गज़ल
|आँसु नै आँसुको भेल भो जिन्दगी
निष्ठुरी दैवको खेल भो जिन्दगी
बिघ्नबाधा सधैँ तेर्सिए मार्गमा
रोज तड्पाउने जेल भो जिन्दगी
दौडियो लोभले,भोकले,प्यासले
पेल्छ सम्पीडले तेल भो जिन्दगी
हुन्न पूरा कवै चाह वा चिन्तना
काल बेमानको झेल भो जिन्दगी
शुद्ध माया दियो मिल्छ आलोचना
बोक्छ बोझा गह्रौँ नेल भो जिन्दगी
खप्छ नाना व्यथा देहले आत्तिदै
लाख सन्तापको मेल भो जिन्दगी
ह्रास भो नामको आत्मसम्मानको
कागका देशमा बेल भो जिन्दगी
( स्रग्विणी छन्द )