मायाको मन
|भनिन्छ- मायाको विम्वमा आकार हुँदैन ? मायाको ध्वनिमा शब्द हुँदैन । माया सशक्तिकरण हो जिवनको ।
तर मानव मानवमा पनि जहाँ कुनै छेकबार हुँदैन भनेर के गर्ने जब हाम्रो एक अर्काको व्यावहारमा मिल्दैन ? मायाको परिभाषाजस्तै दिगो भए पनि व्यवहारमा झेल्नु पर्ने अनेक भेदभावको वाध्यता अझै पनि छ। होचो अर्घेलो र उचनीच जातभातको अवशेष अझै छ समाजमा । शास्त्रहरूले मानव जिवनको जस्तो अर्थ लाएपनि धर्मले जस्तै उपदेश दिएपनि मान्छेले बुझ्न चाहँन्दैन रहेछ ! मानिसले यस्ता अनेक आडम्बरिमा बसेर सानो ठूलो जातको भेदभाव गर्न छोडेको छैन।
म ठूलो तिमी सानो जात भनेर एकले अर्कालाई होच्याउने गर्छन्। जस्ले सृष्टी गर्यो उही परमेश्वरलाई आफ्नो सन्तान प्रति कुनै भेदभाव छैन। उस्तै तरिकाको जन्म उस्तै मरण। जन्मेपछि जानु पर्ने चोला । जन्म-मरणको पासोमा झुण्डिएको क्षण भंगुर शरिर। समयको वसमा छ मान्छे । जब बोलावट आउँछ फर्कनु पर्छ तोकिएको त्यही समय भित्र ! न कसैलाई थाहा छ न त कसैले नियन्त्रण गर्नै सकेको छ आफ्नो जीवनको समय । सबै भगवानको हातमा छ । तर पनि बुझ्दैन मान्छेहरु र सँधै आफू मात्र बस्ने घर ठान्छन् संसारलाई । मिठो शब्द बोल्दैमा पवित्र ठान्ने तर मनमा छुत अछुतको मैलाको घेरा बोकेर मानवले मानवलाई यातना दिईरहेको छ। भगवानको एउटा सुन्दर संरचनालाई बिथोल्न प्रयास गरिरहेकै छ । यो राम्रो चलन हैन भनेर किन समाजले स्विकार्न सकेको छैन ? अनावश्यक विवादमा फसिरहेछन् मायाको अर्थ नबुझ्ने बुर्जकहरु । पवित्र मायामा भगवान रमाउँछन् भने किन मान्छेहरु बाधक बनिरहेछन् ? मानिसले मानिसलाई गर्ने उच निचको घटना किन बन्द हुन सकेको छैन ?
युगौंयुग देखि बुझेर पनि नबुझेको बहानामा आफ्नो जित ठान्छन् बुझ्नपर्ने मानिसहरु नै ! भरखर फुलेको कोपिला माया र स्नेह खोज्ने मन प्रकृतीको सुन्दर संरचनालाई अगाडि बढाउन जुरमुरिएका पवित्र आत्मालाई किन बुझ्न र स्विकार्न सक्दैनौं हामीहरू ! मायाका पवित्र चाहनाहरु र प्रेम बन्धनमा बाँधिएको एउटा कथाको पात्र जो सुकै होस्, समाजमा एैना बनेर देखाई रहेछ। उचनिच जातिय भेदभाव जतिसुकै शिक्षित वर्गमा भएपनि यत्रतत्र चलेको छ। जस्तोसुकै कनूनको दायरा भएपनि मनको कानूनमा थुनिएकै भेटिन्छ । समाजसँग झेल्न नसकेर कतिले आफ्नो ज्यान दिए,लेखा जोखा छैन । जस्तोसुकै नारा लगाएपनि हात्तीको देख्ने दाँत र खाने दाँत फरक परेकोजस्तो प्रतिविम्वित गर्छन् हाम्रा वरिपरिका घटनाहरूले । प्रेमका कथाहरु प्रेममा आहुती दिएका जवनका बलिदानहरु ! सह-अस्तित्वमा रमाउने प्रेम आखिर प्रकृतीकै वरदान हो । मानव जीवन/आत्मा प्रेममा रमाउने अथाह सागर हो जबदेखि जीवात्मा भोग्न बाध्य छ । त्यसैले मानव मानवमा अमानवीय भाव किन ? यो कहिलेसम्म ? के हामी बदलिन सक्दैनौं ? आफूलाई बदलौं र आफूलाई अन्याय नगरौं । जातपात उचनिच भेदभाव त्यागौं आजबाट । मायाको मन भगवानको घर बनाउँ ।
One Comment
एउटा छुट्टै विधामा कलम चलाउन थाल्नु भयो दिदि। अत्यन्त खुसि लाग्यो। हाम्रा लेख/आलेखहरुले समाजका बिकृतिहरुलाई माझेर लैजानु अत्यन्त जरुरी छ। यो विधामा कलम सशक्त बनोस-धेरै शुभकामना।