उर्लिरहन्छु


मायाको मेरो बिम्ब
ढक ढक गर्ने धडकन
हर पल तिम्रो कामुक दृष्टि
क्षितिजको किनार भेट्न
आकाश समेट्न प्रयासशील म
त्यो उज्यालो जाज्वल्य मुस्कान
सुन्दर लज्जालु मुहार
सेताम्य बादलको पर्दा भित्रबाट
तिमी लुकामारि खेलीरहन्छौ ।

मसँग
मेरो आँखाबाट लुकेर
हर रात चिहाई रहन्छौ
मेरो हरेक पर्खाईमा
रक्ताम्य गोधुली साँझ
अंधकारमा म मुर्छित हुन्छु
बिहानीको उज्यालोसँगै
सल्बलाउँदै  बिउँतिन्छु
तिम्रो खोजीमा ।

हर पल ,
हर घडि ,
म पूर्ण चन्द्र रात्रिको
पर्खाईमा हुन्छु
जब तिमी उदाउँछौ
मेरो तन मन प्रफुल्लित बन्छ
तब ,तिमीसम्म पुग्न
गगनचुम्बी सामुद्रिक छाल बनि
भररात , अबिरल उत्सुक्तामा
पूर्णिमाको रातमा अनवरत
तिमीलाई स्पर्श गर्न
प्रकाशको छालमा तरंगीत हुँदै
शून्य आकशमा म
छचल्किंदै उर्लिरहन्छु !

Add a Comment

Your email address will not be published. Required fields are marked *