हजुरबुबा जस्तै हजुरबुबा !

चाँदिजस्तै सेतो फुलेको कपाल
ती अनगिन्ती रौँ भित्रका गनिनसक्नु अनुभव
गहिरा धर्सा परेको ठूलो निधार
ती निधारका मुजाभित्र लुकेका संघर्षका कथा
खाडलभित्र गडेका आँखा
आँखा भित्र सजाएर राखेको सन्ततिको भविष्य
त्यति मात्र कहाँ हो र ?
परिवार बाँध्ने दुइटा लामा हात
स्वाभिमानले उठेको शीर
विचारले भरिएर खुलेको प्रस्ट बोली
हो यस्तै हुनुहुथ्यो मेरो हजुरबुबा ।

बिहान हर-हर महादेव भन्दै महेश बोलाउने
हरेक साँझ-
शान्ताकारम् भुजगशयनम् पद्मनाभम् सुरेशम्…जप्ने
घोटेको चन्दन निधारमा लगाइ
साँझ-बिहानको आरतीसँगै
कलशको जल छर्केर शान्तिको कामना गर्ने
दियोको रापले आँखा सेकिदिने
आशिषका हात टाउकामा राखिदिने
धर्म गर्न सिकाइदिने
कर्म गर्न जुर्मुर्याइदिने
हो यस्तै हुनुहुथ्यो मेरो हजुरबुबा ।

निराशाले छोप्न खोज्दा आशा जगाइदिने
बाटो बिराउन खोज्दा टुकी बालिदिने
जंघार तर्न जाँदा आफ्नै लौरो दिने
अरु के चाहियो र ?
रुन खोज्दा हँसाइदिने
जीवन बाँच्न हौस्याइदिने
हो यस्तै हुनुहुन्थ्यो मेरो हजुरबुबा ।

कहिले फलाम झैं दह्रो
कहिले सुनजस्तै कमलो
अनि सदैव हिरा झैं चम्किलो
सबैले कहाँ चिन्छन् र?
पारखीले मात्र आँक्न सक्ने
हो यस्तै हुनुहुन्थ्यो मेरो हजुरबुबा ।

बाबाले हप्काउँदा मेरा आँखाको आँशु पुछिदिने
आमाले लखेट्दा मलाई काखमा आश्रय दिने
हो यस्तै हुनुहुन्थ्यो मेरो हजुरबुबा
हजुरबुबाजस्तै हुनुहुन्थ्यो मेरो हजुरबुबा
बर्षौं भयो-
हजुरबुबाले जीवनसँग थाकेर मृत्युवरण गरेको
हामीलाई छाडेर भगवानको घर रोजेको
आज पनि सम्झिरहन्छु-
म हजुरबुबालाई
हिजो र अस्ति जत्तिकै
हाँस्दा होस् वा रुँदा
उठ्दा होस् वा बस्दा
श्वास फेरिरहँदा
मेरो पनि हुनुहन्थ्यो-
हजुरबुबाजस्तै हजुरबुबा !

(प्रस्तुत कविता कवयित्री शर्माद्वारा आफ्ना हजुरबुबा ऐतिहासिक उपन्यासकार टुकराज मिश्रको सम्झनामा समर्पित गरेर लेखिएको हो । हामीले हाम्रा पाठकहरूलाई पनि पठनीय र सन्देशपूर्ण तथा सबै हजुरबुबाहरूको प्रतिक ठानेर प्रकाशित गरेका हौं । कवि तथा उपन्यासकार टुकराज मिश्र र पद्मराज मिश्रको सहलेखन रहेको ‘रजबन्धकी’ लाई पहिलो ऐतिहासिक उपन्यास (वि.स १९९६ मा प्रकाशित) मानिन्छ । मिश्रका अन्य काव्यकृतिहरू पनि  प्रकाशित भएका छन् । बि.सं .२०६६ पौष १९ मा ९४ बर्षको उमेरमा मिश्रको निधन भएको थियो ।)

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *