जेलबाट चीन देखाउने रुइबा
|अबको एक वर्षपछि सन् २०२३ अगष्टमा चीनको सिचुवान प्रान्तस्थित एउटा जेलबाट कुनै चरी भुर्र उडेर नेपाल पुगिन् भने बुझ्नुपर्छ लेखकले वास्तविकता नखोलेर पाठकलाई कम पीडा दिन खोजेका रहेछन् ।धादिङको विकट गाउँ पावाङबाट हिमाल पार गरेर भाषिक तथा आत्मिक विकटतातर्फ होमिनु सानो पीडा होइन।हुन त नेपालमा दूरदराजबाट काठमाडौं खाल्डोसम्म नपुग्दै सिधासादा नेपालीले अनेकन उल्झन बेहोर्नुपर्छ भने परदेशमा कम्ता शास्ती खेप्नुपर्दैन।
कथाको उत्पत्ति धादिङको विकट पावाङमा जन्मिएकी पात्र न्याउलीको सुदोपन र तामाङ्गी लवजबाट हुन्छ। न्याउलीको सुन्दर सपनाको पालुवा पलाउन नपाउँदै चुँडिएपछिको कहाली लाग्दो यात्रा चीनमा पुगेर टक्क रोकिन्छ।
पिछडिएको गाउँ, पिछडिएको जाति, शैक्षिक रुपमा पिछडिएकी युवती, आर्थिक रुपमा पनि पिछडिएको जिन्दगी यस्तै यस्तै पिछडाहरूका पिँजडामा परेकी युवतीको दर्दनाक कहानी भेटिन्छ, चेतनाथ आचार्य रचित रुइबा नामक उपन्यासमा। न्याउलीको दुःसाध्य जीवनको पटाक्षेप ऋण काढेर मलेसिया पुगेका श्रीमान्को उतै मृत्यु हुन्छ। रातो बाकसमा फर्किने अवसर पनि पाउँदैन उसले। दलालको जालसाजीका कारण ऋणका अलावा लाशको क्षतिपूर्ति पनि नपाउँदाको अर्को अवस्था छ। एउटा दलालले न्याउलीको एउटै सहारा भनिने व्यक्तिलाई टन्न सम्पत्ति कमाउने प्रलोभन देखाउँदै परदेश पठाउँछ भने बाँकी अन्य दलालहरुले उनलाई काठमाडौंमा नारकीय जीवनतर्फ धकेल्छन्। काठमाडौं त्यतिखेर नरकजस्तो बन्छ जतिखेर चिनजानका मानिसले काम लगाइदिएको होटलबाट निस्केर मरणासन्न बच्चाको उपचारका लागि निस्किने समय हुन्न र साहुनीका क्रूर वचनवाणीले आहत हुनुपर्ने हुन्छ। यस्तै यस्तै आहतहरुबाट बचाउने वाचा गर्दै कसैले अबैध चीज बोकाएर हिमाल कटाएपछि न्याउलीको एकांगी जीवन प्रारम्भ हुन्छ।
प्रारब्ध नै मान्नुपर्छ, विश्वको दोश्रो ठूलो अर्थतन्त्रमा न्याउलीको प्रवेश सहजै हुन्छ। बौद्धिकता, शैक्षिक योग्यता, व्यावसायिकता केही पनि छैन तर जालीको जालोमा परेर न्याउलीले वैदेशिक यात्रा थाल्दछे। कथाको आधाभागमा नेपालको तामाङ जातिको सामाजिक, आर्थिक अवस्था छताछुल्ल हुन्छ। पढ्दै जाँदा कतै यस्तै अशिक्षा र अभावले आफ्नो जीवन पनि रसातलमा पुग्ने हो कि भने त्रासले पाठकलाई झसङ्ग झसङ्ग बनाइरहन्छ। भलै लेखकले नै सत्य वा काल्पनिकता छुट्याउने जिम्मेवारी पाठकमा छोडिदिएका छन्। कालान्तरमा पुस्तकमा भनिएजसरी बन्दी महिला सजाय पूरा गरेर बाहिरी दुनियाँमा निस्किएपछि कथा सत्य घटनामा आधारित थियो भनेर लेखकले अर्को पुस्तक निकाल्छन् होला?
रुइबामा कानुनका छिद्र केलाउने प्रयास गरिएको छ। कडा कानुनी प्रणाली रहेको चीनमा कुनै अपराधको फन्दामा पर्दा कसरी आजीवन कारावासले जीवन बच्न सक्यो भन्ने कौतुहलता मेटाउन खोज्छ। जेलभित्रबाट चीन चियाउन सजिलै सकिन्छ।
पुस्तक पढ्दापढ्दै पाठकका आँखा रसाएनन् भने तपाईं सच्चा भावक होइन भन्ने प्रमाणित हुन्छ। नेपालमा गरिबीका दुश्चक्रमा परिरहेका वर्गको चित्रण गरिएबाट अभावमा मानिसले कस्ता कस्ता सम्झौता गर्न विवश हुन्छ भन्ने पुष्टि हुन्छ।
रुइबा उपन्यासले नेपाली सामाजिक तथा आर्थिक गाँठोमा कसिएका थुप्रै प्रश्नहरुको गुजुल्टोलाई असरल्ल पारेको छ। रेमिट्यान्सले देश चलेको बेला मान्छे बेच्ने दलालहरु नेपालका दुरदराजसम्म कसरी पुगेका छन् भन्ने कुराको उठानबाटै उपन्यास सुरु भएको छ।
काठमाडौँ वरिपरी तामाङ जातिको बसोबास छ। त्यहाँका चेलीबेटी पहिलेदेखि नै मुम्बईको कोठीमा बेचिन्थे भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो। तर मान्छेको ब्यापार मुम्बईमा मात्र होइन खाडी मुलुक, मलेसिया हुँदै हिजोआज युरोप र अमेरिकासम्म फैलिएको छ। त्यति मात्र कहाँ हो र? गाउँका मान्छे त काठमाडौँ खाल्डोमै बेचिन्छन् भन्ने कुरालाई रुइबा उपन्यासले उजागर गरेको छ।
देशको राजधानी सहर भएर पनि काठमाडौँमा मानवीयता मर्दै गरेको कुरा बेजोड तरिकाले रुइबाले ओकलेको छ। काठमाडौँको स्वार्थीपन यस्तो छ, कि एउटै घरको एउटा कोठाबाट लाश निकाल्दै गर्दा अर्को कोठामा बिहेको रमझम जमिरहेको हुन्छ। काठमाडौँ उपत्यकासँग लेखकको यतिविधि वैरभाव छ कि उनले न्याउली पात्र मार्फत काठमाडौँलाई यसरी चित्रित गरेका छन् -‘अँध्यारोमा सिनो खाने गिद्दहरुको गुँड रहेछ काठमाडौँ। … मान्छेको खोलभित्र रहेका राक्षसलाई कसरी चिनौँ? दुई खुट्टे पशुको रजाइँ गर्ने ठाउँ हो र सहर ?’
उपन्यास पढ्दै जाँदा लाग्छ काठमाडौमा असल मान्छे नै बस्दैनन्। सेते, बिमला साहुनी, गालामा कोठी भएको सुकिलोमुकिलो बलात्कारी, उद्दार संस्थाको आवरणमा धन्दा चलाउने देवी र दया, महिलाका हकअधिकारको भाषण गर्ने नेता सबै भिलेनहरुको भीड हो काठमाडौँ। अवगालबाट बच्नका लागि विकास भाइ, नेत्र दाइ, गोंगबूमा सादा व्यापार गर्ने साहु र साउनी बस् त्यति हुन् मान्छेका रुपमा।
रुइबा उपन्यासलाई हेर्ने दृष्टिकोण विभिन्न होलान्। न्याउलीको दुःखैदुःख र कारुणिकतामा घुमेको महिलावादी कृति, नेपालको सामाजिक तथा आर्थिक चित्र बोकेको यथार्थवादी उपन्यास, राज्यसत्ताको बेवास्तामा पिल्सिएको एउटा जातिको दारुण अवस्था, लागूपदार्थको तस्करीमा लेखिएको पहिलो किताब, नेपाली र चिनियाँ संस्कृतिलाई एकै पोको पारिएको खजाना, सिमान्तहरुको साझा कहानी।
नेपाल र चीनसँग जोडिएका अधिकांश पुस्तकहरु कूटनीतिक सम्बन्धमा केन्द्रित छन् तर चिनियाँ जीवनशैली, चिनियाँको सोचने तरीका, कम्युनिष्ट मुलुकप्रतिको केही भ्रम चिर्न यो पुस्तक सफल देखिन्छ। पुस्तक पढेपछि लाग्छ, चीनमा परिवन्दमा पर्दाका क्षणहरु भाषिक कठिनाइले कतिसम्म तिल पनि पहाड बन्छ।
रुइबा चाहिँ चिनियाँ जेलबाट चियाइएको सानो संसार हो भन्दा अत्युक्ति नहोला। उपन्यासमा चीनको वर्णन गर्दा चीनका अग्ला भवन, फराकिला सडक, तीब्र गतिको रेल केही भेटिँदैन। भेटियोस् पनि कसरी यो त एकजना बन्दीको दर्दनाक कहानी न हो। बन्दीका लागि जता फर्किए पनि पर्खालै पर्खाल। उज्यालोका रुपमा देखिने आकाश मात्र।
तर, १६ वर्षदेखि बन्दी जीवन बिताइरहेकी पात्रले पनि आखिर चीन चिन्दिरहिछ भन्ने कुरालाई लेखकले निकै सिपालु तरिकाले प्रस्तुत गरेका छन्। चिनियाँहरुका आनीबानी, चाडपर्व, संस्कृति, समाज, कानुन सबै कुरालाई विभिन्न प्रसङ्गमा उपन्यासमा उनिएका छन्। आम नेपालीले चीनका बारेमा कल्पनै नगरेका विषय पनि उपन्यासमा राखिएका छन्। चीनमा आइफोनका लागि बच्चा बेच्नेदेखि महिलाहरुले शारीरिक सौन्दर्यमा केकस्ता हर्कत गर्छन् भन्ने कुरा पनि पाठकले थाहा पाउँछन् रुइबा उपन्यास मार्फत।
बन्दीहरुमा हुने नोकझोकसँगै आस्था र विश्वासका कुराले उपन्यासलाई निकै गहन बनाएको छ। न्याउलीले बाल्य अवस्थादेखि नै आफ्नी आमा र लामाबाट पाएको शिक्षालाई कहिल्यै कम हुन दिँदिन। जस्तोसुकै दुःख र कष्ट परे पनि उनको आस्था डगमगाउँदैन। अनि उनको त्यस्तो आचरणबाट जेलर पनि प्रभावित हुन्छन् र न्याउलीमाथि धेरै सहानुभूति राख्छन्।
भविष्यमा रुइबाले नेपाल चीन सम्बन्धको केही आयाम कोर्न पनि सक्ला वा लेखकको उत्साहले अर्को कृति जन्माउन पनि प्रेरित गर्न सक्ला। लेखक प्रकाशक दुवैलाई शुभकामना।
Thank you very much Lamxi Lamsal for beautiful review and Nepali post to publish.