सन्देशमूलक अमेरिकी कथा:सागरमणि दाइ नेपाल फर्किनुभयो

अमेरिका नै किन ? पत्रकार किशोर नेपालका शब्दमा ‘अमेरिकी भूमि अवसर र स्वतन्त्रताका लागि हो।’ पत्रकार भनेपछि वरिष्ठ र वरिष्ठ भनेपछि पनि दाइ/दाजु,अङ्कल,अग्रज आदि केही नभने पनि फरक पर्दैन पत्रकार किशोर नेपालका सम्बन्धमा । नेपाल यस्तो पत्रकार हुन्, उनको सङ्गत गरेका भनौं वा उनबाट पत्रकारितामा दीक्षित कतिपयले त पत्रकारिता नगरे पनि पत्रकारिताको पहिचान कायम गरेका छन् | यस्तो हुनसक्छ- हिङ् नभए नि’ हिङ् बाँधेको टालो | यो सन्दर्भ सम्बन्धित साथीहरुलाई पत्रकारितामा प्रोत्साहित गर्नका लागि सहयोगी हुनसके जाती हुनेछ | नेपाली पोष्ट डट कमको ट्विटर\स्पेशको गफमा पत्रकार नेपालसङ्गको गफ छ – हिजो शनिवार मात्र । सन्दर्भ थियो – समाजवादी चिन्तक/राजनीतिक व्यक्तित्व प्रदीप गिरी (सन् १ नोभेम्बर १९४७- २० अगष्ट २०२२) । हिजोको नेपालसङ्गको गफ यहाँ सुन्न सकिन्छ-

http://nepalipost.com/beta/4662

कुनै अर्को सन्दर्भमा पत्रकार किशोर नेपालसङ्ग अमेरिका र अमेरिकी नेपाली जीवनको घनचक्करका सन्दर्भमा गफ गर्नु पनि सान्दर्भिक नै हुनसक्छ । यी दुवै व्यक्तित्वको सन्दर्भको चर्चा यहाँ किन पनि भने नेपाली पत्रकारिता र नेपाली राजनीतिसँग मात्र होइन, नेपाली काङ्ग्रेसमा पनि गणेशमान,किशुनजी र प्रदीप गिरीजस्ता साधा जीवन उच्च विचारका आदर्श अग्रजहरूसँग सम्बन्ध जोडिएका एक रोल मोडेल पत्रकार हुन् पत्रकर किशोर नेपाल | पत्रकार नेपाल अध्ययन वा अन्य सन्दर्भमा पनि अमेरिका आउने जाने गरिरहन्छन् तर राजनीतिक चिन्तक गिरीले भने अध्ययन वा बसोबासका लागि अमेरिकी भूमि रोजेनछन् । प्रदीप, नेपाली भाषाको प्रचलित मानकअनुसार द मा दीर्घ ई लेखिन्छ तर किन हो,गिरी भने आफ्नो नाममा द मा ह्रस्व इ कार प्रदिप लेख्थे,यो प्रसङ्गमा पनि पत्रकार नेपाललाई जानकारी हुनपर्छ पक्कै पनि ।

नेपालको राजनीतिमा प्रभाव र व्यक्तित्वका दृष्टिकोणले धेरै अगाडि रहेर पनि सत्ताको मोहमा नलागेका नेपालका थोरै नेताको उदाहरणमा पर्ने व्यक्तित्व थिए प्रदीप गिरी । उनको निधनबाट देशलाई,राजनीतीलाई र समाजलाई अपुरणीय क्षति भएको भनेर शोक मनाइरहेको समकालीन नेपाली समाजले न हिजो उनीबाट केही सिक्यो न भोलि नै केही सिक्ला भनेर आश गर्न सकिन्छ ! तर पनि हाम्रो समकालिन समाजका लागि प्रदिप गिरी/हरू अपुरणीय क्षतिका शोक वक्तव्य,स्मरणका अतिरिक्त कृतित्व र व्यक्तित्वका सम्बन्धमा प्रकाशित हुने स्मारिका भने हुन्/हुनेछन् वा भएका छन् ।

यो पङ्तिकारलाई सङ्केत गर्न मन छ- पत्रकार किशोर नेपालको जनैको साँचो अब हामीले लिनुपर्छ । राजेन्द्र दाहाल, सुरेश आचार्य,विष्णु निष्ठुरी,सुवास ढकाल,धर्मेन्द्र झालगायतसँग मैले यो कुरा गर्नु ‘सिकाएजस्तो’ नहोस् । किशोर दाइ,उहाँबाट हामीले के सिक्यौं र के सिक्न बाँकि छ ? खोजौं । तिनको अभिलेखिकरण गरौं र सामुहिक स्वरमा भनौं- धन्यवाद किशोर दाइ । तपाईंको सङ्गत\सानिध्य पाएर हामी धन्य छौं ।

यहाँ चर्चा गर्न खोजिएको कथा सङ्ग्रह सागरमणि दाइ नेपाल फर्किनु भयो,को सन्दर्भमा एउटा अर्को संयोग के पनि छ भने – नेपालको तराईको सर्लाही जिल्ला र अमेरिका । दिवङ्गत समाजवादी चिन्तक गिरी पनि सिराहा जिल्लाका हुन् अर्थात् यी दुवै जिल्ला नेपालको तराई/मधेशका आसपासका छिमेकी जिल्ला । यता चर्चाको विषय बनाइएको ‘सागरमणि …’ (अमेरिकी नेपाली प्रवासी कथा) का लेखक सर्लाहीका विश्वराज अधिकारी हाल अमेरिकामा नै बसोबास गर्छन् । उपभोक्ताको रुचीलाई आकर्षण गर्नु अर्थशास्त्रको सिध्दान्त हो । अमेरिकामा व्यापार तथा बजार व्यवस्थापनको प्राध्यापनमा संलग्न कथाकार अधिकारीले पाठकहरूको ध्यानलाई आकर्षित गर्नकै लागि हुनुपर्छ- आफ्नो कृतिको नाम अर्थात आवरणमा नै आफ्ना सिर्जनाको जानकारी पूर्णरुपमै दिएका छन्, ताकि पाठकहरूले म के पढ्न सक्छु होला यस कृति भित्र भनेर अलमलिनु पर्दैन । लेखकको नामसमेत नै भएपनि आवरणमा १०-१० वटा शब्द भएको कथा सङ्ग्रह कमै हुनुपर्छ । यस्तो लाग्छ,अमेरिकी नेपाली कथा वा प्रवासी नेपाली कथा मात्र उल्लेख गर्दा पनि हुन्थ्यो कि ? अर्थ शास्त्रले कम खर्चमा धेरै प्राप्त गर्नु राम्रो मानेजस्तै साहित्यमा पनि थोरै शब्दमा धेरै भन्नु पनि राम्रो नै मान्छ भन्ने सिध्दान्त यहाँ भने यहाँ अपनाइएको छैन ।

सिराहा वा सर्लाही जिल्लाबाट अर्थात् नेपालको तराई/मधेशबाट अब अमेरिकातर्फ लागौं- राजनीतिक व्यक्तित्व प्रदीप गिरी तथा कथाकार अधिकारी र ‘सागरमणि दाइ नेपाल फर्कनु भयो’ कथा सङ्ग्रहको संयुक्त चर्चाको सम्बन्धको अर्को सन्दर्भ पनि त छ नि ! त्यो हो- सागरमणि दाइ त अमेरिका आएका थिए र नेपाल फर्के तर प्रदीप गिरी त अमेरिका आउँदै आएनन् अर्थात् अमेरिकामा बस्नुपर्ला वा यतै गुमनाम भएर हराइएला भनेर अध्ययनको अवसर पाएर पनि अमेरिका आएका थिएनन् रे ! कथाका पात्रहरूमा अनुमान गर्न सकिन्छ,गिरी पनि अमेरिका आएको भए के गर्थे होलान् हँ ? अमेरिकामा नै रमाएर बस्थे कि ? किशोर नेपाललेजस्तै आफ्नो अध्ययनको समय सकेपछि नेपाल फर्किंन्थे कि ? हुनसक्छ सागरमणि दाइजस्तै पारिवारिक विघटनको पिडा बोकेर बालकृष्ण समको ‘इच्छा’ कविता पढेर भावुक पो हुन्थे ? यही कविताले पनि त उनलाई प्रेरित गरेको हुनसक्छ अमेरिकी नागरिकता त्यागेर ठूलो भारी बिसाउन | यस सङ्ग्रहको पहिलो कथाको शिर्षक हो- ठूलो भारी बिसाएँ । सागरमणि दाइ अमेरिका फर्किनुभयो,यस शिर्षकको कथा नवौं क्रममा परेको छ ।

बज्ला मन्दिरमा ‘तथास्तु’ जब यो घण्टा दिँदै उत्तर
हाँस्तै शान्त भई उही समयमा नेपाल हेरी मरूँ ।
मेरो लाश पवित्र चन्दन घसोस्, कात्रो मलाई बनोस्
नेपाली सुकुमार हातहरूले खस्रा बुनेका लुगा ।।

नेपाली वनका कपूर तुलसी श्रीखण्डका साथमा
प्यारो सुन्दर आर्यघाट तटको साझा चितामा जलूँ,
पाऊँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँमा
नेपालीहरू छन् मरीकन सबै जन्मिरहेका जहाँ ।।
– बाककृष्ण सम, इच्छा

‘सागरमणि दाइ नेपाल फर्कनु भयो’, यो कथाकार विश्वराज अधिकारीको १९ औं कृति हो भने नवौं कथा सङ्ग्रह, एक अङ्ग्रेजी भाषामासमेत | तर यो चर्चा सङ्ग्रहका समग्र कथाहरूको समिक्षा भने होइन,सामान्य प्राविधिक परिचय मात्र हो- पाठकहरूको आकर्षण र कथाकारको प्रोत्साहनका लागि |

मोलुङ् फाउन्डेसन, काठमाडौं प्रकाशक रहेको यस सङ्ग्रह (सन् २०२२/बिसं २०७८) मा १६ वटा कथा छन् | कथाका बारेमा समालोचक महेश पौड्यालको निष्कर्ष छ- ‘गृहविरहका कथामा पहिचानको खोजी |’ यस शिर्षकमा सङ्ग्रहका बारेमा समालोचक महेश पौड्यालको आठ पेज लामो परिचयात्मक समिक्षा रहेको छ | पौड्यालको यो टिप्पणी विज्ञ पाठकहरूको आकर्षणका लागि पर्याप्त नै हुनुपर्छ- ‘लामो समयदेखि अमेरिका बस्दै आएका कथाकार अधिकारीका यी कथा उत्तर अमेरिकामा रहँदै बस्दै आएका नेपाली आप्रवासीकै दिनचर्या र मानसिक ऊहापोहमा आधारित छन् | त्यसैले यी कथाका पात्र वास्तविक अमरेरिका र कल्पनामा विद्यमान नेपालीबीचको दोसाँधमा बाँचिरहेका देखिन्छन् | कथामा तिनको सङ्कट,मानसिक, व्दिविधा तथा अनिर्णित मनस्थितिलाई सम्यक ढङ्गबाट प्रस्तुत गरिएको छ |’

समिक्षक पौड्यालको यस समिक्षात्मक परिचयको शुरुवातमा उल्लेख डायस्पोरा र पितृभूमि यी दुई शब्द तथा यिनको मूल/उत्पति, सन्देश र अर्थका बारेमा अन्य सन्दर्भमा चर्चा गर्न सकिन्छ | यसबारे यसै सङ्ग्रहका परिचयात्मक भुमिका लेखक तथा समिक्षक पौड्याललगायतका नेपाली भाषा/साहित्यका अन्य विज्ञहरूले पनि समयकालमा आवश्यकतानुसार थप पर्गेल्नु हुने विश्वास छ | नेपाली भाषाको मानक र पहिचानकै पक्षमा वकालत गर्नु हुने समिक्षक पौड्यालले पनि यसै सङ्ग्रहमा प्रसस्त प्रयोग गर्नु भएकै छ – अङ्गीकृत भूगोल,गृहविरह,अतितमोह,गुमेको अतीत,प्रवासी,आप्रवासी,देशबाहिर,अर्कै भुगोललगायतका अन्य यसै प्रकृतिका शब्दहरू पनि |

सङ्ग्रहमा रहेका कथाहरूको चर्चा गर्दा त्यसभित्रका पात्रहरूमा स्वयम् कथाकार वा कथाकारकै समुदाय वरिपरिका परिचित पात्रहरूको अनुहारको झझल्को आउँछन् | काका-काकी ,अङ्कल,सागर,सरोज,सुनिल,महेशलगायतका सबै पात्रहरू र उल्लेख गरिएका सबै भूगोलमा तपाईं-हामीहरू नै छाएका छौं | लामा छोटा कथाको चर्चा गर्दा ‘के हो मुलुकको परिभाषा’ शिर्षकमा तीस पेज लामो र राष्ट्रियता हुन्छ र ? शिर्षकमा १० पेज लामो कथा पनि समावेश छन् | जसरी कतिपय शिर्षक हेर्दा अनुमान गर्न सकिन्छ यो वा यी नि’ कथाको के शिर्षक होला र ? यसबारे लेखक स्वयमको स्वीकारोक्ति पनि छ-मैले जे देखेको छु कथाहरूमा तिनै कुराहरूमा अभिव्यक्त गरेको छु | यस कारणले यी कथाहरूमा आख्यान पक्ष कमजोर भएको हुनसक्छ | साहित्यमा नयाँ नयाँ प्रयोग गर्ने मेरो इच्छाले गर्दा पनि आख्यान पक्ष कमजोर र विचार पक्ष बढी भएको हो |’ भएको यही हो,हुनुपर्छ तर साहित्य सिध्दान्तको परम्परागत मान्यताका यी सोच/अपेक्षा वा दृष्टिकोण बदलिनु पर्ने पनि हुनसक्छ | तर यसभन्दा पहिले कथाकार अधिकारारीकै रानीघाट,मधुर मिलन, अन्तिम निर्णयलगायतका कथा सङ्ग्रहहरूका कथा पढिसकेका पाठकहरूका लागि भने यो सङ्ग्रहका कथाहरू केही बढ्ता विवरणात्मक,सूचनामूलक,सन्देश प्रवाह गर्ने उदेश्यमा केन्द्रित लाग्न पनि साक्छन् | साहित्य स्वैर कल्पनामा आधारित मनोरन्जन मात्र होइन वा हुनुहुन्न यो मान्यता र प्रयास पनि अघि सारेको हुनुपर्छ कथाकारले | सम्भवतः लेखकको नयाँ-नयाँ प्रयोगको उद्घोष पनि यहीतर्फको सङ्केत हो | कथाले अमेरिकाप्रतिको आकर्षणमा नेपालमा रहेकाहरूलाई अमेरिका बुझ्न र अमेरिका आउनुपूर्वको मानसिक प्रतिबध्दता वा तयारीका लागि पनि सहयोगी भुमिका खेल्न सक्छन् | बाँकि पठन र परख पाठकहरूकै जिम्मा |

स्मरणीय छ, कथाकार अधिकारीको यो कथा सङ्ग्रह प्रकाशित हुँदै गर्दा अमेरिकाको ग्रेटर वाशिंगटन महानगर क्षेत्रमा तिन दशक देखि बस्दै आएका कवि,व्यङ्ग्य लेखक वा साहित्यानुरागीको परिचय बनाएका एक साहित्यिक अनलाइन खबरका सम्पादक भने अमेरिकाबाट नेपाल फर्किने तैयारी गर्दै थिए | कथाकार अधिकारी अहिले नेपालमा यो सङ्ग्रह सार्वजनिक गरेर अमेरिका फर्किसकेका छन् | हुनसक्छ, यी पङ्ति लेख्दै गर्दा वा पाठकहरूले यी पङ्ति पढ्दै गर्दा नेपालको तराई/मधेशको केन्द्र जनकपुरमै हुर्किएका ती साहित्यानुरागी मित्र पनि नेपालमा पाइला टेक्दै हुनेछन् । अहिलेको विचारमा अन्यथा आइनपरे नेपाल मै स्थायी बसोबास गर्ने योजना बोकेर परिवारसहित नेपाल फर्किएका यी मित्र र सबै सागरमणि दाइहरूको नेपाल बसाइ सुखद रहोस् र अरूहरूलाई पनि यी उदाहरणहरू प्रेरणाको स्रोत बन्न सकुन्, शुभकामना |

इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी |
त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल
जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।।
– बाककृष्ण सम, इच्छा

Add a Comment

Your email address will not be published. Required fields are marked *