गोरेटोको खोजी
|
हिजो अस्तिको कुरा हो
यहाँ एउटा गोरेटो हिँड्थ्यो
र आफूलाई स्पर्श गर्ने हरेक बटुवाको कानमा
विश्वासको आवाज निकालेर
सुटुक्क भन्ने गर्थ्यो –
” म भोलि घोरेटो बन्दैछु
म पर्सि मूलबाटो बन्दैछु
अनि निपर्सी
म राजमार्ग नै बन्दैछु।”
गोरेटो निश्चितरूपमा
मान्छेका धेरै पाइलाहरूले सम्याइएको थियो ।
टुकुर टुकुर हिँड्ने
कलिला मान्छेका पाइलाहरू पनि त्यहाँ थिए
हिँड्दा डामै छाड्न झण्डै असमर्थ
वृद्ध-वृद्धाहरूका पाइलाहरू पनि त्यहाँ थिए
तन्नेरी-तरुनी पाइलाको त हिसाबै थिएन
तलबाट उनीहरू नै उक्लिरहेका थिए
माथिबाट उनीहररू नै ओर्लिर्हेका थिए ।
र गोरेटो
उनीहरूसँगै ओहोर-दोहोर गरिरहेको थियो ।
तर , कस्तो तीतो सत्य !
आज म
त्यही गोरेटोको पदचिह्न खोजिरहेछु ।
पारिलो घाम लागिरहेछ
टाढा टाढाका सबै डाँडाहरूमा
तर मभने
आफूअगाडिको अँध्यारोसँग जुध्दै
त्यस गोरेटोलाई ठम्याउन आँखा तिखारिरहेछु ।
अहँ , गोरेटो अझ भेटिएको छैन ।
तर ,
ऊ कतै सुटुक्क बसाइ सर्यो कि पनि कसरी भन्नु !
काँडेझारले पुरेर
ऊ अस्तित्वहीन नै भयो कि भन्ने
शंका पनि कसरी गरिहाल्नु !
सबै भन्छ्न् –
” मान्छेका पाइलाले कुँदिएको हुन्छ गोरेटो
र कुनै मान्छे मरेर गए पनि
बुझेका छन् भने अरूहरूले बाटोको महिमा
कतै केही समय अल्मलिए पनि
गोरेटो सधैं हराइरहँदैन ।”
जहाँसम्म आजको कुरा छ
गोरेटो आज कतै अलमलिएको हुनसक्छ
गोरेटोलाई आज कसैले खल्बल्याएको हुनसक्छ ।
विश्वास गर ! ए मेरो हृदयका शहीदहरू !
अँध्यारोमा छामछाम-छुमछुम गर्दै
म आज
तिमी हिंडेको त्यही गोरेटो खोजिरहेछु
र
त्यो नभेटिएसम्म
अँध्यारोसँग जुध्दै
म सधैं नै
त्यस गोरेटोको पदचिह्न खोजिरहनेछु ।