रामकाव्य परम्परा र भानुभक्त आचार्यको रामायणको महत्त्व

नेपाली साहित्यमा भानुभक्त आचार्य (वि. सं. १८७१-१९२५) को नाम शीर्षस्थ स्थानमा रहेका पाइन्छ। उनलाई नेपाली साहित्यमा आदिकविको उपाधि दिइएको छ। उनी नेपाली कवितालाई शैशव अवस्थादेखि किशोर तुल्याउने एकजना कवि हुन्। ‘रामायण’ नेपाली साहित्यमा एउटा विशिष्ट काव्यको रूपमा परिचित छ। भानुभक्तले आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट संस्कृतको अनौपचारिक रूपमा घरमै शिक्षा ग्रहण गरेका थिए। पछिबाट बाजे बुढेसकालमा काशीबास गर्न गएका बेला उनी पनि काशी पुगेका थिए। त्यहाँ उनले तुलसीदासको ‘रामचरित मानस’ पढेका वा चर्चा सुनेका थिए। बाजेको देहावसानपछि उनी आफ्नो घर फर्केर आई रामायणको अनुवादतर्फ कार्य आरम्भ गरेका हुन्। उनले सन् १८४१ तिर बालकाण्ड लेख्न थालेका थिए। त्यसपछि उनले अयोध्या काण्ड लेखेपछि सन् १८५२ मा उनी सरकारी लेनदेनमा गड्बडीको आरोप लागेर कुमारीचोक झ्यालखानामा थुनामा परेका थिए। उक्त थुनामा पाँच महिना बसेका बेला अरण्यकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्ड लेखेका हुन्। यसैगरी सन् १८५३ मा युद्धकाण्ड र उत्तरकाण्ड पनि लेख्दै गएका थिए। यसरी भानुभक्तले यो रामायण जम्मा एघार वर्षमा लेखिसिद्ध्याएका थिए।

  • विश्वमा रामकाव्यहरू

भारतलगायत विश्वका विभिन्न देशका साहित्यमा राम काव्य लेखिएको पाइन्छ। विश्वका केही प्रमुख भाषामा विभिन्न रामायणहरू प्रकाशित भएका छन्। केही भाषाका रामायणहरू यस प्रकारले छन्।

संस्कृत साहित्यमावाल्मीकि रामायण – वाल्मीकि, योगवासिष्ठ या ‘वशिष्ठ रामायण‘ – वाल्मीकि, अध्यात्म रामायण – वेद व्यास, आनन्द रामायण – वाल्मीकि, अगस्त्य रामायण – वाल्मीकि, अद्भुत रामायण – वाल्मीकि, रघुवंश कालिदास मुख्य हुन्।

संस्कृत नाटकमा: प्रतिमा नाटक– भास, अभिषेक नाटक – भास, महावीरचरित– भवभूति, उत्तररामचरित –भवभूति, यज्ञफल नाटक- भास, कुन्दमाला नाटक–दिंन्नाग, जनकजान्दम्– कलय, लक्ष्मी नृसिंह, छलितराम, रामाभ्युदय–यशोवर्मन, रामाभ्युदय – रामदेव व्यास, स्वप्नदशानन–भीमट, मैथिलीकल्याणम् – हस्तिमल्ल, उदात्त राधव–अनंगहर्ष, आश्चर्य चूड़ामणि – शक्तिभद्र, कृत्यारावण, मायापुष्पक, रामचरित, रामान्द– श्रीगदित, अनर्धराधव–मुरारी, बालरामायण – राजशेखर, अभिनवराधव – क्षीरस्वामी, वालीवधम्, मारीचावंचिक, प्रसन्नराघव– जयदेव, रघुविलासरामचन्द्रसूरि, राधवाभ्युदय – रामचन्द्रसूरि, राधवाभ्युदय – गंगाधर, राधवाभ्युदय– भगवान राया, राधवाभ्युदय– वेंकटेश्वर, जानकीराधव– रामसिंह, रामविक्रम, दूतांगद – सुभट, दूतांगद – रामचन्द्र, अमोधराधव, अभिरामराधव, उल्लाधराधव– सोमेश्वर, उन्मत्तराधव– भास्कर, उन्मत्तराधव– महादेव, आनंदराधव– राजचूडामणि, अभिराममणि– सुंदरमिश्र, अद्भूतदर्पण – महादेव, जानकीपरिणय – रामभद्र दिक्षित, राघवान्द– वेंकटेश्वर, महानाटक।

हिन्दी साहित्यमा रामचरितमानस – हिन्दी (अवधी), राधेश्याम रामायण पउमचरिउ या पद्मचरित (जैनरामायण) – पउमचरिउअपभ्रंश (विमलसूरि कृत)

गुजराती साहित्यमारावण मंदोदरी संवाद– श्रीधर, रामप्रबंध– मीठा, रामायणपुराण– स्वयंभूदेव, राम बालचरित– भालण, रामविवाह– भालण, रामायण– नाकर, लवकुशाख्यान– भालण, रामायण– कहान, रामायण– उद्धव, रामायण– विष्णुदास, अंगदविष्टि– विष्णुदास, लवकुशाख्यान– विष्णुदास, रामविवाह– वैकुंठ, सीतानो सोहलो– तुलसी, परशुराम आख्या– शिवदास, महीरावण आख्यान– राणासुत, सीतास्वयंवर– हरिराम, सीतानां संदेशा– वजियो, णजंग– वजियो, सीतावेल– वजियो, सीतान संदेशो– मंडण, रावण मंदोदरी संवाद– प्रभाशंकर, रामचरित्र– देवविजयगणि, रामरास– चन्द्रगणि, अंजना सुंदरीप्रबंध– गुणशील, सीताराम रास– बालकवि, अंगदविष्टि– कनकसुंदर, रामसीताप्रबंध– समयसुंदर, रामयशोरसायन– केशराज, सीताविरह– हरिदास, सीताहरण– जयसागर, सीताहरण– कर्मण, रामायण– प्रेमानंद, ऋषिश्रंग आख्यान– प्रेमानंद, रणयज्ञ– प्रेमानंद, गुजराती योगवासिष्ठ– रामभक्त, रावण मंदोदरी संवाद– शामलभट्ट, अंगदविष्टि– शामलभट्ट, सीतास्वयंवर– कालीदास, सीतामंगल– पुरीबाई, सीतानी कांचली– कृष्णाबाई, सीताविवाह– कृष्णाबाई, रामकथा – राजाराम, रामविवाह– वल्लभ, रामचरित्र– रणछोड, सीताना बारमास– रामैया, रामायण– गिरधर

ओड़िया साहित्यमाजगमोहन रामायण या दाण्डि रामायण या ओड़िआ रामायण : बलराम दास, बिशि रामायण: बिश्वनाथ खुण्टिआ, सुचित्र रामायण : हरिहर, कृष्ण रामायण : कृष्ण चरण पट्टनायक, केशब रामायण : केशब पट्टनायक, रामचन्द्र बिहार – चिन्तामणि, रघुनाथ बिला – धनंजय भंज, बैदेहीशबिला – उपेन्द्र भंज, नृसिंह पुराण – पीताम्बर दास, रामरसामृत सिन्धु : काह्नु दास, रामरसामृत : राम दास, रामलीला – पीताम्बर राजेन्द्र, बा रामायण : बलराम दास, बिलंका रामायण : भक्त कवि शारलादास

तेलुगु साहित्यमा – भास्कर रामायण, रंगनाथ रामायण, रघुनाथ रामायणम्, भास्कर रामायण, भोल्ल रामायण

कन्नडकुमुदेन्दु रामायण, तोरवे रामायण, रामचन्द्र चरित पुराण, बत्तलेश्वर रामायण आदि।

अन्य भाषाहरूमा – कथा रामायण – असमिया, कृत्तिवास रामायण – बांग्ला, भावार्थ रामायण – मराठी, राम बालकिया – गुजराती, रामावतार या गोबिन्द रामायण – पंजाबी (गुरु गोबिन्द सिंह द्वारा रचित), रामावतार चरित – कश्मीरी, रामचरितम्– मलयालम, रामावतारम् या कंबरामायण – तमिल, मन्त्र रामायण-, गिरिधर रामायण, चम्पू रामायण (राजा भोज, आर्ष रामायण या आर्प रामायण, अनामक जातक – बौद्ध परम्परा, दशरथ जातक – बौद्ध परंपरा, दशरथ कथानक – बौद्ध परंपरा, रामायण – मैथिली (चन्दा झा)

यसरी हेर्दा रामायणका विभिन्न घटना प्रसङ्ग र पात्रपात्राका कोण प्रतिकोणबाट रामायण लेखिएका छन्। मूल रूपमा रामको कोणबाट रामायण कथा रहे तापनि कतै सीता, कतै रावण कतै अंगद, कतै महीरावण कतै लव-कुश, कतै हनुमान, कतै काग भुसुण्डी, कतै परशुराम, कतै दशरथ आदिका माध्यमबाट रामायण गाथा रचिएको पाइन्छ। यसमा पनि कतै राम विवाह, कतै सीताविवाहकेन्द्री, कतै राम-रावण युद्धकेन्द्री, कतै राम वनबासकेन्द्री आदिका प्रसङ्गबाट पनि रामायण गाथा रचिएको पाइन्छ।

  • नेपालीमा रामकाव्य परम्परा-

नेपाली कै प्रसङ्गमा हेर्नु हो भने पनि रामकथामाथि केही उपजीव्य र प्रकीर्ण काव्य लेखिएका छन्। यस्ता उपजीव्य र प्रकीर्ण काव्यका रूपमा महाकाव्य, खण्डकाव्य, गद्यकाव्य र नाट्यकाव्यका रूपमा आदि देखा पर्दछन्। कतिपय कविले रामायणको हुबहु अनुवाद गरेका छन् भने कतिले आफ्नो ढङ्गले मौलिक रूपमा लेखेका छन्। नेपालीमा लिखित केही यस्ता रामकाव्यहरूमा भानुभक्त आचार्यको ‘रामायण’ महाकाव्य, सोमनाथ सिग्द्यालको ‘आदर्श राघव’ महाकाव्य, लेखनाथ पौड्यालको ‘मेरो राम’ (खण्डकाव्य), लक्ष्मीप्रसाद देवकोटाका तीनवटा खण्डकाव्य ‘रावण जटायु युद्ध’ (खण्डकाव्य), ‘सीताहरण’ (खण्डकाव्य), ‘नेपाली रामायण’ (खण्डकाव्य), सुन्दरानन्द बाँडाको ‘अध्यात्म रामायण’, प्रेमराज पौड्यालको ‘सम्पूर्ण रामायण’ (महाकाव्य)आदि देखिन्छन्। यसै गरी गद्यानुवादतर्फ चक्रपाणी चालिसेको ‘संक्षिप्त रामायण’ देखिन्छ। रामायणको हुबहु अनुवादतर्फ कालिदासको रघुवंश महाकाव्यको जीवनाथ अधिकारीको ‘रघुवंश’ काव्यानुवाद, सूर्यकला थापाद्वारा ‘श्री सत्य साइ बाबाकृत’ ‘रामकथा रसवाहिनी’ गद्यानुवाद देखिन्छन्। यसै गरी नेपालीमा पनि ‘आनन्द रामायण’, ‘अद्भूत रामायण’ आदि रामायणका केही भाग-प्रभागको पनि अनुवाद र स्वतन्त्र लेखन पाइन्छन्। नेपाली साहित्यमा रामायण अझै पनि लेखिदै छन्। रमेशप्रसाद अधिकारीले यही कथालाई लिएर ‘सीतायान’ आठ-दश खण्डमा महाकाव्य लेखिसकेका छन्।

भानुभक्तको रामायणको अनुवादको कुरा आउनेबित्तिकै रघुनाथ भट्टको पनि सुन्दरकाण्ड अनुवादको प्रसङ्ग आउने गर्छ। रघुनाथको सुन्दरकाण्डको पुस्तकको भूमिका लेख्ने दीनानाथले त रघुनाथले आदिकवि भन्नुपर्ने भन्ने तर्क पनि राखेका छन्। उनको आशयअनुसार रघुनाथले जम्मै काण्ड रामायण अनुवाद गरेका थिए तर अन्य काण्ड अनुपलब्ध छन्। रघुनाथको सुन्दरकाण्डको अनुवादमा सबल र दुर्बल पक्ष दुवै रहेका छन्। भाषा भने भानुभक्तको सरलता,स्वाभाविकता, मौलिकता, अनुवादगत कौशलता, प्रस्तुतिगत उच्चता भने रघुनाथको सुन्दरकाण्डमा भने पाइन्न। यद्यपि उनको योगदानलाई पनि बिर्सन सकिन्न। सोमनाथ सिग्द्यालको आदर्श राघव (२००५) पनि उल्लेखनीय छ। यद्यपि यसमा शाब्दिक आलङ्कारिक चमत्कारको प्रस्तुति छ। आमपाठकका निम्ति भने उनको आदर्श राघव रूचिकर सावित हुन सकेन। प्रेमराज पौड्यालको रामायण पनि वि. सं. १९८२ मा पहिलोचोटि प्रकाशित भएको थियो। यसमा जम्मा ३१९ पृष्ठ भएको र सातै काण्डको पद्यानुवाद रहेको थाह लागेको छ। यसको प्रस्तावना लेखन भने डिल्लीराम तिम्सिनाको रहेको पाइन्छ। यस रामायणमा मूल कथावस्तुलाई कविले स्वतञ्त्रसँग अनुष्टुप छन्दमा रचेका छन्। सुन्दरानन्द बाँडाको अध्यात्म रामायणको बारेमा विश्लेषण र चर्चा गरिएको पाइन्न। यद्यपि यस लेखको मुख्य ध्येय भानुभक्तीय रामायणको प्रासाङ्गिक कथावस्तुको मात्र अध्ययन हुनाले यसतर्फ मात्र विषयवस्तु केन्द्रित गरिएको छ।

  • भानुभक्तको रामायण

भानुभक्त आचार्यले रामायणका धेरै अङ्श, कथा र उपकथालाई छोडेर मुख्य मुख्य कथा- उपकथालाई समेटी कथावस्तु बुनेका हुन्। मूलमा अर्ती-उपदेश र विभिन्न देवी-देवताका महात्म्य खण्डलाई उनले छोडी सारांश जस्तो मात्र लिएका हुन्। उनको रामायणको बालकाण्डमा १३९ श्लोक, अयोध्याकाण्डमा १२३ श्लोक, अरण्यकाण्डमा १२२ श्लोक, किष्किन्धाकाण्डमा १४३ श्लोक, सुन्दरकाण्डमा १५४ श्लोक, युद्धकाण्डमा ३८१ श्लोक र उत्तरकाण्डमा २५७ श्लोक गरी जम्मा १३१९ वटा मात्र श्लोक लेखेका छन्। यस हिसाबले युद्धकाण्ड सबैभन्दा ठुलो र अरण्यकाण्ड सबैभन्दा सानो रहेको देखिन्छ। रामायणको कथावस्तुअनुसार देवगण, मनुष्यगण, राक्षसगण, वानरगण र पक्षीगण गरी पाँच प्रकारका पात्रवर्गको वर्गीकरण गर्न सकिन्छ। यद्यपि यसको मूल पात्र रामको मनुष्य अवतार हुनाले र अन्य ऋषिमुनिहरू पनि मनुष्य हुनाले मनुष्यवर्गकै गतिविधिको बढता वर्णन् पाइन्छ। पक्षीवर्गको उपस्थिति भने अत्यल्प देखिन्छ। यसमा राम र सीताको मूल कथा नै आधिकारिक कथावस्तु हो भने यसमा प्रासाङ्गिक कथावस्तु पनि रहेका छन्। यस्ता प्रासाङ्गिक कथावस्तुमा पनि पताका र प्रकरी रहेका छन्। हनुमान, रावण, बालि-सुग्रीव आदि पताका कथावस्तु हुन्। प्रकरी कथावस्तुमा अनेकौं कथा-उपकथाहरू रहेका छन्। राम सीताको मूल कथा मूल गङ्गा हो भने अन्य कथाहरू गङ्गामा मिसिन आउने अन्य अनेक साना ठुला नदीहरू हुन्। भानुभक्तको रामायण जनजनमा भिजेको, रूचाएको, लोकप्रिय बनेको हो।

  • भानुभक्तीय रामायणको अनुवाद

भानुभक्तका निम्ति अध्यात्म रामायण स्रोत काव्य हो भने भानुभक्तीय रामायण नै केही अनुवादका निम्ति स्रोत काव्य बनेको छ। गीता उपाध्यायले यसको असमीय अनुवाद गरेकी छन्। त्यसै गरी डा. भजनगोपाल सन्यालले बङ्गलामा गद्यानुवाद गरेका छन्। हिन्दीमा नन्दकुमार अमात्य र तपेशव्रत अमात्यले गरेका छन्। भोजपुरीमा मुकुन्द आचार्यले अनुवाद गरेका छन्। त्यसै गरी डा. गोकुल सिन्हाले अङ्ग्रेजीमा गद्यानुवाद गरेका छन्।

  • भानुभक्तका रामायणका विभिन्न प्रकाशनहरू-

भानुभक्त आचार्यले भावानुवाद गरेको रामायणका विभिन्न प्रकाशन र संस्करणहरू रहेका छन्। यी प्रत्येकका प्रकाशन मा केही न केही पाठान्तर रहेका छन्। यसको प्रारम्भ मोतीराम भट्टले गरेका थिए। वि सं सन् १९४१ मा पहिले बालकण्ड प्रकाशित भएको थियो। त्यसपछि वि. सं. १९४२ मा मोतीराम भट्टको अगुवाइ र देवराज शर्माद्वारा सम्पादनमा रामायण प्रकाशित भयो। वि सं. १९४४ मा सबै काण्ड रामायण प्रकाशित भएको थियो। विसं १९५१ मा नेपाल पाशुपत प्रेसबाट सम्पूर्ण रामायण मोतीकृष्ण धीरेन्द्र कम्पनीको प्रकाशत्त्वमा प्रकाशित भएको थियो। यसैगरी हरिहर आचार्य दीक्षितको सम्पादनमा बम्बईको नेपाली ग्रन्थ प्रचारक मण्डलीले निर्णय सागर प्रेसबाट भानुभक्तीय रामायण वि. सं. १९६७ मा प्रकाशित गरेको थियो। त्यसपछि होमनाथ केदारनाथ प्रकाशकत्वमा वि. सं. १९७९ भानुभक्ताचार्यकृत रामायण प्रकाशित भएको थियो। यसै प्रकाशनबाट भानुभक्तको रामायणको रामाश्वमेध यज्ञलाई पनि मिलाएर रामाश्वमेध काण्ड बनाई आठ काण्ड रामायण प्रकाशित भएको पाइन्छ। त्यसपछि सूर्यविक्रम ज्ञवालीको सम्पादनमा रहेको नेपाली साहित्य सम्मेलन दार्जिलिङबाट प्रकाशित भानुभक्तको रामायण वि सं १९९१ मा प्रकाशित हुन्छ। यसैलाई सूचना तथा संस्कृति विभाग, पश्चिम बंगाल सरकारले पनि वि सं. १९८९ मा प्रकाशित गर्छ। यसैलाई भानुभक्तको रामायण लाई साझा प्रकाशन काठमाडौंले २०३९ मा प्रकाशित गरेको पाइन्छ। पारसमणि प्रधानले पनि वि सं. २००९ मा भानुभक्त ग्रन्थावली प्रकाशित गर्छ। साहित्य एकादमी, नयाँ दिल्लीबाट भानुभक्तीय रामायण (२०१४), शिवराज आचार्यको भानुभक्तकृत भाषारामायण (वि सं. २०६७) आदि हुन्। भानुभक्तीय रामायणका केही नक्कली प्रकाशन र संस्मरण पनि देखा परेका छन्।

  • उपसंहार –

नेपाली काव्य संसारमा भानुभक्त आचार्यको महत्त्वपूर्ण स्थान रहेको छ। उनको नेपालमा भन्दा बढी भारतमा बढता महत्त्व रहेको छ। विभिन्न भारतीय भाषामा रामायणको स्थान रहेको छ भने भारतीय भाषाकै रूपमा भानुभक्तको रामाणको स्थान रहेको पाइन्छ। संस्कृत, गुजराती, मराठी, मैथिली, ओडिया, तमिल, तेलेगु, कन्नड हिन्दी आदि भाषाहरूमा रामायणका अनेक कृतिहरू प्रकाशित छन। नेपालीमा पनि रामकाव्य परम्पराका लगभग तीसवटा जति काव्य र पुस्तक प्रकाशित भएका पाउँछौं। तीमध्येमा भानुभक्तको रामायणलाई सर्वोत्तम मानिन्छ। रामायणलाई भानुभक्तले खुबै दक्षतासँग रोचक बनाएका छन्। मूल कथावस्तुलाई नबिगारी सारभूत कथावस्तु लिएर पाठकलाई प्रस्तुत गरेका छन्।

भारतमा प्रत्येक वर्षको असार २९ गते तदनुसार १३ जुलाईका दिन भव्य रूपमा भानुजयन्ती मनाइन्छ। दार्जिलिङ, सिक्किम र असममा साहित्यिक सांस्कृतिक पर्वका रूपमा भानुजयन्ती मनाइन्छ। भानुभक्तका रामायणका विभिन्न पाठभेदका संस्करणहरू प्रकाशित भएका छन्। भानुभक्तको रामायणमाथि अध्ययन गरी लेखिएका अध्ययन पत्रहरू प्रकाशित भएका छन्। भानुभक्तको कृतित्वमाथि केही राष्ट्रिय-अन्तराष्ट्रिय सङ्गोष्ठी पनि सम्पन्न हुने गरेका छन्। भानुभक्तीय रामायणका विभिन्न सन्दर्भ कथाप्रसङ्ग र कलापक्षको अझै पनि अध्ययन अनुसन्धान कार्य भइरहेका छन्।

सन्दर्भ ग्रन्थ-

  • wikipeadia.com
  • प्र. सम्पा. गोपीचन्द्र प्रधान, भानुभक्त स्मारक ग्रन्थ, दार्जिलिङ, नेपाली साहित्य सम्मेलन, २०१७.
  • सम्पा. जीवन नामदुङ, प्रेम प्रधान, भारतीय नेपाली साहित्यमा भानुभक्तको रामायण, नयाँ दिल्ली, साहित्य अकादमी, २०१९.

Add a Comment

Your email address will not be published. Required fields are marked *