एकला चलो रे एकला …

पानीमा किन भिज्दै हिंड्नुहुन्छ ? एकछिन ओत लाग्नुहोस् । एउटी नारीको सुरिलो स्वर कानमा गुञ्जिन्छ ।एउटा परिचितजस्तो लाग्ने आबाज।

हँ, म पानीमा भिजेको छु र ! म झस्किन्छु । म त घरभित्रै छु ।
यो के भएको होला मलाई ?
… … …
युध्दको घाउ,त्यसरी शुरू हुन्छ ।

युध्दको घाउ, मा बिसं ०४६ को जनान्दोलनदेखि प्रेमको फूल अंकुरित हुन्छ र बिसं ०६२-६३ को गणतन्त्रको आन्दोलनको मार्ग कोरिंदै गर्दा संधैका लागि झर्छ । हो, यही कथाको तरङ्ग अमेरिकी भूमिबाट लिपिबद्ध गरेका छन् – पोस्तक श्रेष्ठले, लिपि बुक्सको ( प्रकाशित मिति बिसं २०७७ माघ) मुन्नी मार्फत ।

कथा यसरी सकिन्छ-
म अमेरिका फर्किएको केही समयपछि माओवादी र सरकारी सेनाको दोहोरो भिड़न्त भएको थियो र मैले नैनकलालाई सदाका लागि गुमाएको थिएँ ।…

अहिले युध्द सकिएको छ । थाहा छैन,यसले कसलाई के दिएर गयो । तर,मलाई एउटा घाउ दिएर गएको छ जुन हरेक झरिमा बल्झिरहन्छ ।

हैन, मैले घन्टी बजाएको कति भयो । हजुर निदाइ’सेछ कि के हो ? खै त बच्चाहरू ? मेघा निथ्रुक्कै भिजेकी रहिछन् ।
बाहिर झरी परिरहेकै रहेछ ।

लामा लामा नै लाग्न सक्ने १० पेज माथिका २२ कथाको यो संकलन “मुन्नी” को पहिलो कथा हो – युध्दको घाउ । तर छोटा र सरल नेपाली जनबोलीका झर्रा /ठेट शब्दको प्रयोग,कथानकताको उठान,शैली/प्रस्तुतीकरण र बिसौनी यसका विशेष आकर्षण हुन् । नेपाली भाषाका वरिष्ठ साधकहरूकै लेखनीको झल्को दिने पोस्तक श्रेष्ठ, कथाकारकोरुपमा “मुन्नी” बोकेर देखा परेका छन् । नेपाली कथालाई नेपाल र अमेरिकासम्म जोड्ने डोरी बाट्न सक्ने पोस्तकले अमेरिकी जीवनका कथा पनि उस्तै पठनीय शैलीमा उठाएका छन् ।

यिनका कथामा रहेको कथाले लामो जीवनको अनुभूति ( युध्दको घाउ,०४६-०६०/०६१)करिब २० बर्षको समय समेटेको छ । कतिपय कथा भनिएका कथामा लघुकथा पनि नपाउने पाठकहरूलाई पोस्तकका कथाको शिल्पले राम्रो उपन्यासको रसास्वादन गराउन सक्छन् ।

हल्लाहरूमा नरमाउनु र नहराउनु उनको सिर्जना शक्ति हुनुपर्छ । कुनै दोसल्ला दुपट्टा,अभिनन्दन,सम्मान आदिको मन्चनमा अभिनय गरेको सार्वजनिक नभएका पोस्तक यदि यहि मार्गमा हिंडे उनको सिर्जनाले नेपाली साहित्यका पाठकहरूलाई यस्ता कोसेलीहरू उनबाट अरु धेरै आशा गर्न सकिन्छ ।

भिडमा रमाउने र भिडमै हराउने खतराबाट उनी पनि जोगिनुपर्छ र हामीले पनि उनीहरूलाई जोगाउनुपर्छ । कथाकार पोस्तक, यस्तै यस्तै कथाका पुस्तकहरूमा पठनीय भएर भेटिरहुन् – शुभकामना ।

विश्वप्रसिध्द बंगाली कवि रवीन्द्रनाथ टैगोर प्रेरणाका स्रोत हुनसक्छन् –
“जदि तोर डाक शुने केउ ना आसे तबे एकला चलो रे” ।

Add a Comment

Your email address will not be published. Required fields are marked *