भानुजयन्ती र जातीय प्रेम

(नवीन पौड्याल)

यता दार्जिलिङ- सिक्किम आसामतिर भानुजयन्ती मनाउने चलन अझै बढ्दै गएको पाइन्छ। यही अवसर पारेर नेपाली जातीय चेतना, भाषा प्रेम, साहित्यप्रति रूचि आदि जस्ता कुरा जोडिएका छन्। भारतमा गोर्खालीहरूको उपस्थिति जनाउन, भाषा प्रेम, एकत्वको प्रतीक, जातीयता उत्थान आदिको एउटा माध्यम भएको छ भानुजयन्ती समारोह। सबैभन्दा पहिले दार्जिलिङबाट सानो रूपमा रूपमा भानुभक्तको फोटो राखेर मनाउन थालिएको हो भानुजयन्ती। सीमित व्यक्ति शून्यप्रायः बजेटबाट मनाइने गरिन्थ्यो।

भानुजयन्ती दार्जिलिङदेखि थालनी भएर कालिम्पोङ खरसाङ, सिलगडी सिक्किम असम हुँदै कता कता मनाइने क्रम बढेको छ। भारतमा भानुजयन्तीको क्रम उर्ध्वमुखी छ। अब त दार्जिलिङ जिल्लाका विभिन्न ठाउँमा स्थापना गर्दै भानुजयन्ती मनाउने क्रम बढेको छ। नेपाली साहित्य सम्मेलन, दार्जिलिङ, गोर्खा जनपुस्तकालय खरसाङ, देवकोटा सङ्घ, सिलगड़ी, नेपाली साहित्य अध्यययन समिति, कालेबुङको मुख्य आयोजनामा भानुजयन्ती मनाइने क्रम बढेको हो। यता सिक्किममा पनि गान्तोक हुँदै सिक्किमका विभिन्न स्थानमा पनि भव्य रूपमा मनाउने क्रम बढ्दो छ।

यसपालि नेपाली साहित्य परिषद्को आयोजनामा सम्पन्न भएको भानु जयन्ती समारोहमा आमण्त्रित अतिथिका रूपमा उपस्थित हुने सौभाग्य जुर्‌यो। उक्त समारोह यसपालि सिक्किम सरकारको सौजन्य र आयोजनामा सम्पन्न भयो। यस कार्यक्रमलाई उत्सवमुखी र उद्देश्यमुखी दुवैबाट मनाइएको परिलक्षित हुन्छ। समारोहका अध्यक्षता मन्त्री बेदुसिंह पन्त थिए भने नेपाली साहित्य परिषदका अध्यक्ष श्री रूद्र पौड्याल तथा मुख्यअतिथि मुख्यमन्त्री गोले रहेका थिए।

सर्वप्रथम भानु सालिकमा माल्यार्पण कार्यक्रम भयो। त्यस दिन नै भानुभक्तको शालिग र त्यसको दर्शक दीर्घा परिसर ओताउने छानायुक्त भानु उद्यान नवनिर्माणको उद्घाटन भयो। मुख्य मन्त्रीको आगमनले उद्यान भरियो। मान्छेको कुँडुलो लाग्यो। सम्झं भानुभक्तप्रति मान्छेका श्रद्धा र भक्ति हो। तर मुख्यमन्त्री गएपछि भने उद्यान त आधाभन्दा बढी मान्छे हिँडे। शालिगस्थल रानो हिँडेपछि मौरीहरू सबै हिँडेसरह पनि देखियो। त्यसपछि मात्र पाहुनाहरूले आरामले भानुभक्तको शालिकमा माल्यार्पण भयो।

त्यसपछि दुई किलोमिटर लामो शोभायात्रा सम्पन्न भयो। यसमा सिक्किमका एक्काइसवटा जाति-जनजातिका जातीय पोषाकमा सजिएर बाजागाजा, गीत आदि प्रस्तुत गरे। यसो हेर्दा दिल्ली गणतञ्त्र दिवसको उपलक्ष्यमा देखिने विभिन्न झाँकी समान देखियो। एउटा कुरा के भने नाच्नु हाम्रो जिनभित्र नै रहेको छ। त्यसपछि १ बजेदेखि भानुजयन्ती समारोह सम्पन्न भयो। त्यसमा रामायण पाठ, नृत्य, स्वागत वक्तव्य, धन्यवाद वक्तव्य आदि सम्पन्न भए। धन्यवाद ज्ञापनमा श्री हरि ढुङ्गेलको प्रस्तुत उल्लेखनीय थियो। उहाँको प्रस्तुत रोचक र दर्शकलाई जोसिलो बनाउने खालको थियो। त्यसमा उज्ज्वल कलासङ्घको नृत्य भने खुबै आकर्षक थिए।

त्यस दिनको मुख्य कार्यक्रम २०२१-२०२२ को भानु पुरस्कारको ससम्मान वितरण तथा मुख्यमन्त्रीको वक्तव्य। दिलकुमारी भण्डारीको मन्तव्यमा कति शालीनता, कति दूरदर्शिता, कति सरलता, कति उदार! उहाँ सिक्किमको मात्रै नभएर भारतका सारा नेपालीहरूकी नेतृ हुन्, श्रद्धाकी पात्र हुन्। के. एन. शर्माको मन्तव्य पनि गहकिलो, बौद्धिक थियो। उहाँले भाषाका शब्द प्रयोगमा सतर्क हुन आह्वान गर्नुभय़ो।

मुख्यमन्त्री पी. ए. गोलेको वक्तव्यमा उनको दूरदर्शिता झल्कियो। उहाँ नेपालीलाई फुटेर होइन जुटेर काम गर्ने, सिक्किमलाई नेपाली भाषा साहित्यको एउटा केन्द्र बनाउने, भाषा साहित्य उत्थानका निम्ति काम गर्ने आदि कुरा व्यक्त गर्नुभय़ो। मुख्य मन्त्री गोलेले भारतमा नेपालीहरू निर्धक्कसँग नेपाली भाषा बोल्न सक्छ, संवैधानिक मान्यता पाएको नेपाली भाषा गर्वले बोल्नुपर्छ। अँग्रेजी पनि आवश्यकता हो भने नेपाली भाषा बोल्नु जातित्व हो, यसलाई बिर्सनुहुन्न भन्ने सन्देश दिएका छन्। त्यसैगरी संविधानमा नेपाली भाषा मान्यता दिवसको उपलक्ष्य प्रतिवर्ष २० अगस्टको दिनलाई सिक्किममा सरकारी विदाको घोषणा गरे। यसै गरी उनले हप्तामा एकपटक भए पनि आफ्नो जातीय पोषाक लाउनुपर्ने सुझाव व्यक्त गरेका छन्।

यस वर्षदेखि नेपाली साहित्य परिषदले लेप्चा र भोटिया भाषा साहित्यमा विषिष्ट ययोगदान दिनेलाई वर्षमा एकपल्ट भाषा गौरव सम्मान पनि थालनी गरेको छ। यस वर्षका निम्ति लेप्टा भाषाका निम्ति श्री ओ. टी लेप्चा र भोटिया भाषाका निम्ति श्री दोर्जी रिन्छेन भोटियालाई सम्मान गरियो। यसबै गरी वर्षेनी रूपमा प्रदान गरिने सेवाश्री सम्मान भाषा क्षेत्रका निम्ति डा उदय छेत्री. साहित्य सेवाका निम्ति श्री डिल्लीप्रसाद अधिकारी र श्री सन्तोष कुमार राई, सङ्गीत सेवाका निम्ति श्री पूर्ण सुब्बा, नाट्य  सेवाका निम्ति श्रीमती रूपा तामाङ र नारद अधिकारी, चित्रकारिता सेवाका निम्ति श्रीमती दीपा राई पत्रकारिताका सेवाका निम्ति श्री कमल मुखिया र नृत्य सेवाका निम्ति सुश्री कोमल गुरूङ सम्मानित भए। आफ्नो राज्य हुनेका निम्ति सरकार पनि साथ छ। नेपाली भाषा साहित्यको उत्थानका निम्ति नरबहादुर भण्डारी, श्री पवन कुमार चामलिङ र प्रेमसिंह गोले तीनैजनाको धेरै योगदान पाइन्छ। यद्यपि गोले महोदयको अझै कार्यकाल बाँकी छ। भाषा र साहित्यप्रति उहाँको धारणा अत्यन्तै सकारात्मक लाग्यो। अझै धेरै आशा गर्न सकिन्छ। अब सिक्किमले सिक्किमभित्र मात्रै सिमीत नभएर यसभन्दा बाहिर पनि नेपाली भाषा साहित्य सेवा पुर्‌याउन आवश्यक छ। भारतमा सिक्किम मात्र यस्तो राज्य हो जसमा नेपालीभाषीको आफ्नो सरकार छ। सिक्किमले अन्यत्र पनि नेपाली भाषा साहित्यको सम्वर्द्धन र प्रवर्द्धन गर्नुपर्ने कतिपय महत्त्वपूर्ण कार्य गर्नुपर्ने हुन्छ।

अब हाम्रो समाज संक्रमणको अवस्थाबाट गुज्रिरहेका छौं। समयको क्रममा भारतमा हामी गोलबद्ध बनेका हौं भने अब कुन तन्त्र वा निकायका कारणले हो जातिबाट जाततिर लागेका छौं। एकापट्टि जातीय ध्रुवीकरण पनि भइरहेको छ अर्कातिर विकेन्द्रीकरणको स्थिति पनि देखिदैछ। यद्यपि हाम्रो समाजको संरचना यस्तो भएको छ कि सबै मिश्रित बनेका छौं। हाम्रा अधिकांश घरमा मिश्रित भएर बसेका छौं। सिङ्गो जाति टुट्नु हुँदैन जुट्नुपर्छ भन्ने कुरामा सबै चिन्तित छौं, सचेत छौं। यस्ता जातीय एकत्वका निम्ति गरिए जातीय चाड़पर्व आदिले मनाइन्छ।

यस समारोहलाई अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न गरिएको थियो। कार्यक्रममा नेपालबाट छजना, म्यानमारबाट एकजना, थाइल्याण्डबाट एकजना, मणिपुरबाट तीनजना, दार्जिलिङबाट पाँचजना, दिल्लीबाट दुईजना, भाक्सूबाट दुईजना, सिलाङ, सिलगडी, खरसाङ, कालिम्पोङबाट केही साहित्यिक व्यक्तित्व गरेर अतिथिहरू समावेश थिए। यसमा काठमाडौंबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरूङ, नाटककार अशेष मल्ल, मोमिला जोशी, कृष्ण प्रसाइँ, प्रेमप्रकाश फलाहारी, जीवनहरी शर्मा, दिल्लीबाट धर्मराज थापा र उत्तम छेत्री, भाक्सूकी बयानब्बे वर्षकी वृद्धा साधना नेपाली, शिलाङका सलील ज्ञवाली, उत्तर बङ्ग विश्वविद्यालयबाट प्रो. डा कृष्णराज घतानी, दार्जिलिङबाट डा. गोकुल सिन्हा, किरण ठकुरी, बसन्त छेत्री, मन्जुला तामाङ र बबिता मादेन, खरसाङबाट तिलक शर्मा, कालिम्पोङबाट महाकवि मोहन दुखुन र नवीन पौड्याल, असमबाट अनेसासका पदाधिकारीहरू आदि गरेर उपस्थित थिए। महाकवि मोहन दुखुनको अझै सही मूल्याङ्कन भएको छैन। अहिलेसम्म त उनले साहित्य एकाडमी पुरस्कार, डा पारसमणि प्रधान पुरस्कार आदि जस्ता कुनै उल्लेनीय पुरस्कार आदिबाट सम्मानित भएका छैनन्।

गान्तोकमा बस्ता धेरै गफ भए डा गोकूल सिन्हा, डा कृष्णराज घतानी, रूद्र पौड्याल, मोहन दुखुन, ज्ञानबहादुर छेत्रीलगायत धेरैसित साहित्य चर्चा भए। थाइल्याण्डका कुमार कार्की र म्यान्मारका दुर्गा पाण्डेलाई उनीहरूका देशमा नेपाली भाषा साहित्यको वर्तमान स्थितिबारे कुराकानी भए। त्यहाँ केही साहित्यिक संस्थाहरूबाट केही काम भइरहेका रहेछन्। मणिपुरका राहुल राई बोगिकोले आफ्नो निजी अनलाइन च्यानल अगम टेलिभिजनका माध्यमबाट भाषा साहित्य संस्कृति, प्रतिभा आदिबारे धेरै काम गरिरहेका छन्। डा. जगमान गुरूङ वयोवृद्ध मात्र नभइ ज्ञानवृद्ध पनि हुनुहुन्छ। उहाँ नेपाली संस्कृति र इतिहासका एकजना प्रकाण्ड र आधिकारिक विद्वान हुनुहुन्छ। गान्तोकको यस भानुजयन्ती समारोहका उहाँ नै शिरोमणि हुनुहुन्थ्यो। अशेष मल्ल र किरण ठकुरीहरू जस्ता उच्चाइमा पुगेका नाट्यकारसितको गफभित्र नै आनन्द पाइने परिवेश थियो। मोमिला जोशीका गफमा दार्शनिकता मिसिएका लागे। गौहाटीका खगेन शर्माले भारतका कुन कुन संस्थानमा नेपाली भाषा साहित्यको पठन पाठन गराउन सकिन्छ भन्ने कुरामा चिन्तनमय कुरा निस्कन्थे। असमका दुर्गा खतिवडा अनेसासको आगामी कार्यक्रमबारे कुरा गर्दैथिए। तेजपुरका छत्रमान सुब्बाले पनि गोर्खालीभित्र जात जातमा विभाजन हुने कामकुरामा असहमति जताएर गोर्खाली गोलबद्धताको तर्क प्रस्तुत गरिरहेका थिए। बबिता मादेनले भने पत्रकारिताका कुरा गर्दै थिइन्।  दिल्लीका उत्तम छेत्रीले दिल्लीमा भएको भाषाको मान्यता र अन्य यताउताका कुरा गरे। मुख्यमन्त्रीको वार्तामाथि प्रायः साहित्यिकहरूको सहमति रहेको बुझियो।

यस समारोहमा पाहुनाहरूसित तत्तत् स्थानका साहित्यिक संस्थाहरूको पनि सहभागिता रहेको थियो। नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौं, सर्वनाम नाट्य मण्डली, साहित्यकलासाहित्य टड कम प्रतिष्ठान, काठमाडौं; हिमालय कला मन्दिर, दार्जिलिङ गोर्खा जन पुस्तकालय, खरसाङ; नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङ; मित्रसेन स्म़ति सभा, ;असम नेपाली साहित्य सभा, नेपाली साहित्य परिषद्, मणिपुर: आदिजस्ता सङ्घ-संस्थाहरूको सम्मिलन थियो। यसमा विश्वविद्यालय महाविद्यालयका तहका शिक्षकहरू पनि सम्मिलित। प्रायः सबै अतिथिहरूले एकेकवटा संस्था बोकिरहेका थिए। आतिथ्य राम्रो थियो। साहित्य परिषद्का सदस्यहरूले राम्रो आतिथ्य सेवा प्रदान गरिरहेका देखिए।

भानुजयन्तीको समारोहको भोलिपल्ट गान्तोकको टासी दिले होटेलमा आमञ्त्रित अतिथिका सम्मानमा दिवाभोज र वैचारिक आदानप्रदान कार्यक्रम सम्पन्न भयो। डा जगमान गुरूङ, रूद्र पौड्याल, सिपी भट्टराई, साधना नेपाली आदिको मुख्य वक्तव्य रहेका थिए। कार्यक्रम पवित्र भण्डारीले सञ्चालन गरेकी थिइन्। उनी र सि पी भट्टराई सरकारका आधिकारिक व्यक्तिका रूपमा प्रस्तुत थिए। मुख्य मन्त्रीले आमञ्त्रण गरेको साहित्यिक भेटघाट, सम्मान र रात्रीभोजको अवसरमा कविगोष्ठीको पनि आयोजना भएको थियो। यसमा हरि ढुङ्गेल, जीवनहरी शर्माको छन्दोबद्ध कविता, मोमिला जोशी, अशेष मल्ल, मञ्जुला तामाङ, मणिका शर्मा, भक्ति शर्मा, राधा पाण्डे, जिवीका अश्रु, राहुल राई बोगिको, बसन्ती शर्मा, सीतादेवी छेत्री, रवि पौड्याल आदिका कविता, गजल आदि प्रस्तुत भए। यस कार्यक्रममा श्री सि. पी. भट्टराईले मुख्यमन्त्री गोलेज्यूको विशेष पहलमा सिक्किममा परी पर्काशनले कवि –लेखकहरूका पुस्तक प्रकाशित गर्ने सूचना दिए, जो हाम्रो लागि सुखद् कुरा थियो।

यस पालाको गान्तोकको भानुजयन्तीमा सिक्किम सरकारको सहयोगले नेपाली साहित्य परिषद्ले मन खोलेर भानुजयन्ती समारोह सम्पन्न गर्‌यो। यो परम्परा अझै बढाओस्, भानुजयन्तीको अवसरमा नेपाली भाषा साहित्यको बढोत्तरीका अनेक मार्ग खुलुन्, साहित्यिक परिवेशमा अझै वृद्धि होस् भन्ने कामना गर्दछु।

(सन्दर्भ :    गान्तोकको २०८ औं भानुजयन्ती भव्य समारोहमा उब्जेका कुराहरू)

Add a Comment

Your email address will not be published. Required fields are marked *