आऊ तिमीलाई स्वागत छ
|नयाँ वर्षहरु नयाँ सूर्य लिएर आउनु पर्छ भन्ने छैन
कामना यही हो
हाम्रा बिहानीहरु सधैँ सूर्य झैँ उद्दीप्त होउन्
नयाँ वर्ष नयाँ जुन लिएर आउनु पर्छ भन्ने पनि छैन
कामना यही हो
हाम्रा साँझहरु सधैँ जुन झैँ शीतल होउन् ।
वर्षहरु ढल्दै जाँदा
घडीहरु घुम्दै जाँदा
खै के परिवर्तन भयो त्यो थाहा छैन
खै को परिवर्तन भयो त्यो पनि थहा छैन
म भने हरेक पोहोरहरु भन्दा अलिकति बदलिएकी छु
पोहोर भन्दा दुई चार कपाल बढी फुलेका छन्
परिपक्व देखिन थालेकी छु
झन् पोहोर भन्दा अनुहारको मुजा थपिएको छ
निर्धक्क हाँस्न थालेकी छु
दृष्टि अलि धमिलिएको छ
चस्मा भिर्न सिकेकी छु
सबै परिवर्तन तिम्रै उपहार मानेकी छु
सानो कामना छ नयाँ वर्ष
जीवनको मोह बचाइराखिदेऊ ।
हरेक वर्ष आँउदा तिमी नयाँ बनेर आँउछौ
त्यो तिम्रो कला हो
सबै कुरा आफ्नै गर्भमा लुकाएर आँउछौ
त्यो तिम्रो कुशलता हो
सधैँ केही दिएर जान्छौ
त्यो तिम्रो उदारता हो
सधैँ केही लिएर पनि जान्छौ
त्यो तिम्रो विशेषता हो
गुनासो केही छैन
सानो बिन्ती छ नयाँ वर्ष
कोपिलामा फूल नचुडिदेऊ
बाँच्नुको चाह नमारिदेऊ
संधै स्वागत छ तिमीलाई ।
तिमी अनादिकाल देखि आयौ
अनन्त सम्म आइरहन्छौ
मान्छे फेरिए
पुस्ता फेरियो
शासक फेरिए
शासन फेरियो
तिमी कहिल्यै फेरिएनौ
तिमी आफ्नै गतिमा आयौ
आफ्नै मतिमा आयौ
आफ्नै ढंग र रंगमा आयौ
सानो आग्रह छ
मान्छेलाई आस्था दिएर जाऊ
शासकलाई विवेक दिएर जाऊ
सधै स्वागत छ तिमीलाई ।
हरेक वर्ष झैँ स्वागत गर्छु तिमीलाई
यो वर्ष आउँदा प्रकृतिको सबै नियम पालन गरेर आऊ
आफ्नो धर्म निर्वाह गरेर आऊ
पुकार यत्ति हो
वर्षा होस् बाढी नआओस्
हावा होस् हुरी नचलोस्
ठूलो आकाशको अपेक्षा छैन
सानो छानो नचुहिओस्
ठूलो पाथीको अपेक्षा छैन
सानो मानु नरित्तियोस्
आऊ तिमीलाई स्वागत छ ।