छोरीको कथा

यो खुल्ला आकाश
यो स्वछन्दता
अनि आफ्नै संसारमा मस्त
मेरी छोरी
दगुर्दै म नजिक आउँछे र भन्छे,
मम्मी एउटा कथा सुनाउन,
म सोच्दछु अनि भन्छु,
छोरी आज म तिमीलाई अलिकति मैले बाँचेको कथा सुनाउँछु,
अलिकति मैले देखेको कथा सुनाउँछु
म जस्ता धेरै छोरीहरुले अनुभूत गरेको कथा सुनाउँछु ।।

छोरी ऊ त्यहाँ हेर त,
ऊ त्यो क्षितिज पारि धेरै देशहरु छन्,
यहाँ भन्दा धेरै पृथक,
त्यहाँ दिनहुँ सयौं छोरीहरु जन्मिन्छन्
अनि सयौं छोरीहरु मात्र छोरी भएकै भरमा आमाकै गर्भमै तुहिन्छन्,
अनि जन्मेका छोरीहरु माथि समाजको गरुडरुपी छायाँ मडारिरहन्छन्,
छोरीले त्यहाँ धेरै बोल्न हुन्न,
छोरीले त्यहाँ धेरै हास्न हुन्न,
छोरीले त्यहाँ गीत गाउन हुन्न ।।

छोरीहरुका मासूम आवाजहरुमा समाजले संस्कारको भोटे ताल्चा लगाउने गर्छ,
खबरदार तिमीहरु भन्दै छोरीहरुका साहशीला र आँटिला पाइलाहरुमा लगाम लगाउने गर्छ,
मेरी छोरी,
छोरीको पहिचान लिएर त्यहाँ स्वास फेर्न धेरै गार्हो छ,
त्यहाँ बाच्न धेरै गार्हो छ,
अगम्य साहस चाहिन्छ,
कि भने तिमी तिम्रो अभिमान, स्वाभिमान अनि आत्मसम्मानले हरेक पल निल्दै बाच्नुपर्छ,
तिमी के सकौली र छोरी,
त्यो विभेद नै विभेदको चक्रभेउमा उभिन,
फेरी त्यहीं बाच्न परे म पनि नै सक्ने छैन ।।

भलै त्यो देशका हरेक मोडमा देवीका मूर्तिहरु किन नपुजिउन्,
गल्लि-गल्लि अनि घर-घरमा छोरीहरुका आत्मविश्वास
कुल्चिञ्छन,
भोका स्याल र व्वाँसाहरुबाट कलिला छोरीहरुका अस्मिता लुटिन्छन्,
दाइजोको निहुँमा छोरीहरु मट्टीतेलमा जिउँदै जलाइञ्छ ।।

अनि अन्त्यमा त्यहाँ दोषी को हुन्छ थाहा छ छोरी,
दोषी छोरी नै हुन्छन,
अपराधी पनि छोरी नै बनाइन्छन्,
किन त्यस्तो हुन्छ भनौली,
त्यो समाजमा चेतनाको आभा चढेको छैन,
समानताको दियो बलेको छैन ।।।
अस्तु !

2 Comments

Leave a Reply to Sarada Cancel reply

Your email address will not be published. Required fields are marked *