महिलाको चाक……

 

वर्षौं पहिले टुकुटुकु हिड्न थालेको बच्चालाई लिएर किनमेल गर्दै थिएँ, छेउमा आफ्नो सुरले कपडा छानिरहेकी एक अमेरिकी महिलालाई पछाडिबाट चाकमा प्याट्ट पारिदिइन् । मेरो बच्चालाई उनको चाकमा देखिएको झिल्के बुट्टाले सायद आकर्षण गरेको हुनसक्छ । ति महिला रिसले आगो भएर गाला चड्काउने हात उठाएर फनक्क पछाडी फर्किइन् । भुँईमा उभिएको अबोध बचराले आफुतिर हेरिरहेको देखेपछि, एकाएक शान्त भएर अँगालो हालिन्, मैले त्यो असजिलो परिस्थिति भएकोमा ती महिलासँग क्षमा मागें । उनी फुरुक्क हुँदै लुगा छान्न थालिन् । यतिबेला एक नेपाली नायिकाको चाक छोएको घटनाले त्यो क्षणको याद गरायो ।

अझै पनि हाम्रो समाजमा महिलाहरुलाई दोस्रो दर्जा देख्ने मानसिकता विकराल नै देखिन्छ । भरखर एक जना नेपाली नायिकाको चाक एक भिक्षु भेषमा रहेका बौद्धमार्गीले चिमोटेको कुरालाई समस्या नै होइन जस्तो गर्ने मान्छेहरुको जमात धेरै देखियो ।

कि त अपराधबाट मर्नुपर्यो कि त सहनै नसक्नेगरि घायल भैसकेपछिका हिंसालाईमात्र अन्याय भएको देख्ने हाम्रो समाजमा “गुड टच र व्याड टचको” फरक छुट्टाउन सक्ने चेतनाको राम्रोसँग विकास भएको देखिएन । बसमा वा अन्य कतै भिडभाडमा मौका हेरेर घच्चा मार्ने ठाउँ न कुठाउँ छुने जस्ता समस्या हाम्रो नेपाली समाजमा प्रशस्त देखिन्छ ।

केटीहरुलाई कसले कसरी हेर्दैछ, कहाँ छुँदैछ, कसरी छोएको थियो भन्ने ज्ञान राम्रोसँग हुन्छ । यहाँ पनि नायिकाले केही नभइकन पक्कै प्रतिकार गरेकी हैनन्।

यो पंक्तिकारलाई पहेंलो वश्त्र लगाउने गुरुहरु र बुद्धमार्गी पोशाक लगाउनेहरुसँग विशेष श्रद्धा र सम्मान लाग्ने गर्दछ । वहाँहरु अन्य सामान्य व्यक्तिहरु भन्दा शान्त र ज्ञानी भएको मेरो अनुभव रहेको छ । भिक्षुको भेष लगाउँदैमा सबै बुद्ध पनि नहुने रहेछन् तर यस्तो पवित्र पोशाक लगाएका व्यक्तिलाई सार्वजनिक रुपमा कान समाएर उठबस गराएको र गाला चड्काएको नरमाइलो देखियो । घटनापछि सामाजिक संजाल र संचारमाध्यमहरुमा निक्कै चर्चा-परिचर्चा पायो ।

यस्तो समस्याबाट पार पाउन महिलाहरु आफैं जागरुक नहुने हो भने सार्वजनिक स्थानमा यस्ता घटना घटिरहन्छन्, यसैले महिलाहरुले असहज परिस्थितिमा तत्काल प्रतिकार गर्न सक्नुपर्छ।

नायिका र लामा दुवैजनाको भिडियो राम्रोसँग सुनिसकेपछि नायिकाले केही नभई पक्कै प्रतिकार गरेकी हैनन् । केटीहरुमा यस्तो प्रतिरक्षाको भावना हुनुपर्छ तर घटनाको प्रकृति हेरेर विवेकको प्रयोग सहि तरिकाले गर्नु राम्रो हुन्छ । नायिकाले पुलिसकोमा पुगेर मिलापत्र गर्नुको बदलामा घटनास्थलमा नै क्षमा दिएर सक्नुपर्ने थियो ।

त्यसपछि केही व्यक्तिहरुले भिक्षुको भेष लगाउने लामालाई नेपाली भाषा बोल्न नजान्ने, बच्चा आदि भनेर निर्दोष प्रमाणित गर्न प्रचार प्रसार गरेका देखिए, तर तत्कालै लामाले नेपालीमै बोलेका अन्तर्वार्ताहरु पनि प्रशस्तै देखिए ।

जहाँसम्म लाग्छ भिक्षुले नियतबस चिमोटेको पनि हुनसक्छ तर नायिका बाहेकलाई थाहा हुने कुरा भएन । नायक नायिकासँग फोटो खिच्नु नराम्रो पनि होइन । दलाइ लामाले पनि विश्व विख्यात सेलिब्रिटीहरुसँग फोटो सेसन गरेको प्रशस्तै देखिन्छ। नियत के हो भन्ने कुरा मात्र हो।

लामाले घटनापछि आफु डराएको कुरा पटक-पटक दोहोर्याएका छ्न् । केही पनि गल्ति नभएको भए किन डराउनु पर्छ त ? दुबै जना थप विवादमा नजाने सहमति गरिसके । कुरा सकिइसक्यो तर अन्य व्यक्तिहरुले बुद्धको नाममा राजनीति मिसाएर किन बिकृत वातावरण बनाएको होला ? समाजमा बेमेल गराउने मिडियावाजी के-को लागि होला ? मान्छेबाट कहिलेकाहीं गल्ती हुने गर्दछ । बुद्धमार्गीहरुमा क्षमाशील मूल्य घट्नु हुँदैन, अनावश्यक आन्दोलनले केही दिंदैन ।

3 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *