गजल
|जिन्दगी सधैँ दर्दमा बित्यो
गर्जमा बित्यो,अर्जमा बित्यो
टाढिए खुसी,सानसौकत
निम्न,निम्छरो वर्गमा बित्यो
भोक,प्यासले पिल्सियो तन
दुक्ख सम्झिँदै चर्नमा बित्यो
खोट लाइयो योगदानमा
सच्चरित्रता मर्ममा बित्यो
मन्द भो निकै आय आर्जन
काटछाँटको खर्चमा बित्यो
चाहना थियो पूर्ण चाँदनी
मेघ उर्लिंदा अर्धमा बित्यो
हेपिॅदै गए शुद्ध चिन्तना
बात ज्ञानको टर्रमा बित्यो
पुग्न लक्षमा भो अशम्भव
ज्यान कष्टको गर्तमा बित्यो
तुच्छ ठानियो रत्न लोकमा
लाग्छ साधना व्यर्थमा बित्यो
सासना बढे भाग्य टेढिॅदा
रोज धूर्तको घर्षमा बित्यो
मूक भैदियो दैव हर्दम
ध्यान मूककै अर्घमा बित्यो
छैन बिल्कुलै चित्त “कोमल”
पीर तापको नर्कमा बित्यो
द्रुता छन्द
५ मा विश्राम