कथा: आई लव यू हनी !

“टि र्र र्र।‘। “ अलार्म लाग्छ। बिहानको ५ बजेको रहेछ। माला उठेर बन्द गर्छिन्। आज उठेदेखि नै मालालाई काम जान मन छैन । यस हप्ता तिन दिन लगालग १३ -१४ घण्टा काम गरिसकेकी छन्। त्यसैले उनी , आज असाध्यै थाकेकी छन् । फेरि छोराछोरीहरुसँग समय दिन र खेल्न नपाएको पनि निकै भएकोले उनलाई घर नै बसुँजस्तो लागिरहे छ । तर आजकल उनको अस्पतालमा काम गर्ने नर्सहरुको कमी छ । थप कामका लागि अनुरोध आईरहको पनि थियो । त्यसैले थप काम गर्छु भनेर सुपरभाइजरलाई भनिसकेकी थिईन् । थप काम गर्दा ओभर टाईम हुने र अलिकता राम्रो तलब पनि पाइने भएकोले उनले थप काम गर्नलाई राजी भएकी हुन् । फेरी काम गर्छु भनिसकेपछि, धोका पनि त दिन मिलेन । मालालाई यस पटक एक,दुई दिन ओबरटाईम काम गर्नु पर्ने भएको पनि थियो । जसले गर्दा भर्खर छोराको जन्मदिनमा गरेको थप खर्चको पूर्तिले घरको बजेटमा राहत हुने थियो ।

गत हफ्ता, मालाले छोरा जयको ७ वर्षको जन्मदिन धुमधामले मनाई दिएकी थिइन् । प्राय जसो माला सानो र आफ्नो परिवारसँग मात्र जन्मदिन मनाई दिने गरेकी थिईन् ।तर गतसाल देखि छोराको ढिप्पी थियो -“आमा यो बर्ष मेरो जन्मदिनमा, म ” स्पाईडर म्यान” बन्ने । मेरा सबै साथीहरुसँग, इसानको (जयको साथी) जस्तो पार्टी पनि गर्ने, हस् ?”

उनले पनि “हस् ” भनेकी थिईन् ।

विचरा जयले पनि भव्य जन्मदिन मनाउन किन रहर नगरोस् त ! आजकाल धेरै जसो साथीहरुको जन्मदिन ठुला-ठुला पार्टी प्यालेसहरुमा खर्चिलो र भव्यताका साथ मनाएको उसले देखेको छ । साथीहरुले थुप्रै राम्रा राम्रा उपहारहरु पाउने गरेका थिए । साथीहरु भेट हुँदा तडक-भडककासाथ आफूले पाएको उपहारको कुरा गर्थे । उनीहरुको तडक-भडक महिनौं आघि देखि हुन्थ्यो भने जन्मदिन सकिएको पछि पनि कैयन दिनसम्म त्यही कुरा चलिरहेकै हुन्थ्यो । बाल सुलभ न हो उसलाई पनि अरुजस्तै जन्मदिन मनाउन इच्छा आउनु स्वाभाविक नै हो ।

मालाले पनि यसपटक छोराले रहर गरेअनुरुप नै जन्मदिन केटाकेटिहरु खेल्ने ठाउँमा लगेर मनाइदिएकी थिइन् । जयले भनेका सबै साथी हरुलाई बोलाएर उसलाई पनि “स्पाईडर म्यान” पोशाकमा सजाएर जन्मदिन भव्य तरिकाले मनाई दिएकी थिइन् ।

घरमा कमाउने उनी मात्र थिइन् । माहामारी सुरु भए पछि, श्रीमान ६ महिनादेखी “ ले अफ” मा परेका थिए । त्यसैले आजभोलि मालालाई घरखर्च जोगाएर चलाउनु पर्ने हुन्छ । उसको जागिरको आयले साधरण घरखर्च राम्रोसँग पुक्छ। प्राय: उनलाई घरखर्चका लागि ओभर टाइम काम गर्नु पर्दैन । तर कहिलेकहीं भने नियमित बजेटबाट बाहिर खर्च भयो भने ओभरटाईमको सहारा लिए आफ्नो आय स्रोतलाई सन्तुलनमा राखेकी छन् ।

आज ,माला अल्छी हुँदै काममा जाने तैयारी गर्न लागिन् ।

सानी छोरीको ,बिहान-बिहान आमा काममा जान तैयार हुन लागेको देखेपछि गनगन सुरु हुनेगर्थ्यो । आमा काममा गएको मालाकी ५ बर्षकी छोरी मायालाई पट्टकै मन पर्दैन । आमा उठेको ऊ आघि नै चाल पाउँथी र अघिपछि लागेर लुगा समाएर रुन लाग्थी ।

“आमा म पनि जाने,आमा तिमी नजाउ “ आदि इत्यादी उस्को गुनासा हुन्थे ।

आईप्याड दिएपछि सानी माया फुरुङ्ग भएर भुल्थी र फकिने गर्थी । त्यसपछि श्रीमान जितेन्द्रलाई उठाएर छोरी उठेको खबर गरेर उनी काम तिर लाग्ने गर्थिन। उनको प्राय: दैनिकी नै यस्तो हुन्थ्यो ।

मालालाई लाग्छ आजकालका साना नानिबाबुहरु “आईप्याड” बिना त भुल्याउन नै नसकिने भएको छ । तर यो दोष छोराछोरीको भन्दा आफ्नै होजस्तो लाग्छ । किनकी आजकल आमाबाबुलाई छोराछोरी भुल्याउने समय नै कहाँ छ र ? त्यसैले यान्त्रिक सहयोग लिन जरुरी बनाएको छ ।

बाटोभरी,ओभरटाईम काममा कुन युनिटमा होला सोच्दै हिडेकी छन् । घरबाट काममा पुगेपछि घरका कुरा घरमै छोडेर हिड्नु पर्नेछ। काममा त परिवार सोच्ने उस्तो फुर्सद कहाँ हुन्छ र ? ओभरटाईममा पहिले आफूले नियमित काम गरेको युनिट पाएला भन्न पनि छैन। अर्को युनिटमा काम गर्न धेरै जसो नर्सहरुले गाह्रो मानेका हुन्छन् । माला जुनकुनै युनिटमा कम गर्न सक्षम छन् । तैपनि उनलाई आफूले काम गरिरहेको ठाउँजस्तो सजिलो अर्को युनिटमा पक्कै लाग्दैन।

अस्पताल पुगेर माला आफूलाई छुट्टाइएको ‘असाईन्टमेन्ट’ लिन इन्चार्ज नर्सकोमा पुग्छिन् । आजको असाईन्टमेन्ट ‘आई सि यु’ मा जान पर्नेरहेछ । आफूले पाएको असाईन्टमेन्ट लिएर आई ‘आई सि यु’ मा पुग्छिन । उनलाई २ जना बिरामी परेका थिए । कोठा ३ मा एक २४ वर्षकी महिला १ बजे बिहान भर्ना भएकी रहेछिन् भने कोठा ५ मा ६५ वर्षका पुरुष स्ट्रोक भएर २ दिन अगाडि भर्ना गरिएको रहेछ।

माला ‘नाइट ड्युटी;मा रहेको नर्सबाट बिरामीको विवरण लिन्छिन् । ६५ वर्षका बिरामीको अवस्था सन्तुलन भएको र घर जाने योजना रहेछ । त्यसैले कोठा ३ मा जान्छिन। २४ वर्षकी महिला भेन्टिलेटरमा राखिएको थियो। बिरामीको अन्तिम समय नै होकि भनेर राति काम गर्ने नर्सले सचेत गराएकी थिईन्। कलिलो सुन्दर अनुहार आँखा चिम्लिएको , कपाल कैलो लामो सिरानेबाट बाहिर मिलाएर राखिएको थियो,लाग्थ्यो उनी चिर निद्रामा छिन्। उनको फोक्सोले कामनै नगरेपछि भेन्टिलेटरमा राखिएको रहेछ। मालाले बिरामीको आवश्यक जाँच गरिन् , दिनपर्ने सबै औषधी र ‘सलाइन’ पनि फेरिन् र बिरामीलाई सफासुग्घर गरेर बाहिर निस्कन लागिन्। बाटोमै बिरामीका एक पुरुष आफन्त आईपुग्छन् । बिरामीलाई देखेर रुन लाग्छन् । उनी असाध्य नाजुक र थकित देखिन्थे ।

“ मेरो नाम माला हो “ तपाई बिरामीको को हो ? नरुनुहोस” भन्दै ;टिस्यू पेपर’ को बक्स उनीतिर बढाउँछिन् ।

“म डेभिड ” आईरिन मेरी श्रीमती ” भन्दै उनी आँसु पुछ्दै र धन्यवाद भन्छन् ।

मालालाई के भनुँ , के नभनुँ हुन्छ। बिरामीको हालत नाजुक थियो । ठिक हुन्छ , धन्दा नमान्नु आदि इत्यादि केही भन्न सक्दिनन् । भनुन् त कसरी,बिरामीको अवस्था राम्रो थिएन ।

“तपाईंलाई मैले आहिले के सहयोग गर्न सक्छु ? डाक्टरसँग बोल्न चाहनु हुन्छ ? मन दरो पार्नुहोस र” भन्न बाहेक केही कुरा गर्ने सकिनन् ।

“पर्दैन” । डेभिड आफ्नी श्रीमतीको खाटको छेउमा भएको स्टुलमा बसेर श्रीमतीको हात सुम्सुम्याउँदै भन्छन् “मलाई माफ गर आईरिन, तिमीलाई मैले बचाउन सकिन ।” डेविड झनै भक्कानिन लागे ।

माला यिनै सब दृश्य हेरर निशब्द रहन्छिन्। उनलाई डेभिडको माया लगेर पनि आउँछ । डेबिड रुँदै २ बर्ष अगाडि आईरिनसँग आफ्नो भेट भएको कुरा सुनाउन थाल्छन्- “ यिनी असाध्य मायालु छिन् , माला ।”

डेभिडले मनका कुरा सुनाएर हल्का हुन् खोजे,माला महसुस गर्छिन् ।

माला हातको घडी हेर्छिन,कोठा ५ को बिरामीको त्यस समय केहि गर्न पर्ने थिएन ।
डेभिडको छेउमा गएर, कुरा सुन्ने विचार गर्छिन् । मालालाई लाग्छ यो समय डेभिडको कुरा सुनिदिनु नै केहि सहयोग हुने छ । नर्स भएपछी बिरामीहरुका आफन्तका पनि कुरा सुन्नु पर्ने हुन्छ ।

“तपाईहरुको २ बर्ष अगाडि कहाँ भेट भएको थियो ?”

डेभिड आँसु पुछ्दै भन्छन् “ साथीको बिहेमा,आईरिनलाई मैले भेट्दा घाँटीको क्यान्सरबाट मुक्त भएको एक वर्ष भएको रहेछ । मलाई उनि देख्ने बितिकै मन पर्यो। हामी त्यसपछि भेट्न लाग्यौं । मैले उनीलाई मन पराएको र बिहे गर्ने कुरा गरें तर उनले आफ्नो रोगको कुरा गरेर,मेरो प्रस्ताव अस्विकार गरिन्। मैले नै ढिप्पी गरें । भन्दै थिइन् उनलाई कुनै बेला पनि क्यान्सर फर्कन सक्छ।

“फर्केर आए के भो र फेरि औषधि गरेर भगाउँला नि”, भनेर मैले नै बिहेको गर्न कर गराएँ । सबै कुरा राम्रो थियो। दुई बर्षसम्म क्यान्सर देखिएन। हामी खुसी थियौं र परिवार बनाउने योजना गर्यौं ।

बच्चा पनि हुने भयो,सबै राम्रो थियो। बच्चा गर्भमा भएको पनि छ महिना काटेको थियो। एक दिन सास फेर्न गाह्रो भएर जचाउन गएको क्यान्सरले त सबैतिर आक्रमण गरिसकेको भेटियो । उनलाई निकै भित्र भित्रै गाह्रो भएको रहेछ । डेभिड नारोकी भन्दै गए ।

“हुन् त, हामीलाई डाक्टरहरुले सचेत गराएका थिए, कलिलो उमेरमा हुने क्यान्सर घातक पनि हुन् सक्छ भनेर। र चाँडै फैलने सम्भावना पनि हुन्छ । तर यति चाँडो होला भन्ने विश्वास लागेन।”

“उनलाई आफूभन्दा बच्चा बचाउन के गर्न सकिन्छ भन्ने चिन्ता थियो। मलाई उनलाई कसरी बचाउन सकिएला भन्ने थियो । उनको त समय नै रहेनछ । बडो कठिनका साथ उनको दिन बित्यो, क्यान्सर बढ्न नदिनलाई किमो र रेडिएसन पनि लगाउन पाइनन्। गर्भको बच्चालाई असर पर्ने सम्भावना थियो। जसो तसो गरेर उनीले ७ महिना कटाईन।”

“आज बिहान १ बजे छोरी जन्मी, उनैजस्तै छोरी छिन् । महिना नै नपुगी जन्मेको भएर नर्सरीको भेन्टिलेटरमा राखेको छ। यता आईरिनलाई पनि राख्न पर्यो ।
आईरिनलाई त भेन्टिलेटरबाट बाहिर ल्याउन नसक्ने अवस्था छ भन्छन् डाक्टरहरु । अब हामी परिवार सल्लाह गर्न उनका बाआमा डालासबाट आउँदैछन्।” डेभिडले सबै कुरा एकैचोटी नरोकी सुनाए।

अनि आईरिनको हात समाएर आँसु चुहाउँदै डेभिड एकहोरिएर उनको अनुहारमा हेरीरहे ।

मालासँग बोल्ने केही शब्दै आएन, मन भारी हुन्छ तर बाहिर डेभिड झैँ आशु झार्न उनको पेशाले अनुमति दिएको हुँदैन । उनलाई कतिखेर बाहिर गएर आँसु झारुँ जस्तो लाग्छ ।

मालाले ति युवा दम्पतिलाई एकान्त दिने बिचार गर्छिन र भन्छिन “ डेविड तपाईंलाई कफी ल्याउँ ?”

डेविड- “ पर्दैन भर्खर खाएको , धन्यवाद ।”

तपाईंको परिवार सल्लाह भएपछि थाहादिनु होला, म अब अर्को बिरामी हेर्न जान्छु । केही चाहियो भने,मलाई यो बटन दबाउनु होला,म आउने छु । माला कल लाईट दिएर निस्किन्छिन् ।

मालालाई डेभिडको कुरा सिनेमा जस्तो लाग्छ। यथार्थतमा पनि यस्तो पनि दर्दनाक प्रेम कथा हुँदोरहेछ र एक प्रेमीको अन्त होलाजस्तो उनको सोचमा थिएन ।

माला बाथरुम जान्छिन्। ऐनामा हेर्दै आँसु बररर झार्छिन्। आँसु पुछ्दै आफ्नो श्रीमानलाई सम्झन थालिन् । उनीहरुको बिहे ९ बर्ष अगाडी भएको थियो । जितेन्द्र र माला एकै कलेजमा पढेका थिए। बिदेशी बिद्यार्थी भएका नाताले इन्टरन्यासनल स्टुडेन्ट मार्फत गरिने एक कार्यक्रममा उनिहरुको भेट भएको थिय। जितेन्द्र भारतका नागरिक र आइटीका दोस्त्रो वर्षका बिद्यार्थी थिए। माला पहिलो वर्षकी बिद्यार्थी थिईन। भर्खरै नेपालबाट आएको बेला,जितेन्द्रले सुरुबाट नै नयाँ ठाउँमा सर-सहयोग गरेका थिए। माला पछि जितेन्द्र नभई केही गर्न नसक्ने भएकी थिइन्। जितेन्द्र पनि मालालाई सहयोग गर्न मन गर्थ्यो। दुवैले जागिर खान सुरु गरे। दुवैका बाबा आमाहरुको सहमतिबाट प्रेम बिबाह भएको थियो। मालालाई आफ्नो पनि प्रेम भएर बिहे भएको याद तस्बिर झैँ आँखामामा आउन लागे। आज मालालाई आफ्नो श्रीमानलाइ झनै माया लागेर आयो। अहिले नै गएर अँगालो हाल्न पाए हुनेजस्तो लग्यो ।

माला गोजीबाट फोन झिकेर “ I LOVE YOU HONEY” पछि कुरा गरौंला है, म अहिले व्यस्त छु” भनेर म्यासेज पठाउँछिन् र कोठा नम्बर ५ तिर लाग्छिन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *