एक टुक्रा आकाश खस्यो भने !
|एउटा सानो टुक्रो आकाश खस्यो भने,
आकाशलाई ढाक्ने एक टुक्रा बादल खस्ने छ
खस्ने छ,
आकाशलाई देदीप्यमान राख्ने सूर्यको एउटा सानो टुक्रा ।
आकाशलाई शीतल राख्ने जूनको एउटा टुक्रो पनि खस्ने छ
रातमा टिल्पिलाउने दुई चार तारा खस्ने छन्
आकाशको रहस्यको द्वार पनि खुल्ने छ।
एउटा सानो टुक्रा आकाश खस्यो भने,
विशाल आकाशमा एउटा सानो छिद्र बन्ने छ
तर,
आकाश कुरूप हुने छैन
आकाश सुन्दर थियो अनि रहिरहने छ
भीमकाय आकाशको घनत्व घट्ने छैन
आकाशको महिमा उस्तै हुनेछ
आकाशको गरिमा त्यस्तै रहनेछ।
एउटा सानो टुक्रा आकाश खसेर के हुन्छ र ?
एउटा खोट नभएको को नै छ र ?
गुलाफमा काँडा छ
चन्द्रमामा पनि त दाग छ
गुण दोष सबैमा छ
त्यो सानो टुक्राले
आकाशको अस्तित्वमा खलल आउँदैन
आकाश विशाल थियो अनि रहिरहने छ
यत्ति हो-
बिस्मात गर्ने छन्,
आकाशलाई सर्वोत्तम उचाइ मान्ने एक हुल मान्छेहरु
त्यो टुक्रोमा चर्चा परिचर्चा हुनेछ
मलामी जाने छन्,
एउटा जमात मान्छेहरु आकाशको टुक्रोको।
म छोटो उचाइको मान्छे
म विस्मित हुनेछु,
आकाश होइन यदि मेरो छानो खस्यो भने
जीवन खर्चिएर अड्याएको छानो
जीवन खर्चिनु पर्ने छानो
सपना देखेर उठाएको छानो
सपना देख्नु पर्ने छानो।
म माटोको मान्छे
म द्रवित हुनेछु
आकाश होइन,
यदि मेरो छानो चोइटियो भने
कहिले प्रचण्ड घामले पोल्नेछ
कहिले झरीले भिजाउनेछ
हाँस्न त खुला आकाश मुनि हाँसुला
तर मेरो छानो खस्यो भने
निर्धक्क रुने ठाउँ हुने छैन।
म एउटा भुईं मान्छे
मेरो छानोको सानो टुक्रो खस्यो भने
छानो मुनिको,
मेरो सृष्टि मेटिनेछ
मेरो सृजना रेटिनेछ
मेरो विश्वास ढल्नेछ
मेरो आस्था पनि लड्नेछ।
म भन्दा धेरै धेरै माथि छ आकाश
अगम्य छ आकाश
अपार छ आकाश
म छानोलाई आकाश मानेको मान्छे
बिस्मात मैले गर्नुहुन्न-
त्यो आकाशको सानो टुक्रोको
चोइटिएको आकाशको लागि म रुनुहुन्न।