नेपाल आमा
|यो माटो दुख्दा दुख्ने छाती म हुँ
यो माटो रुँदा झर्ने आँशु म हुँ
माटोका लागि बग्ने पसिना म हुँ
माटोका लागि पखालिने सिन्दूर पनि म हुँ
म गलेको छैन, गल्ने छैन
म झरेको छैन, झर्ने छैन
म मरेको छैन, मर्ने छैन
म माटोको मुटु हुँ, धड्कि नै रहन्छु ।
म जात जातको बहुजात हुँ
म वर्ण वर्णको बहुवर्ण हुँ
म भाषा भाषाको बहुभाषा हुँ
इन्द्रधनुषको सातै रंग म हुँ
वेदका सबै वाणी म हुँ
घामको पहिलो किरण ठोक्किने सगर म हुँ
ऋषि मुनिको तपस्या म हुँ
देवताहरुको वरदान म हुँ
आठ कोणको चन्द्र अनि बाह्र कोणको सूर्य सँगसँगै फहराउने झण्डा म हुँ
अखण्डित नेपाल म हुँ ।
नारायण जस्ता पृथ्वीनारायणकी आमा म
उसले चेतनाको उज्यालोले अन्धकार चिरेथ्यो
वैरीलाई छप्काउँदै हिंडेथ्यो
महामृत्युञ्जय मन्त्र जप्दै बढेथ्यो
खण्ड-खण्ड गाभेथ्यो
टुक्रा टुक्री सिलाएथ्यो
एउटा औँलो ठड्याएथ्यो
नदी मिलाइ सागर बनाएथ्यो ।
तिमीलाई केही भन्छु
दिव्य दृष्टीले हेर
दिव्य उपदेश बुझ
म ढुङ्गा दिन्छु, तिमी चन्दन घोट
म माटो दिन्छु, तिमी टीका लगाऊ
हावा मेरो, श्वास तिमी फेर
जल मेरो, अमृत तिमी पिऊ
मेरा स्वाभिमान, तिम्रो प्रतिष्ठा
मेरा वीरता, तिम्रो गौरव
म अनादिदेखि रहँदै आएको
म अनन्तसम्म रहिरहने
म तिम्री आमा
म पृथ्वीकी आमा
हो,
म अमर्त्य नेपाल आमा
म अभेद्य सिङ्गो नेपाल आमा ।
(नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहको ३ सयौं जन्मजयन्तिका सन्दर्भमा)
खण्ड-खण्ड गाभेथ्यो
टुक्रा टुक्री सिलाएथ्यो
एउटा औँलो ठड्याएथ्यो
नदी मिलाइ सागर बनाएथ्यो ।
….. नमो नमः