मेरो यात्रा: कथा मान्छेहरुका (भाग १)
|मलाई यात्रा असाध्यै मन पर्छ, त्यसमा पनि लामा बस यात्राको छुट्टै मजा छ। आखिर हरेक व्यक्ति आफैंमा एउटा कथा हो। लाग्छ मेरो जीवनका कैयौं कथा यिनै सडकका सेरोफेरोमा अनगिन्ती स्मृतिहरुका रुपमा छरिएका छन्। विद्यार्थी कालमा र पछि जागिरका भागदौडका क्रममा धेरै बस यात्राका गरेको छु। म तिनै ससाना कथाहरुको संगालो हुँ। म अलिकति पाँचथरमा बसको झ्याल बाहिरकी गुराँसको एक झुप्पा फूल बेच्ने त्यो सानी नानीको निर्दोष मुस्कान हुँ, अनि हुँ अलिकति ढल्केवरमा “नारियले” भन्दै कराउने हकरको आवाज पनि, म अलिकति ति असहाय आमाको रोदन पनि हुँ जसको काखको बच्चो बुटवल पर बसमै अस्ताएको थियो । जब बसले हरेक किलोमिटरको दूरी पार गर्छ, म यस्तै यस्तै ति टुक्रे स्मृतिहरु जोडिँदै आएर यात्रा सिध्दिंदासम्म पुन: सिंगो भए झैं अनुभूत गर्छु ।
बसभित्रकालाई हेर्छु, बाहिर उभिएकाहरुलाई हेर्छु र कल्पना गर्छु तिनका जिउँदा कथा । मेरो कल्पना तिनको वास्तविकताबाट धेरै पर हुन पनि सक्छ, तर किन यस्तो लाग्छ कि म बुझ्छु तिनका कथा। किनकी ति कुनै पूर्वघटित नाट्यका पुनर्पटाक्षेपहरु हुन् र मेरा कल्पना केवल कल्पना हैनन्, मैले पहिले नै देखेका घटनाहरु दोहोरिएका हुन, र यो पनि लाग्छ कि ति कथा म आफैं हुँ।
यी दृश्यहरु, यी गाउँका शुस्त र शान्त क्षितिजहरु जहाँ, लाग्छ, घडीका सुईहरु नै एकदम ढिलो चल्छन तर जीवन आत्मिक रुपले समृद्द छ, सपना सानो छ, आकांक्षा सानै छ, र त यी सुखी छन्। अनि म छु यो बसमा सबै अन्जानका बीच एक्लो, र यी सत्यताहरुको साक्षी बन्दै हिँड्दैछु। मानौं यो कुनै ध्यान साधना हो।
त्यसैले त नेपाल जाँदा हरेक पटक कम से कम एउटा लामो बस यात्रा गर्न रुचाउँछु । यो पटक पनि जुराएँ ।
मेरो बगलमै बसेका बुढा मलाई प्रश्नको वर्षा गर्छन, “कताबाट आएको ? कहाँ जाने ? बिर्तामोडमा को छ ?” आदि आदि। मान्छेका निजी कुरामा चासो राख्ने बानी हराएकोले होला, मलाई एकछिन अप्ठेरो लाग्छ तर यो आत्मीयता पनि त हो नि। पश्चिमा देशतिरका रेल यात्राहरु अक्सर निरस रहे, किनकी ति यात्राहरु सभ्य भनिनेहरुका केवल मानव आकृतिहरुले भरिएका हुन्थे, र बिरलै हुन्थे कुराकानी । ति बुढाका आफ्नै कथा थिए । स्थानीय भाषामा बोल्ने तिनका सबै कुरा बुझिनँ तर ति आफ्नो अनाजको पैसा उठाउन यो बस चढेर कुनै ठुलो साहुकोमा जाँदै थिए ।
उनि भन्दै थिए “उखु लगाए पनि पैसा दिन्नन् । मकैको भाउ हमरो बाबुको पालामा जे थियो, आज् पनि त्यही छ । मुस्किल छ, बाबु”।
मैले सोधेँ “अनि अहिले त गहुँको सिजन हैन र, अनि नाफा नदिने मकै नै किन लगाउनु भएको त?”
उनले प्रष्ट्याए “गेहुँको भाउ बढियाँ छ लेकिन चुहा धेरै लाग्छ, बाबु। बाँकी कुछ रहन्न। अनि चुहा खोज्दै सर्प आउँछन। मेरो मझल्का बेटा मरी गो, गोमन काटेछ त्यसलाई”
बुढाका आँखा भरिएर आए।
मलाई एकदम नरमाइलो लाग्यो। मसँग थप कुनै प्रश्न या ‘यस्तै हो’ भन्ने फोस्रा औपचरिकता थिएनन्। म झ्यालबाट पर पर हेर्न लागें ।
बस टुटे फुटेको सडकमा बडेमानको आवाजसहित चन्द्रनिगाहपुरबाट पूर्व हुइँकिरहेको थियो। उत्तरतर्फ सेनाका पंक्तिबद्द लहरहरु जस्तै खडा भएका मकैबारीको दृश्य, अनि तुवाँलोको एक पत्र परतिर लमतन्न खडा सिवालिक पर्वत शृंखला र परबाट ठाउँ ठाउँमा भ्युटावरहरु ठडिएका देखिन्थे । ति पाखाहरुमा जताततै डोजरले खनेका विरूप बाटाहरु देखिए । डोजरले झारेको माटोले गर्दा त्यो पहाड बाघको पन्जाबाट बलै बले फुस्केको तर नंग्राका रक्ताम्य धर्सा बोकेको घाइते मृग जस्तै देखिएको थियो । यी पहाड नेपालको पहिचानका कथा हुन्, तर थाहा छैन कसरी बदलिँदैछन ।
मैले एकपटक बसभित्रै आँखा कुदाएँ । हरेक सिटमा कुनै न कुनै कथाहरु बसेका थिए । मेरो नजिकै थियो एक सानो परिवार। ति धेरै खुशी देखिए। हेर्दा लाग्थे तिनीहरु कमै पैसामा बाँच्छन, तर खुशी नै छन् । पछिल्लो समयमा उसको शरीरमा केही वजन थपिँदा सिलाईबाट उसको कुर्ता अलिकति उध्रिन खोज्दै थियो, तर निकै सफा थियो । हुनसक्छ उसको सबैभन्दा राम्रो लुगाको सेट नै यही हो । ठुलो छोरो ९ वा १० जतिको हुँदो हो । उ सिट भए तापनि त्यहाँ नबसेर उभिएको छ ता कि धेरै दृश्य देख्न सकियोस् । उ आँखा नझिम्क्याई बाहिर हेर्दैछ र प्रष्टै देखिन्छ उसको आँखामा छचल्किएको खुशी। हुनसक्छ, नौलो क्षेत्रमा र त्यति लामो यात्रा तिनको जीवनको लागि पहिलो थियो। म तिनको कथा के होला भन्ने कल्पना गर्दै थिएँ। तराईको कुनै परम्परागत गाउँकी जस्ती देखिने उसकी आमा पनि कम्ता खुशी देखिन्थिन। उ पनि बडो रुचिका साथ हेर्दै थिई ति पहाडी दृश्यहरु। तर उसलाई बाहिरको दृश्यले भन्दा असाध्यै खुशी देखिएको उसको छोराका आँखाहरुले खिचे, र उ छोरालाई नै हेरिरही र एक पूर्ण मुस्कान मुस्काई। खाजा खान बस रोकिएको ठाउँमा तिनीहरु झरे तर सबैजना होटेलमा छिरेनन्। बाबुमात्र भित्र गयो र केही लिएर फर्कियो। उसले तरकारी किनेर ल्याएको रहेछ। आमाले एउटा सानो झोलाबाट चिउरा र काटेका प्याज र खुर्सानी आदि झिकी। तिनीहरुले बडो स्वादले त्यो खाए। केटो रातो पिरो थियो, आमाले “पिरो भयो ?” वा त्यस्तै केही सोधी। छोरोले एक लर्को सिंगान माथि तान्यो र मुस्कुराएरै केही भन्यो, मैले सुनिनँ तर यति स्पष्ट थियो उसको आँखाको चमक अघि बसभित्रको भन्दा सय गुणाले बढेको थियो ।
अलि अघि बढेपछि एउटा सानो बस्ती आयो, त्यसपछि कंक्रिट भत्किएर निकै ठुला ठुला खाडल भएको एक पुल हुँदै बस अघि बढ्यो जसरी एक शंखे किरा उबड खाबड गिट्टीमाथि ढलपल गर्दै सुस्तरी हिंड्छ । मेरो नजिकै बसेकी बुढी आमाले नदीको उत्तरतिर हेर्दै छाती र निधार बढो रफ्तारका साथ छुँदै ढोगिन्। बुढी आमा त्यो नदीलाई नै इश्वर मानेर ढोग्दै थिइन् वा पुल यो पटक नभत्कियोस् भन्ने प्रार्थना गर्दै थिइन् मैले अन्दाज गर्न सकिनँ। किनकी अचेल आखिर पुलहरु धेरै भत्किइरहेका छन, चाहे सडकका हुन् या संबन्धका।
पुलको पारीपट्टि ससानो बजार आयो । मेरो आँखा गयो दुइवटा पक्की घरका बिचमा ढल्न जिद्दी गरिरहेको तर हरेक प्राविधिक परिभाषा अनुसार भत्किसकेको एउटा छाप्रोमा । झार उम्रिएको, त्यसमाथि सडकबाट फालिएका चाऊचाऊका प्लास्टिक र पानीका असरल्ल बोत्तलहरुले त्यो आँगन झन वैराग्यपुर्ण देखिन्थ्यो । त्यो आँगनको छेउमा थिइन् चाउरीका हरेक पत्रमा एक एक कथा लुकाएर उभिएकी एउटी बुढी आमा । चहकिला तर उदास एकजोडी आँखालाई हत्केलाको ओझेलले तिख्याउँदै, शहरबाट आउने हरेक बसलाई हेर्ने ति बुढी आमालाई लाग्छ कि उहिल्यै गाउँ छोडेको छोरोलाई घर ल्याउने बस यही नै हो । तर न छोरो फर्किएको छ न उनले यसरी बस चिहाउन छोडेकी छन। छोरोले आमाको कहिल्यै परिवर्तन नहुने हाँसो रोदनका आदिम कथा भुल्न नहुने हो तर बुढीलाई थाहा छैन छोरोको कथा । हुन सक्छ उ शहरको झिलिमिलीमा भुलेको छ, र यो पनि हुनसक्छ कि वर्ग व्यवस्थाको जाँतोबाट कहिल्यै निस्किनै नसक्ने गरी फसेको छ। हुनसक्छ उ खर्च टार्नै मुस्किलको ज्याला गर्छ र उ एकपटक बिरामी पर्दा गुम्ने ज्याला र त्यसमाथि महंगो उपचार गर्नु पर्दाको बोझले उसलाई वर्षदिनसम्म टाउको उठाउन नदिने कथा ति बुढी आमालाई थाहा नहुन सक्छ।
बस्तीहरु छोडेर बस खेत खलियानबिच सुनसान तेर्सिएको सडकबिच बढ्दै गयो। जमिन छोडेर एक बित्ता जति अग्लिएका गहुँमा हावा चलेर तरेली पर्दा एक मन्द छाल आएको समुद्र जस्तै देखियो गहुँबारी। गहुँबारीका बिचमा छ एउटा मसुरको खेत र हालै बिहे गरेका जस्ता देखिने मधेशी मुलका दुई किशोरी बेथुवाको साग टिप्न भाँडो लिएर बसेका छन तर तिनीहरु घुँडामा हात टेकाएर आमुन्ने सामुन्ने गफिँदै छन। थाहा छैन के हो तिनको कथा, तर जे होस् तिनीहरु बडो दिलचस्पीका साथ कामै रोकेर गफिएका छन। हुनसक्छ तिनले अलिकति सासुमाईका कुरा गरे अनि धेरै आफ्ना पतिका कुरा गरे, आफ्ना नयाँ नयाँ अनुभवका कुरा गरे, ति नवविवाहिताहरु अलिकति लाजले राताजस्ता भए र कुत्कुतिँदै हाँसे र फेरी हतार हतार बेथुवा टिप्न लागे।
अब अर्को पुल पुरै पुनर्निमाणमा भएकोले बस खोलै खोला अघि बढ्यो। मैले त्यहाँ अर्को कथा देखेँ मोटरसाइकलमा। दुइ खाईलाग्दा ज्यानका श्रीमान-श्रीमती र बिचमा चेपिएर बसेको १२/१३ वर्ष जतिको छोरो। सबै जना सजिएका थिए । शायद तिनीहरु कुनै पार्टीमा जाँदै थिए । आमा पनि निकै राम्री देखिएकी थिई, तर अलि बढी नै असिनपसिन थिई । यस्तैमा मोटरसाइकल उफ्रिएर उसकी आमाको पाखुरा बजारिँदा उसको काखीले अमिलो गन्ध पम्प हाने झैँ आइपुग्यो उसको नाकमा । सकी नसकी उसले अर्कोतिर टाउको निकाल्यो तर दुर्भाग्य उसको बाबु बडो शानले पान थुक्दै थियो। उसको मुखमा र सर्टमा केही राता टिकाहरु देखिए। अघिल्लोपटक उसका भान्दाइहरुले शिवानी नामकी केटीसँग उसको नाम जोडिदिएका थिए। यदि शिवानीले यी पान थुकाईका अवशेष देखी भने के भन्ली भन्ने सोच त्यसको दिमागमा एक्कासी नआएको होइन तर उसले त्यसको खासै परवाह गरेन किनभने उ यो पटक भोजको कसरी भरपुर मज्जा लिने छ भन्नेमा योजनारत थियो। उसले निर्णय गरिसकेको छ उसले पुलाऊ, मासु र केही काउलीको तरकारी बाहेक गाजर बन्दा आदि बकवास चिजहरुको खपत व्यापक कम गर्नेछ किनकी उ सम्पुर्ण रुपले गुलाबजामुनमा लक्ष्यित छ। उसले तोकिसकेको छ उ न्युनतम ६ ओटा गुलाबजामुन खानेछ तर उसले त्यसको उपल्लो सीमा तोक्न भने मनमनै ठाडै इन्कार गरिसकेको छ ।
क्रमश:
Twitter: @SharmaNeu