अन्त्य
|करिब ३ वर्ष अगाडिको कुरा हो, म भर्खर सामाजिक संजाल टुइटरमा आएको थे, त्यसै क्रममा अकस्मात् एक जना नेपाली युवतिले बेलायतबाट मेसेज गरिन्, म अचम्मित भएँ, हाम्रो वार्तालाभले बिस्तारै प्रेमको रुप लियो, हामी दुई पृथ्वीको बिपरित ध्रुवमा बस्थ्यौं, तर समयको ब्यबस्थापन गर्न थाल्यौं, उनी कामको बेला बाहेक अरु समय मसँग कुरा गर्थिन्, म पनि केही घडी ढिला सुत्थे, विहानै उठ्दा मेसेज आइरहेको हुन्थ्यो । यसरी नै प्रेम चलेको थियो…फेरि बिस्तारै हाम्रो बिचको वार्तालाभ रोक्किदै गयो…पछि त लगभग बन्द नै भयो, उनी नेपाल फर्किएर बिहे गरिछन्…पछि उन्ले नै जानकारी गराइन्….त्यसपछी मैले उन्लाई बिर्सने अठोट-प्रयत्न गरेको थिएँ, हुन त उनी संजालमै भेट भइन र अस्ताइन पनि तर प्रेम कदापी अस्ताएन….
“जबसम्म प्रेमको हरियाली
शिशिरमा परिणत हुदैन,
जबसम्म हुरिले
गर्ल्याम्म प्रेम ढल्दैन,
तबसम्म तिमी
यादको पात बनेर फिर्फिराउने छौ ।”
“अनि…
प्रेम पात जस्तै रहेछ, रुखको लागि अति महत्वपूर्ण तर आफैमा अति अभागी म जस्तै…
हरेक शिशिरमा चुडिएर झर्नु पर्ने अनि हरेक बसन्तमा मुनाउनु पर्ने मेरो मुटु जस्तै”…
नेपालमा संविधान जारी भए पश्चात् मैले फेरि अर्को प्रेमको महसुस गर्ने सु-अवसर प्राप्त गरें, त्यो पनि संजालबाटै, जब अघोषित नाकाबन्धी लाग्यो त्यो बेला मेरो जीवन वसन्तमय बन्यो, प्रेमको वसन्त आयो, प्रेम पलायो, यादहरु झरे… एउटा ट्वीटमा गरिएको मेन्सनले हामिलाई अति नजिक बनायो…जबकी आपसी प्रेमसम्म भयो,
मनमा आशंका जिवितै थियो,
“हाम्रो प्रेम,
मनको चौतारीमा सर्ला नसर्ला
जराहरु सागर पुग्लान् नपुग्लान्
अनि शितलता देला नदेला
एक झर वर्षा थेग्ला नथेग्ला
बूढो वर-पिपलले जस्तै”….
उन्को र मेरो घर-घरमा कुरा पनि चल्यो, मेरो बारेमा उन्का घरमा थाह थियो अनि उनका बारेमा मेरो घरमा, उनका एक-दुई जन्मदिनमा म आफैं सामेल भएर शुभकामना पनि भनेको थिएँ । त्यो बेलाको उनको चाहातलाई हेर्ने हो भने आज म त्यो ठाउँमा हुने थिए, जुन ठाउँमा आज उनको श्रीमान् विराजमान छन् ।
चाहानाहरु कसरी मर्छन मनमा ? यो मेरो प्रश्न हो उनको लागि….तर उत्तरको अपेक्षा भने राखेको छैन मैले, किनकि उनको दाम्पत्य जीवन शुखद बितेकै हेर्नू पर्छ मैले…उनीलाई त मैले माया पो गरेको थिए ।
यो क्रम रोक्किएन, प्रेम-पीडा संजालले दिई नै रह्यो तर पनि म संजालबाट बन्चित/टाढा बन्न सकिन यो नशा बनेर मात दिलाईरहन्थ्यो मलाई, यहि क्रममा अर्किले फेरि मलाई नै प्रेम गरेको कुरा सुनाईन म मा विल्कुल रहर हराएको थियो, लाग्यो मैले पारपाचुके गरेको छु प्रेम सँग, न महसुस गर्न चाहान्छु न भेट्न नै यसलाई ….
उनी बारम्बार बोलाउथिन, म बोल्थे तर कहिले प्रेमसाथ कहिले क्रोधले, मलाई मनमा थियो अब प्रेममा बुर्कुसी मार्नु छैन, कुनै दिन लामै कुरा हुन्थ्यो, उनले मैले बेवास्ता गरेको दुखेसो पोख्थिन र रुन्थिन यो अवस्थामा अकस्मात् मनमा प्रेम उब्जन्थ्यो, आफुलाई चाहानेलाई नै प्रेम गर्नुपर्छ भन्ने पनि लाग्थ्यो, उनलाई फकाउथे …प्रेमको ढाडस दिन्थे । उनी सोध्थिन् म बिहे गरु कि लिन आउनुहुन्छ ? यो मेरो लागि बढो असहज प्रश्न बन्थ्यो, म विवाहको संग्राममै नफसु भन्ने सोचिरा हुन्थे, घरमा सल्लाह नै नगरि कसरी लिन आउनु ? तिम्रो र मेरो सम्बन्धले दुई परिवार बिच फाटो ल्याएको राम्रो हो र ? मेरो जवाफ यस्तै हुन्थे, उनले मेरो कुरालाई कसरी लिन्थिन त्यो थाहा छैन, तर म बिस्तारै उनीप्रती सकारात्मक बन्दै गएँ…..एक रात अबेरसम्म कुरा भयो, मैले घरमा कुरा चलाउने र उन्को र मेरो बिहे हुने नहुने निर्णय उनलाई सुनाउने….
भने मुताविक नै कुरा भयो… मामुले अस्विकार पनि गर्नु भएन, त्यो कुरा सुनाउन आतुर थिए म तर उन्ले मेरा कुराहरुलाई असहज रुपमा बुझिन् ,…मैले अब उनलाई शुखद भविष्यको शुभकामना दिनु बाहेक अरु कुनै विकल्प देखिन, र पर जान चाहेको प्रष्ट धारणा राखें, यति उन्ले मेरा मेसेज पढिन पढिनन् त्यसपछिका कुनै मेसेज पनि गएन, म ब्लक भएँ ।
“अक्सर,
सम्बन्धहरु चरा जस्तै हुन्छन्
जति बेग हाने पनि साँझ गुँड फर्कनु नै पर्छ
तिमी पनि त्यो दिन देखि मेरो मुटुलाई गुँड बनाएर
ओथारो बसेकि छौं।”
आखिर यी ब्यथाहरु कसैलाई दन्त्य कथा होलान् तर मेरो जीवनमा भएका प्रेमको एक दुखद् अन्त्य पनि त हो । “प्रेम उसैलाई गर्नुस जोसँग जिन्दगी बिताउन सकिन्छ, समय बिताउन त खेलौनाहरु पनि पाइन्छन ।”
द्रष्टव्य:-
पात्र: म
अरु सब काल्पनिक