(कविता) अङ्गदान

तिमी व्यर्थ किन
“म म” भन्छौ
जब कि तिमी तिमी नै हैनौ
सम्झ त मानिसहरू
ड्राइभिङ ल्याइसेन्स भर्दा
कुन कुन अङ्ग दान गर्ने
भनेर चिन्ह लगाउछन्

तिमी मेरो आँखा भन्छौ
हेरेर दङ्ग पर्छौ
जुदाउछौ, लजाएर झुकाउछौ
राता राता पारी रिसाउछौ
चिसाउछौ, पुछ्छौ
निदाउछौ, सपना देख्छौ
त्यही आँखा दान गर्नासाथ
त्यो तिम्रो आँखा अर्कैको हुन्छ
अर्कैले हेर्छ, रमाउछ
आदि इत्यादि गर्छ
अनि कसरी त्यो आँखा तिम्रो भो!

तिमी तिम्रो मुटु आफ्नो भन्छौ
माया गर्छौ, सँगाल्छौ
धडकन चलाउछौ, सुनाउछौ
दु:खाउछौ, चिराउछौ, घाउ बनाउछौ
शरीरकै मुख्य अङ्ग भन्ठान्छौ
तर त्यही मुटु दान गर्नासाथ
अर्कैले चलाउछ, माया गर्छ, सँगाल्छ
दु:खाउछ, चिरा पार्छ
अनि त्यो मुटु पनि
तिम्रो हुदैन अर्कैको हुन्छ

त्यस्तै तिम्रो मृगौला, फोक्सो, कलेजो
दान गर त
त्यो पनि अर्कैको हुन्छ

अब तिम्रो शरीरको
जुन जुन अङ्गलाई
तिम्रो अङ्ग भनेर
घमण्ड गर्छौ
जतन गर्छौ
माया गर्छौ
त्यही अर्कोलाई दान गरेपछि
तिम्रो हुदैन

तिम्रो आँखा न तिम्रो हो
तिम्रो मुटु न तिम्रो हो
न त मृगौला, फोक्सो, कलेजो नै
तिम्रो हो
अनि तिम्रो चाहीँ के हो त ?

Add a Comment

Your email address will not be published. Required fields are marked *