी प्रश्नहरूले मेरो मन अमिलो भएको थियो । एक आप्रवासी हुनुको नाताले मेरो मनले अलि बढी महसुस गरेको हुनुपर्छ । यी प्रश्नहरूको जवाफ पाउन सजिलो थिएन । मनले के के सोचिरहेको थियो । यत्तिकैमा यो पङ्क्तिकारलाई पूरानो ट्विटर खाताको याद आयो र यस विषयमा केही फेला परि पो हाल्छ कि भनेर पूरानो ट्विटर खाता पुन: खोलेँ।
हुनत मैले आफूलाई ट्विटरको दुनियाँमा प्रस्तुत गरेको मिति त गोडा सातेक वर्ष नै हो । व्यक्तिगत व्यस्तताको कारण बीचमा त्यति ट्विटरलाई गोडमेल र मलपानी गर्न सकिएन । यसैबीचमा पूरानो ट्विटर खाताको पासवर्ड Reset गरी भित्र पसेँ । ट्विटरले स्पेस सञ्चालन गरेको धेरै भैसकेको रहेछ, तर म भने अन्जान मै रहेछु । अकाउन्ट खोलेर यसो भित्र पसेको झुक्किएर स्पेसमा पुगेछु । त्यो बेला एकजना महिला बोली रहनुभएको थियो । विषयचाहिँ खैनी चुरोटको अम्मलबाट कसरी छुट्कारा पाउने भन्ने थियो। त्यो समूहमा म नयाँ भएको हुनाले वक्ता महिलाले तल नयाँ मान्छे आउनुभएछ माथि उक्लिनुहोस् भन्नुभयो । उहाँको ‘माथि उक्लिनुहोस्’ भन्ने वाक्यले मलाई असजिलो महसुस भयो र हाँस पनि उठ्यो किनकी म जहाँ जन्मिएको र हुर्किएको थिएँ त्यो परिवेशमा यसको अर्थ अर्कै हुन्थ्यो । स्पेसको भाषामा यसको अर्थ श्रोताबाट वक्तामा जानु भन्ने हुनेरहेछ । सुरुको दिन म जे सिक्ने उद्देश्यले स्पेसमा आएको थिएँ मेरो उद्देश्य पूरा भएन । त्यो दिन मैले हाँसेरै बिताएँ । विस्तारै म ट्विटर स्पेसमा आउन थालेँ । यता बरालिन थाले पछि यसरी लत लाग्यो कि सुर्ती पारखीहरूले बासी सुर्तिको ठुटो खाए झैं वा सुर्ती जलेर भएको खरानी चाटेर तलतल सुर्तिको मेटुँ झै भएको हो मलाई। धेरै कुराको अनुभव गरेँ । यता बरालिँदा प्राप्त गरेको अनुभवलाई यसरी प्रस्तुत गरेको छु ।
१, छलफलका विषयहरुः म स्पेसमा आउदादेखि आजसम्म (मेरो अनुभवको आधारमा) मैले स्पेसमा धेरै विषयहरूमा कुराकानी हुने गरेको पाएको छु । यसरी कुराकानी भएका विषयहरू मूलतः राजनीतिक, आर्थिक, सामाजिक, विकास निर्माण, धर्मसंस्कृतिसँग जोडिएका थिए । राजनीतिक विषयमा कुराकानी हुँदाचाहिँ स्पेसमा आउनेको सङ्ख्या अरु भन्दा अलि बढी हुने रहेछ । के कारणले यस्तो भएको होला भन्नेचाहिँ खोजको विषय बन्ला । अरुको विचारको सम्मान र आफ्नो भनाइमा अडिग हुनेको सङ्ख्या निक्कै कम पाएँ मैले । यसरी स्पेसमा आउनेहरू विभिन्न ठाउँबाट प्रतिनिधित्व गर्ने रहेछन् (नेपालभित्र र नेपाल बाहिर जो विभिन्न सिलसिलामा नेपाल बाहिर बसोबास गर्ने) । धेरै चर्चा भएको विषय MCC थियो । Sanitary Pad मा सरकारले लगाएको करको विषय, नेपालमा रहेको भष्ट्राचार, राजनीतिक दल तथा तिनका गतिविधि, नेपालमा राजनीतिक तरलता संघीयता, व्यापार, पर्यटन, महिला अधिकार, शिक्षा, स्वास्थ्य, दलित अधिकार, नागरिक समाजको चरित्र, विचार निर्माणमा कलाकारहरूको संलग्नता, COVID-19, कला, साहित्य, र बसाइँसराइ आदि विषयमा छलफल भएका चाहिँ थिए र म पनि समेटिएको थिएँ। यसरी छलफल हुँदा मैले के अनुभव गरेँ भने विश्वका अरु देशहरू जस्तै: अमेरिका, भारत, बेलायत, रूस, र चीनलाई गाली गर्न भनेपछि टुइटेहरू न्वारनदेखिको बल लगाएर आउने रहेछन् । सायद अरुलाई गाली गर्न पाउँदा हामी गोर्खालीको चुलोमा आगो बल्छ होला ? नश्लवादको कुरा हुँदा धेरैको मत अरुलाई दोष देखाउने गरेको भेटेँ मैले । विषयवस्तुको ज्ञान बिना नै गलत सूचना दिनेको बिग्बिगी देख्दा मजस्ताको दिमागमा उहिले पढेको कुरा सत्रको एक हात लाग्यो सात जस्तो नलागेको हैन । म जस्तोलाई पनि टन्न श्रोताको माझ माइक समातेर गुटुङटुङ बोल्न पाउँदा गर्वले छाती नफुलेको हैन, अनी घोक्रिएको घिरौंला जत्रो नाक नफुलिएको पनि हैन । शायद यो पंक्तिकारको जस्तो अनुभूति भएर नै होला हाम्रा नेपाली नेताहरूले जनताहरूलाई भेडाबाख्रा ठानी अन्टसन्ट भाषण दिने गरेका होलान् ।
२, ट्विटर स्पेसमा नेपालीहरूले प्रयोग गर्ने शब्दावली र भाषा कोडहरू: शुरुवाती दिनमा मलाई स्पेसमा बोलिने भाषा बुझ्न अति नै कठिन भएको थियो । स्पेसमा आउँदै जाँदै गर्दा मलाई स्पेसले सिकाएका शब्दावली र भाषा कोडहरू यस् प्रकार छन् ।
शब्दावली र भाषा कोडहरू: | अर्थ | शब्दावली र भाषा कोडहरू: | अर्थ |
दाँत झार्ने | डाइलग अर्थात पञ्च लाइन दिनु | डिँगा हेर्नु | बच्चा हेर्नु |
भाँडा हान्ने | काममा जानु | पसल थाप्ने | होस्टले स्पेस खोलेर श्रोता कुरेर बस्ने हो । |
घाट कुर्ने | घाट कुर्ने चाहि श्रोताहरू कोही बोल्ने मान्छे आउँछ कि भनेर स्पिकर बिनाको स्पेसमा राम्रै समय खर्चेर कुरेर बस्नेलाई भनिन्छ | हुँडार खाता | ट्विटर स्पेसमा ह्यान्डलहरू एकभन्दा बढी हुनसक्ने । यसरी आउनेहरूलाई हुँडार खातावाला भनिन्छ। आफ्नो सक्कली नाम र तस्विर लुकाएर आउनु |
तल जानु भयो | स्पिकरबाट लिसनरमा सर्नु | छिमिकीको चौतारी | अर्को स्पेस |
खोपी सन्देश | डाइरेक्ट मेसेज बक्समा मेसेज पठाउनु। | अन्तरिक्ष | स्पेसको कोड नाम |
ब्लु चेक | ट्विटरले प्रयोगकर्ताको परिचय कन्फर्म र भेरिफाइ गर्छ । त्यस्ताको लागि चेक मार्क हुन्छ । ती रियल आइडी हो । | आठौँ प्रदेश | अस्ट्रेलियामा नेपाली धेरै हुँदा यसलाई आठौँ प्रदेशको निक नेम दिइन्छ । |
गुद्रिबजारमा लगेर २ रुपैयामा बेची दिन्छु: | यो भनेको कसैलाई तँ सस्तो माल होस् वा तेरो मूल्य त्यति धेरै छैन भन्नलाई वा गिज्याउनलाई प्रयोग गरिने कोड हो । | बतासे हान्नु: | अलि साङ्केतिक कुरा, अन्टसन्ट कुरा वा कसैलाई झटारो हान्ने गरी गरिएका कुरा वा tweet |
धुरा पस्नु: | अरुको झगडामा बिनाकारण आफू पनि कसैको पक्ष लिएर अर्को माथि जाइ लाग्नु (जस्तै: गोरु जुधाई हुँदा कुनै गोरुले यसो गर्छन् ) | छिमेकीको नेट: | स्पेसमा हुने कसैको पनि इन्टरनेटले connection मा समस्या दिएमा निजले चलाएको internet slow रैछ भन्ने हुन्छ |
माथि आँटीमा उक्लनु | श्रोता भएको ठाउँबाट वक्ता भएको ठाउँमा जानु | भुँई मान्छे | श्रोता भएको ठाउँमा बसेर चुपचाप सुनिरहने मान्छे |
माथि उल्लेखित भएका शब्दावली र भाषा कोडहरू मध्ये केही कोडहरू @iDharahara बाट लिएको हो । |
३, खानपान तथा रहन सहन: स्पेसमा साँझ वा बेलुकीपख कुराकानी हुँदा, कडकवाला चिया (चिया पत्ती बढी, दूध बढी, मरिच बढी, अदुवा, अलैंची र सुकुमेल पनि हालिएको चिया भन्ने बुझ्नुपर्ने) ले ग्राहक टन्नै पाएको भेटेँ । हुन त नेपालका हिमाली जिल्लाहरू जस्तै: सोलुखुम्बु, मनाङ, मुस्ताङतिर प्रख्यात सोल चिया (नुन, चौँरीको नौनी घीउ, उवा (जसलाई जौ वा गहुँ) लाई भुटेर बनाइएको पिठो हालेर बनाइएको चिया) ले पनि स्पेसको बजार नपिटेको हैन । खानपिनको सन्दर्भमा पूर्वी तराईको भक्का, संखुवसभा र भोजपुरतिर राई समुदायले पकाएर खानेगरेको वाचिप्पा, ढिँडो, निगार, ढकने, मोहितो, सोल्लर, राइतो र् दहीबाडाजस्ता नेपाली मौलिकता झल्काउने खानाका परिकारहरूको पनि खुबै चर्चा हुने गरेको पाएँ । मैले यो शीर्षकअन्तर्गत भएका छलफलबाट मेरो भान्सालाई सहयोग पुगेको महसुस गरेको छु । थप परिकारहरूमा माल्पुवा, सेल रोटी, चाम्रे, सातु, कचामरी, कचेला, ढकने, किनिमा, तोङ्ग्बा, तिनपाने आदिको चर्चा पनि कम भएको हैन ।
४, स्पेसभित्र प्रयोग हुने इमोजीहरू: १०० को अर्थ वक्ताको भनाइ मन पर्यो भन्ने हो । मुड्की माथि पारेको हातको अर्थ चाहिँ मेरो पनि बलियो समर्थन छ भन्ने रैछ । बोल्दा पालो माग्नचाहिँ हत्केलोको चिन्ह प्रयोग गर्नुपर्ने रहेछ । आँखाबाट आसु झारेको चित्रचाहिँ कसैले बोलेको कुरामा हाँस् उठ्यो भने प्रयोग गर्नु पर्नेरहेछ । तर कहिलेकाहीँ मेरो कुरामा हाँस्ने भनेर वक्तालाई रीस उठ्न सक्छ ।
५, स्पेसको झगडा: मेरो ट्विटर स्पेसको तीन महिने यात्रामा दुई चार वटा झगडाहरू सुन्ने मौका मिल्यो । यस्ता झगडाहरूको कारणचाहिँ अरुलाई अपशब्द बोल्नु, लेख्नु वा कुरोको चुरो नबुझी हुने गरेको पाइयो । स्पेसमा सुनेको झगडाले मलाई मेरो बाल्यकालको एउटा घटनाको याद आयो । घटना के थियो भने, हामी ५ जना मिल्ने साथी थियौँ । एकदिन वीरेले शेरेको (नाम परिवर्तन) गाउँले केटी साथीलाई चुइगम चाख्ने हो भनेर सोधेछ । केटीले केही नबोली टारिछन् । अर्को दिन सेरेले उनलाई बजारमा समोसा खाने हो भनेर जिस्क्याएछ । त्यो पनि उनले नबोलेरै टारिछन् । यता शेरेले ती नानीलाई जिस्क्याएको कुरा वीरेले बाटोमा सुनेछ । वीरेलाई पनि के निहुँ पाउँ कनिका बुकाउँ भनेझैँ सानो कारण भेटिहाल्यो । उसले हिजो शेरेले उसको गाउँले केटीलाई जिस्क्यायो भनेर क्लास भरी हल्ला गरेछ यही निउँमा क्लासमा केटाहरूको झगडा पर्यो । हेड मास्टरले झगडा मिलाइदिनु भएको थियो। यो झगडा पछि हाम्रो टिम त्यति जमेन । कारण थियो वीरेलाई बाँकी हामी तीन जना शेरेसँग नबोले हुने भन्ने लागेको थियो । उता शेरेलाई पनि त्यही लागेको थियो । हामी ३ जनाको कसैसँग झगडा परेको थिएन त्यसैले सबैसँग बोल्न खोजियो । यत्तिकैमा स्कुले जीवन सकियो । ती पुराना साथीभाइ कता छन् । सम्झना मात्र बाँकी छ ।
एक विद्यार्थी भएको नाताले ट्विटरमा Bullying के हो भन्ने बुझ्न केही लेखहरू पढ्ने मैले । Bullying भन्नाले कम्प्युटर वा स्मार्ट फोनबाट आफ्नो सामाजिक मिडिया प्लेटफर्म प्रयोग गरी कसैको बारेमा आपत्तिजनक, अपमानजनक वा घृणित भनाइहरू लेख्नु भन्ने बुझिन्छ (Behzadi & Derakhshan, 2021) । अर्को एक अध्ययनअनुसार जनवरी २०२० देखि जुन २०२० को बीचमा मात्र ४५४०४६ वटा cyber-bulling सँग सम्बन्धित tweets पोस्ट भएका थिए (Das et al., 2020) । यी तथ्यहरूको आधारमा के भन्न सकिन्छ भने, हाम्रो समाजमा cyber-bullying विद्यमान छ चाहे त्यो पुरुषले महिलालाई गर्ने cyber-bullying होस् या महिलाले पुरुषलाई गर्ने cyber-bullying होस् । यो चिजबाट बच्ने सामान्य उपाय भनेको तपाईँ हामी सबैले सामाजिक सञ्जाल चलाउँदा अरुलाई आदर हुने भाषाको प्रयोग गर्न सके उत्तम हुने देखिन्छ । बाँकी तपाईंको हातमा ।
७, मलाई भएको फाईदा: ट्विटरले प्रयोगकर्ताहरूलाई बिना कुनै अवरोध (स्थान, सामाजिक आर्थिक स्थिति, वा अन्य विशिष्ट अवरोधहरू) अर्को व्यक्ति वा जोडिन अनुमति दिन्छ । व्यक्तिगत रूपमामा यहाँ आएपछि धेरै जनासँग घुलमिल हुने अवसर मिल्यो । सुन्दा साना साना लाग्ने भए पनि धेरै अर्थ लाग्ने र महत्वपूर्ण विषयहरू जाने र सुन्ने मौका मिल्यो । स्पेसमा आउने सबै उमेरका मानिसहरूसँग कसरी व्यवहार गर्ने भन्ने पनि सिक्ने मौका मिल्यो । गीत सुन्न त धेरै नै मन पराउने मान्छे म, तर गाउन भने खासै ढङ्ग थिएन ममा । स्पेसमा अरुले गाएको सुनेपछि मलाई नि झोक चलेर आयो र गोडा पाचासेक् गीतमा नाके स्वर हालियो । यसरी गाएका गीतहरूमा झलकमान गन्दर्भको:
तिम्रो नै मुया लाग्दछ साइली सम्झन्छु छिन् छिन् न
तिमीले मुया नगरे पनि गर्छु म दिन दिन !!
अर्को गीत चाहिँ धर्मराज थापाको:
साइली रिमाइ चौरी गाई, झर्यो रिमाइ मधु वनैमा भन्ने थियो ।
यी गीतहरू मैले धेरै पटक सुनाएको थिएँ । त्यसो त स्पेसमा आउन थालेपछि केही मसला त दिनै पर्यो । यही मनसायले मैले २ वटा गजल र ४ वटा कविता पनि लेखेँ ।
गजल को शुरुवातचाहिँ यस्तो थियो:
साँझ थियो हतार थियो, मनमा सानो प्रश्न थियो
धरान जाने कलंकीमा अन्तिम एउटा बस थियो !! भाग १ र २
कविताको शुरुवाती चाहिँ यस्तो थियो:
अरुको हुँडार खाता देख्दा
आफैलाई ढाँटेर हुँडार खाता खोलियो
बेकार नखोल्नु नै थियो हुँडार खाता
खोली नै सकेपछि
सन्नानी भनिदेऊ न तिनीहरूलाई
कि त चुपचाप सुन्नु
कि त किच किच किच किच हल्ला नगर्नु ।
मैले मेरा अनुभवहरू यसरी लेखिरहँदा मलाई केही प्रश्नहरूले चसक्क मनमा घोच्ने गरेका छन् । म किन स्पेस मा आउँछु ? म कसरी स्पेसमा आउँछु ? के कारणले म स्पेसमा आउँछु ? मैले स्पेसमा आएर के प्राप्त गरेँ ? स्पेसमा मैले गीत त सुनाएँ तर त्यही गीत के मैले मेरा परिवारका सदस्यलाई सुनाएँ ? स्पेस मा आएर मैले के गुमाएँ ? के मेरो योग्यता बढ्यो ? यी प्रश्नहरू तपाईँले आफूलाई गर्नु भयो कि भएन ?
८. मलाई भएको बेफाइदा: मैले ट्विटर स्पेसको तीन महिने यात्रामा केही केही घण्टा समय बिताएको छु, जसको कारण मेरो एक विषयको नतिजामा असर पुगेको थियो (१ दशमलव ५२ अंकको कमीले A+ हुन नसकेको A मात्र भएको) । मैले अनुभूति गरेका कुराहरूचाहिँ यस्ता थिए । जस्तै: अध्ययन र जीवनका अन्य क्षेत्रहरूमा रुची कम हुने गरेको थियो । जिम्मेवारीबाट पछि हटन मन लाग्ने, एक्लो पनको महसुस, अध्ययनबाट विचलित हुने, मोबाइल मात्र चलाइरहन मन लाग्ने, उचित एकाग्रता प्राप्त गर्न असक्षमता, सिक्ने जागर कम लाग्नु, परिवारक सदस्यहरूसँग झर्को लाग्नु, निन्द्राको कमी, आँखा दुख्ने, पाचन प्रकृयामा खलल, समयमा Assignment नसक्नु आदि । एक दिन स्पेसका कुरा सुन्दै खाना पकाइराखेको थिएँ, ध्यान स्पेसले लगेछ क्यारे तरकारीमा चिनी हालिएछ, पछि खाँदा पो थाहा भयो, जाहानले झन्डै मारिनन् । यो घटनाले मलाई मेरो बाल्यकालको एउटा घटनाको याद दिलायो । मेरो गाउँमा एक जना धामी हजुरबा थिए । उनी साह्रै सुर्तिका पारखी पनि । हामी केटाहरूलाई देख्यो कि सुर्ती बेर्न लगाइहाल्ने । एक दिन बिहिवारे बजारमा बूढासँग भेट भयो बूढाले सुर्ती बेर्न लगाइहाले । भनेको मान्नै पर्यो । बजार भर्न सुब्बाकी छोरी पनि आएकी रैछन् । मलाई पर्यो आपत बुढाले भनेको नमानौ भने बाङ्गे लौरोले खाइने, मानौ भने सुब्बा कि छोरीको अगाडि सुर्ती पो खाँदो रछ केटोले भन्ने पीर । यस्तो फर्सादमा परियो भनी साध्य छैन । यही रिसको झोकमा मैले बुढालाई तितेपाती र अलीकति बजारमा बेच्न राखेको खोर्सानीको धुलो हालेर सुर्ती तयार गरिदिएँ । बुढाले सुर्ती सल्काए र पहिले सर्को मात्र के तानेका थिए बुढाको धुवाँ छुटेछ । बुढाले त्यस पछि त बाङ्गे लौरोले सुम्लो बस्ने गरी बजाए । त्यो दु:खाइ को याद अझै छ । त्यस्तै एक दिन कुकरमा चामल मात्र हालेर पानी नहाली भात बसाएँछु, कुकरको सिटी नलागेपछि थाहा भयो पानी हालेको रहेनछु । अर्को दिन रातो बत्तिमै गाडी बाटो कटाएछु, धन्न त्यहाँ क्यामरा र अरु गाडी नहुनाले पुलिसको जरिवाना र दुर्घटना हुनबाट बचियो । यदी तपाईँहरू पनि स्पेसमा ध्यान मग्न भएर मेरो जस्तै भोगाइमा पर्नुभएको छ भने विचार पुर्याउनु होला ।
अर्को मेरो अनुभवचाहिँ मैले धेरै विद्यार्थीहरू नेपालबाट स्पेसमा आउने गरेको पाएको छु । मेरो यो तीन महिनाको अनुभवको आधारमा ट्विटरमा आएका विषयवस्तुलाई critical analyses theory को प्रयोग गरी हेर्नुहोस् ताकी ती विषयहरू कत्तिको हामीलाई उपयोगी हुन सक्छन् । अर्को विद्यार्थीहरूका बुबाआमालाई मेरो के सल्लाह छ भने आफ्ना सन्तानहरू कतै cyber-bullying को सिकार त भएका छैनन ? बेलाबेलामा बुझ्नुहोस् । कतै तपाईं र तपाईंका बच्चाहरू पनि म जस्तै गरीबी के हो भनेर सिक्न स्पेस तिर छिरेको मान्छे, स्पेसमा गीत सुनाउदै अल्मलिनु भएको त छैन ? कतै म जस्तै तपाईं पनि तरकारीमा चिनी हाल्ने वा रातो बत्तीमा गाडी कुदाउने त हुनुभएको छैन ? विचार गर्नुहोस्, मनन गर्नुहोस् ।
माथि उल्लेखित विचारहरू मेरा निजी विचारहरू हुन । कसैसँग मेल खान गएमा संयोग मात्र हुनेछ । #Space
नोटः केही अंग्रेजी अक्षर गल्ती परेकोमा क्षमासहित सुधारिएको छ । गल्ती औंल्याइदिनुहुने पाठकप्रति धन्यवाद । भविष्यमा पनि यस्ता सुझाव हामी स्वीकार्ने नै छौं ।
तपाइको अनुभूति पढ्दा रमाइलो लाग्यो । पाठकलाइ बाँधेर पुच्छारैसम्म पुर्याउने शैली प्रसंशनीय छ । चीनी हालेको तरकारी र खुर्सानीको सर्कोका कारण खाएको स्वाँठ मलाइ झन् मिठो लाग्यो । राँगो लाउने कथालाइ उत्ताउलो भन्न पनि नपाइने गरी लेख्ने खुबी सहितको चटनी जिब्रोमा ट्वाक्क लाग्यो ।
गजव र यथार्थ,
कति ठाउँमा पढ्दै जाँदा मेरो आफ्नै अनुहार पनि देखें । अनि स्पेसमा आउने सबैले मनमनै मम भन्नुभयो होला ।।
भाग ३ चाहिँ कहिले सुन्न पाइन्छ ?! जनकारी गराउनु होला । कलंकीको लास्ट बस्.♥️
Good exploration and reflective. Needs some language edit,
otherwise good.
Keep it up.
स्पेसलाइ यसरी नियाल्न सक्नु- प्रशंसानीय। बडो राम्रो “अब्जर्भेसन”! स्पेसमा असलरुपमा प्रस्तुतहुन चाहने जो-सुकैलाइ पनि प्रेरणाहुने लेख।
लेखक प्रती आभार!
सरको स्पेस सम्बन्धी शानदार अनुभब पढ्न पाइयो। केही समयदेखि मेरो पनि धेरै समय भुइँमान्छेको रूपमा व्यथित भैरहेको छ। सरको लेख पढेपछि अलिक सचेत हुनुपर्ला भन्ने लागेर आयो।
स्पेसमा आएर नियालेर अाफ्नो अनुभव यति मजाले लेख्नु भयो एकदम रोचक लाग्यो। लेख पढिरहदा आफुलाई स्पेसमा बोलेको सम्झीरहे। कति ठाँउमा हाँसो लाग्यो, कति ठाँउमा गम्भिर बनायो। आफैलाई पनि सुधार गराउन पर्ने आभाष भयो। धेरै धेरै धन्यवाद बद्री कार्की।