संसार उसैमा पाए जस्तो लाग्छ


उसको नजर मदिराको मातभन्दा बढी लाग्छ
उसको वाणी मधुको मिठासभन्दा बढी लाग्छ

उ मुस्कुराउँदा इन्द्रेणीले धर्ती सजिए झैं लाग्छ
उ बोल्दा मधुर सङ्गीत गुन्जिए जस्तै लाग्छ

उसङ्ग हुँदा अनायासै आफ्नो महत्त्व बढे झैं लाग्छ
उसकै आभाले आफूलाई प्रज्वलित गरे झैं लाग्छ

लाग्छ, सुन्दरताको परिभाषा कसैले उसैलाई देखेर रचेको हो
आदर्श व्यक्तित्वको छवि विधाताले उसैलाई कल्पेर बनाएको हो

लाग्छ, प्रकृतिले सुन्दरता उसैसङ्ग सापटी लिएकी हुन्
घामले तेज अनि जुनले शीतलता उसैसङ्ग लिएका हुन्

लाग्छ, फूलमा सुगन्ध अनि कोमलता उसैले छरेकी हो
हिमालयमा शालीनता, नदीमा चञ्चलता उसैले भरेकी हो

लाग्छ माधुर्य, लावण्य जस्ता शब्दै उसका लागि बनेका हुन्
बत्तीस लक्षणका मापदण्ड उसकै गुणका आधारमा बनेका हुन्

लाग्छ, मानव मस्तिष्कमा नवरस उसैले सिञ्चन गरेकी हो
दया, करुणा, लज्जा जस्ता भाव उसैले उपहार दिएकी हो

उसको निकटता मात्रले मन यसै प्रफुल्लित बनाउँछ
उसको स्पर्शले अलौकिक तरङ्गको अनुभूति गराउँछ

अरु चीजको के अर्थ, उ भएकैले संसार छ जस्तो लाग्छ
आफ्नै अस्तित्व, अनि प्रकृति बल्ल बुझे जस्तो लाग्छ

उसका सबै दु:ख पीडा आफूले थापिलिउँ झैं लाग्छ
आफ्नो भागका सारा खुशी उसैलाई दिउँ झैं लाग्छ

उसङ्ग मिलनको एक प्रहर एक निमेष झैं चिप्लिन्छ
उसङ्ग बिछोडको एकै क्षण एक युग झैं घस्रिन्छ

उसको सान्निध्यले युगौं देखिको प्रतीक्षामा विराम लागे जस्तो लाग्छ
सधैं अपूर्ण झैं लाग्ने आफ्नै अस्तित्वले अब पूर्णता पाए जस्तो लाग्छ ।।

2 Comments

Leave a Reply to सुरेश शर्मा Cancel reply

Your email address will not be published. Required fields are marked *