अतृप्ति: रंग बदलिइरहने मनका पर्दाहरु

मन्जु !
श्रुति–पठन गरेपछि पाठ बुझाउनैपर्छ | जो बुझें म बुझाउँछु ।
श्रुति साहित्यले आजको युगमा विस्तार पाउँदै छ । ‘श्रुति’ वेदको नाम पनि हो । सुनेरै यसलाई जीवित राख्ने यत्न गरियो । लिपिमा प्रवर्तन गरेपछि लय र मात्रासहित गायनमा आउनेगरि चिन्हित गरियो । श्रुति साहित्यको पहिलो उपहार यो मेरा लागि यो–अतृप्ति ।

रङ्ग बदलिइरहने मनका पर्दाहरु–लाई ‘अतृप्ति’ नाम दिएर कुमारी छोरीको मनको गति र प्रवृत्तिलाई चिनाउने यत्न गरिछौ । गाउँको शिक्षालयको प्राङ्गणमा पाइला राखेदेखि राजधानीको महानगर र उच्च शिक्षालयसम्मको दूरीलाई छिचोल्दै आएको कथातन्तु स्थूल, माँसल आख्यान खोज्ने पाठकका लागि धीत मार्नसक्ने नहोला, तर बाल्यकाल, किशोर क्षण र यौवनको महिमा र तत्तत् समयका मनका रङ्ग र तरङ्गलाई केलाउने यत्न यहाँ देखिन्छ । त्यो आजका लेखकमा थोरै मात्र पाइन्छ । यो सन्दर्भ प्रसशंनीय छ।  

आयु,परिवेश पढाइ र उद्देश्यको पीठिकामा पात्रको मनोदशामाथिको दृष्टिपात असाधारण लाग्दछ । यौवन, संगत, तात्कालिक स्थिति र लक्ष्यले पात्रलाई संघर्षशील बनाएर यसरी डोर्याउँछ । मानौं परिचालित हो– नियन्त्रित हो । लेखक वा परिवेशले देखाएको पक्षमा नै ऊ यात्रा गर्छ,आफूखुसी वा स्वतन्त्र छैन । शायद भौतिक कुरा हो यो । यथार्थमा उपन्यासका सबै पात्र मनका राजा छन् । अन्त्यतः संस्कृति र दायित्वले स्वयं बाँधिएकै देखिन्छन् । किन्तु कठोर भौतिक दुर्घटनाले उपन्यासमा स्थान पाउँदैन । मनको निकटता र दूरीको विवेचनामा तिम्रो अभिव्यक्ति कौशल र सामर्थ्यमाथि मैले गर्व गर्नैपर्छ ।

वयस्क कुमारीहरुको मनले बादल झैं आकार फेर्दै रहन्छ । आँधी उठाउँछ । गर्जन गर्छ । विद्युत् तरङ्ग छोड्छ । भय पनि संचार गर्छ । फलतः मनले प्रताडना र प्रशन्नता पनि भोग्छ, पोषण र तृप्ति पनि लिन्छ । मैले यस्तै बुझें, अनुभव गरें । स–साना संवाद, स–साना घटना र स–साना खुसी र पीडा कति ठाउँमा दुर्निवार जस्तै भएर आएका छन्, किन्तु नवयौवनाहरु आघात पनि आफैं ग्रहण गर्छन् प्रतिरोध पनि आफैं गर्छन् र उपचार पनि आफैं खोज्छन् । हो, समस्याको निकास आफैं देख्छन् । युवा कुमारीहरुको मनको दौड, त्यसले पाएको ठक्कर, पराजयवोध र पिल्सिएको पीडा र फेरि प्रबल आत्मबल, आरोग्य मनको निर्माण जस्ता कुरामा मन्जुको कलमले जुन सिद्धि लिएको छ त्यो अरुसँग तुलना गर्न मिल्दैन, शायद अन्याय हुन्छ कि भन्ने ठानेको छु ।

मनको भाषा र मनका कुरालाई सम्यक ढंगले देखाउन सक्ने तत्व त भाषा नै हो । भाषामा अवश्य एकरसता छ । त्यसले वेला–वेला रुचि परिवर्तनको कामना जन्माउँछ । किन्तु जब– पात्रहरु उद्धरणभित्रको संवादमा पुग्छन् तिनको संवादले समय, उमेर, मन, भाषिक क्षेत्र, सांस्कृतिक रङ्ग तथा प्रणय उपेक्षा तटस्थता वा मनको घुम्तीलाई उपस्थित गरेर अत्यन्त सहज र सुरुचिपूर्ण बनाइदिन्छ । थाह भो– मन्जु शब्दकोशमा समृद्धि रहिछन् ।

संवादभित्र आउने वाक्य–विन्यास र आरम्भ र अन्त्यको ललमय विराम र निपात ध्वनिको सरल प्रक्षेपण अत्यन्त मनोहर लाग्छ । स्वतःस्फुर्त वाक्य छन् । त्योभन्दा सरल र स्वादु शैलीको वाक्य अर्को हुन सक्तैन ।

छोटोमा भन्ने कुरा मैले व्याश शैलीमा भनें । शायद पाठ बुझाउने कला अब रहेन ।
भाषिक क्षेत्रबाट प्रक्षेपित हुने– लय, भाव, संगीत र चित्रात्मकता (पैंटिङ्) को अध्ययन हुनसके, पाठक लाभान्वित हुने थिए । काव्य–शास्त्रीय अध्ययन थालिनुपर्छ– गद्यसाहित्यमा पनि । यस खालका कृतिहरु त्यो पक्षबाट पनि गृहीत हुनुपर्छ कि भन्छु ।

स्रष्टा कहिलेकहीं सिर्जनाको नशाले मूर्च्छाको स्थितिमा रहन्छ । बिर्सिदिन्छ– उपन्यास पनि महाकाव्य हो, गद्यमा लेखिएको महाकाव्य । त्यसैले कतिपय अङ्ग समावेश गर्न बिर्सिदिन्छ । ( मूर्च्छाको स्थिति र परिधि बारे फेरि चर्चा होला ।)

यो पहिलो उपन्यास हो । मेरो श्रवण कमजोर, अपूर्ण वा च्युतिपूर्ण भएको हुनसक्छ । पुनः पराजय गर्ने मौका पर्यो भने त्रुटि सुधारौंला । श्रुति–चिन्त

न गर्ने समय पनि त रहेन ।

अतृप्ति पढ्ने–सुन्ने मौका दिने स्रष्टा मन्जुलाई धन्यवाद ! बाँकी पत्र अर्को पटक । यो पाठ बुझाएँ । तर म कहाँ कति पटक रोएँ, यो कथाले

मलाई मात्र रुवाउने हो कि ! यसबारे म भन्न सक्तिन । म पनि त किंचित पीडा आफैंभित्र लुकाएर बाँच्न चाहन्छु नि ! इन्दिराकी आमा र दिदीले पीडा सधैं लुकाए नि ! हैन र ?

मलाई असन्तोष लागेको कुरा यति मात्र हो– अतृप्तिले दिने सन्देश नौलो र चमत्कारपूर्ण होला भन्दै थिएँ, सिमलको भुवा भइदियो । अत्यन्त सुन्द

र महल छ– नयाँ ढाँचाको किन्तु धुरी चुल्याउन शेष हो कि भन्ने लाग्छ । यत्रो आत्मविश्वास भएकी इन्दिरा आफूलाई अनायासै थाङ्ग्राको आश्रयमा किन सुम्पन्छे ? हतार किन ? कहीं आर्य–परिवारकी छोरीको मनोविज्ञानले निचोरेको त होइन ? कसरी पढौं ? ठोस्, सारगर्भित वा नौलो सन्देश दिएर टुँगिएला भन्दाभन्दै सबै हिँडेको बाटोमा हिंडेर उसैगरी चौतारीमा आफूलाई बिसाइदिई । यहाँनेर म पनि अतृप्त नै रहें । लेखन प्रौढ छ, परिष्कृत छ । लेखीकाको क्षमता, कौशल र सिद्धिप्रति पाठक-स्रोताले कृतज्ञ हुनैपर्छ । कुमारी छोरीको मनोदशा उपस्थित गर्ने जुन जमर्को यहाँ छ- त्यो अद्वितीय छ । त्यसका लागि तयार गरेको परिवेश झन् महत्वको छ ।

केही समय अगी प्रभा बरालको उपन्यास ‘फिलिङ्गो ’ पढेर पाठ बुझाएको थिएँ । त्यहाँ पनि नायिकाले केही हासिल गर्न सकिन, तर कथा–यात्रा र बुनौट मिठो छ । अतृप्तिको अन्त्य सुन्दर छ, तर नौलो भएन । यदि पाठकले स्रोताले गुनासो गर्न मिल्छ भने दोहोर्याएर भन्छु– अन्त्य मिठो हुनुपर्छ चाहे जुनसुकै भावमा टुंगियोस् । र त्यो नौलो सन्देशमा आउनुपर्छ भन्ने कामना किन नगर्नु ?

भिन्न भिन्न शीर्षकमा पाठ बुझाउन सकिन्छ । त्यो शेष राखौं । आख्यान परम्परामा सुन्दर, प्रौढ र परिष्कृत भाषाको प्रयोग रहरलाग्दो छ । आडम्बर, अतिरञ्जना र पण्डित्य प्रदर्शनबाट जोगिएर बगेको कलम प्रशंसनीय छ । मनमा असजिलो हुन्छ– दिदीको मन कस्तो भयो त्यो जान्न म अझै किन उत्सुक हुँदैछु ? राजनीतिको यात्रामा इन्दिराको मन किन रमाएन ? कसरी बुझौं ?

Add a Comment

Your email address will not be published. Required fields are marked *